शुक्लाफाँटाको घाँसे मैदान व्यवस्थित गरिँदै- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शुक्लाफाँटाको घाँसे मैदान व्यवस्थित गरिँदै

भवानी भट्ट

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थापनको काम सुरु भएको छ । बाह्रसिंगाको प्रमुख बासस्थानका रूपमा रहेको शुक्लाफाँटा घाँसे मैदानको व्यवस्थापनको काम बुधबारबाट सुरु गरिएको हो ।

५४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको घाँसे मैदानमा ट्रयाक्टरद्वारा घाँस काटिनेछ । उक्त घाँस सुकेपछि आगो लगाइनेछ । आगो लगाइएको क्षेत्रमा घाँस राम्ररी पलाउने छ ।

निकुञ्ज प्रशासनले पहिलो चरणमा बाटो बनाउने काम गरेको छ । निकुञ्ज भित्र विभिन्न क्षेत्रमा सफारी बाटो बनाउने काम चलिरहेको प्रमुख संरक्षण अधिकृत किशोर मेहताले बताए । ‘बाटोको घाँस पन्छाउने र वर्षाले बन्द भएको बाटो खुलाउने काम चलिरहेको छ,’ उनले भने, ‘बाटो सफा गर्ने काम लगभग अन्तिम चरणमा पुगेको छ ।’

निकुञ्ज भित्र बन्निखेडा हुँदै बेलडाडी तथा मंगलसेरा हुँदै सिंहपुर जाने र तथा निकुञ्ज प्रवेश द्वार मझगाउँदेखि बटो सफा गरिएको छ । वर्षाले विभिन्न ठाउँमा बिगारेको बाटो तथा काठेपुललगायतको मर्मत पनि गरिएको छ । ‘घाँसे मैदान व्यवस्थापन भरखर सुरु भएको छ, अब एक/डेढ महिनाजति लाग्छ,’ प्रमुख संरक्षण अधिकृत मेहताले भने, ‘वजेट कम भएका कारण घाँसे मैदान पुरैमा व्यवस्थापन गर्न सकिने अवस्था छैन ।’ उनकाअनुसार संरक्षण क्षेत्रमा कार्यरत संघ संस्थाहरूबाट सहयोग प्राप्त भए त्यसै अनुसार व्यवस्थापन गर्न सकिने बताए ।

घाँसे मैदान व्यवस्थापन गर्न १८ लाखमात्रै वजेट निकासा भएको छ ,जुन गतविगतका वर्षको तुलनामा निकै कम हो । प्रमुख संरक्षण अधिकृत मेहताकाअनुसार गतवर्ष ४० लाख वजेट आएको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार मझगाउँबाट १८ किलोमिटर दक्षिणमा रहेको शुक्लाफाँटा घाँसे मैदान निकुञ्जको प्रमुख आकर्षण हो । यो बाह्रसिंगाको प्रमुख बासस्थान पनि हो । एकै पटक हजारौंको झुन्डमा बाह्रसिंगा सहजै हेर्न पाइन्छ ।

प्रकाशित : मंसिर १८, २०७८ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्

बाघ गणकको सुरक्षामा उच्च सतर्कता

असुरक्षित स्थानमा क्याम्प बनाउनैपर्ने अवस्था आए सेनासँग सहकार्य र पर्याप्त हात्ती प्रयोग गरिने
अब्दुल्लाह मियाँ, रमेशकुमार पौडेल

काठमाडौं, चितवन — राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आइतबारदेखि बाघ गणना गर्ने भएको छ । गणना चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरबाट सुरु हुँदै छ । २०२१ भित्रै गणना गरिने भए पनि कार्यक्रमको नाम ‘राष्ट्रिय बाघ गणना २०२२’ दिइएको छ । नेपालमा पर्सा राष्ट्रिय निकुञ्ज, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ । सबैभन्दा धेरै चितवनमा छन् ।

गत चैतको गैंडा गणनामा खटिएका गणकलाई हात्तीले आक्रमण गरेर घाइते बनाएपछि यो पटकको बाघ गणनामा प्राविधिकको सुरक्षापाटोलाई विशेष ध्यान दिइने भएको छ । विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले हात्ती, बाघ र गैंडाले गणनामा खटिएका प्राविधिकलाई जतिबेलै आक्रमण गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाइने बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी), विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) र जुलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल) ले गणनामा सहयोग गर्दै छन् । सरकार र सहयोगी संस्थाको ३ करोड ७० लाख रुपैयाँ खर्च हुने विभागको अनुमान छ । गणनाका लागि विभागका महानिर्देशकको संयोजकत्वमा वन तथा वातावरण मन्त्रालयको जैविक विविधता तथा वातावरण महाशाखा प्रमुख, वन तथा भू–संरक्षण विभागका महानिर्देशक, संरक्षण सहयोगी संस्थाहरू डब्लूडब्लूडब्लूएफ नेपाल र जेडएसएल नेपालका राष्ट्रिय प्रतिनिधि, एनटीएनसीका सदस्य सचिव र सेनाको रानीका प्रमुख सदस्य रहने गरी सल्लाहकार समिति बनाइएको छ ।

