कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

लकडाउनमा वन र वन्यजन्तु जोगाउनै गाह्रो

लकडाउनले खाली भएका व्यक्तिहरु बन्दुकसहित वन छिर्ने र जीवजन्तु मारेर खाने गरेको भेटिएको छ । जंगल छिर्ने त्यस्ता व्यक्तिबाट नै डढेलोसमेत लाग्ने गरेको छ ।   
अब्दुल्लाह मियाँ

काठमाडौँ — लकडाउनले मुलुक ठप्पै रहेका बेला वन क्षेत्रभित्र भने तस्करहरुको बिगबिगी बढेको छ । खासगरी तराई र चुरे क्षेत्रका वनभित्र तस्करहरु सलबलाउन थालेका छन् । तराई र चुरे क्षेत्रका धेरैजसो डिभिजन वन कार्यालयका प्रमुखहरु कार्यस्थलमा नहुँदा झनै समस्या बढेको छ । 

लकडाउनमा वन र वन्यजन्तु जोगाउनै गाह्रो

केन्द्रको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सहसचिव सिन्धुप्रसाद ढुंगानाले लकडाउनका अवधिमा चोरी तस्करी बढ्न सक्ने भएकाले सचेत रहन र निगरानी बढाउन निकुञ्ज विभाग, प्रदेशको वन मन्त्रालय र प्रदेश वन निर्देशनालयहरुको ध्यानाकर्षण गराएका थिए । त्यस्ता गिरोह दिउँसोको समयमा भन्दा रातको समयमा वन क्षेत्रभित्र प्रवेश गर्ने गरेको देखिन्छ ।

डिभिजन वन कार्यालय, बाराले वन्यजन्तु तस्करी गर्ने गिरोहको समूहलाई बुधबार मध्य रातमा पक्राउ गरेबाट त्यसको पुष्टि हुन्छ । गस्तीमा रहेको वनको टोलीले बाराको मधुवन क्षेत्रबाट ५० फिट लामो जाल, भाला, बन्चरो, टर्चलाइटसहित ८ जनालाई पक्राउ गरिएको डिभिजनल वन अधिकृत मन्जुर अहमदले बताए । उनीहरुलाई वन्यजन्तु मार्ने कसुरअनुसार कारबाही अघि बढाइएको छ ।

बारा वनले मधुवन क्षेत्रबाट नियन्त्रण गरेको पासो तस्बिर : डिभिजन वन कार्यालय, बारा

डिभिजन वन कार्यालय, रौतहटका प्रमुख विनोद सिंहले वन्यजन्तु सिकार गर्न जंगल छिर्नेहरुलाई नियन्त्रण गर्नै गाह्रो भएको बताए । ‘दिउँसो भए त लखेटेर भगाइरहेका छौं,’ डिभिजनल वन अधिकृत सिंहले भने, ‘रातको समयमा जंगल छिर्नेहरुलाई नियन्त्रण गर्न गाह्रो छ, सबका हातमा बन्दुक हुन्छ ।’ केही दिनअघि तस्करलाई नियन्त्रण गर्ने क्रममा दुवै पक्षबीच गोली हानाहान भएको थियो । केही दिनयता कार्यालयले गस्ती पनि बढाएको छ ।

डिभिजन वन कार्यालय, मोरङका प्रमुख विशाल घिमिरे लकडाउनले खाली भएका व्यक्तिहरु जंगल छिर्ने र वन्यजन्तुको चोरी सिकार गर्ने गतिविधिमा संलग्न हुने क्रम बढेको बताउँछन् । केही दिनअघि वन कार्यालयको गस्तीले बन्दुकसहित व्यक्ति पक्राउ गरेपछि अहिले वनमा पाइने चित्तल, बंदेल र वन कुखुरालगायतका जीव मार्न पासोको प्रयोग गर्न थालेको पाइएको छ ।

घिमिरेका अनुसार पथरी क्षेत्रमा गस्ती टोलीले मंगलबार वन्यजन्तुलाई पासोमा पार्न हालिएको जाल नियन्त्रण गरेको छ । जंगलमा कुखुरा मार्ने र खाने र त्यस क्रममा डढेलो लाग्ने भएकाले वन कार्यालयले सबैतिर गस्ती बिस्तार गरेको घिमिरेले बताए ।

वाग्मती प्रदेशका मकवानपुर, सिन्धुली, चितवनलगायतका जिल्ला पनि संवेदनशील हुन् । मकवापनुर र सिन्धुलीमा दुई–दुई वटा डिभिजन वन कार्यालय छन् । ती क्षेत्रबाट वन पैदावारसहित अवैध हिसाबले ढुंगा उत्खनन् र संकलन हुने भएकाले संवेदनशील मानिन्छन् । केही समयअघि केही व्यक्तिहरुलाई पक्राउसमेत गरिएको थियो । चितवनको वन क्षेत्र निकुञ्जसंग जोडिएकाले आफैंमा संवेदनशील मानिन्छ ।

