कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनमतलाई सरकारमा ल्याउन गठबन्धनमा सहमति

काठमाडौँ — सत्ता गठबन्धनले जनमत पार्टीलाई पनि सरकारमा सहभागी गराउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले जनमत पार्टीलाई पनि सरकारमा सहभागी गराउनुपर्ने विषयमा प्रस्ताव राखेका थिए । त्यसक्रममा सबै राजनीतिक दलले जनमतलाई सरकारमा सहभागी गराउने विषयमा सहमति जनाएका छन् ।

जनमतलाई सरकारमा ल्याउन गठबन्धनमा सहमति

नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जनमत पार्टीलाई पनि सरकारमा सहभागी गराउने विषयमा सहमति जुटेको बताए । ‘सरकार निर्माणमा जनमत पार्टीको पनि भूमिका थियो । अहिले सबै दलहरूलाई मिलाएर अघि जानुपर्ने अवस्था छ । त्यहीअनुसार जनमतलाई पनि सरकारमा ल्याउने विषयमा छलफल गर्ने विषयमा सहमति भएको छ,’ उनले भने ।

त्यसबारे प्रधानमन्त्री दाहालले जनमत पार्टीसँग संवाद गर्ने भएका छन् । जनमतलाई कुन-कुन मन्त्रालय दिने भन्ने विषयमा भने सहमति भइसकेको छैन । ‘अहिले हामीले उसलाई पनि सरकारमा सहभागी गराउने सहमति गर्‍यौँ । अब उहाँहरूको दाबी कस्तो रहन्छ ? त्यसअनुसार मन्त्रालयको विषयमा प्रधानमन्त्रीजीले निर्णय लिनुहोला,’ नेता पाण्डेले भने ।

यसअघि एमालेसहितको गठबन्धनमा सरकारमा सामेल भएको जनमत पार्टीले उद्योग र कृषि मन्त्रालयमा दाबी पेश गर्दा नपाएपछि सरकारबाट बाहिरिएको थियो । कांग्रेससहितको गठबन्धनबाट सरकार विस्तारपछि असन्तुष्ट बनेका जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले १७ चैतमा खानेपानी मन्त्रालयको जिम्मेवारीबाट राजीनामा दिएर सरकारबाट बाहिरिएका थिए ।

जनमत सरकारबाट बाहिरिएपनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको थिएन ।

नेता पाण्डेकाअनुसार बैठकमा त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयका मुख्य पदहरूमा नियुक्तिका विषयमा छलफल भएको छ ।

प्रकाशित : असार १८, २०८० १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?