१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

निकुञ्ज तथा आरक्ष क्षेत्रमा वन्यजन्तुको 'अप्राकृतिक मृत्यु' बढ्यो

पछिल्लो ८ वर्षमा सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग मार्फत वन्यजन्तु संरक्षणमा १५ अर्ब खर्चियो ।
८ वर्षमा मृत्यु भएका २ हजार ३६२ वन्यजन्तुमध्ये १ हजार ७५५ को अप्राकृतिक मृत्यु । विज्ञहरुले उठाए व्यवस्थापनमा प्रश्न
गोविन्द पोखरेल

काठमाडौँ — पछिल्लो ८ वर्षमा नेपालका राष्ट्रिय निकुञ्ज तथा आरक्षहरुमा वन्यजन्तुको अप्राकृतिक मृत्यु बढिरहेको देखिएको छ । वन्यजन्तु संरक्षणको क्षेत्रमा नेपालले वाहवाही कमाइरहेको बेला निकुञ्ज तथा आरक्ष क्षेत्रभित्र वन्यजन्तुको प्राकृतिकभन्दा अन्य कारणबाट बढी मृत्यु भएको देखिएको हो ।

निकुञ्ज तथा आरक्ष क्षेत्रमा वन्यजन्तुको 'अप्राकृतिक मृत्यु' बढ्यो

आर्थिक वर्ष ०७०/0७१ देखि ०७७/0७८सम्म राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको ८ आर्थिक वर्षको तथ्यांकलाई केलाएर हेर्दा निकुञ्ज क्षेत्रमा मृत्यु भएका वन्यजन्तुमध्ये अन्य कारणबाट ७४ प्रतिशत वन्यजन्तुको मृत्यु भएको पाइएको हो । यी ८ आर्थिक वर्षमा निकुञ्ज तथा आरक्ष क्षेत्रहरुमा २ हजार ३६२ वन्यजन्तु मृत्यु भएको देखिएको छ । तीमध्ये १ हजार ७५५ वन्यजन्तुको मृत्यु अप्राकृतिक पाइएको हो ।

दुर्घटना, एकआपसमा जुधेर, घाइते, पासोमा परेर, डुबेर,कुकरको आक्रमण,स्थानीयको आक्रमण, विष सेवन, करेन्ट लागेर, खाल्डोमा परेर, बाढीमा बगेर, हातहतियारको प्रयोगका कारण वन्यजन्तुहरु मारिएका छन् । मारिनेमध्येमा सबैभन्दा बढी दुर्घटनाका कारण छन् ।

कहिले कति मृत्यु ?

विभागको तथ्यांकमा आर्थिक वर्ष ०७०/०७१ मा मृत्यु भएका १६७ मध्ये अप्राकृतिक मृत्युको संख्या १४७ थियो । यो भनेको ८८ प्रतिशत हो । ०७१/०७२ मा १७४ वटा वन्यजन्तु मृत्यु हुँदा प्राकृतिक मृत्यु २९ छ भने अन्य कारणबाट भएको मृत्युको स‌ंख्या १४५ छ । ०७२/०७३ मा १६० मध्ये १४७ को मृत्यु अन्य कारणबाट भयो । यो कूल मृत्युको ९२ प्रतिशत थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

