२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

आशाको पखेटा, भविष्यको खोजी

युवा किन विदेशिन्छन् ? विदेशले केही बाध्यता, केही भ्रम, केही आशा र केही लहड बनेर युवालाई बोलाइरहेको छ । 
युवा भन्छन्– विदेशमा मेरो कामको सम्मान हुन्छ र म कामअनुसारको पैसा पाउँछु ।

न्युयोर्क सब–वेमा एक भायोलिनवादकले ४५ मिनेटसम्म भायोलिन बजाए । मुट्ठीभर मानिसहरू रोकिएर सुने, केहीले ताली बजाए । उनले त्यस कार्यक्रममा टिप्सका रूपमा ३० डलर पाए ।

आशाको पखेटा, भविष्यको खोजी

त्यहाँ उभिएका व्यक्ति अरू कोही नभई संसारका उत्कृष्ट संगीतकारमध्येका एक भायोलिनवादक जोसुआ बेल थिए । उनी त्यहाँ ३.५ मिलियन डलरको भायोलिन बजाउँदै थिए । यो घटना घट्नु २ दिन मात्रैअघि जोसुआ बेलले बोस्टन थिएटरमा प्रस्तुति दिएका थिए, जसको औसत सिट मूल्य १०० डलर थियो । त्यस कार्यक्रम सोल्डआउट भएको थियो ।

यो प्रयोगबाट के निष्कर्ष निकालियो भने सामान्य वातावरणमा असामान्य व्यक्तिको सही मूल्यांकन हुन सक्दैन । बरु उल्टो, उनीहरूले आत्मसम्मानसमेत गुमाउँछन् ।

मेरो ताजा भोगाइ– संवाद

म अघिल्लो वर्ष धनगढी गएको थिएँ, एउटा कार्यक्रमका लागि । एसईई सकेका भाइबहिनीसँग करियर गाइडेन्सको कार्यक्रम थियो त्यो । कार्यक्रममा मैले ‘अब के गर्ने सोच्नुभएको छ ?’ सोध्दा अधिकांशले ‘बाहिर जाने’ भन्दै हात उठाएका थिए । तीन महिनाअघि काठमाडौं, हिमालयन ह्वाइटहाउस कलेजमा भएको लिटरेचर फेस्टिभलमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकै अघि करिब १ हजार युवालाई माथिकै प्रश्न सोध्दा करिब ८० प्रतिशत युवाले ‘विदेश जाने’ पक्षमा हात उठाएका थिए ।

त्यस कार्यक्रमलगत्तै म जनकपुर गएको थिएँ । बजारबाट अलि पर, चक्कर गाउँ पुगेर एउटा सार्वजनिक विद्यालयको कक्षा १० का विद्यार्थीसँग संवाद गरेको थिएँ । संवादका क्रममा ‘डाक्टर कति जनाले पढ्ने ?’ सोध्दा ३ जनाको हात उठेको थियो । ‘इन्जिनियर कति जना ?’ मा २–३ जनाको हात उठ्यो ‘अनि लोक सेवा ?’ त्यही २–३ जना । ‘विदेश कति जना जाने’ प्रश्नमा ३५ विद्यार्थी भएको कक्षामा २३ जनाको हात उठेको थियो ।

त्यस्तै, केही दिनअघि म रोल्पामा थिएँ । त्यहाँ पनि युवाहरूसँग संवाद गर्दा थाहा पाएँ– अधिकांश युवा काठमाडौं र काठमाडौंबाट विदेश जाने मनस्थितिमा छन् । रोल्पाको लिवाङका धेरै युवा विदेश गइसकेका रहेछन् ।

हामी ‘देश रित्तियो’ भन्छौं, तर यो विषयमा गहिरो अध्ययन र संवाद गर्दैनौं । एयरपोर्टमा आँसु खसालेका युवाका तस्बिर फेसबुकमा राख्छौं, तर त्यो आँसुपछाडिको कारण खोज्दैनौं । विद्यार्थीको त कुरै छोडौं, अवस्था यस्तो छ कि चितवनको एउटा सार्वजनिक विद्यालयका प्रिन्सिपल कतार जाने प्रयासमा छन् । मैले चिनेका एक जना डीएसपी पनि विदेश जान खोज्दै छन् ।

यो कुरा थप होहल्ला मच्चाउन भनिरहेको छैन मैले । देशको सबैभन्दा ठूलो मुद्दालाई अलिकति गहिराइमा गएर बहस गरौं भन्ने प्रयास मात्रै हो ।

