वुहानमा कोरोनाबाट मृत्यु हुनेको संशोधित तथ्यांक सार्वजनिक

मृत्यु हुनेको संख्यामा १२९० जना छुटेको जानकारी

वैशाख ५, २०७७

एजेन्सी

बेइजिङ — चिनियाँ अधिकारीहरुले कोरोना भाइरस(कोभिड–१९) बाट मृत्यु हुनेको संख्यामा शुक्रबार संशोधन गरेका छन्  ।

शुक्रबार चिनियाँ अधिकारीहरुले वुहानमा मृत्यु हुनेको संख्यामा परिमार्जन गर्दै एक हजार २ सय ९० जना थप गरेको छ । परिमार्जन गरिएको तथ्यांकसहित वुहानमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय ६९ पुगेको छ ।

साथै चिनियाँ अधिकारीहरुले संक्रमितको संख्यामा परिमार्जन गर्दै ३२५ जना थप गरेको छ । शुक्रबार बिहानसम्म वुहानमा कोरोना भाइरस संक्रमितको संख्या ५० हजार ३ सय ३३ पुगेको चिनियाँ अधिकारीले जानकारी दिएका छन् । 

चिनियाँ अधिकारीहरुले ‘इतिहास र पीडितप्रतिको जबाफदेहिता’ देखाउँदै तथ्यांक परिमार्जन गरिएको बताएका छन् । 

किन सच्याइयो तथ्यांक ?

अन्तर्राष्ट्रिय स्तरबाट कोरोना भाइरसबाट संक्रमित हुने र मृतकको संख्या पारदर्शी ढंगले प्रस्तुत नगरेको आरोप लगाइरहेका बेला चीनले तथ्यांक सच्याएको हो । 

परिमार्जित तथ्यांकअनुसार शुक्रबार बिहानसम्म चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३६ पुगेको छ । त्यस्तै संक्रमितको संख्या ८३ हजार ७ सय ५३ रहेको छ । त्यस्तै संक्रमितमध्ये ७७ हजार ५ सय ३ जना निको भएको पनि चिनियाँ अधिकारीले जनाएका छन् । 

एजेन्सी

Link copied successfully