कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

प्राध्यापक पोखरेलको ‘फर्केर हेर्दा’ पुस्तक सार्वजनिक

काठमाडौँ — ‘पूर्वयोजना बिनाको जिन्दगी’ ७५ वर्षभन्दा लामो समय जिएर राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल शनिबार आफ्नो जीवनलाई ‘फर्केर हेर्दा’ लिएर सार्वजनिक भए । तीन दशकभन्दा बढी प्राध्यापन क्षेत्रमा रहेर नेपालको राजनीति, समाज र शैलीलाई नजिकबाट अनुभवलाई ‘फर्कर हेर्दा’ सविस्तार लेखेका छन् ।

प्राध्यापक पोखरेलको ‘फर्केर हेर्दा’ पुस्तक सार्वजनिक

उनले किताबमा सुरुमै भनेका छन्, पूर्वयोजना बिनाको जिन्दगी । पूर्वयोजनाबिनै राजनीतिशास्त्रका प्राध्यापक र लोकसेवा, विश्लविद्यालयका प्राज्ञिक पदमा रहेर काम गरेका उनले सात दशकभन्दा लामो जिन्दगीमा ‘रिटायर्ड भए पनि टायर्ड’ नभएको स्पष्ट हुन्छ ।

नेपालका संचारमाध्याममा तात्तातो राजनीतिक विश्लेषण र टिप्पणी दिइरहेका पोखरेलले राजनीतिकशास्त्रका आधा दर्जन बढी किताब लेखेका छन् । यद्यपि उनले आफ्नो जिन्दगीलाई यसरी फर्केर हेर्दै अनुभवमा आधारितक किताब भने पहिलो हो । ‘जब म जीवनयात्रालाई फर्केर हेर्छु, अचम्म मान्छु । आज म जे छु वा मैले जीवनका जे–जस्ता घुम्ती पार गरें, तीमध्ये कुनै पनि पूर्वयोजनामा भएका थिएनन् । मैले ९ कक्षामा सिभिक्स यस कारण लिए, कि कसैले भन्दियो– यो त नपढे पनि पास भइन्छ । बायोलोजी लिने साथीहरू डाक्टरीको योजना बुन्दा रहेछन् र अप्सनल म्याथ लिनेहरू इन्जिनियरको सपना देख्दा रहेछन्,’ उनले लेखेका छन्, ‘प्रकारान्तरमा भन्दा तिनका मातापिता त्यस्तो सपना देख्दा रहेछन् । आफ्नो त सपना भने पनि, जपना भने पनि पास हुनुमात्र थियो । बाआमा छोराले के विकल्प रोज्या छ भन्ने कुराबाट बिल्कुल बेखबर हुनुहुन्थ्यो ।’

स्कुले जीवनदेखि प्राध्यापक हुने बेलासम्म यही शैक्षिक आधारले डार्‍यो । महेन्द्र मोरङ क्याम्पस अध्ययन गर्दै वामपन्थी राजनीतिमा लागेका उनी प्रत्यक्ष, अप्रत्यक्ष राजनीतिमा सहभागी भए पनि पूर्णकालीन भने हुन सकेनन् । ‘म राजनीतिमा त थिएँ तर त्यसैमा पूर्णकालीन हुने इच्छा र अवस्था दुवै थिएन । अतः एमए पास भएपछि के गर्ने कुनै योजना थिएन । कलेज पढ्दा प्राध्यापकहरूको जीवनशैली भने बडो आकर्षक लाग्थ्यो । लेक्चर स्ट्यान्डमा उभिएर कमान्डिङ आवाजमा लेक्चर दिनुको आनन्द सम्झेर मन्त्रमुग्ध हुन्थें’, उनले विगत सम्झिँदै भनेका छन्, ‘अझ त्यसको स्वतन्त्रता मेरा लागि अति नै प्रिय थियो । तर, यो सब कसरी सम्भव छ भन्ने अत्तोपत्तो नै थिएन ।’

स्वतन्त्रतामा रमाउने स्वभावका उनलाई प्राध्यापनको जागिर केवल जागिरमात्र भएन, स्वतन्त्रता उपयोग गर्ने अवसर पनि बन्यो । ‘भन्छन् नि, जब तपाईंलाई कता जाने थाहा हुँदैन, त्यसबेला जुन बाटो हिँडे पनि हुन्छ । हो, यही विन्दुमा संयोग निर्णायक बन्दो रहेछ। मेरो मेची महाविद्यालयको प्राध्यापनको जागिरलाई म नितान्त संयोग नै मान्छु’ उनले देखेकमा छन्, ‘यस्तो जिन्दगीको पनि आफ्नै मजा हुँदोरहेछ। समयको भेलले बगाइरहेको जिन्दगीलाई अत्तालिएका बेला प्राध्यापन गर्ने एउटा त्यान्द्रो मिल्यो । र, त्यही त्यान्द्रो समयक्रममा जीवनवृत्ति बन्यो ।’