०७३/०७४ सालमा ३२६ वन्यजन्तु मृत्यु हुँदा १४९ को प्राकृतिक कारण थियो । त्यसवर्ष दुर्घटनामा परेर १३३, पासो/जालमा परेर ५, करेन्टमा ५, हातहतियराको प्रयोगबाट १, घोल/नहरमा डुबेर ७, कुकर तथा अन्य जनावारको आक्रमणले २६ मरे । ०७४/०७५ सालमा सडक दुर्घटनाबाट १२४, चोरीशिकारीबाट २, डुबरे २७ वटा, कुकरको टोकाइबाट ४८, प्राकृतिक कारणबाट ५७ गरी जम्मा ३२६ वन्यजन्तुको मृत्यु भएको तथ्यांक छ । ०७५/०७६ मा ६१८ वटा वन्यजन्तु मृत्यु हुँदा प्राकृतिक कारण २३५ मा मात्रै थियो । ०७६/०७७मा भने वन्यजन्तुको प्राकृतिक मृत्यु बढी भएको देखियो । ५९१ वन्यजन्तु मृत्यु हुँदा ४३७ को प्राकृतिक कारणबाट भएको विभागले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । त्यस आर्थिक वर्षमा मात्रै वन्यजन्तुको प्राकृतिक मृत्यु ७४ प्रतिशत थियो ।

सडक दुर्घटनामा मारिएको बाँदर लैजाँदै बाँके राष्ट्रिय निकुञ्जका कर्मचारी । फाइल तस्बिर : रूपा गहतराज /कान्तिपुर

प्राकृतिक(उमेर पुगेर,बिरामी भएर लगायतकाले)मर्ने वन्यजन्तुको संख्या आर्थिक वर्ष ०७७/०७८ मा २४० थियो । उक्त आर्थिक वर्षमा ५७३ वटा वन्यजन्तु मरेका थिए । तीमध्ये सडक दुर्घटनामा १३०, चोरी शिकारीबाट ३१, डुबेर २०, तारजालीमा परेर १४, कुकुरको आक्रमणमा परेर १०६, कारण नखुलेका १३ वा र अन्य कारणबाट १९ मरेका थिए ।

सरकारको मात्रै १५ अर्ब खर्च

नेपाल सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र अन्तर्गतका कार्यालयहरुमा सरकारले विभिन्न आयोजनाहरु सञ्चालन गरेको छ । जस अनुसार राष्ट्रिय निकुञ्ज आयोजना, वन्यजन्तु आरक्ष आयोजना, जडिबुटी विकास कार्यक्रम,वन्यजन्तु संरक्षणका लागि क्षेत्रीय सहयोग प्रवर्द्धन आयोजना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, हात्तीसार आयोजना मध्यवर्ती क्षेत्र कार्यक्रम छन् ।

विभाग मातहत सरकारले राष्ट्रिय निकुञ्ज तथा आरक्ष आयोजना,राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग(मध्यवर्ती कार्यक्रम समेत गरेर) र हात्तीसारहरु व्यवस्थापनका लागि भनेर गरेको बजेट विनियोजन यी ८ वर्षमा करिब १५ अर्ब छ । ०७०/0७१देखि हालसम्म सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र मातहतका कार्यालयहरुलाई वन्यजन्तु संरक्षणका लागि मात्रै १४ अर्ब ९५ करोड ११ लाख ६९ हजार रुपैयाँ विनियोजन गर्‍यो । २०७७ साल पुस १८ गते पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगञ्ज–पथलैया सडकखण्डमा कारको ठक्करबाट मरेको बाघ । तस्बिर :दिनेश थापाको फेसबुकबाट

तीमध्ये निकुञ्ज तथा आरक्ष आयोजनाका लागि ९ अर्ब ९८ करोड ६८ लाख ४९ हजार रुपैयाँ, मध्यवर्ती क्षेत्र कार्यक्रम समेत गरेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा ३ अर्ब ७८ करोड ८७ लाख ५८ हजार रुपैयाँ खर्च भयो । हात्तीसारका लागि १ अर्ब १७ करोड ५५ लाख ६२ हजार रुपैयाँ विनियोजन गर्‍यो ।

आरक्ष आयोजनामा घाँसे मैदान व्यवस्थापन, वन्यजन्तुका लागि खानेपानी बनाउने, घोल, पानी पोखरी निर्माण, सोलार फेन्सिङलगायत वन्यजन्तुको संरक्षणका आवश्यक पर्ने सबै किसिमका व्यवस्थापकीय कार्यक्रमहरु पर्दछन् । यही बजेटबाटै वन्यजन्तु गणना,उद्धार, फोहोर व्यवस्थापन लगायतका कामहरु पर्छन् । यसका अलावा संरक्षणका लागि विभिन्न दातृ निकायहरुले पनि करोडौं रुपैयाँ विनियोजन गरेका छन् ।