डिभिजन वन कार्यालय कपिलवस्तु (तौलिहवा) ले नियन्त्रणमा लिएको बन्दुकसहितका हतियार । तस्बिर : डिभिजन वन कार्यालय (कपिलवस्तु)

नवलपरासी (पूर्व) का विभिन्न वन क्षेत्रमा पनि तस्करले केही दिन अघि जंगल छिरेर रुख काटेको पाइएको थियो । डिभिजन वन कार्यालय कपिलवस्तु (तौलिहवा) बाट खटिएको गस्तीको टोलीले केही दिनअघि तिलौराकोट साझेदारी वनको वाणगंगा क्षेत्रभन्दा पश्चिमको वनमा सिकार खेल्दै गर्दा बन्दुक र अन्य हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय कपिलवस्तु (गौतम बुद्ध) को टोलीले पनि अवैध ढंगले जंगल छिरेका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ ।

सूदूरपश्चिम प्रदेशको वन निर्देशनालय, धनगढीका प्रमुख हेमराज विष्टले धेरैजसो डिभिजनल वन प्रमुखहरु जानकारी नै नदिई र बिदा नलिइ काठमाडौं बसेकाले सुदूरपश्चिमका जिल्लामा वन संरक्षणमा समस्या देखिएको बताए ।

‘कोरोनाबाट बच्न सामाजिक दूरी कायम गर्ने भनिएको छ,’ विष्टले भने, ‘तर डीएफओहरु कामै नगरी कार्यस्थलबाट भागेका छन्, त्यही भएर चुनौंती थपिएको छ, डीएफओ नभएका जिल्लाबाट वास्तविक रिपोर्टिङ हुन सकेको छैन ।’

कैलाली, कञ्चनपुर र डडेलधुरा बढी संवेदनशील जिल्ला हुन् । वन क्षेत्र र जनसंख्या पनि तिनै जिल्लामा बढी छ । प्रमुख विष्टले कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रमा काठ चोरी नियन्त्रण गर्न समस्या परेको बताए । ‘आज पनि असनाको गोलियासहित कैलाली, पहलमानपुर क्षेत्रमा केही व्यक्ति समातिएको जानकारी आएको छ,’ विष्टले भने । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजयविक्रम मानन्धर बिदा नै नलिइ काठमाडौंमा बसेका छन् । काठमाडौं बसे पनि फिल्डमा स्थानीय कर्मचारी धेरै भएकाले उनीहरुमार्फत् संरक्षण र अनुगमन भइरहेको उनको दाबी छ ।

डिभिजन वन कार्यालय डडेलधुराका प्रमुख विष्णुप्रसाद आचार्य पनि लकडाउनले आफू काठमाडौंमा थन्किए पनि तस्करी नहोस् भनेर कर्मचारीमार्फत् निगरानी बढाइरहेको बताउँछन् । सम्भावित चोरी निकासी रोक्न स्थानीय तह, उपभोक्ता समूह र सुरक्षा निकायहरुसँग समेत सहकार्य गरिएकाले अहिलेसम्म अवैध गतिविधि हुन नपाएको उनले सुनाए ।

वन क्षेत्रमा मात्र होइन संरक्षित क्षेत्रहरु निकुञ्ज र आरक्षमा पनि यो बीचमा चोरी सिकारीका घटना बढेका छन् । चितवन, बर्दिया, बाँके र शुक्लाफाँटा निकुञ्जभित्र छिरेर अवैध गतिविधि गर्न खोज्ने दर्जनौं व्यक्तिलाई पक्राउ गरेर कारबाही गरिएको छ ।

बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने जनचेतना सामुदायिक वनभित्र भरुवा बन्दुक बरामद गरिएको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।

मोरङको बेलबारी सब डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको साइकल तस्बिर: डिभिजन वन कार्यालय, मोरङ

चोरी सिकार गर्ने उद्देश्यले छिरेका व्यक्तिलाई पक्राउ गर्न भने गस्ती टोली असफल भएको छ । निकुञ्जमा रातको समयमा पनि गस्ती तीव्र पारिएको छ । निकुञ्जले अवैध रुपमा बालुवा संकलन र निकासी गर्दै गर्दा गत साता एक ट्याक्टरसहित २ जनालाई पक्राउ गरेको छ । विषादी प्रयोग गरी माछा मार्ने व्यक्ति र माछा मार्न प्रयोग गरिएको डुंगा र बल्छीसमेत बरामद गरिएको छ ।

निकुञ्ज विभागले निकुञ्जमा भइरहेका गतिविधिबारे जानकारी लिन निकुञ्ज र आरक्षका प्रमुखहरुसँग मंगलबारदेखि भिडियो वार्ता सुरु गरेको छ । महानिर्देशक गोपालप्रकाश भट्टराईले कठिनाइका बाबजुद पनि वन्यजन्तु र प्रकृति जोगाउन वार्डेनहरु सक्रिय भइरहेको बताए ।

प्रकाशित : वैशाख ५, २०७७ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?