उनले कम्युनिस्टका संस्थापक नेता पुष्पलाल श्रेष्ठ, एमाले नेताहरु मनमोहन अधिकारी, भरतमोहन अधिकारीलगायत प्राध्यापक भक्तराज आचार्य, लेखक कमल कोइरालालगायत दर्जनौं व्यक्तिसँगका सामिप्यतालाई मजासँग स्मरण गरेका छन् । राजनीतिक, शैक्षिक, व्यक्तिगत र पेसागत हिसाबले निकट रहेका व्यक्तिसँगका सहयात्रालाई उनले किताबमा लेखेका छन् ।

तीसको दशकको क्याम्पसको शिक्षकी अवस्थालाई उनले चित्रण गरेका छन् । झापा, विराटनगर र काठमाडौंको प्राध्यापन उनका लागि एउटा शैक्षिक इतिहासजस्तो देखिन्छ । महेन्द्र मोरङ क्याम्पसमा २०३२ मा सरुवा भएर आउँदा एक कार्यालय सहयोगीले सार्वजनिक गरेको अभिव्यक्ति रोचक छ ।

‘म विराटनगर सरुवा भएर आउँदा महेन्द्र मोरङ क्याम्पसको शैक्षिक वातावरण साह्रै दयनीय थियो । सेमेस्टर परीक्षा प्रणाली यति बेहाल थियो कि भनिसाध्य छैन । परीक्षामा मास चिटिङ हुन्थ्यो । शिक्षकहरू निरीक्षक बस्दैनथे । कर्मचारीहरूले कापी र प्रश्नपत्र बाँड्थें र बाहिरिन्थे अनि अन्त्यमा कार्यालय सहयोगीले कापी जम्मा गरेर ल्याउँथे,’ उनले लेखेका छन्, ‘त्यही ताका क्याम्पसको एक हक्की कार्यालय सहयोगी त्रिलोक कामतको स्थानीय अखबार जनवार्तामा अन्तर्वार्तासमेत छापियो, जसमा उसले खुलम खुला के भन्यो भने यस्तै परीक्षा हुने हो भने म पनि एमए पास भएर प्राध्यापक हुन सक्छु । त्यतिमात्र होइन, उसले यस्तो बेइज्जतको प्राध्यापक हुनुभन्दा मलाई इज्जतको यही कार्यालय सहयोगी नै ठीक छ सम्म पनि भन्न भ्यायो ।’

राजनीतिशास्त्रको प्राध्यापक भएर होला उनले हाल भइरहेका राजनीतिक घटनाक्रमलाई पनि नजिकबाट नियालिइरहेका हुन्छन् । २०५२ को एमालेको नौ महिने सरकार उनका लागि अप्रिय भइदियो । उनले गरेको अपेक्षालाई एमालेले बेवास्ता गरेको उनले भनेका छन् ।

‘एमालेको नौ महिने शासनकालले मुलुकमा आशाको सञ्चार गरे पनि व्यक्तिगत रूपमा मलाई पीडा दिएर गयो । पीडा यसकारण कि मेरो विज्ञताको उपयोगको कुरै छाडौं, सजायको प्रयाससम्म भयो । त्यसैबाट बाहिर निस्कन मैले काठमाडौं गएर विद्यावारिधिको काम थाल्ने निर्णय गरें । तर, त्यहाँ पनि कामकुरो अन्तै मोडियो,’ उनले लेखेका छन्, ‘प्रकाश साप्ताहिकको प्रधान सम्पादक मेरो चाहनाको विषय थिएन तर साथीहरुको आग्रहलाई टार्न नसक्दा त्यो मेरो जिम्मामा आइलाग्यो । यो कामको फाइदा के भयो भने मैले एमालेका अधिकांश नेतालाई नजिकबाट जान्न पाएँ ।’

उनले आफू सदस्य हुँदा लोकसेवा आयोगलाई गरेको आधुनिकरण, व्यवहारिक गराउन खेलेको भूमिकालाई सविस्तार उल्लेख गरेका छन् । किताबको भूमिकामा विश्लेषक झलक सुवेदीले राजनीतिक तथा सामाजिक परिवर्तनका आँधीहरुको कथा भनेका छन् । ‘आफ्नो ७५ वर्षभन्दा लामो जीवनयात्राका भोगाई, अनुभव र अनुभूति समेटेर निकालेको यो पुस्तक सतहमा हेर्दा व्यक्ति कृष्ण पोखरेलको जीवनकथा हो तर अन्तर्यमा पूर्वी तराईका सहर र देहातले विगत ७० वर्षमा व्यहोरेका राजनीतिक तथा सामाजिक परिवर्तनका आँधीहरूको एउटा कथा हो’ उनले लेखेका छन् ।


प्रकाशित : असार ८, २०८१ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×