उदयपुर — यहाँका वन क्षेत्रमा प्रवेश गर्न रोक लगाइएको छ । कोरोना भाइरस(कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको मौका छोपी वन पैदवार चोरी तस्करी, वन्यजन्तुको चोरी सिकार, डढेलो जस्ता अपराध बढेको भन्दै शुक्रबारदेखि वन क्षेत्र प्रवेशमा रोक लगाइएको हो ।
राष्ट्रिय, सामुदायिक, कवुलती, धार्मिक लगायत सबै किसिमका वन क्षेत्रभित्र प्रवेश रोक लगाइएको डिभिजन वन कार्यालय गाईघाटले जनाएको छ । तर वन क्षेत्रको संरक्षण कार्यालयको लागि भने वनमा पस्न पाइने छ । त्यसका लागि डिभिजन वन कार्यालयको अनुमति लिनु पर्ने डिभिजन वन अधिकृत अम्बिकाप्रसाद पौडेलले बताए । वन ऐन २०७६ को दफा ९ वमोजीम वन क्षेत्र प्रवेश रोक लगाइएको हो ।
वन क्षेत्र प्रवेश रोकको अवज्ञा गर्दै वन क्षेत्रमा प्रवेश गरेमा वन ऐन ४०७६ को दफा ५०(१)को ख बमोजिम कारबाही हुने सूचना अधिकारी जगेश्वर साहले बताए । उक्त दफामा एक महिनासम्म कैद वा हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको सूचना अधिकारी साहले बताए ।
डिभिजन वन कार्यालयले सब डिभिजन र सामुदायिक वन उपभोक्ता समूहलाई वन संरक्षणको कार्यमा लाग्न र वन क्षेत्र प्रवेश अनुमति पत्रको व्यवस्था गर्न पनि भनिएको सूचना अधिकृत साहले बताए ।
