तिलोत्तमा, रुपन्देही — रुपन्देहीको विभिन्न स्थानबाट हिँड्दै कैलाली जान लागेका मजदुरलाई रुपन्देहीको सियारी गाउँपालिकाले सहयोग गरेको छ ।
उनीहरुलाई खाना खुवाइ घर जानका लागि बसको व्यवस्थासमेत गरिदिएको गाउँपालिकाले जनाएको छ । बिहीबार विभिन्न ठाउँमा निर्माणका काम गर्दै आएका मजदुर हिँड्दै गरेको अवस्थामा अमुवाबाट उद्धार गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताए । ‘उनीहरुलाई बिहीबार साँझ बसमा कैलालीतर्फ पठाइएको छ,’ उनले भने, ‘यो काम निरन्तर जारी रहनेछ ।’
गाउँपालिकाले गरेको सहयोगप्रति मजदुरले धन्यवाद दिएका थिए । अमुवामा २२ जनाको समूहमा पैदल हिँडिरहेको देखेपछि सोधपुछ गरी उनीहरुलाई अमुवामा रहेको गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा राखेर खाना खुवाएर घर पठाइएको गाउँपालिकाकी उपाध्यक्ष अमृता गुरुङले बताइन् ।
