दिल्लीको आदेश नआउँदा किरियापुत्री क्‍वारेन्टाइनमै

गृहको निर्देशनले पनि आउन पाएनन् किरियापुत्री
मनोज बडू

दार्चुला — भारतमा पिथौरागढ जिल्लाको बलुवाकोटस्थित क्वारेन्टाइनमा किरिया बसेका दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाचका वासुदेव भट्टले बिहीबार पनि घर आउन पाएनन् ।

दिल्लीको आदेश नआउँदा किरियापुत्री क्‍वारेन्टाइनमै

गत मंगलबार घरमा उनकी ६५ वर्षीय आमाको निधन भएको थियो । भारतबाट घर आउन खोज्दा कोभिड–१९ को संक्रमण रोक्न सीमा बन्द र लकडाउनका कारण नपाउँदा उनी भारतको क्वारेन्टाइनमै किरिया बसेका छन् ।

गृह मन्त्रालयले बिहीबार किरिया बसेकालाई घर ल्याउने व्यवस्था गर्न जिल्ला प्रशासनलाई निर्देशन दिएको जनाए पनि भारतीय केन्द्रीय सरकारको आदेश नआउँदा भट्ट उतै रोकिएका छन् । मजदुरी गर्न भारत गएका उनी १७ दिन सीमामा पुगेका थिए । आमाको निधनको खबर पाएर दाहसंस्कार र किरिया बस्न घर जाने प्रयास गरे पनि उनले पाएका छैनन् । आमाको अन्तिम संस्कारमा जेठा छोरा कसैगरी आइपुग्लान् भन्ने आसमा बसेका परिवारले बुधबार दिउँसो मात्रै दाहसंस्कार गरेका थिए ।

बिहीबार पनि कुरिरहेका आफन्त भट्टले आउन नपाएको सुनेर निराश रहेको शैल्यशिखर–१ का धर्म खडायतले बताए । ‘आमा बितेको अवस्थामा किरियापुत्री बस्नलाई तीन दिनदेखि सबै ठाउँ धाइसक्यौं । अझै पारिबाट आउन दिने संकेत देखिँदैन,’ उनले भने, ‘यस्तो बेला नेपाल र भारतका स्थानीय प्रशासकबीच समन्वय गरेर आउन दिनुपर्ने हो ।’ संवेदनाका आधारमा पनि वारिपारिका अधिकारीले घर आउने व्यवस्था गरिनुपर्ने उनको भनाइ छ ।

किरियामा बस्नेलाई पठाइदिन भारतको स्थानीय प्रशासनसँग मंगलबारदेखि नै कुरा भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बुधबार वडा कार्यालयले जिल्ला प्रशासनलाई पत्र पठाएको थियो । उक्त पत्रलगत्तै गृह मन्त्रालय र भारतको धार्चुला तहसिल कार्यालयलाई पत्र लेखिसकेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

संवेदनशील अवस्था र सीमा सिल भएकाले जिल्ला तहबाट मात्रै नाका खुलाउन नसकिने उनले बताए । ‘केन्द्र सरकारको आदेशबेगर अन्तर्राष्ट्रिय सीमा खुलाउन नसकिने र माथिको आदेशको पर्खाइमा रहेको पिथौरागढका जिल्लाधिकारीले जवाफ पठाएका छन्,’ उनले भने, ‘गृह मन्त्रालयबाट निर्देशन आएपछि स्थानीयस्तरमा तयारी गरिसकेका छौं । भारतको सहमति आउने पर्खाइमा बसेका छौं ।’

भारतमा भट्ट सयौं जनासित बसेकाले आउन दिएका खण्डमा पनि स्वास्थ्य जाँच गरेर मात्रै घरसम्म पुर्‍याउने व्यवस्था गरिएको छ । पारि किरियापुत्रीलाई क्वारेन्टाइनस्थलमा बेग्लै कोठाको व्यवस्था गरे पनि खानपिनको समस्या भएको छ ।

प्रकाशित : वैशाख ५, २०७७ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?