काठमाडौँ — कांग्रेसले लकडाउनपछि पैदलै गाउँ जान बाध्य भएका मजदुरलाई सुरक्षित ढंगले गन्तव्यसम्म पुर्याउन सरकारसँग माग गरेको छ ।
शुक्रबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा पर्याप्त राहत पुर्याउन या अप्ठ्यारोमा रहेकाहरुलाई सुरक्षित ढंगले गाउँ पुर्याउने प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरिएको छ ।
अहिले बसिरहेको ठाउँमा आर्थिक रुपले लामो समय टिक्न सक्ने अवस्था नभएकाले सयौं किलोमिटर पैदल हिँडेर घर गइरहेका नागरिकलाई राज्यको भरथेग चाहिने भन्दै कांग्रेसले पर्याप्त राहतको व्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।
विज्ञप्तिमा लेखिएको छ ‘गाउँमा रहेका नागरिकको स्थिति पनि कष्टकर बन्दैगएको छ । तिनको हृदयको प्रश्न हामी सरकार समक्ष राख्न चाहन्छौं— अहिलेको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो, सरकार ? आयोगलाई अरबौं रुपैयाँ छुट्याउन सकिन्छ तर सुकुम्बासी, श्रमिक, बेरोजगार एवं डेरा बसेका विद्यार्थीका लागि पर्याप्त राहतको ब्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न किन सकिन्न ?’
