कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापालाई उम्मेदवार बनाउने गठबन्धनको निर्णय

काठमाडौँ — सत्ता गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाएर नयाँ सरकार गठनको प्रस्ताव लैजाने निर्णय गरेको छ । सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले कोशी प्रदेशमा पनि केन्द्रमा रहेको गठबन्धनकै सरकार गठनका लागि पहल गर्ने र मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता थापालाई अघि सार्ने निर्णय गरेको हो ।

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापालाई उम्मेदवार बनाउने गठबन्धनको निर्णय

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बैठकमा कोशी प्रदेशको मुख्यमन्त्रीको विषयमा कांग्रेस र माओवादी केन्द्रको दाबी देखिएको तर ठूलो दलका हिसाबले कांग्रेस संसदीय दलका नेता थापालाई उम्मेदवार बनाउन सल्लाह दिएको जानकारी दिए ।

‘अहिलेको गठबन्धनभित्र कोशीमा सबैभन्दा ठूलो दल कांग्रेस नै हो । कांग्रेसलाई मुख्यमन्त्री दिएपछि बाँकी मन्त्रालय कसलाई दिने ? कसरी विश्वासको मत जुटाउने ? त्यो क्रमशः अघि बढ्छ,’ उनले भने ।

उनले बैठकमा राप्रपासमेत लिएर नयाँ सरकार गठनमा अघि बढ्ने विषयमा समेत छलफल भएको बताए । कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपासहतिको गठबन्धनले नयाँ सरकार बनाउने कसरत गरिरहेका छन् ।

आइतबार मात्रै प्रदेश प्रमुख पर्शुराम खापुङले असार २१ गते अपराह्न ५ बजेसम्म समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । तर मुख्यमन्त्री कांग्रेस वा माओवादी केन्द्र कसले लिने भन्ने विषयमा प्रदेशमा सहमति जुटिरहेको छैन । केन्द्रबाट भने गठबन्धनले कांग्रेसका प्रदेश संसदीय दलका नेता थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाएर अघि बढ्न सुझाव दिएका छन् ।

प्रकाशित : असार १८, २०८० १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?