शुक्लाफाँटाको घाँसे मैदान देखिएका मृग । फाइल तस्बिरः कान्तिपुर

विभागका अधिकारीहरु भने संरक्षणका लागि आएका अधिकांश बजेट प्रशासनिक र कर्मचारीको तलब भत्तामा खर्च हुने गरेको बताउँछन् । प्रवक्ता वेदकुमार ढकाल भन्छन्,‘निकुञ्जका लागि छुट्टाइएको बजेटमध्ये अधिकांश रकम प्रशासनिक खर्च र भत्तामा नै हुने गर्छ । प्रशासनिक खर्च ७५ प्रतिशत जति छ । अझ विभागले गरेको खर्चमा बढी सेनाको नै हुन्छ । ’

के भन्छन् अनुसन्धानकर्ता ?

वातावरण विज्ञ एवं अनुसन्धानकर्ता उत्तमबाबु श्रेष्ठले यी घटनाहरुले प्रजाति बढेको संकेत दिएको उल्लेख गर्दै भने,‘संख्या बढेसँगै मृत्यु बढ्नु स्वभाविक नै हो । अरु नै कारणबाट वन्यजन्तुको मृत्यु धेरै देखिन्छ भने अहिले भइरहेको व्यवस्थापनमा केही कमजोरी छ हो कि भन्ने देखिन्छ ।’

नेपालको अवस्थिती र भूगोलले पनि वन्यजन्तुसँगै सह–अस्तित्व कायम गर्ने खालको छ । श्रेष्ठ भन्छन्,‘हामीले वन्यजन्तुको बासस्थानमा सह–अस्तित्वको रुपमा बाच्नुपर्ने थियो तर हामीले त्यो आत्मसाथ गरेको देखिएन ।’

नेपालका निकुञ्ज, आरक्ष र मध्यवर्ती क्षेत्र नजिकैका नहरहरु वन्यजन्तुमैत्री छैनन् । नहरमा पस्ने बित्तिकै ती जनावारहरु माथि निक्लन सक्दैनन् । जसका कारण उनीहरु त्यही मर्ने गरेका छन् ।

आफ्नो सुविधाका लागि मानिसले बनाउने संरचना वन्यजन्तुमैत्री हुन नपाउँदा ती उनीहरुका लागि धराप हुन्छन् । कतिपय अवस्थामा वन्यजन्तुहरु सुरक्षाका लागि बनाइएको जालीमा लागेर पनि मर्ने गरेका छन् । वन क्षेत्रमा चोरी सिकारका घटनाले पनि मृत्यु बढाइरहेका छन् ।

गत पुस ३० मा मोरङ प्रहरीले लेटाङ नगरपालिका-९ स्थित बसन्त हरियाली सामुदायिक वनबाट बरामद गरेको तीन थान भरुवा बन्दुक ।

बासस्थानको गुणस्तर र क्षेत्रफल घट्दा पनि अप्राकृतिक मृत्यु बढ्ने विज्ञहरु बताउँछन् । लेखक एवं अनुसन्धानकर्ता कमल मादेन संरक्षणका प्रयास गुणस्तरभन्दा पनि संख्या बढाउनेतर्फ ध्यान दिँदा वन्यजन्तुको अप्राकृतिक मृत्यु धेरै भएको बताउँछन् । उनी भन्छन्,‘वनको वन्यजन्तु भारवहन क्षमता बढ्यो । हाम्रो ध्यान संंख्या बढाउनेतिर मात्रै गयो, सुरक्षाका उपायतिर पनि गएन । अप्राकृतिक मृत्यु बढ्ने भइहाल्यो नि ।’

