कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

जब पानी खोज्दै निस्कन्छन् वन्यजन्तु

‘गेरूवामा गिट्टी, ढुंगा, बालुवा, काठ नहटाउँदा मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्यो’
निकुञ्ज क्षेत्रभित्र पानीका स्रोत सुक्दा आसपासका बस्तीमा घरपालुवा जन्तु र मान्छेमाथि बढे आक्रमणका घटना 

काठमाडौँ — एक दशकअघिसम्म कर्णाली नदीको भँगालो गेरुवामा बाह्रै महिना पानीको बहाव तीव्र हुन्थ्यो । पक्की पुल बनिसकेको थिएन । कोठियाघाटमा हिउँदमा पन्टुन पुल जडान गरिन्थ्यो । वर्षात्मा स्टिमर चल्थ्यो । कोठियाघाटभन्दा उत्तर मनाउमा काठको डुंगा सञ्चालन हुन्थ्यो ।

जब पानी खोज्दै निस्कन्छन् वन्यजन्तु

गेरुवामा पानी धेरै भएका बेला डल्फिन खेलेको हेर्न पर्यटकको भीड लाग्थ्यो । तर अहिले नदी नहरजत्रो भएको छ । बर्दिया निकुञ्ज भएर बग्ने शाखा–प्रशाखा सुकेका छन् । निकुञ्जभित्रका भँगाला बगर बनेका छन् ।

गेरुवा नदी बर्दिया निकुञ्जमा वन्यजन्तुको प्रमुख बासस्थान रहेको पश्चिम क्षेत्रमा पिउने पानीको मुख्य स्रोत थियो । यसमा पानीको बहाव बढी हुँदा निकुञ्जबाट बस्तीमा हात्ती, बाघलगायत वन्यजन्तु सहजै आउजाउ गर्न सक्दैनन् । किसान पनि बालीनालीलगायत धनजनको क्षति नहुँदा ढुक्क थिए । जलस्तर घटेपछि अधिकांश डल्फिन लगायतका जलचर भारततर्फ गएको गेरुवा गाउँपालिका अध्यक्ष जमानसिंह केसीले बताए ।

चिसापानीदेखि करिब ३ किमि दक्षिणबाट कर्णाली नदी पूर्व र पश्चिम बाँडिएको छ । राजापुरको कर्णाली नदी व्यवस्थापन आयोजना प्रमुख धर्मकुमार न्यौपानेले निकुञ्जभित्रबाट बग्ने गेरुवा नदी थुनिएपछि यस क्षेत्रमा पानीको समस्या भएको बताए । गेरुवा थुनिएपछि निकुञ्जसँग जोडिएको पश्चिम क्षेत्रमा खोला र नाला सुकेका छन् । पर्याप्त पानीको स्रोत भएको गेरुवा नदीमा मानिस सहजै हिँडेर वारपार गर्छन् । निकुञ्जबाट निस्केका वन्यजन्तु गेरुवा गाउँपालिकाका बस्तीमा सहजै पुगेर मानिसमाथि आक्रमण गरिरहेका छन् ।

गत कात्तिक महिनायता मात्रै बाघले दुई जनाको ज्यान लिइसकेको छ । करिब चार वर्षअघि निकुञ्जबाट निस्केको हात्तीले मनाउमा एक जनाको ज्यान लिनुका साथै तीन जनालाई घाइते बनाएको थियो । गेरुवामा पानी सुक्दै गएका कारण सजिलै खोला तरेर बस्ती पस्ने क्रम जारी छ । यहाँका कैयौँ बस्ती वन्यजन्तुको आतंकले अन्यत्र स्थानान्तरण भइसकेको गेरुवा–४ का रंगीलाल थारूले बताए । ‘गेरुवामा पर्याप्त पानी भएको भए किसान पनि खुसी हुने थिए,’ उनले भने, ‘बर्दिया निकुञ्जबाट वन्यजन्तु बाहिर निस्किने सम्भावना न्यून हुने थियो ।’ अहिले यस क्षेत्रमा बाघ र हात्ती प्रायः आउने गरेका छन् । हात्तीले अन्नबाली सखाप गर्ने गरेको छ भने बाघले मानिस र गाईगोरु, बाख्रामाथि आक्रमण गरेका घटना बढेका छन् ।

बर्दिया निकुञ्ज हुँदै बबई र कर्णालीको भंगालो गेरुवा नदी बग्छ । बबई भने निकुञ्जको पूर्वी सीमा बासगढी–१ चेपाङ हुँदै परेवा ओडारबाट गुलरियातर्फ बग्ने गरेको छ । करिब १० वर्षदेखि गेरुवामा पानी सुक्ने प्रमुख कारण बाढीले बगाएको गिट्टी, ढुंगा र बालुवाले थुनेपछि यस्तो अवस्था आएको हो । कर्णाली नदी व्यवस्थापनले गर्दै आएको तटबन्ध ओखरिया बाँधनजिक गिट्टी, ढुंगा, बालुवा र काठ थुप्रिएको छ । निकुञ्ज क्षेत्रभित्र परेकाले अरू निकायले हटाउन मिल्दैन । यसै कारण निकुञ्जले नै चासो दिएर यसलाई तत्काल हटाउनुपर्ने स्थानीयको माग छ । ‘निकुञ्जले जनशक्ति बढी लगाएर ढुंगा, गिट्टी, बालुवा र काठ तत्काल हटाएर समस्याको समाधान गर्नुपर्छ,’ आयोजना प्रमुख न्यौपानेले भने ।

