कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

न्युरोडको फुटपाथ विस्तार अध्ययनको काम अघि बढ्दै

नुमा थाम्सुहाङ

काठमाडौँ — काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ विस्तारको विषयमा गठन गरेको अध्ययन समितिले काम अगाडि बढाएको छ । महानगरका सहरी योजना आयोगका उपाध्यक्ष एवं समितिका संयोजक सुमन राजभण्डारीले बिहीबारदेखि न्युरोड क्षेत्रको फुटपाथ विस्तार अध्ययनको काम अगाडि बढाइएको बताए ।

न्युरोडको फुटपाथ विस्तार अध्ययनको काम अघि बढ्दै

‘अध्ययन समितिको संयोजकको रुपमा महानगरबाट बुधबार पत्र पाएकाले अब २२, २३ र २४ का वडाअध्यक्षसँग बैठक बसेर काम अगाडि बढाउने तयारी भएको छ,’ उनले भने, ‘साथै समितिले न्युरोडको फुटपाथ विस्तारसँग सम्बन्धित चार जना विज्ञ छनौट गर्नलाई सल्लाह गरिरहेका छौं ।’

न्युरोडको फुटपाथ विस्तार कार्यलाई लिएर स्थानीय, व्यापारी र वडाअध्यक्षले चर्काे विरोध गरेका थिए । विवाद समाधान गर्न महानगरले न्युरोड क्षेत्रको फुटपाथ विस्तारको विषयमा गत ७ गते सहरी योजना आयोगका उपाध्यक्ष संयोजक रहने गरी नौ सदस्यीय अध्ययन समिति बनाउने चार बुँदे निर्णय गरेको थियो । समितिको सदस्यसचिवमा सार्वजनिक निर्माण विभागका प्रमुख, चार जना विषय विज्ञ, २२, २३ र २४ वडाअध्यक्ष सदस्य रहनेछन् । समितिले महानगरलाई मंसिर २ गतेभित्र अध्ययन प्रतिवेदन पेस गर्नुपर्ने महानगरले जनाएको छ ।

समितिले २४ वडा क्षेत्रमा हाल फुटपाथ विस्तार भइसकेपछि स्थानविशेषको आर्थिक, सांस्कृतिक, सामाजिक, ट्राफिक व्यवस्थापन र पैदलयात्रीलाई पर्ने प्रभावको समग्र पक्षको अध्ययन विश्लेषण गर्नेछ । साथै समितिले २२ र २३ वडा क्षेत्रमा अहिले फुटपाथ विस्तार अघि र पछिको समग्र अध्ययन विश्लेषण गर्नेछ । उक्त विषयमा प्राविधिक रूपमा विश्लेषण गरिएको सुझावसहितको प्रतिवेदन २०८१ को मंसिर २ गतेभित्र महानगरको प्रमुख बालेन्द्र शाहसमक्ष पेस गर्नुपर्नेछ ।

‘२४ वडामा फुटपाथ विस्तारको काम निरन्तर हुन्छ । यसको प्रभाव मूल्यांकन, प्रभाव विश्लेषण गर्न अध्ययन समिति गठन गर्ने निर्णय महानगरले गरेको हो,’ उनले भने, ‘त्यसपछि छलफल गरेर बनाउनुपर्ने अवस्था रह्यो भने बन्छ, नबनाउनुपर्ने अवस्था आयो भने बन्दैन ।’

न्युरोड क्षेत्रमा फुटपाथ बन्ने र नबन्ने भन्ने विषयमा विवाद भएकाले महानगरले छलफल गरी समाधान गरेको उनको भनाइ छ । ‘यो महानगरको घरायसी कुरा हो । बन्ने र नबन्ने भन्ने कुरा थियो । घरायसी कुरा मिलाउनका लागि सबै परिवार बसेर छलफल गरेर टुंग्यायौं,’ उनले थपे ।

फुटपाथ विस्तारको विषयमा गत शुक्रबार दिनभर न्युरोड क्षेत्र तनावग्रस्त बनेको थियो । गएको आइतबार भने वडा २२ वडाअध्यक्षले चिनीकाजी महर्जनले सडकबाटै वडाको काम गरेका थिए । विवाद चर्किंदै गएपछि महानगरका प्रमुख शाह फुटपाथ विस्तार सहजीकरणका लागि स्थानीय र वडाअध्यक्षसँग सहमतिमा आएका थिए ।

महानगर २२ का अध्यक्ष महर्जनले गठित समितिले बनाएको प्रतिवेदनअनुसार फुटपाथ विस्तारका लागि थप छलफल गर्ने सहमति भएको बताए । ‘हामीले सुरुदेखि मागिरहेको कुरा यही हो । सहमतिमा इन्द्रचोक खन्नमा जेजति भयो निर्माण सम्पन्न गर्ने भनिएको छ,’ उनले भने, ‘योजनाअनुसार बनिसकेपछि त्यसको राम्रो, नराम्रो अध्ययन गरी प्रतिवेदनअनुसार सिफारिस गर्न छलफल बस्नेछ ।’

महानगरले पाटन उच्च अदालतले गत असार ३० गते न्युरोड क्षेत्रको फुटपाथ विस्तारको लागि बाटो खुला गरिदिएपछि रोकिएको काम सुरु गरेको थियो । अदालतले सडक डिभिजन, काठमाडौंलाई नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तहको क्षेत्राधिकार स्पष्ट तोकिदिएकाले महानगरले गर्न लागेको फुटपाथ विस्तार कार्यमा अवरोध नगर्न आदेश दिएको थियो । आदेशपछि महानगरले न्युरोडमा फुटपाथ विस्तार गर्न स्थानीयले अवरोध सिर्जना गरेका थिए ।

प्रकाशित : श्रावण १०, २०८१ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×