कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

पत्रकारमाथि प्रहरीको दुर्व्यवहार निन्दनीय : महासंघ

काठमाडौँ — समाचार संकलनका क्रममा नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादक टेकमान शाक्य र संवाददाता सुनिता गौतममाथि प्रहरीले गरेको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार महासंघका महासचिव रोसन पुरीले प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीले संविधानप्रदत्त स्वतन्त्र पत्रकारिताको अभ्यासमा गम्भीर प्रहार गरेको जनाएका हुन् । 

पत्रकारमाथि प्रहरीको दुर्व्यवहार निन्दनीय : महासंघ

फागुन ९ गते बुधबार काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा वैदेशिक रोजगारका क्रममा ठगीमा परेकाहरूको दबाब दिने कार्यक्रम रहेको थियो । सोही विषयको समाचार संकलनका लागि वैदेशिक रोजगार विभाग पुगेका पत्रकारद्वयलाई कालिमाटी प्रहरी वृत्तबाट खटिएका सुरक्षाकर्मीले सूचना विभागबाट जारी प्रेस पास देखाउँदासमेत दुर्व्यवहार गरेका थिए ।

सूचना विभागको प्रेस प्रतिनिधि प्रमाणपत्र त पैसामा किन्न पाइन्छ भन्दै धम्कीको भाषा प्रयोग गर्दै प्रहरीले पत्रकारको प्रेस पास खोसेर धरपकड गर्दै भ्यानमा राखेर कालिमाटी प्रहरी वृत्त पुर्‍याएर कोठामा राखी क्यामेरा र मोबाइल बन्द गर्न लगाएका थिए ।

महासचिव पुरीले भनेका छन्, 'स्वतन्त्रतापूर्वक सञ्चारकर्ममा जुटेका पत्रकारमाथि प्रहरीले गरेको यो ज्यादती अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । प्रहरीले गरेको यो हर्कतले संविधानप्रदत्त स्वतन्त्र पत्रकारिताको अभ्यासमा गम्भीर प्रहार भएको महासंघको ठहर छ ।'

घटनाको छानबिन गरी दोषीमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन र संविधानप्रदत्त प्रेसको अधिकारको सम्मान गर्दै प्रहरीबाटै हुने प्रेसविरोधी यस्ता घटना दोहोरिन नदिन कडा कदम चाल्न सम्बन्धित निकायसँग महासंघले माग गरेको छ ।


प्रकाशित : फाल्गुन ११, २०८० १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×