रौतहटका जंगलमा बढे वन्यजन्तु

शिव पुरी

रौतहट — पछिल्लो समय रौतहटको राष्ट्रिय वनभित्र वन्यजन्तुको संख्या बढेपछि यसको संरक्षण र निगरानीका लागि डिभिजन वन कार्यालयले विभिन्न स्थानमा जडान गरेको क्यामेरा ट्र्यापमा पाटे बाघ रेकर्ड भएको छ । क्यामेराकै मद्दतले राष्ट्रिय वनभित्र ५ वटा पाटे बाघ भएको फेला परेको छ । 

रौतहटका जंगलमा बढे वन्यजन्तु

चार महिनाअघि चन्द्रपुर ६ स्थित तुरतुरेधारा वनक्षेत्रमा पाटेबाघको आक्रमणमा परी एक युवकको मृत्युपछि वन कार्यालयले वन्यजन्तुको अवस्था पत्ता लगाउन क्यामेरा जडान गरेको थियो । वन्यजन्तु ओहोरदोहोर गर्ने र बासस्थान क्षेत्रमा १७ जोडी क्यामेरा राखिएका छन् । त्यही क्रममा बाघको संख्या बढेको फेला परेको निमित्त डिभिजन वनप्रमुख अमरदेव यादवले बताए ।

‘अहिले रौतहटको वनमा ५ वटा पाटेबाघ देखिएका छन्,’ उनले भने, ‘पछिल्लो समय वनमा बाघसँगै अन्यवन्यजन्तु बढेको छ ।’ तुरतुरे, लमाहा, सत्तेरी, गैंडाटार, जुडिबेला क्षेत्रमा बाघको गतिविधि बढेको भन्दै वनले प्रवेशमा रोक लगाउँदै आएको छ । तुरतुरे क्षेत्र विगत एक दशकदेखि बाघको बासस्थानमा रूपमा परिचित छ ।

यहाँ घनघोर जंगल छ । घोल र साना नदी छेउमा अग्ला डिलहरू छन् । डिलको आडैमा बाघको ओडार छ । त्यही ओडारमा घास काट्दै गएका चन्द्रपुर ६ का ३० वर्षीय संगम भण्डारीको बाघको आक्रमणमा परी मृत्यु भएको थियो । राति उनलाई खोज्न गएकाहरूलाई समेत बाघले आक्रमण गरेको थियो । ओडारमा बाघको बच्चा (डमरु) हरूसमेत देखिएका छन् ।

यहाँको वन वन्यजन्तुको बासस्थानको रूपमा विकसित हुँदै गएको छ । पर्याप्त घोल, झाडी र सिमसारका कारण वन्यजन्तु बढेको हो । बेलाबेलामा चितवन राष्ट्रिय निकुञ्जबाट गैंडा, हात्ती, बाघ यही क्षेत्रमा आएर बस्ने गरेका छन् । प्रदेश २ वन मन्त्रालयका सचिव रामचन्द्र कँडेलले वन्यजन्तुको संख्या बढेकाले संरक्षणमा ध्यान दिनुपर्ने बताए । पछिल्लो समय बाघ, गैंडा, बाघ, हात्ती, नीलगाई, हरिणलगायतको वन्यजन्तु तराईको जंगलमा देखिन थालेको छ । पर्सा निकुञ्जदेखि पूर्वी क्षेत्र बकैया र यहाँको चन्द्रनिगाहपुर, गैंडाटार, हिलेखोला, जुडिबेला, जंगलसैया वनक्षेत्र गैंडालगायत वन्यजन्तको बासस्थानका लागि राम्रो भएको डिभिजन वनले जनायो । यहाँको जंगलमा वन्यजन्तुलाई चाहिने घासे मैदान, पानीको स्रोत र आहाल बस्न पर्याप्त घोल छ ।

राष्ट्रिय वनभित्र सिकारीको गोली वा सवारीको ठक्करबाट घाइते वन्यजन्तुको उपचारका लागि डिभिजन वन चन्द्रनिगाहपुरले वन्यजन्तु उद्धार गृह सञ्चालनमा ल्याएको छ । उद्धार गृहलाई मोटो फलाम जडान गरी चारै तिर रडको जालीले घेरेर बनाइएको छ । यसभित्र ४/५ वटा सम्म वन्यजन्तु राख्न सकिन्छ ।

केही दिनअघि घाइते एउटा मलसाप्रो फेला पारेर उद्धार गृहमा राखी उपचारका लागि चितवन राष्ट्रिय निकुञ्ज पठाइएको थियो । पूर्वपश्चिम राजमार्गको धन्सार–वाग्मती खण्डमा दिनहुँ हरिणको झुन्ड बाटो काटेर ओहोरदोहोर गर्छन् । त्यही क्रममा सवारीको ठक्करबाट घाइते/मृत्यु हुने गरेको पाइएको छ ।

घाइतेलाई तत्काल उपचारका लागि उद्धार गृहमा ल्याइने र निकुञ्जका चिकित्सकसहितको टोलीलाई उपचारका लागि पठाइने डिभिजन वनका निमित्त प्रमुख यादवले बताए ।

प्रकाशित : वैशाख २६, २०७८ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?