कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

दूरदराज चिनाउन मग्न युवा

नक्सामा रहेका तर नजरमा कहिल्यै नअटाएका ठाउँलाई युट्युबरहरूकै कारण आन्तरिक तथा बाह्य पर्यटकले मुख्य गन्तव्यस्थल बनाइरहेका छन्
सुगम दुलाल

काठमाडौँ — विगत केही वर्षदेखि घरमै बसेर देशैभरिका हिमाल, पहाड र नदीनाला अवलोकन गर्नेहरूको संख्या बढ्दो छ । कमै सुनिएका र नकहलिएका स्थलहरूले एकाएक लोकप्रियता पाउन थालेका छन् । प्रकृतिको मनोरम सौन्दर्य र मनै लोभ्याउने यस्ता दृश्यले थुप्रैलाई झोला भिरेर यात्रामा निस्किने साहस पनि दिएको छ । बिदाको समय मिल्नासाथ समूह तयार पारी भ्रमण गर्न हिँड्नेहरूको लस्कर अहिले लामो छ ।

दूरदराज चिनाउन मग्न युवा

हरेक क्षेत्रमा आन्तरिक पर्यटक बढ्दै गएजस्तै पोखरा हुँदै कोरी गाउँ वा कापुचे ताल जानेहरूको संख्या अहिले उल्लेख्य रहेको स्थानीय व्यवसायी धनबहादुर गुरुङले बताए । माइला दाइका नामले परिचित उनको नमस्ते गेस्ट हाउस चार–पाँच वर्षयता विरलै खाली हुने गरेको छ । केही वर्षअगाडिसम्म पर्यटकको चाप नदेखेको सिक्लेस गाउँलाई अहिले पाहुनाको स्वागत गर्न भ्याइनभ्याइ छ । सिक्लेसमा बास बस्न आउने थुप्रै पर्यटक नमस्ते गेस्ट हाउसमा आएर आफ्ना भारी बिसाउँछन् । होटलमा आगन्तुकको चाप देखेर धनबहादुर भने अचम्मित हुँदैनन् । किनभने, हरेक आगन्तुकको मुखबाट उनले सुन्ने वाक्य एउटै हुन्छ, ‘माइला दाइ तपाईं नै हो ? हामी त घुमन्तेको भिडियो हेरेर यहाँ आएका हौं ।’

विगत सात–आठ वर्षदेखि देशका विभिन्न स्थललाई आफ्नो क्यामरामा कैद गर्दै बाटो र यात्राका कथा आमदर्शकमाझ भन्दै घुमिरहेकाहरू सबैका लागि देश डुल्न प्रोत्साहन गर्ने उत्प्रेरक पनि बनिरहेका छन् । यस्ता युट्युबरहरू यात्रा गर्न मन पराउनेहरूका ट्राभल गाइड पनि हुन् ।

घुमन्तेका संस्थापक कञ्चन राई र उनको समूह देश डुल्ने दौरानमै २०७७ सालमा कापुचे ताल भ्रमणमा निस्किएको थियो । बास बस्न घुमन्ते टोली नमस्ते गेस्ट हाउसमा पस्यो । पछि युट्युबमा भिडियो सार्वजनिक हुँदा होटलको दृश्य, होटलमा पाएको आदर–सत्कार र उल्लेखित सम्पर्क नम्बरले आफ्नो गेस्ट हाउस लाखौँमाझ परिचित बनेको धनबहादुरले सुनाए । भिडियोमा कञ्चन राईले ‘माइला दाइ’ भनेझैँ आज माइला दाइ भन्दै उनको दैलोसम्म आउनेको भीड छ । आज सिक्लेस, कापुचे र कोरी जाने आन्तरिक पर्यटक बढेका मात्र छैनन्, माइला दाइको व्यापार पनि फस्टाएको छ । कञ्चन राईले भिडियोमा ‘माइला दाइ’ भनेझैँ आज धनबहादुर गुरुङ थुप्रैका माइला दाइ बनेका छन् ।

