सयथरि मान्छेका चित्त बुझाएर साध्य छैन : समाजशास्त्री ढकाल

‘सबैको चित्त बुझाउने सम्भावना छैन, कसैको चित्त बुझाउन सकिँदैन भने त आफ्नो जिन्दगी आफ्नो तरिकाले किन नबाँच्ने त ?’ 

चैत्र २९, २०८०

कान्तिपुर संवाददाता

It is not possible to understand the minds of 100 people: Sociologist Dhakal

काठमाडौँ — समाजशास्त्री निर्मला ढकालले समाजको चित्त बुझाएर आफ्नो जीवनमा सम्झौता गर्न नमिल्ने बताएकी छिन् । ढकालले सामाजिक सञ्जालमा आफ्ना पोस्टहरूकै कारण गालीगलौज र नकारात्मक टिप्पणी आए पनि जीवन बाँच्ने कुरामा सम्झौता नगर्ने बताएकी हुन् । 

कान्तिपुर पब्लिकेसन्स लिमिटेडले बिहीबार आयोजना गरेको ‘निर्भीक नारी’ कार्यक्रमको अन्तिम सत्र ‘सौन्दर्य मापन’ मा बोल्दै समाजशास्त्री ढकालले समाजमा रहेका सबैथरि मान्छेका चित्त बुझाएर साध्य नहुने बताइन् ।

‘धेरैले हेरिरहेका छन्, गाली गरिरहेका छन्, कुनै पनि त्यस्तो पोस्ट छैन होला त्यसमा शतप्रतिशत सकारात्मक प्रतिक्रिया आएको,’ त्रिचन्द्र क्याम्पसकी प्राध्यापक समेत रहेकी उनले सामाजिक सञ्जालमा हुने टिप्पणीबारे खोतल्दै भनिन्, ‘सयथरि मान्छेका सयथरि विचार हुन्छन्, अब सयथरि मान्छेका सयथरि विचारअनुसार आफू चल्ने हो भने त जिन्दगी कहीँ पनि पुग्दैन ।’

सामाजिक संरचना र समाजले हेर्ने दृष्टिकोभन्दा फरक व्यक्तिका रूपमा बाँच्ने क्रममा असम्बन्धित कुराहरुलाई बेवास्ता गर्न सक्नुपर्ने बताइन् । ‘इग्नोर गर्नु पर्छ, कहीँ पनि सबैको चित्त बुझाउने सम्भावना छैन, कसैको चित्त बुझाउन सकिँदैन भने त आफ्नो जिन्दगी आफ्नो तरिकाले किन नबाँच्ने त ?’ उनले भनिन्, ‘त्यसैले यस्तो कुरा कसैलाई मन नपर्नु त्यो मेरो समस्या होइन, जेसुकै भन्छन्, मेरो कुराले अरुलाई असर गर्नु भएन, त्यो कुराचाहिँ मैले ध्यान दिनुपर्छ, होइन, उसै पनि असर गर्छ भने मैले बाँच्नचाहिँ छोड्दिनँ ।’ सामाजिक सञ्जालमा राखेरका तस्बिर, भिडियो, पोस्टहरूकै कारण उनीमाथि साइबर आक्रमण र ट्रोलिङसमेत हुने गरेका छन् । 

यसैगरी ठाउँ र समयअनुसार सौन्दर्यको मापन फेरिँदै गएको समाजशास्त्री ढकालको बुझाइ छ । ‘पहिले सुन्दर महिला भनेको घरमा बालबच्चा हेर्ने, श्रीमान्‌लाई त्यही हिसाबले ‘ट्रिट’ गर्ने, बेलुका आउँदाखेरी मुखमुखै नलाग्ने भन्ने थियो । अहिले आउँदाखेरी त्यो मापन परिवर्तन भयो,’ समाजशास्त्री ढकालले थपिन्, ‘अब त्यो मापनमा परिन्न होला, मुखमुखै नलागेर चल्दा पनि चल्दैन, कसैले कुट्छु भन्यो भने तैंले मात्रै कुट्ने मैले पनि कुट्नुपर्छ भनेर जवाफ नफर्काए चल्दैन होला, भनेपछि बोल्डनेस अवश्य पनि परिवर्तन हुँदै आयो ।’

सामाजिक संरचना, हिमाली, पहाडी र तराई क्षेत्रअनुसार सौन्दर्यताको मापन फरक हुने बताइन् । आम पाठकले पढ्ने साझा किताब, कथा, उपन्यासहरूले सिकाउने लजालु स्वभावलगायतको अनेक सौन्दर्यताका मापन फेरिँदै गएको उनको भनाइ छ ।

कान्तिपुर

Link copied successfully