हाम्रो अध्ययन

युवा किन विदेशिन्छन् ? यो तथ्य बुझ्न विगत एक वर्षदेखि म विभिन्न विद्यार्थीसँग संवादमा छु । यसै सिलसिलामा मैले एउटा फारम बनाएरै अध्ययन गरें । अध्ययनमा ४०० भन्दा बढी युवाले भाग लिए, जसमा १५ देखि १९ वर्षका करिब ८५ प्रतिशत छन् । त्यस अध्ययनमा करिब ६३ जिल्लाका युवा सहभागी छन् । कक्षा १० अध्ययनरत १४ प्रतिशत, कक्षा ११ पढ्दै गरेका ४५ प्रतिशत, कक्षा १२ पढ्दै गरेका २३ प्रतिशत, स्नातक पढेका १३ प्रतिशत र ५ प्रतिशत स्नातकोत्तर गरेका युवा छन् ।

मैले उनीहरूलाई पहिलो प्रश्न सोधेको थिएँ– के तपाईं पढाइ वा कामका निम्ति विदेश जान चाहनुहुन्छ ? उत्तरमा करिब ७५ प्रतिशत युवाले ‘जान चाहन्छौं’ भनेका थिए भने १८ प्रतिशतले ‘सायद जान्छु कि’ भनेका थिए । ‘विदेश जान्न’ भन्ने करिब ७ प्रतिशत मात्र युवा थिए । यो तथ्यांकले हामीलाई एउटा निकै डरलाग्दो चित्र देखाउँदै छ । डरलाग्दो विषय ‘धेरै युवा विदेश जान चाहे’ भन्ने तथ्यांक मात्रै होइन, यो हो कि विदेश जान खोजेर जान नपाएका युवामा जुन आक्रोश र निराशा छ, त्यसले समाजलाई उत्साहित बनाउन सक्दैन ।

मैले ती युवाहरूलाई ‘के नेपालमा भन्दा बाहिर राम्रो शिक्षा र करियर छ ?’ भनी सोधेको प्रश्नमा ९६ प्रतिशतले ‘छ’ भनेका छन् । यी युवामध्ये ८५ प्रतिशतको आफन्त वा साथीभाइ बाहिर रहेछन् । ८५ प्रतिशत युवाका आफन्त बाहिर हुनुले पनि अन्य युवालाई तरंगित गरेको हुनुपर्छ ।

विदेशिनुका कारण

एउटा विद्यार्थी आज किन विदेश जान चाहन्छ ? मैले योबारे सयौं विद्यार्थीसँग गत वर्षदेखि छलफल गरेको छु । एक जना विद्यार्थीको उत्तर थियो, ‘नेपालमा मिहिनेत गरेर सफलता (आम्दानी) को ग्यारेन्टी छैन, विदेशमा मिहिनेत पनि गर्नुपर्छ त्यसको उचित मूल्यांकन पनि हुन्छ ।’ अर्को कक्षा ११ का स्याङ्जाका एक युवा छन्, जो ‘आफू रकस्टार बन्न चाहेको, तर यहाँ सम्भावना नरहेकाले’ विदेश जान चाहन्छन् । हामीले सोधेको प्रश्नमा सबैभन्दा धेरै ४८ प्रतिशतले ‘अझ राम्रो शैक्षिक अवसरका निम्ति आफू बाहिर जान चाहेको’ बताएका छन् । त्यस्तै, ‘राम्रो जागिरका निम्ति आफू बाहिर जान चाहेको’ करिब २५ प्रतिशत युवाले बताएका छन् भने, ‘नेपालमा आफ्नो अनि परिवारको आर्थिक अवस्थाका कारण आफू बाहिर जान चाहेको’ १६ प्रतिशतले बताएका छन् । शिक्षा र राम्रो रोजगारी मुख्य रहे पनि हाम्रो बुझाइमा युवा बाहिर जान चाहनुका ५ कारण छन् ।

१. आशा र विश्वास गुम्नु

नेताका आश्वासनको कुरा छोडौं, विश्वविद्यालयमा नयाँ भीसी नियुक्त हुन्छन्, उनी घोषणा गर्छन्, ‘अब परीक्षा समयमै हुन्छ ।’ हामी कतिले विश्वास गर्छौं ? सरकारको नीति तथा कार्यक्रम आउँछ अनि भनिन्छ, ‘अब युवाले सर्टिफिकेट धितो राखेर लोन पाउँछन् ।’ हामी कति जना उत्साहित हुन्छौं ? हाम्रा संरचनाहरू, हाम्रा संस्थाले विश्वास गुमाइसकेका छन्, जसले नागरिकमा अविश्वास थपेको छ ।

