कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

करोडौं राजस्व उठ्छ, लगानी हुँदैन

मध्यवर्ती क्षेत्र घोषणामा ढिलाइ हुँदा ढोरपाटन आरक्षबाट वर्षमा ७ करोडसम्म राजस्व उठे पनि स्थानीय विकासमा उपयोग भएन
प्रकाश बराल

बागलुङ — ढोरपाटन उपत्यकामा बग्ने उत्तरगंगामा पक्की पुल छैन । एक गाउँबाट अर्को गाउँ पुग्न घण्टौं हिँड्नुपर्ने बाध्यता स्थानीयलाई छ । यहाँका सामुदायिक होमस्टेले भ्युटावर निर्माण गर्न चाहेका छन्, तर बजेट अभाव छ ।

करोडौं राजस्व उठ्छ, लगानी हुँदैन

ढोरपाटनमै रहेको सिकार आरक्षले भने बर्सेनि करोडौं राजस्व उठाउँछ । कानुनी रूपमा उक्त राजस्वलाई विकास निर्माणमा खर्चन बाधा पुगेको छ । मध्यवर्ती क्षेत्र घोषणा नहुँदा ढोरपाटन सिकार आरक्षमा संकलित राजस्व सबै सरकारी खातामा पुग्छ । सरकारले योजना तर्जुमा गरे पनि बजेट यहाँसम्म आउँदैन ।

सिकारीबाट उठ्ने राजस्वसमेत गर्दा वर्षमै ५–७ करोड रुपैयाँसम्म संकलन भए पनि उक्त रकम स्थानीय विकासमा लगानी भइरहेको छैन । मध्यवर्ती क्षेत्र घोषणा भएमा संकलित राजस्वको ४०–६० प्रशिशत रकम स्थानीय विकासमा खर्चन पाइने व्यवस्था छ । २०३९ मा सिकार आरक्ष घोषणा भएर राजस्व संकलन सुरु भए पनि झन्डै ४० वर्षसम्म स्थानीयले त्यसको प्रतिफल पाउन सकेका छैनन् ।

‘हामीले राजस्व यहीं लगानी हुन्छ, मध्यवर्ती घोषणा गरौं भनेका छौं तर केही अगुवाले स्थानीयलाई विरोध गर्न लगाएर आफूले फाइदा खाएका छन्,’ ढोरपाटन नगर प्रमुख देवकुमार नेपालीले भने, ‘चोरी सिकारी गर्ने, आरक्ष क्षेत्रमा दोहन गर्न खोज्नेहरूले उक्साएर स्थानीयले विरोध गरिरहेका हुन् ।’ स्थानीयको विरोधकै कारण आरक्षले मध्यवर्ती क्षेत्र घोषणा गर्न नसकेको हो ।

आरक्षका सहायक वार्डेन सूर्य खड्काले मध्यवर्ती घोषणा ढिला हुँदा उपभोक्ता र स्थानीयलाई नोक्सानी भइरहेको बताए । ‘राजस्व संकलनमा कुनै कमी छैन तर स्थानीयले विकासको प्रतिफल पाएका छैनन्,’ खड्काले भने, ‘उत्तरगंगाको ढुंगा, गिट्टी र बालुवा उत्खननमा पनि उनीहरूले अवसर पाएका छैनन् ।’ घर तथा अन्य संरचना बनाउनु पर्दा स्थानीयले अहिले पनि बुर्तिवाङदेखि निर्माण सामग्री ढुवानी गरेर ल्याउँछन् । आरक्षभित्रै उत्खनन गर्न पाएमा लाखौं फाइदा हुने उनले बताए ।

आरक्ष कार्यालयले २०६२ देखि नै मध्यवर्ती क्षेत्र घोषणाको पहल गरेको तर स्थानीयले नमानेको प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए । ‘सिकार राजस्व, नदीजन्य वस्तु, काठपात बिक्री र दण्ड जरिवानासमेत गरी बर्सेनि ७ करोड राजस्व जम्मा हुँदा जनताले पाउन सकेका छैनन्,’ कँडेलले भने, ‘अझै पनि स्थानीयलाई मनाउन कठिन भइरहेको छ ।’ आरक्षले ढोरपाटन उपत्यका प्रवेशद्वार निर्माण गरिरहेको छ । उक्त निर्माणकार्यमा समेत स्थानीयको अपनत्व नभएको स्थानीय पानबहादुर विकले बताए ।

‘मध्यवर्ती क्षेत्र घोषणा गरौं भनेकै छौं, केही अगुवाले रोक्नुभएको हो । त्यसैले हामी पनि बोल्न सकेका छैनौं,’ विकले भने, ‘स्थानीयको फाइदा हुन्छ भने घोषणा किन रोक्नुपर्‍यो र ?’ चितवनलगायत अन्य निकुञ्ज र संरक्षण क्षेत्रमा भ्रमण गराएर स्थानीयलाई अनुभव आदानप्रदानमार्फत सहमतिमा ल्याउने पहल थाल्नुपर्ने उनले सुझाव दिए । कँडेलले पनि त्यसको तयारी गरेको बताएका छन् । उपभोक्ता समिति र टोल विकास संस्था बनाएर मागका आधारमा पूर्वाधार, सामाजिक विकास र प्रशासनिक खर्च गर्न सकिने उनले बताए ।

पाँच वर्षअघि सुरक्षाका लागि सेना राख्दा पनि स्थानीयले अवरोध गरेका थिए । सेना राखेपछि चोरी सिकार भने घटेको स्थानीय नै बताउँछन् । ब्यारेकबाट दैनिक १५–२० जनाको औषधोपचारसमेत हुँदै आएको छ । केही वर्षअघि स्थानीय पूर्णबहादुर घर्तीको संयोजकत्वमा ढोरपाटन सिकार आरक्ष पीडित संघर्ष समिति गठन भएको थियो । उनीहरूले सेना ल्याउन नदिने, मध्यवर्ती क्षेत्र घोषणा गर्न नदिने भन्दै आन्दोलन गरेका थिए । स्थानीयले अन्तर्राष्ट्रिय श्रम संगठन ‘आईएलओ महासन्धि १६९’ विरुद्ध भएको भन्दै विरोध गरेका थिए ।

प्रकाशित : पुस ६, २०७८ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?