त्यसैगरी, संरक्षण सहयोगी संस्थाका प्रतिनिधि/विज्ञहरू सदस्य रहने गरी विभागका इकोलोजिस्टको संयोजकत्वमा प्राविधिक समिति छ । स्थानीयस्तरमा भने वार्डेनको संयोजकत्वमा डिभिजन वन कार्यालय, नेपाली सेना, साझेदार सहयोगी संस्थाहरूका प्रतिनिधि र मध्यवर्ती क्षेत्रका प्रतिनिधि रहेको कार्यान्वयन कार्यदल बनाइएको छ ।

गणनाका लागि बाघ पाइने ५ वटा निकुञ्ज र बाहिरको क्षेत्र समेटेर तीनवटा कम्प्लेक्स बनाइएको छ । पहिलो चरणमा चितवन–पर्सा कम्प्लेक्सबाट गणना सुरु हुनेछ । कँडेलका अनुसार क्यामरा जडान गर्ने प्रयोजनका लागि प्राविधिक टोली बस्ने क्याम्प बनाउँदा नै सुरक्षापाटोलाई विशेष ख्याल गरिनेछ । ‘सकेसम्म असुरक्षित लागेको र भित्री भाग (कोर क्षेत्र) मा त्यस्तो क्याम्प खडा गरिने छैन,’ उनले भने, ‘गर्नैपर्ने अवस्था आयो भने सेनासँग सहकार्य गरिनेछ र पर्याप्त मात्रामा हात्ती प्रयोग गरिनेछ ।’ बाघको बासस्थल रहेको सबैजसो क्षेत्रमा जंगली हात्ती आउजाउ गर्छन् । कतिपय अवस्थामा गैंडाले समेत आक्रमण गर्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने हुन्छ ।

प्राविधिकले चितवन–पर्सा कम्प्लेक्समा भन्दा बढ्दा सुरक्षा चुनौती बर्दिया–बाँके कम्प्लेक्सलाई ठानेका छन् । यो कम्प्लेक्समा ८ सय १६ वटा ग्रिड छन् । बर्दिया र बाँके निकुञ्ज आसपास पछिल्ला तीन वर्षयता बाघको आक्रमणबाट ज्यान गुमाउनेको संख्या बढिरहेको छ । पछिल्लो पटक मंसिर १२ गते बर्दियाको गेरुवा–४ राजीपुरमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार चालु आव २०७८/७९ का चार महिनामा बाघको आक्रमणबाट बर्दियामा ३ र बाँके निकुञ्ज क्षेत्रमा २ जनाको ज्यान गइसकेको छ । बर्दियामा आव २०७७/७८ मा १२ र आव २०७६/७७ मा ६ जनाको ज्यान गएको थियो । आव २०७६/७७ मा बाँके निकुञ्ज क्षेत्रमा बाघको आक्रमणबाट २ जनाले ज्यान गुमाए । निकुञ्जभन्दा बाहिरको मध्यवर्ती क्षेत्र, करिडोर र सामुदायिक वन क्षेत्रमै बाघले आक्रमण गरेका धेरै घटना भएकाले यसपटक संवेदनशील मानिएका स्थान र कोर एरियाभित्र क्याम्प खडा नगरिने भएको छ ।

‘पटक–पटक घटना भएका र संवेदनशील भागमा क्याम्प खडा गरिने छैन,’ एनटीएनसीको बर्दिया संरक्षण कार्यक्रमका प्रमुख डा. रवीन कडरियाले भने, ‘बिगतमा हामी नदीतटीय क्षेत्र र जंगलको भित्री भागमा टेन्ट राखेर पनि बसेका थियौं, यो पटक त्यो गरिन्न । सेना र निकुञ्जको सुरक्षा पोस्टनजिक क्याम्प बनाएर बस्नेछौं ।’ बाघ गणनाको प्राविधिक समितिमा रहेका डब्लूडब्लूएफ नेपालका डा. कञ्चन थापाले कोर क्षेत्रभन्दा बाहिर क्याम्प खडा गरेर पनि बाघ गणनाका लागि क्यामरा जडान गर्न कुनै समस्या नपर्ने बताए । ‘वन्यजन्तुको त्रास ठानिएको स्थानभन्दा बाहिर क्याम्प बनायौं भने सम्भावित जोखिम न्यून हुन्छ,’ उनले भने, ‘यो पटक एउटा टोलीमा कम्तीमा पनि ६ देखि ८ जना प्राविधिक रहनेछन् ।’