त्यस्तै मार्दी हिमाल हाई क्याम्पमा रहेको होटल स्नोल्यान्डको कथा पनि कम रोचक छैन । रवीन्द्र पौडेलले आफ्नो होटल स्नोल्यान्डमा विदेशी पर्यटक देखिरहने भए पनि स्वदेशी पर्यटकको ठूलो भीड देख्नै पाएका थिएनन् । एक वर्षअघि मात्र लोकप्रिय युट्युब च्यानल नेपाल एट्थ वनडरले होटलमा भ्रमण गरेपछि यहाँ ठूलै परिवर्तन देखिन थालेको उनले सुनाए । गत दसैँ–तिहारमा रवीन्द्रले होटलमा कोठाको माग धेरै भएर पाहुना नै फर्काउनुपर्ने अवस्था आएको बताए । ‘हेमन्त भण्डारीको समूह नेपाल एट्थ वनडरको आगमन र भिडियोको चर्चाले गर्दा अहिले दिनहुँ थुप्रै अतिथिको स्वागत गर्ने मौका पाइरहेको छु,’ उनले भने, ‘नेपाल एट्थ वनडरले गर्दा मेरो मात्र नभई यो इलाकाका थुप्रै होटलमा मान्छे बढेका छन् ।’

२०६८ सालतिर यसको सुरुवात गर्दा हेमन्त भण्डारीले केवल फेसबुक पेजमा विभिन्न स्रोतबाट प्राप्त तस्बिर राख्ने गर्थे । २०७२ सालमा उनले इन्स्टाग्राममा पनि नेपाल एट्थ वनडरको उपस्थिति जनाउँदै २०७६ मा युट्युबमा भिडियोमार्फत प्रस्तुति दिन थाले । समूहको नामजस्तै नेपाललाई विश्वको आठौं आश्चर्य अर्थात् एट्थ वनडर मान्ने हेमन्त भण्डारी त्यसपछिको केही वर्ष नेपालका विभिन्न स्थल घुमेर त्यहाँको सांस्कृतिक मूल्य, मान्यता, जीवनशैली र सुन्दरताको जगेर्ना गर्ने काममै खटिए । लमजुङस्थित तान्जे गाउँका मह सिकारीका बारे उनको पहिलो भिडियो ४ लाखभन्दा बढी पटक हेरिएको छ । हृदयले चाहेको काम गर्दै निःस्वार्थ भावले भिडियो बनाउँदै जाँदा उनलाई आफ्नो कामबाट आमदर्शकबीच गहिरो प्रभाव छोड्ने वा सबैको माया कमाउने लोभ थिएन । तर, समयसँगै नेपाल एट्थ वनडरको भिडियो हेर्ने र मन पराउने जमात बढ्दै गएपछि उनले आफ्नो रहरलाई पेसागत तरिकाले अघि बढाएका हुन् ।

६ देखि ८ जनाको सक्रिय सहभागितामा नेपाल एट्थ वनडरले आफ्ना दर्शकलाई देशका अनेक रमणीय स्थलसँग परिचित बनाउँदै आइरहेको छ । ५ वर्षको समयमा ६० भन्दा बढी भिडियो सार्वजनिक गरिसकेको यस समूहले आफ्नो युट्युब च्यानलमा पूर्वको पाथीभरादेवीदेखि पश्चिमको खप्तड राष्ट्रिय निकुञ्जसम्म अटाएको छ । थुप्रै प्रायोजकसँग सहकार्य गर्दै भिडियो तयार पार्न थालेदेखि यसले देशको ग्रामीण क्षेत्रको उत्थानसँगसँगै उत्पादन र व्यवसायलाई पनि टेवा पुर्‍याउने हेमन्तको विश्वास छ । हालै सार्वजनिक भएको एक भिडियोमा नेपाल एट्थ वनडरको टोलीले समुद्री सतहभन्दा ४ हजार ६ सय ६० मिटरको उचाइमा रहेको लोमान्थाङ र कोरला नाकासम्म विद्युतीय गाडी सेरेस थ्रीमा भ्रमण गरेका छन् । त्यस्तै २ वर्षअघि मात्र नेपाल एट्थ वनडर उही लोमान्थाङ र कोरला नाकासम्म होन्डा ग्राजिया स्कुटरमा पुगेको थियो । यस्ता प्रायोजनले थुप्रै ब्रान्डको प्रचारमा मद्दत पुर्‍याएको छ ।

