चिनियाँ अर्थतन्त्रमा सन् १९९२ पछि सबैभन्दा बढी गिरावट

वैशाख ५, २०७७

एजेन्सी

बेइजिङ — सन् २०२० को पहिलो त्रैमासिकमा चीनको कुल ग्राहस्थ उत्पादन(जीडीपी) मा ६.८ प्रतिशतले गिरावट आएको छ । शुक्रबार चीन सरकारले एक तथ्यांक प्रस्तुत गर्दै यस वर्षको पहिलो त्रैमासिकमा जीडीपीमा गिरावट आएको जानकारी दिएको हो ।

कोरोना भाइरसको संक्रमण सुरु भएपछि यसले अर्थव्यवस्थामा परेको प्रभावबारेको तथ्यांक सार्वजनिक गर्ने चीन पहिलो मुुलुक हो । 

चिनियाँ अधिकारीहरुका अनुसार अर्थव्यवस्थामा भारी गिरावट देखिए पनि रोजगार क्षेत्र भने स्थिर रहेको छ । कोरोना प्रभावले चिनियाँ रोजगारी क्षेत्रमा खासै असर नपरेको अधिकारीहरुको दाबी छ । चीनमा अहिले बेरोजगारी दर ६.२ प्रतिशत रहेको छ ।  चीनले सन् १९९२ बाट आफ्नो अर्थव्यवस्थाबारे  तथ्यांक सार्वजनिक गर्न थालेपछि पहिलो त्रैमासिकमा यस पटक जीडीपीमा सबैभन्दा बढी गिरावट आएको बताइएको छ । 

डिसेम्बरमा हुबेईको राजधानीमा कोरोना भाइरसको संक्रमण सुरु भएपछि जनवरीको पहिलो साताबाटै चीनले अधिकांश सहरमा लकडाउन र उद्योग प्रतिष्ठानहरु बन्द गरेको थियो । कोरोना भाइरसको संक्रमण नियन्त्रणउन्मुख भएको उल्लेख गर्दै चीनले केही दिन अघिदेखि लकडाउन हटाउँदै उद्योग प्रतिष्ठानहरु खोलेको छ । 

कोरोना भाइरसको सक्रमणका कारण चीनमा शुक्रबार बिहानसम्म ३ हजार ३ सय ४६ जनाको मृत्यु भएको छ । त्यस्तै ८३ हजार ४ सय २५ संक्रमितमध्ये ७८ हजार ४ सय ४५ जना निको भएका छन् । 

लकडाउनकोरोना भाइरस

एजेन्सी

Link copied successfully