वन्यजन्तु संरक्षणका लागि सरकारले योजना बनाउने र अनुसन्धानमा पनि आफू अनुकुल हुने किसिमले विज्ञ खटाउने परिपाटिले पनि संरक्षण क्षेत्रको वास्तविक चित्र अझै आउन नसकेको उनी बताउँछन् ।

वन्यजन्तुसँग सम्बन्धित अनुसन्धानहरु प्राज्ञिक तहसम्म मात्रै सीमित हुँदा दीर्घकालीन रुपमा सञ्चालन हुने अनुसन्धानहरु कम छन् । वन्यजन्तुसँग सम्बन्धित साना दायरा बाहेकका अन्य प्रकारका अनुसन्धानहरु नेपालमा बिरलै हुने गर्छन् ।

गत मंसिरमा चितवनमा मृत अवस्थामा भेटिएको गैंडा ।

जैविक विविधताका अनुसन्धानकर्ता प्रकाशचन्द्र अर्याल यो तथ्यांकले वन्यजन्तु विचरण गर्ने क्षेत्रहरु सुरक्षित नभएको देखिने बताउँछन् । उनी भन्छन्, ‘खाल्डोमा परेर मर्ने, खेत क्षेत्रमा मर्नेजस्ता घटनाहरु दखिएका छन् । मानिसहरुमा वन्यजन्तुप्रतिको नकरात्मक भावमा परिवर्तन पनि ल्याउनुपर्ने जरुरी देखिन्छ ’ उनले वन्यजन्तुको संख्या बढेसँगै मृत्यु पनि स्वभाविक रुपमा बढ्ने बताउँदै त्यही अनुपातमा घटनाहरु पनि बढ्ने बताए ।

नेपालको मुख्य राजमार्गको करिब २ सय किलोमिटर खण्ड संरक्षित क्षेत्रमा पर्छ । ती क्षेत्रमा वन्यजन्तु विचरण गर्ने क्रममा दुर्घटना पनि धेरै हुने गरेका छन् । पछिल्लो समय कुकुरको आक्रमणमा परी पनि वन्यजन्तुहरुको अकालमा ज्यान गुमाउने गरेका छन् । अर्धजंगली कुकुर(फेरल डग)का कारण शाकाहारी वन्यजन्तुहरुको मृत्यु बढेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा पूर्वपश्चिम राजमार्ग पार गर्दै पाटे बाघ । फाइल तस्बिर : सन्जीव पुन/जेडएसएल

राष्ट्रिय प्रकृतिक संरक्षण कोषका प्रवक्ता एवं वन्यजन्तुविद् नरेश सुवेदी वन्यजन्तुमैत्री पूर्वाधार नहुने कारण र मानिसहरुको चापले मृत्युको संख्या बढाएको बताउँछन् । पछिल्लो ३ वर्षमा निकुञ्ज तथा आरक्ष क्षेत्रका जंगलहरुमा अत्याधिक चाप बढेको बताउँदै उनले चोरी सिकार पनि मौलाएको बताए । उनले संरक्षको प्रयास एउटा संस्थाले मात्रै गरेर नहुने भएकाले सबैको प्रयास जरुरी रहेको औंल्याए । द्वन्द्वमा परेका वन्यजन्तुलाई प्राकृतिक अवस्थामा छाड्ने अवस्थामा पनि नहुँदा केही जीवहरु नियन्त्रण लिएकै ठाउँमा पनि मर्ने गरेका छन् ।

नियन्त्रणमा लिएर मार्नुअघि पासोमा राखिएको सुन गोहोरो ।

निकुञ्ज तथा आरक्ष क्षेत्रका पानीका स्रोतहरु प्रदूषित बन्दै गएका छन् भने काही सुकेका छन् । निकुञ्जको फाइदा स्थानीयस्तरमा मात्रै भएपनि उपल्लो क्षेत्रकालाई यसबारे लाभ दिन सके संरक्षणको तहमा अझ परिवर्तन आउने विज्ञहरु बताउँछन् ।

