राज्य व्यवस्था तथा सुशासन समिति बैठक बोलाउन कांग्रेस सांसद संग्रौलाको माग
काठमाडौँ — भारतसँगको सीमामा रोकिएका र विदेशमा रहेका नेपालीका साथै आर्थिक समस्यामा परेका पर्यटन व्यवसायीका समस्या समाधानका लागि आवश्यक कदम चाल्न प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति पवित्रा निरौला खरेलले सरकारको ध्यानाकर्षण गराएकी छन् ।
समितिको तर्फबाट विज्ञप्ति जारी गर्दै खरेलले भनेकी छन्, 'कोरोना भाइरस (कोभिड– १९) को संक्रमणका कारण उत्पन्न विश्वव्यापी महामारीको प्रकोपबाट सिर्जित चुनौतिपूर्ण विषम परिस्थितिका कारण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली नागरिकहरूले भोग्नुपरेको कठिनाई, नेपालको दक्षिण सीमापारी भारतीय क्षेत्रमा रोकिएका नेपाली नागरिकहरू तथा पर्यटन व्यवसायिहरूलाई परेको समस्या सामाधान गर्न एवं दक्षिण तर्फको नेपालको सिमानामा थप सुरक्षा जाँच र स्वास्थ्य परिक्षणको प्रबन्ध मिलाउनु आवश्यक छ ।'
विदेशमा रहेका नेपालीलाई सम्बन्धित देशमा रहेका नेपालका कूटनीतिक नियोगसँग सम्पर्क गर्न पनि सभापति खरेलले आग्रह गरेकी छन् । उनले नेपालीहरूको स्वास्थ्य सुरक्षाको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएकी छन् ।
कोरोना संक्रमण फैलिनबाट रोक्न लकडाउन जारी रहेकाले संसदीय समितिको बैठक बस्न नसक्ने खरेलको भनाइ छ । उनले वैकल्पिक व्यवस्थाका लागि सदस्यहरूसँग छलफल गरिरहेको पनि जानकारी दिएकी छन् । संसदीय समितिहरूले भिडियो कन्फरेन्सबाट बैठक बस्न खोजेका छन् । तर, त्यस्तो गर्न कानुनी व्यवस्थाले नदिने भएकाले कसरी संसदीय समिति बैठक बस्ने भन्नेबारे अन्यौलता छ ।
राज्य व्यवस्था समिति बैठक बोलाउन सांसद संग्रौलाको माग
प्रतिपक्ष दल कांग्रेसकी सांसद डिला संग्रौलाले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाउन समिति सभापति शशी श्रेष्ठलाई पत्र लेखेकी छन् । संसद अधिवेशन अन्त्य भएको अवस्थामा समिति बैठक बोलाउनुपर्ने उनको माग छ ।
'देशभरी स्वास्थ्यकर्मीहरूले व्यक्तिगत सुरक्षा उपकरण बिना नै काम गर्नु परिरहेको अवस्था छ । टेस्ट गर्न भनेर ल्याइएका उपकरणहरूको विश्वसनियता माथि नै प्रश्न उठेको छ । यस्ता विषयमाथि सरकारलाइ जिम्मेवार र जवाफदेही बनाउन पनि समितिको बैठक जति सक्दो चाँडो बस्न जरुरी छ,' उनले श्रेष्ठलाई लेखेको पत्रमा छ ।
लकडाउनका कारण सयौं नागरिक मुलुकभित्र र सीमामा अलपत्र परिरहेको भन्दै सांसद संग्रौलाले संसदीय समितिकाेे बैठक बोलाएर सरकारी अधिकारीको ध्यानाकर्षण गराउनुका साथै निर्देशन दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरेकी छन् । 'भौतिक रूपमा उपस्थित हुन सम्भव नभए उपलब्ध प्रविधिको प्रयोग गरी भर्चुअल बैठक बोलाउनु हुन म आग्रह गर्दछु,' सांसद संग्रौलाको पत्रमा लेखिएको छ ।
