कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

राष्ट्रिय सभा अध्यक्ष निर्वाचन : कांग्रेसमाथि माओवादीको दबाब रणनीति

गंगा बीसी

काठमाडौँ — माओवादीका लागि ‘आए आँप गए झटारो’ जस्तै भएको छ, राष्ट्रिय सभा अध्यक्षको दाबी । यसबाट माओवादीलाई कुनै राजनीतिक नोक्सान छैन ।माओवादीले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरी कांग्रेसलाई दबाब सिर्जना गरेको छ । माओवादीको यो स्वभाविक दाबी हो कि रणनीतिक चाल हो भन्नेबारे कांग्रेसभित्र बहस सुरु भएको छ ।

राष्ट्रिय सभा अध्यक्ष निर्वाचन : कांग्रेसमाथि माओवादीको दबाब रणनीति

प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल रणनीतिक मार्गचित्रमा हिड्ने नेता भएकाले राष्ट्रिय सभा अध्यक्षको दाबी पनि त्यही अर्थमा बुझिएको छ । माओवादी स्थायी समिति सदस्यहरुले कुनै पनि हालतमा राष्ट्रिय सभा अध्यक्ष छाड्न नहुने धारणा साझा राखेपछि औपचारिक निर्णय आएको हो ।

कांग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने बताइरहेकै बेला माओवादीको यो निर्णय कांग्रेसका लागि अप्रिय हो । कांग्रेसमा विवादबीच कोशी प्रदेशबाट राष्ट्रिय सभा उम्मेदवार भएका सिटौला गठबन्धनबाट विजयी भएका थिए । गठबन्धनबाट उम्मेदवार भएकी सशस्त्र युद्धकी घाइते चम्पा कार्की भने पराजित भएकी थिइन् ।

सिटौला तिनै नेता हुन्, जसले माओवादी शान्ति प्रक्रियामा आउन सहयोगीको भूमिका खेलेका थिए । प्रधानमन्त्री दाहालले रुचाउने कांग्रेस नेतामध्येमा पर्छन् उनी । तर माओवादीको राष्ट्रिय सभा अध्यक्ष दाबी गर्ने निर्णयले सिटौलालाई अप्ठ्यारोमा पारेको छ । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २६ मा हुने कार्यतालिका छ ।

राष्ट्रिय सभा अध्यक्ष अन्तिमसम्म टिक्नेमा माओवादीकै कतिपय नेताहरु शशंकित छन् । ती नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई दबाब दिने रणनीति दाहालले लिएको हुन सक्ने अड्कल गरे । यद्यपि स्थायी समितिको निर्णय सर्वसम्मत भएको हो । स्थायी समितिको निर्णय उल्ट्याउन स्थायी समिति बस्नुपर्ने हुन्छ । यो निर्णयलाई दाहाल एक्लै उल्ट्याउन सहज छैन ।

‘राष्ट्रिय सभा अध्यक्षको दाबी छाड्ने हो भने त्यसको सट्टा के पद लिने ?’ एक पदाधिकारीले भने, ‘प्रधानमन्त्री कांग्रेसलाई हस्तान्तरण गरेपछि संवैधानिक परिषद्मा हाम्रो उपस्थितिनै नहुने अवस्थालाई ध्यान दिएर राष्ट्रिय सभा अध्यक्षको निर्णय भएको हो ।’

उनका अनुसार यसबारे दाहालसामु दुई विकल्प छन्, राष्ट्रिय सभा अध्यक्ष नछाड्ने, दोस्रो राष्ट्रिय सभा अध्यक्ष छाडेर मन्त्रिपरिषद् हेरफेर गर्ने । दाहाल स्थायी समितिको निर्णय उल्ट्याएर राष्ट्रिय सभा कांग्रेसलाई राष्ट्रिय सभा अध्यक्ष दिएर मन्त्रिपरिषद् आफ्नो अनुकूल हेरफेर गर्ने । उक्त अध्यक्ष पद छाड्न नहुनेमा माओवादीभित्र ठूलो दबाब छ ।