तथ्यांक ‘अपूरो’ हुन सक्छ : प्राध्यापक थापा

त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका प्रमुख एवं वन्यजन्तुविद् प्राध्यापक तेजबहादुर थापा विभागले निकालेको वन्यजन्तुको मृत्यु विवरण ‘अपूरो’ रहेको बताउँछन् । जंगलको कोर क्षेत्रभित्र मरेका वन्यजन्तुहरुको विवरण थाहा नहुने र नोटिस भएका जीवहरुको मात्रै संख्या समावेश भएको हुन सक्ने उनको भनाइ छ । ‘जंगलको कोर क्षेत्रभित्र पनि वन्यजन्तुको मृत्यु हुन्छ होला नि! जुन घटना नोटिस हुन्छ त्यही मात्रै एन्ट्री हुन्छन् । तथ्यांक संकलनको विधिमा केही तालमेल नमिलेको जस्तो देखिन्छ,’ उनले भने ।

वन्यजन्तुप्रतिको अपनत्व अझै आउन सकेन: विभाग

विभागका इकोलोजिस्ट समेत रहेका प्रवक्ता ढकाल मानिसहरुमा अझै पनि वन्यजन्तु संरक्षणमा अपन्त्व नआएको बताउँछन् । ‘सबैभन्दा दु:खको कुरा के छ भने वन्यजन्तुको संरक्षण भनेको वन विभाग र निकुञ्ज विभागले मात्रै गर्ने हो भन्ने आम मानिसमा भावना छ । वन्यजन्तु सबैका साझा हुन् । यसमा सबैको हातेमालो आवश्यक देखिन्छ,’ उनले भने ।

यही माघ १० गते सडक फराकिलो बनाउन खनेर छाडेको खाल्डोमा परी मरेको गैंडा ।

कोर क्षेत्रका मानिसहरु मात्रै संरक्षण क्षेत्रमा सहभागिता हुने र अन्य क्षेत्रका मानिसहरु नहुँदा वन्यजन्तु संरक्षणमा चुनौती थपिएको छ । संघीय प्रणालीमा मुलुक गएपनि पछिल्लो समय मध्यवर्ती क्षेत्र स्थानीय तह र निकुञ्जबीच कसको हो भन्नेमा अहिले पनि विवाद छ । यसले पनि वन्यजन्तु संरक्षणमा चुनौती बढाएको छ । कहिले बाढीका कारण र कहिले करेन्ट लागेर वन्यजन्तु मर्ने घटनाले पनि अप्राकृतिक मृत्यु बढेको देखिएको हो ।

बिरलै हुन्छन् पोस्टमार्टम

बाघलगायतका ठूला जीवहरुको सवालमा पोस्टमार्टम हुने गरेपनि सबै वन्यजन्तुको पोस्टमार्टम हुँदैन। मृत्युको कारण नखुलेका वन्यजन्तुको पोस्टमार्टम गर्नुपर्ने आवश्यक हुन्छ तर भेटनरी टिम नहुँदा पनि समस्या हुने गरेको छ । घाइते तथा उद्धार गरेर ल्याएका वन्यजन्तुहरु राखेपनि दक्ष जनशक्तिको अभापमा उपचार नपाउँदा पनि वन्यजन्तुहरुको मृत्यु हुने गरेको छ । कारण नखुलेको मृत्यु पत्ता लगाउनका लागि भेटनरी टिम आवश्यक पर्ने प्रवक्ता ढकाल बताउँछन् । हाल विभागले हरेक निकुञ्ज कार्यालयहरुमा घटीमा एउटा भेटनरी टिमको आवश्यकता औंल्याएको यसका लागि सरकारसँग पनि आग्रह गरेको जनाएको छ ।

प्रकाशित : माघ २३, २०७८ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?