निकुञ्जका सहायक संरक्षण अधिकृत असीम थापाले गेरुवा नदीमा पानीको व्यवस्थापनबारे काम भइरहेको बताए । निकुञ्जभित्र वन्यजन्तुका लागि ५२ वटा पोखरी, ४५ वटा सोलार बोरिङ जडान गरी वन्यजन्तुका लागि पानीको व्यवस्था गरिएको उनले जनाए । यो पर्याप्त नभएका कारण वन्यजन्तु प्रायः बाहिर निस्कने गरेको स्थानीयले सुनाए । ९ सय ६८ वर्ग किमि क्षेत्र आगटेको बर्दिया निकुञ्जमा वन्यजन्तुको संख्या बढ्दै गएको छ । बाघ १ सय २५ पुगेको अनुमान निकुञ्जको छ । हात्ती झन्डै १ सय १० भएको अनुमान छ । तर, पर्याप्त पानीको स्रोत हुँदाहुँदै गेरुवामा थुनिएको गिट्टी, ढुंगा, बालुवा, काठ नहटाउँदा मानव र वन्यजन्तुबीच द्वन्द्व बढिरहेको वन उपभोक्ता महासंघका सचिवालय सदस्य मोहम्मद कर खाँले बताए ।

बाँके निकुञ्ज नदीविहीन

५ सय ५० वर्ग किलोमिटरमा फैलिएको मुलुकको सबैभन्दा कान्छो बाँके राष्ट्रिय निकुञ्ज बाह्रै महिना पानी बग्ने नदी र खोलाविहीन छ । जसका कारण गर्मी सुरु भएसँगै वन्यजन्तु पानीको खोजीमा निकुञ्जबाहिर निस्कने गरेका छन् । निकुञ्जको उत्तर सीमामा बबई र दक्षिणपूर्व राप्ती नदी बगेको छ । निकुञ्जका कतिपय क्षेत्रमा सिक्टा सिँचाइ आयोजनाको मूल नहर छ ।

सिक्टाको नहर वन्यजन्तु मैत्री नभएका कारण दुर्घटना भई वन्यजन्तुको ज्यान जाने गरेको संरक्षणकर्मी बताउँछन् । निकुञ्ज क्षेत्रमा बाह्रै महिना पानी बग्ने नदी र खोला नभएपछि बाँके निकुञ्ज प्रशासनले करिब चार दर्जन बढी कृत्रिम पोखरी बनाएको छ । तर, ती पोखरीहरू गर्मी सुरु नहुँदै सुक्ने गरेका छन् ।

वन्यजन्तुका लागि प्राकृतिक र कृत्रिम गरी निकुञ्ज क्षेत्रमा करिब एक सय वटाभन्दा बढी पानीका स्रोत छन् । तर, अधिकांश खोला खहरे भएकाले वर्षापछि सुक्छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम शाहले निकुञ्जभित्रका पानीका तीन तिहाइ स्रोत सुकिसकेको बताए । ‘एक चौथाइ पानीका स्रोतमा धेरैथोरै पानी छ । बाँकी सुकिसके । अरू सुक्ने क्रममा छन्,’ उनले भने, ‘गर्मीसँगै निकुञ्जमा वन्यजन्तुको चहलपहल बढी देखिन थालेको छ । पानीका कारणले पनि हुन सक्छ ।’

पानी खोज्दै वन्यजन्तु निकुञ्जबाहिर निस्केर मध्यवर्ती क्षेत्रमा प्रवेश गर्दै गाउँसम्म पुग्छन् । संरक्षणकर्मीहरूका अनुसार वन्यजन्तुका लागि १० वर्ग किलोमिटर क्षेत्रमा एउटा पानीको स्रोत आवश्यक पर्छ । तर, निकुञ्जमा प्राकृतिक रूपमा पानीको स्रोत नहुँदा कृत्रिम पानीको व्यवस्था गरिएको हो । कृत्रिम पोखरीका लागि डिप बोरिङ जडान गरिएको छ । कतिपय पोखरीमा पानी भर्नका लागि सोलार प्यानलबाट मोटर जडान गरिएका छन् । नदी र खोला नभएका कारण निकुञ्जमा कृत्रिम ५५ बढी पानीका पोखरी आवश्यक पर्छ । ‘बाँके निकुञ्जमा नदीनाला नभएका होइनन् । तर, सबै खहरे छन् । सुक्खा समयमा पानी कम हुन्छ,’ उनले भने, ‘पानी अभावमा वन्यजन्तु निकुञ्जबाहिर निस्कन्छन् । गाउँ पस्दा समस्या हुन्छ ।’

पानी खोज्दै गाउँ पसेका वन्यजन्तुलाई कुकुरले आक्रमण गरी घाइते बनाउने गरेका छन् । निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने राप्ती नदीमा पानीका लागि वन्यजन्तु जाँदा सडक दुर्घटनामा परेका छन् । राप्ती नदीमा पुग्न पूर्व–पश्चिम महेन्द्र राजमार्ग कट्नुपर्छ । संरक्षण सुरु भएयता निकुञ्जमा वन्यजन्तुको संख्या बढेको छ ।

हाल निकुञ्जमा बाघको संख्या २१ पुगेको निकुञ्जले जनाएको छ । दर्जन जंगली हात्ती पनि निकुञ्जमा देखिने गरेका छन् । पानीमा पौडिन रुचाउने हात्तीका लागि प्राकृतिक खोला, ताल, पोखरी र सीमसार नहुँदा समस्या भएको हो । निकुञ्ज प्रशासनका अनुसार बाँके निकुञ्जमा हात्तीका लागि पानीको समस्या जटिल छ ।

प्रकाशित : चैत्र १५, २०७७ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?