कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

सिर्जनामा रमाइरहेका भविन

काठमाडौँ — साहित्य, संगीत र समाजसेवामा लागिपर्ने नाउँ हो– भविन लिम्बू । कवितासँग दशकौंदेखि लगाव भएकैले उनले हङकङ चममिस, छाया, सेलेक्टेड पोएम अफ भविन लिम्बु (अंग्रेजीमा) संग्रह ल्याइसकेका छन् । कवितासँग हृदयको भित्री कुनामा स्थान भएकैले यो विधामा लागिपरेको उनको ठम्याइ छ ।

सिर्जनामा रमाइरहेका भविन

भविन भन्छन्, ‘कवितासँग बातचित गर्दा मलाई सबैभन्दा ठूलो आनन्द आउँछ । दुःख पो के भन्दा पनि सुखको नजिक पुगेकामा खुसी भइरहन्छ ।’

लामो समयदेखि हङकङमा रहेर कविता, गीतमा समर्पित उनी समाजसेवालाई आफ्नो जीवनको लक्ष्य ठान्छन् । पूर्वका निकै विद्यालयलाई शैक्षिक योगदान पु¥याएका उनले बालबालिकाका लागि शैक्षिक सामग्री दिँदा सन्तुष्ट भएको बताउँछन् ।

हङकङमा हरेक साता जस्तो हुने साहित्यिक कार्यक्रममा लागिपर्ने उनीसँग सिर्जनात्मक चरित्र छ । त्यहाँ रहेका २ सय ५० संघसंस्थाले नेपाली भाषा साहित्य, संस्कृति र कलात्मक गतिविधिमा निरन्तरता दिइरहेका छन् ।


‘हङकङमा ६५ वटा संस्थाले अत्यन्तै राम्रा कार्य गरिआएका छन् । म १० वटा भाषिक, साहित्यिक, सांस्कृतिक संघसंस्थामा रही काम गरिरहेको छु,’ लिम्बू भन्छन्, ‘यसरी काम गर्न पाउँदा आफ्नो रचना कर्मसँगै नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउन सहयोग पुगेको सन्तुष्टि भइरहन्छ ।’

मनग्गे फुटकर रचना प्रकाशन गरिरहेका भविनसँग अलिक फरक ढंगले साहित्यिक कार्य गर्ने रुचि अहिले पलाएको छ । ‘अब परम्परागत लेखनीबाट नेपाली साहित्यले उचाइ लिन सक्तैन । केही भिन्न तरिकाले साहित्यको रचना गर्ने सोचाइ बनाएको छु,’ उनी भन्छन् ।

हङकङको नेपाली साहित्यलाई सूक्ष्म रुपमा लेख्न पाए हुन्थ्यो भन्ने चाहना राखेका उनी चाँडै आफ्नो कृति ल्याउने योजनामा छन् । संसारका धेरै मुलुक घुमे पनि नेपाली समाज र त्यो समाजभित्र रहेको साहित्यलाई उतार्ने उनको चाहना तीव्र छ ।

‘म हङकङको अग्लो महलमा बसे पनि नेपालकै टाँडे घरमा बसेको सपना देख्छु,’ भविन भन्छन्, ‘त्यहीँको कथा–व्यथाले मलाई तानिरहन्छ । भोलि पनि यिनै कथा म लेख्न चाहन्छु साहित्यमा ।’

प्रकाशित : असार ६, २०८१ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×