कञ्चन राईले सुरु गरेको घुमन्तेको अविरल यात्रा पनि ८ वर्षदेखि निरन्तर चलिरहेको छ । कसैले ग्रामीण क्षेत्रको यात्रा गर्ने सोच बनाउँदै छ भने कता जाने र कसरी जाने भन्ने प्रश्नको उत्तर खोज्दै मान्छे घुमन्तेको युट्युब च्यानलसम्म पुग्ने गर्छन् । घुमन्ते टोलीले आफ्नो भिडियोमा गन्तव्यको सुन्दरतालाई मात्र प्राथमिकता दिँदैन, बाटाका अप्ठ्यारा र ती अप्ठ्यारासँग जुध्न चाहिने साहसलाई पनि महत्त्व दिन्छ । त्यस कारण घुमन्तेका भिडियो हेर्दा यात्रा गर्ने तरिका र अपनाउनुपर्ने सावधानीका बारे बुझ्न सकिन्छ । ‘हाम्रो भिडियोमा हामी सुविधासम्पन्न तरिकाले यात्रा गर्दैनौं,’ कञ्चनले भने, ‘त्यसैले हामीले बनाएका भिडियो अधिकांश मान्छेलाई सान्दर्भिक लाग्ने गरेका हुन् ।’

हेमन्त र कञ्चनका कारण पनि देशका थुप्रै नौला स्थल आज ट्रेकिङ स्थल बनेका छन् । ठूला सहर र भीडभाडबाट टाढा पनि देश छ भन्ने भएको छ । नक्सामा रहेका तर नजरमा कहिल्यै नअटाएका ठाउँलाई पनि आज आन्तरिक तथा बाह्य पर्यटकले गन्तव्य स्थल बनाइरहेका छन् । कञ्चनका अनुसार घुमन्ते टोलीको भिडियो आउनुअघि डोल्पामा रहेको शे–फोक्सुन्डो तालबारे धेरैले सुने पनि यात्रा गर्ने जोखिम मोल्न मान्छे तयार थिएनन् । विकट नै भए पनि यात्रा गर्न सकिने सम्भावना घुमन्तेले देखाएपछि शे–फोक्सुन्डो ताल यात्रा गर्न मान्छे अचेल लालायित हुने गरेका छन् । नेपाल एट्थ वनडरले पनि रुबी भ्याली भ्रमण गरेपछि नै त्यस ठाउँको आकर्षण बढेको हेमन्त बताउँछन् । आउँदा दिनमा कञ्चनलाई युट्युबबाट विस्तार हुँदै वातावरण र संस्कृतिको प्रवर्द्धन गर्ने हेतुले डकुमेन्ट्री र सर्ट फिल्मको बाटो समाउने रहर छ । त्यस्तै हेमन्तलाई भने विभिन्न यात्रा अभियानदेखि प्याकेजहरू निर्माण गर्दै आन्तरिक पर्यटनकै विकासका लागि युट्युब भिडियोलाई अझै व्यवसायीकरण गर्ने सोच छ ।

आज अनेक कठिनाइ छिचोल्दै अग्ला हिमाल र तालहरू पुग्न देशभरिका युवा आकर्षित भइरहँदा देशले पनि देश चिनाउने युवाहरूको संघर्ष र योगदानलाई कदर गर्नु समय–सान्दर्भिक हुने घुमन्ते समूहको दाबी छ । नेपाल एट्थ वनडर र घुमन्तेजस्ता समूहले प्रयास गर्दा पनि पर्यटन मन्त्रालयदेखि पर्यटन बोर्डसम्मले कुनै सहयोग नगरेको उनीहरू बताउँछन् । ‘पर्यटन बोर्डले पर्यटन विकासकै लागि हरेक वर्ष बजेट छुट्याउँछ,’ घुमन्ते समूहका संस्थापक कञ्चनले भने, ‘तर, हामीजस्ता युवाले सहकार्य गर्न खोज्दा कुनै प्रतिक्रिया जनाउँदैन । दुःख यसमै लाग्छ ।’

-(प्रशिक्षार्थी)

प्रकाशित : चैत्र २१, २०८० १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×