कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सडकमै सुते स्वर्गद्वारी गुठीका मोही किसान

दुर्गालाल केसी

दाङ — अधिकारको माग गर्दै तीन दिनदेखि जिल्ला प्रशासन कार्यालय दाङको गेट अगाडि धर्ना दिइरहेका मोही किसान शुक्रबार दिउँसो घोराही–तुलसीपुर सडकखण्डको भानु चोकमा सडकमै सुते । सिट्ठी र थाल बजाउँदै उनीहरु आधा घण्टा सडकमा सुते । 

सडकमै सुते स्वर्गद्वारी गुठीका मोही किसान

जिल्लाभरका ५ सय ५० मोही किसान फागुन ८ गते रातिदेखि जिल्ला प्रशासन कार्यालय अगाडि सडकमै बस्दै आएका थिए । तीन दिन बस्दा पनि सरकारले माग सम्बोधन गर्ने कुनै लक्षण नदेखाएपछि सडकमा सुतेको स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए ।

हलोजुवा र मोहीपूर्जासहित आन्दोलनमा आएका स्वर्गद्वारी गुठीका मोही किसानले गुठी ऐन जारी गर्नुपर्ने माग गरेका छन् । स्वर्गद्वारी आश्रमको १०३४ बिघा १७ कट्ठा ७ धुर जग्गामध्ये ७५३ बिघा जग्गामा मोही कायम छ । शुरुमा २ सय ८९ घरपरिवार मोही किसान रहेकोमा अहिले नयाँ घर टुक्रँदै जाँदा ३ हजार ५ घरधुरी पुगेको चौधरीले बताए । जसमा १५ हजार बढी सदस्य आश्रित रहेको उनले जानकारी दिए ।

कानुनी जटिलताका कारण नेपालको महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय गुठी स्वर्गद्वारी आश्रमको जग्गामा द्वैध स्वामित्व कायम रहेको छ । एकातिर सर्वोच्च अदालतले स्वर्गद्वारी गुठी विशेष प्रकृतिको निजी गुठी भएका कारण आश्रमको जग्गा खण्डीकरण गर्न नमिल्ने आदेश गरेको छ भने अर्कोतिर मोही किसान मोहीपूर्जा बोकेर न्याय मागिरहेका छन् ।

२०६२ चैत १४ गते सर्वोच्च अदालतले स्वर्गद्वारी गुठी विशेष प्रकृतिको निजी गुठी भएको ठहर गर्दै आश्रमको स्वायत्ततामा आँच पुग्ने गरी आश्रमको नाममा दर्ता भएको जग्गा कुनै पनि किसिमले खण्डित र हिनामिना हुन नदिनू भनी परमादेश जारी गरेपछि मोही किसान जग्गाको अधिकार पाउनबाट वञ्चित भएका हुन् । न्यायाधीश रामप्रसाद श्रेष्ठ र दामोदरप्रसाद शर्माको इजलासले स्वर्गद्वारी आश्रमका महाप्रभु हंशानन्द गिरीको झोलीको पैंसाबाट खरिद गरिएको जग्गामा यज्ञको होमादि कार्य खण्डित हुन नदिन कुनै हस्तक्षेप नगर्नु नगराउनु भन्ने आदेश गरेको थियो ।

स्वर्गद्वारी आश्रमका विषयमा सर्वोच्च अदालतबाट फैसला समेत भएकाले सबै गुठीलाई एउटै नजरले नहेरी गुठी बिधेयकमा स्वर्गद्वारी गुठीलाई विशेष प्रकृतिको निजी गुठीका रूपमा उल्लेख गर्नुपर्ने मोही किसानको माग छ । विरोधका कारण रोकिएको विधेयकमा स्वर्गद्वारी गुठीको जग्गामा मोहीयानी हक स्थापित गर्नुपर्ने र सोही बमोजिम जग्गा बाँडफाँड हुनुपर्ने संघर्ष समितिका अध्यक्ष चौधरीले बताए ।

फागुन १३ देखि १५ गतेसम्म र्‍यालीसहित दाङका सबै राजनीतिक पार्टीका कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको संघर्ष समितिका सचिव भरतराज गिरीले बताए । फागुन २० देखि २२ गतेसम्म लुम्बिनी प्रदेशसभामा र्‍यालीसहित धर्ना तथा पूर्व पश्चिम राजमार्गमा सुतेर दुई घण्टा बन्द गर्ने कार्यक्रम तय गरेको गिरीले जानकारी दिए ।

यसैगरी फागुन २७ र २८ गते घोराहीमा देशभरका गुठीपीडित किसानको सम्मेलन गरी दाङ गुठीपीडित घोषणापत्र जारी गर्ने निर्णय भएको संघर्ष समितिका सहसचिव प्रविण चौधरीले बताए । स्वर्गद्वारी आश्रम व्यवस्थापन समितिले जग्गाको द्वैध स्वामित्वको विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन एक समिति गठन गरेको छ । उक्त समितिको प्रतिवेदनका आधारमा थप कदम चाल्ने समितिको तयारी छ । हाल जिल्ला तहबाट केही गर्न सकिने अवस्था नरहेको र मोही किसानका माग केन्द्रमा जानकारी गराएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले बताए ।

प्रकाशित : फाल्गुन ११, २०८० १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×