कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कुकुरले मार्दै छन् चित्तल र मृग

प्रताप विष्ट

हेटौंडा — लगातार कुकुरका बथानले लखेटेर मार्ने क्रम नरोकिँदा हेटौंडा बजारको मध्यभागको वनविज्ञान अध्ययन संस्थानको वनका चित्तल र मृग संकटमा छन् । पछिल्लोपटक बुधबार संस्थाननजिक राप्ती नदी किनारको डम्पिङ साइटमा एउटा चित्तल मरेको भेटिएको छ । 

कुकुरले मार्दै छन् चित्तल र मृग

त्यसलाई चारवटा कुकुरले लखेटेर मारेको डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत अच्युत लामिछानेले बताए । ‘चर्न निस्केको चित्तललाई कुकुरहरूले लखेटेर मारेका हुन्,’ उनले भने । उक्त चित्तल ७० केजी तौलको थियो । उक्त क्षेत्रमा नै गत आइतबार कुकुरले ८० केजी तौलको अर्को चित्तल मारेको थियो । मारिएका चित्तल दुवै भाले थिए । संस्थानको वन क्षेत्रसँगै राप्ती नदी किनार छ । वन्यजन्तु चर्न र पानी खान निस्कन्छन् । फोहोरमा झुम्मिएका कुकुरले लखेट्दै मार्ने गरेका छन् ।

चालु वर्षको ६ महिनामा कुकुरबाट १० वटा चित्तल मारिएको डिभिजन वन कार्यालय हेटौंडाले जनाएको छ । मारिएकामध्ये ६ वटा भाले र ४ वटा पोथी छन् । गत वर्ष १५ वटा चित्तल र १४ वटा मृग कुकुरले मारेका थिए । त्यसरी मारिएकामध्ये १० पोथी १९ वटा भाले थिए । ‘६ वटा घाइते अवस्थामा फेला परेका थिए भने २९ वटा मरेको फेला परेका थिए,’ सहायक वन अधिकृत लामिछानेले भने, ‘घाइतेलाई उपचार गरेर जंगलमा नै छाडियो ।’

हेटौंडा उपमहानगरपालिकाले राप्तीछेउमा फोहोर फाल्छ । डम्पिङ साइडमा खानेकुरा खोज्न पुग्ने कुकुर थुप्रै हुन्छन् । त्यहींनजिकै चर्न र पानी खान मृग र चित्तल पुग्छन् र मारिन्छन् । चित्तल र मृग भाग्ने क्रममा डम्पिङ साइडमा लगाएको काँडेतारमा अल्झिन्छन् । कुकुरहरूले टोकेर मार्ने गरेका छन् । १ सय ५८ बिघामा फैलिएको वनविज्ञान अध्ययन संस्थानमा विगतमा सय वटाभन्दा बढी चित्तल र मृग थिए ।

‘अहिले १२/१४ वटाको एउटा झुन्डबाहेक चित्तल छैनन्,’ संस्थानका क्याम्पस प्रमुख कृष्णप्रसाद दाहालले भने, ‘संस्थानका कम्पाउन्डहरू भत्काइएकाले चित्तलहरू मासिँदै गएका हुन् ।’ डम्पिङ साइडमा लगाएको काँडेतार संस्थानका जंगलभित्र रहेका वन्यजन्तुका निम्ति धराप थापेको जस्तो भएको छ ।

मर्निङ–वाकमा निस्कने सर्वसाधारणलाई पनि छाडा कुकुरले दुःख दिने गरेका छन् । सडक विभागले राजमार्गसँग जोडिएका संस्थानको पर्खाल भत्काएपछि बाहिरका कुकुर पस्न खुला जस्तै छ । अर्कोतिर जगल वरिपरि चारैतिर बाटो बनाइएपछि पनि चित्तलहरू दुर्घटनामा परेर मारिने क्रम बढेको छ ।

‘चित्तल र मृगको रगत खान पल्केका आधा दर्जन भुस्याहा कुकुरहरूले यतिका वन्यजन्तु मारिसक्यो,’ वन कार्यालय सहायक वन अधिकृत लामिछानेले भने, ‘यसको संरक्षणका लागि बेलैमा सोचिएन भने अध्ययन संस्थानको जंगल चित्तल र मृगविहीन हुने अवस्था छ ।’ कुकुर नियन्त्रणको माग उठ्दा जनप्रतिनिधिहरू पशु अधिकारकर्मीबाट विरोध आउने भन्दै पन्छिन्छन् ।

वनविज्ञानको जग्गामा त्रिभुवन विश्वविद्यालय र कृषि तथा वनविज्ञान विश्वविद्यालयको स्वामित्वको विवाद छ । त्यही विवादका कारणले भत्केका पर्खाल पुनर्निर्माण हुन सकेनन् । तीन वर्षदेखि पशु अधिकारकर्मीहरूको दबाबले कुकुर मार्न छाडिएको छ ।

प्रकाशित : माघ २, २०७७ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?