कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५ वर्षमा दुर्घटनामा मरे ६ सयभन्दा बढी वन्यजन्तु

सरकारले संरक्षित क्षेत्र घोषणासँगै विभिन्न कार्यक्रमका लागि बर्सेनि खर्च गरे पनि दुर्घटनाबाट जोगाउने पूर्वाधार निर्माणमा दिएन ध्यान
२६ प्रतिशत वन्यजन्तु दुर्घटनाकै कारण मर्छन्, वन्यजन्तुमैत्री पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि मन्त्रिपरिषद्मै थन्कियो
गोविन्द पोखरेल

काठमाडौँ — गत साउनमा चितवनमा बाघका गतिविधि अध्ययन गरिहेका संरक्षणकर्मीले एउटा तथ्य बाहिर ल्याए– ‘बाघलाई गाडीको डर लाग्छ ।’ पर्सा राष्ट्रिय निकुञ्जमा रेडियो कलर राखेर ‘प्रारम्भ’ नाम दिई छाडिएको बाघको विचरण अध्ययनबाट यो खुलेको थियो । करिब ८ वर्ष उमेरको त्यो वयस्क भाले बाटो काट्न डराएर निकै दिन राजमार्ग क्षेत्रभन्दा भित्री भागमा रोकिएको थियो ।

५ वर्षमा दुर्घटनामा मरे ६ सयभन्दा बढी वन्यजन्तु

जेठ ६ मा राजमार्ग पार गरेर पश्चिम क्षेत्र लाग्यो । रेडियो कलर लगाएर छाडेपछि तीन महिनामा डुल्दाडुल्दै त्यो बाघ सवारी आवागमनको चाप रहने राजमार्गमा नआएको होइन । चार/पाँच पटक राजमार्गनजिक आयो तर पार गरेर पश्चिम लागेन ।

मुलुकका अधिकांश संरक्षित क्षेत्रनजिक बस्ती छन्, सडक विस्तारका काम बराबर भइरहेको छ । प्रारम्भ जसरी सबै जन्तु सतर्क छैनन् । राजमार्ग पार गर्न खोज्दा गाडीको ठक्करले बाघ मारिएका घटना पनि छन् । गतवर्ष पुस १८ को बिहान बाराको पथलैया सडकमा कारको ठक्करले एउटा बाघ मारिएको थियो । गत आइतबार चितवन राष्ट्रिय निकुञ्जको गोन्द्राङ खण्डमा नालामा परेर एउटा गैंडा मारियो ।

यही माघ १० गते सडक फराकिलो बनाउन खनेर छाडेको खाल्डोमा परी मरेको गैंडा ।

नेपालका राष्ट्रिय निकुञ्ज तथा आरक्षहरूमा सडक दुर्घटनाका कारण वन्यजन्तु मारिने क्रम बर्सेनि बढ्दो रहेको पाइएको छ । वन्यजन्तुमैत्री संरचना निर्माण नहुँदा निकुञ्ज आसपासका सडकमा ओहोरदोहोर गर्ने क्रममा वन्यजन्तुहरू मारिने गरेका हुन् । यस्ता घटना समेटेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयार पारेको ५ वर्षको विवरण विश्लेषण गर्दा मारिएका वन्यजन्तुमध्ये करिब २६ प्रतिशत दुर्घटनामा परेको तथ्य पाइएको छ ।

विभागको तथ्यांकमा २०७७/७८ मा विभिन्न कारणले मरेका ५ सय ७३ वन्यजन्तुमध्ये १ सय ३० वटा दुर्घटनाबाट मारिएको उल्लेख छ । ०७६/७७ मा मरेका ५ सय ९१ वन्यजन्तुमध्ये १ सय ८, ०७५/७६ मा ४ सय ९५ मध्ये १ सय १९ वटा, ०७४/७५ मा ३ सय ९१ मध्ये १ सय २४ वटा, ०७३/७४ मा ३ सय २६ मध्ये १ सय ३३ वटा मारिनुको कारण सडक दुर्घटना छ । यी पाँच आर्थिक वर्षमा २ हजार ३ सय ७६ वन्यजन्तु मारिए । तिनमा दुर्घटनामा परेर मारिनेको संख्या ६ सय १४ वटा छन् । यो कुल मृत्युको २५.८४ प्रतिशत हो ।

कहाँ कति दुर्घटना ?

विभागको तथ्यांक अनुसार सबैभन्दा बढी मृत्यु बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा भएका छन् । अघिल्लो आर्थिक वर्षमा बर्दियामा ४९ र बाँकेमा ४४ वटा वन्यजन्तु दुर्घटनामा मारिएका थिए । उक्त वर्ष चितवनमा १५, पर्सामा ११, शुक्लफाँटामा ९ वटा वन्यजन्तु दुर्घटनाबाट मारिए । त्यसअघि ०७६/७७ मा बाँकेमा ४८, बर्दियामा ३५, पर्सामा १५, चितवनमा एउटा मारिएका थिए ।

मारिएकामध्ये सबैभन्दा बढी चित्तल, बँदेल, वनबिरालो, नीरबिरालो, दुम्सी, मलसाँप्रोलगायतका मझौला र साना किसिमका वन्यजन्तु धेरै छन् । मारिने मझौला किसिमका वन्यजन्तुमा अधिकांश शाकाहारी हुन् । यस्तै, मारिएका साना जीवहरूमा रातको समयमा सक्रिय रहने मांसाहारी जन्तु छन् । अघिल्लो आर्थिक वर्षमा दुर्घटनाबाट पर्सा र बर्दियामा बाघ पनि परेको थियो ।

