कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

गोर्खाल्याण्ड आन्दोलनको नालीबेली ‘चक्रव्यूहमा गोर्खा’ सार्वजनिक

पर्वत पोर्तेल

सिलिगुडी — गोर्खाल्याण्ड आन्दोलनबारे केही आख्यानहरु बजारमा आइसके । यही मेसोमा गैर आख्यान पनि प्रकाशित भएको छ । दार्जिलिङका पूर्व कर्मचारी भोटू सिंह क्षेत्रीद्धारा लिखित तथा राजा पुनियानीले सम्पादन गरेको गैर आख्यान कृति ‘चक्रव्यूहमा गोर्खा’ आइतबार सिलिगुडीमा लोकार्पण भयो । गोर्खाल्याण्ड आन्दोलनसंग जोडिएका राजनीतिज्ञ पी अर्जुन, इतिहासकार डा. सोनाम बी बाङ्गेल, बिके प्रधान, प्राध्यापक रिन्जी भुटिया लगायतले संयुक्त रुपमा कृति लोकार्पण गरे । 

गोर्खाल्याण्ड आन्दोलनको नालीबेली ‘चक्रव्यूहमा गोर्खा’ सार्वजनिक

सन् १९०७ सालदेखि दार्जिलिङमा अलग राज्यको मुद्धा सतहमा आयो । सन् १९१७ मा पहिलो पटक ‘हिलमेन्स एसोसिएसन’ नामक एक दलले दार्जिलिङ, जलपाइगुडी र डुवर्सलाई मिलाएर छुट्टै प्रशासनिक इकाईको माग उठाएको थियो । कालान्तरमा यो मागले पृथक राज्य निर्माणको रुप धारण गर्‍यो ।

सन् १९३० मा पनि यस किसिमका माग भयो । १९४५ मा साहित्यकार रुपनारायण सिंहले दार्जिलिङलाई वंगालबाट अलग गर्नुपर्ने भन्दै लामो समय आन्दोलन गरे । कालान्तरमा त्यो पनि तुहियो । सन् १९४६ मा त तत्कालीन कम्युनिष्टहरुले दार्जिलिङ, सिक्किम, डुवर्स तथा तराई र पूर्वी नेपालका केही भाग गाभेर सार्वभौम राष्ट्रको रुपमा छुट्टै ‘गोर्खास्थान’ निर्माणका लागि पहल गरे । ती सबै मागहरु तुहिदै गए ।

सन् १९७९ मा ‘प्रान्तीय परिषद’ नामक अर्को राजनीतिक दल जन्मियो र उसले छुट्टै राज्यको मागलाई अझ दमदारका साथ अघि बढायो । त्यो पनि जब तुहियो अनि उदाए- सुवास घिसिङ । सेनाको जागिर छाडेर आएका घिसिङले गोर्खा राष्ट्रिय मुक्ति मोर्चा नामक दल दर्ता गराएरै छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई फरक ढंगवाट अघि बढाए । सन् १९८६ देखि ८८ सालसम्म करिव २८ महिना लामो गोर्खा ल्याण्ड संघर्षको नालीवेली भोटु सिंह क्षेत्रीको आख्यानमा उल्लेख छ ।

हिंसात्मक बन्दा १ हजार २ सय वढीले ज्यान गुमाएका थिए । २२ अगष्ट सन् १९८८ दार्जिलिङ गोर्खा पार्वत्य परिषदको रुपमा आन्दोलनले विश्राम लिएको थियो । भोटू क्षेत्रीले आफ्नो कृतिमा सन् १९८६–१९८८ लाई गोर्खाल्याण्ड आन्दोलनको उत्थान अनि पतनको रुपमा व्याख्या गरेको सम्पादक राजा पुनियानीले जनाए । ‘पटक पटक गरी २९ पटक अलग अलग राज्यको माग उठ्यो’, पुनियानीले भने,‘ गोर्खाहरूको यही राजनैतिक चिन्हारी कृतिमा समेटिएको छ ।’

चार खण्डमा लेखिएको कृतिमा एकातिर, कांग्रेसी इन्द्रजीत खुल्लरले गोर्खाहरुलाई गुमराहमा पारेको चर्चा छ भने अर्कोतिर, भाजपाले लोकसभा चुनावमा गोर्खाहरुमाथि झुक्याइरहनुको रहस्य पनि कृतिमा खोतल्ने प्रयास भएको छ ।

गोर्खाल्याण्ड आन्दोलनको समर्थनमा लेखिएको बंग्ला कृति ‘कोन्जनजोङगाए ओशान्तिर आगुन’ का लेखक सोमेन नागले दार्जिलिङका गोर्खाहरुले वर्षौदेखि उठाउँदै आएको गोर्खाल्याण्डको मुद्धा जायज रहेको दावी गर्दै भने,‘केन्द्र र राज्य सरकार मिलेर समुदायमाथि फुटको राजनीति गरिरहेका छन्, त्यो गोर्खाल्याण्ड नदिने नियत हो ।’

लामो समय सुवास घिसिङका निकट सहयोगीको रुपमा काम गरेका लेखक क्षेत्रीले आफ्नो कृतिलाई गोर्खाल्याण्ड आन्दोलनको विश्वस्त राजनैतिक दस्तावेजको रुपमा मान्न सकिने दाबी गरे । उनले ब्रिटिशकालदेखि समकालीन विन्दुसम्मको फेहेरिस्त कृतिमा समेटिएको उल्लेख गर्दै थपे,‘गोर्खाल्याण्ड आन्दोलनलाई नजिकवाट बुझ्न कृति उपयोगी हुने छ ।’ सालबारीको बुकएण्ट पव्लिकेसनले वजारमा ल्याएको कृति ६०० पृष्ठको छ ।

प्रकाशित : फाल्गुन १३, २०८० २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×