उद्धार गरेर खोरमा राखिएको बाघ मर्‍यो

रमेशकुमार पौडेल

चितवन — महिलालाई आक्रमण गरेर ज्यान लिएपछि चितवन राष्ट्रिय निकुञ्जले उद्धार गरेर तीन महिनाअघि खोरमा राखेको भाले बाघ सोमबार मरेको छ । असार ७ गते निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहा नजिक जनकौली मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गर्दा रत्ननगर नगरपालिका–५ जनकौली मगर टोलकी ३२ वर्षीया गीता अधिकारीको ज्यान गएको थियो ।

उद्धार गरेर खोरमा राखिएको बाघ मर्‍यो

आक्रमण गर्ने बाघलाई समयमै उद्धार नगरेको भनेर विरोध प्रदर्शनमा उत्रेका स्थानीयले निकुञ्जको पूर्वी सेक्टर कार्यालयमा आगजनी र तोडफोड गरेका थिए । सो बाघलाई निकुञ्जले उसै दिन नियन्त्रणमा लिएर सौराहामा खोरमा राखेको थियो । ‘बाघ बुढो थियो । सन् २०१० को क्यामेरा ट्रयाममा परेको बाघ हो । १६ वर्ष जतिको थियो होला,’ निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले भने ।

बुढो र अशक्त भएका कारणले नै त्यसले जंगलमा मान्छेमाथि आक्रमण गरेको सहायक संरक्षण अधिकृत अधिकारीले बताए । सोमबार साँझपख बाघको मृत्यु भएको थियो । बाघलाई मंगलबार साँझ चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय रहेको कसरामा ल्याएर सतगत गरेको अधिकारीले जानकारी दिए ।

यसैबीच, गाउँमा आएको बाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा लिएर कसरा ल्याएर खोरमा राखेको छ । भरतपुर महानगरपालिका–२७ मेघौली धरमपुर खेतमा बसेको बाघलाई सोमबार राति पौने १० बजे निकुञ्जको टोलीले डार्ट गरेर लठ्याएपछि नियन्त्रणमा लिएको थियो । कसरामा पनि उद्धार गरेका बाघ राख्ने खोर छ । मध्यरातमा सो बाघलाई कसराको खोरमा राखेको सुचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।

सो बाघ पनि भाले नै हो । उमेर अन्दाजी ५/६ वर्ष जतिको रहेको अधिकारीले बताए । ‘उमेर कम छ । तर यसको दाहिने खुट्टामा चोट देखिएको छ । अशक्त भएर नै गाउँ पसेको हुनु पर्दछ । चार दिन पहिले गाउँ छिरेको रहेछ,’ अधिकारीले भने ।

कसराको खोरमा गत वर्ष पटिहानीबाट उद्धार गरेर ल्याएको अर्को भाले बाघ पनि छ । एउटै खोरमा दुईवटा भाले बाघ राख्नु जोखिम भए पनि तत्काल कुनै उपाए नभएको उनले बताए ।

प्रकाशित : आश्विन १२, २०७८ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?