विभागका इकोलोजिस्ट तथा सूचना अधिकारी वेदकुमार ढकालका अनुसार ‘टाइगर एन्ड प्रे–बेस मोनिटरिङ प्रोटोकल २०१७’ ले निर्दिष्ट गरेअनुसार क्यामरा ट्रयापिङ र अकुपेन्सी सर्भे विधि अपनाएर बाघ गणना गरिनेछ । गणनामा १० हजार ९ सय ४४ मान्छे दिन (म्यान डे) लाग्ने अनुमान गरिएको छ । फागुनसम्म सबै कम्प्लेक्समा गणना सक्ने र साउन १३ मा विश्व बाघ दिवसका दिन नतिजा सार्वजनिक गरिने विभागको तयारी छ ।

विश्वमा १३ देशमा बाघ पाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघ पाइने देशका कार्यकारी प्रमुखहरूको सम्मेलन भएको थियो । उक्त सम्मेलनले सन् २०२२ सम्म विश्वभर बाघको संख्या ३ हजार ५ सयको दोब्बर पार्ने संकल्प गरेको थियो । नेपालमा यो गणनामा बाघको संख्या करिब दोब्बर अर्थात् २ सय ५० को हाराहारी पुग्ने अपेक्षा गरिएको छ, सन् २०१० ताका नेपालमा १ सय २१ बाघ थिए । पहिलो गणनामा सन् १९९५/९६ मा करिब सय, सन् २००९ मा १ सय २१, सन् २०१३ मा १ सय ९८ र सन् २०१८ मा २ सय ३५ बाघ थिए । महानिर्देशक कँडेलले गणनाले सन् २०१० मा नेपालले गरेको संकल्प पूरा हुने अपेक्षा गरेका छन् ।

कसरी गनिन्छ बाघ ?

बाघ ओहोरदोहोर गर्ने क्षेत्र र बाटो पत्ता लगाएर स्वचालित क्यामरा राखिन्छ । क्यामरा पार गरेर बाघ गए आफैं फोटो खिचिन्छ । क्यामरामा कैद भएका बाघको तस्बिर हेरेर उक्त क्षेत्रमा कति बाघ छन् भन्ने निक्र्योल हुने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

गणनामा प्रयोग हुने क्यामरा विशेष खालको हुने र अनुसन्धानात्मक कामबाहेक अन्यत्र प्रयोग गर्न नमिल्ने एनटीएनसी सौराहा कार्यालयका प्रमुख बाबुराम लामिछाने बताउँछन् । विभागका इकोलोजिस्ट तथा सूचना अधिकारी वेदकुमार ढकालका अनुसार गणनाका लागि तीनवटा कम्प्लेक्सलाई १ हजार ९ सय २४ वटा ग्रिड बनाइएको छ । हरेक ग्रिडमा एक जोडी स्वचालित क्यामरा जडान गरिनेछ । त्यसो गर्दा जम्मा ३ हजार ८ सय ४८ वटा क्यामरा प्रयोग गरिनेछ । एउटा ग्रिडमा क्यामरा जडान गर्न प्राविधिकलाई २० मिनेट समय लाग्छ । एउटा ग्रिडमा १५ दिनसम्म ती क्यामरा राखिन्छ ।

दाउनेदेखि पूर्व वाग्मती नदीसम्मको चितवन निकुञ्ज, पर्सा निकुञ्ज र आसपासका वन क्षेत्र समेटेर ‘चितवन–पर्सा संयुक्त क्षेत्र’ निर्धारण भएको छ । ‘यो क्षेत्रलाई तीन खण्डमा विभाजित गरेर गणना गर्छाैं । एउटा खण्डमा तीन सय ग्रिड हुनेछन् । २ किलोमिटर लम्बाइ र त्यत्ति नै चौडा ग्रिड बनाइन्छ । यसरी एकपटकमा ६ सय क्यामरा प्रयोग हुन्छन्,’ एनटीएनसी सौराहा प्रमुख लामिछानेले भने ।

कहिले कति भेटिए बाघ ?

सन् १९९५/९६– करिब १ सय

सन् २००९– १२१

सन् २०१३– १९८

कहाँ कति बाघ ? (सन् २०१८)

चितवन राष्ट्रिय निकुञ्ज– ९३

बर्दिया राष्ट्रिय निकुञ्ज– ८७

बाँके राष्ट्रिय निकुञ्ज– २१

पर्सा राष्ट्रिय निकुञ्ज– १८

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज– १६

जम्मा – २३५

प्रकाशित : मंसिर १८, २०७८ ११:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×