डब्लूडब्लूएफ नेपालका अधिकृत एवं वन्यजन्तुविद् डा. कञ्चन थापा वन्यजन्तुहरू आहाराको खोजीमा ओहोरदोहोर गर्दा मारिएका घटना रहेको बताउँछन् । उनका अनुसार खुला ठाउँमा वन्यजन्तु आकर्षित हुने र त्यही क्रममा सडकमा निस्कँदा दुर्घटनामा पर्ने गरेका छन् । शाकाहारी जीवहरू बढी दुर्घटनामा पर्नुको कारण बढी संख्या र घनत्वको कारण पनि हुन सक्ने उनले औंल्याए । ‘ठूला जीवहरूको तुलनामा साना शाकाहारी जीवहरूको संख्या धेरै हुन्छ । खानाका लागि ओहोरदोहार गरिरहेका बेला दुर्घटनामा मारिन्छन् ।’

मुलुकका राष्ट्रिय निुकञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र पूर्वपश्चिम राजमार्गको भाग २ सय ७१ किलोमिटर पर्छ । पर्सा, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटाका निकुञ्ज तथा मध्यवर्ती क्षेत्र हुँदै राजमार्ग छ । हुलाकी मार्गअन्तर्गत बाँकेको कम्दी, बर्दियाको खाता, कैलालीको वसन्ता र लालझाडी–मोहना करिडोर निकुञ्जभित्रै पर्छन् । विभागका अनुसार यिनै क्षेत्रमा बढी वन्यजन्तु मारिने गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा तेजबहादुर थापा वन क्षेत्रमा सडक निर्माण गर्दा वन्यजन्तुमैत्री संरचना नहुनु, उनीहरूलाई जोगाएर पूर्वाधारका योजना नबन्नुले पनि जोखिम बढेको बताउँछन् । ‘सडक उसै पनि साँघुरो भएको छ । तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति छ,’ उनले भने, ‘स–साना वन्यजन्तुलाई चालकले नदेख्नुका कारण पनि ओहोरदोहार गर्ने क्रममा अकालमा मारिन्छन् ।’ यस्ता घटनालाई गम्भीर रूपमा लिएर सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उनले बताए ।

ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिज (जिस) का रिसर्च एसोसिएट विवेकराज श्रेष्ठ वन्यजन्तु हिँड्ने मार्गमा सडक निर्माण हुँदा दुर्घटना बढेको हो । ‘कुनै जीव रातको समयमा सक्रिय हुन्छन्, सडक छेवैमा फालिने फोहोर खान आएका बखत पनि मारिने गरेका छन्,’ उनले भने ।

मानिससँगको द्वन्द्व घटाएर वन्यजन्तु जोगाउन टाइम कार्ड लागू गरिएको, स्पिड गर्नबाट सवारीको गति परीक्षण गर्ने गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख विष्णु श्रेष्ठले बताए । निकुञ्जले तीव्र गतिमा सवारी कुदाउनेलाई जरिवाना गर्ने, साइन बोर्ड लगाएर सचेत गराउने, क्रसिङ जोनहरू बनाए पनि दुर्घटना कम भएका छैनन् ।

दुर्घटना धेरै हुन थालेपछि पर्सा निकुञ्जले विभिन्न ठाउँमा स्पिड ब्रेकर पनि लगाएको छ । तर त्यो मात्रै उपाय पर्याप्त नभएको अनुसन्धानकर्ताहरू बताउँछन् । निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोषकुमार भगत भन्छ्न्, ‘दुर्घटना न्यूनीकरणका लागि विभिन्न ठाउँमा हामीले स्पिड ब्रेकर तथा गाडीको गति सीमित गर्न लगाएका छौं । केही ठाउँमा सीसी क्यामेरा जडान गरेर दुर्घटना रोक्न खोजेका छौं । तर यतिले मात्रै पर्याप्त भएको देखिएको छैन ।’

मन्त्रिपरिषद्मै थन्कियो कार्यविधि

वन तथा वातावरण मन्त्रालयले गत असोजमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माणसम्बन्धी मापदण्डसहितको निर्देशिका २०७८ मन्त्रिपरिषद्मा पेस गरेको थियो । वन्यजन्तुको आवागमनमा अवरोध नहुने गरी पूर्वाधार निर्माण गर्नुपर्नेसम्बन्धीको उक्त निर्देशिका ४ महिनादेखि मन्त्रिपरिषद्मा थन्किएको छ ।

सिँचाइ, बाँध, सडक, रेल, पाइपलाइन, तटबन्धलगायतका संरचना बनाउन वन्यजन्तुमैत्री बनाउनुपर्नेसम्बन्धी सरकारले उक्त निर्देशिका तयार गरेको छ । वन्यजन्तुको बासस्थान खण्डीकरणमा कुनै असर नगर्ने हुनुपर्ने, वन्यजन्तुको दुर्घटना कम गर्न, द्वन्द्व न्यूनीकरण, ओहोरदोहोर सुरक्षित गर्न भन्दै उक्त निर्देशिका तयार गरिएको थियो । वन्यजन्तुहरूका ओभर र अन्डरपास बनाउनुपर्ने प्रस्तावसमेत निर्देशिकामा समेटिएको छ । वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले निर्देशिका मन्त्रिपरिषद्मा छलफलकै चरणमा रहेको बताए ।

प्रकाशित : माघ १४, २०७८ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?