माओवादीले राष्ट्रिय सभा अध्यक्ष दाबी गरेपछि गठबन्धनको प्रमुख दल कांग्रेसका नेताहरुले तीनथरि विश्लेषण गरेका छन् । पहिलो, प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् हेरफेर सजिलै गर्न कांग्रेस सभापति शेरबहादुर देउवामाथि दवाव दिन, दोस्रो प्रधानमन्त्री कार्यकाल लम्ब्याउने, तेस्रो गठबन्धन फेर्ने संकेत । माओवादी नेताहरुले यी अनुै विश्लेषण मान्न तयार छैनन् । माओवादी सचिब दीनानाथ शर्माल राष्ट्रिय सभा अध्यक्ष दाबी गर्नु कसैप्रति लक्षित नभएको बताए ।

‘यो स्वभाविक दाबी हो । कसैलाई दबाब दिन होइन,’ उनले भने, ‘सबै स्थायी समिति सदस्यले राष्ट्रिय सभा अध्यक्ष छाड्न नहुने सर्वसम्मत धारणा धारणा बैठकमा आयो ।’ उनले सबै निर्वाचनमा कांग्रेसका लागि इमान्दार भए पनि कांग्रेसबाट धोका भएको केन्द्रदेखि स्थानीय तहसम्म एउटै बुझाइ रहेको बताए । ‘यसको अर्थ अहिले गठबन्धन छाड्नुपर्छ भन्ने होइन’ उनले भने, ‘गठबन्धनमै रहेर माओवादीले राष्ट्रिय सभा अध्यक्ष लिनु स्वभाविक हो ।’

प्रधानमन्त्री दाहालले गृह जिल्ला चितवन पुगेर बिहीबार परिस्थिति बदलिएकाले माओवादीले राष्ट्रिय सभा अध्यक्ष दाबी गरेको बताए । उनले राष्ट्रिय सभा निर्वाचनमा कोशीमा कांग्रेसबाट धोका भएको प्रसंग उल्लेख गर्दै परिस्थिति बदलिएको बताएका थिए । एक वर्ष तीन महिना सरकारको नेतृत्व गरिसकेपछि भने र सोचजसे काम नभएको उनी आफैले महसुस गरेका छन् ।

मुख्यगरी अर्थतन्त्रमा अपेक्षित सुधार नभएपछि उनले अर्थमन्त्री प्रकाशशरण महतलाई फेर्न चाहेका छन् । कांग्रेस सभापति देउवाको अडानले अप्ठ्यारोमा परेपछि उनले कांग्रेसले दाबी गरेको राष्ट्रिय सभा अध्यक्षको ‘कार्ड’ अघि सारेका छन् ।

कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष दिए झन् फाइदा हुने, त्यो नभई कांग्रेसलाई छोड्नु परे दाहाललाई आफूलाई अनुकूल मन्त्रिपरिषद् सदस्यहरु हेरफर गर्ने बाटो खुल्ने छ । अर्को कांग्रेस महाधिवेश्नमा प्रस्तुत भएका राजनीतिक प्रतिवेदनमा माओवादी सशस्त्र युद्धको मूल्याङ्कन गलत भएको भन्ने सन्देशलाई सच्याउन पनि माओवादीको राष्ट्रिय सभा अध्यक्षको ‘कार्ड’ प्रभावकारी देखिएको छ । कांग्रेसले माओवादीको आपत्तिलाई ध्यान दिंदै दस्ताबेज संशोधन गर्ने संकेत दाहाललाई दिएको छ ।

माओवादीले कांग्रेसले दाबी गरिरहेको राष्ट्रिय सभा अध्यक्षमा दाबी गरी एमालेसँग सहकार्यको संभावना बढाएको देखिन्छ । कांग्रेस र माओवादीले राष्ट्रिय सभा अध्यक्षको दाबी नछाडे एमाले रणनीतिक रुपमा माओवादी उम्मेदवारलाई समर्थन गर्ने संकेत दिएको छ । माओवादीको कांग्रेससित गठबन्धन टुट्न बित्तिकै दुई वर्षभन्दा बढी सत्ता बाहिर रहेको एमाले र माओवादीबीच सहकार्यको ढोका खुल्ने छ ।

एमाले त्यही अवसर कुरेर बसेको छ । पछिल्लो समय प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच करिब एक महिनामा एक्लाएक्लै हुने संवादको अर्थ पनि त्यही हो । ओली र दाहालबीच संवाद भएको खबर सञ्चार माध्यामममा सार्वजनिक भएको खबर सार्वजनिक भए पछि एमाले र माओवादीका कार्यकर्ताले सामाजिक सञ्जाल तताउने गरेको देखिन्छ ।

प्रकाशित : फाल्गुन १९, २०८० २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×