ओखलढुंगाका एक जना १८ वर्षे १२ कक्षा पढ्ने युवामा यस्तो निराशा छ कि उनी भन्छन्, ‘म देश छोड्न चाहन्छु, किनकि यहाँ ठूला र ठूला मानिसहरूसँग सम्बन्ध भएकाहरूले मात्र अवसर पाउँछन् ।’ उनी विदेश जाने अवसर पाए ‘कहिल्यै नेपाल नफर्कने’ विचारमा स्पष्ट छन् । हामीले गरेको सर्भेमा करिब ११ प्रतिशत युवा मात्रै ‘आफ्नो पढाइ सकिनेबित्तिकै नेपाल फर्कन्छु’ भन्छन् । ५४ प्रतिशत युवा ‘पढाइ सकेर अनि केही अनुभव र पैसा कमाएर फर्कने’ बताउँछन् भने जाँदै नगएका, तर ‘गएपछि फर्किंदै फर्किन्न’ भन्ने २६ प्रतिशत युवा छन् । यो चित्र, राज्यप्रतिको निराशा अनि अविश्वासको प्रतिबिम्ब हो ।

राज्य र नागरिकबीचको दूरीले पनि यो अवस्था आएको हो । यहाँ नागरिकता र लाइसेन्स बनाउन पनि नेता नै चिन्नुपर्छ, पहुँच हुनुपर्छ भन्ने भाष्य (यथार्थ ?) जुन युवाहरूमा स्थापित छ, त्यो निकै डरलाग्दो बन्दै गएको छ । नेपालमा अवसर छैन, विदेशमा यदि खट्न सक्ने हो भने मज्जाको अवसर छ भन्ने युवाले बुझेका छन् । विदेश किन जाने ? भन्ने प्रश्नमा एक जना महोत्तरीका १७ वर्षे भाइ भन्छन्, ‘इट विल मेक माई फ्युचर पर्फेक्ट ।’ विदेशले नेपालका लागि केही बाध्यता, केही भ्रम, केही आशा त केही लहड बनेर युवाहरूलाई घच्घच्याउँदै छ ।

२. पैसा कमाउने अवसरको खोजीमा

किन विदेश जाने ? धेरै युवाले ‘विदेशमा धेरै पैसा कमाइन्छ’ भन्ने बुझाइ राखेको पाएँ । हुन पनि हो, केही महिनाअघि नेपालमा ३ हजारको ‘जब अफर’ भएका एक युवाले जापानमा करिब ३ लाखको जागिर पाए, यो भर्खरैको कुरा । यो पूर्ण रूपमा सबैमाथि लागू हुने कथा भने होइन । तर, धेरैलाई विदेश जान प्रेरित गर्ने प्रसंग भने पक्कै हो । ‘उही काम, तर नेपालभन्दा बढी कमाइ हुन्छ’, ‘पैसा डलरमा आउँछ’, ‘हामीले विदेशमा नेपालमा एक महिनामा कमाउनेभन्दा ३–४ गुणा कमाउन सक्छौं,’ यी बुझाइ आम युवाको हो ।

नेपालको कमजोर आर्थिक अवस्था र विदेशमा रोजगारीको बढी सम्भावना हुनु नै युवा बाहिर जानुको प्रमुख कारण हो । काठमाडौंकै १८ वर्षे युवाले भनेको कुराले युवाको बुझाइलाई एकै वाक्यमा स्पष्ट बनाउँछ । उनी भन्छन्, ‘माई वर्क विल वि भ्यालुड एन्ड पेड’ अर्थात् ‘मेरो कामको सम्मान हुन्छ र मैले कामअनुसारको रकम पाउँछु’ । यो निकै महत्त्वपूर्ण स्टेटमेन्ट हो । आज अधिकांश युवाले आफ्नो श्रमको अवमूल्यन भएको महसुस गरिरहेका छन् । हिजोका दिनमा ‘कसले कति कमाउँछ ?’ थाहा हुन्न थियो वा ‘आफ्नो कामको मूल्य कति हो ?’ थाहा हुन्न थियो, तर आज थाहा हुन्छ । तिनलाई अवसरको विकल्प पनि छ । त्यसैले यो बुझाइ महत्त्वपूर्ण छ ।

नेपालमा काम पाउनै मुस्किल छ । पाएको कामको पनि सही मूल्यांकन हुँदैन भन्ने नै प्रमुख बुझाइ हो । काठमाडौंका एक जना हाल अमेरिकामा रहेका २९ वर्षीय युवाको यो कुरा निकै महत्त्वपूर्ण छ । ‘बाहिर गएर तपाईंको जीवनमा कसरी प्रभाव पर्छ ?’ भन्ने प्रश्नमा, उनको विचार छ, ‘म स्नातकपछि मेरो सपनाको काम पाउन सक्छु । यदि म नेपालमै बस्छु भने मलाई व्यावसायिक रूपमा विकास गर्न निकै समय लाग्नेछ । म त्यो मान्छे हुँ, जसलाई मेरो इन्जिनियरिङ सकिएपछि नेपालमा ८,५०० रुपैयाँ तलब अफर गरिएको थियो । त्यसपछि म मास्टर्सका लागि अमेरिका गएँ, जहाँ मैले प्रतिवर्ष ४ लाख ५० हजार रुपैयाँ कमाएँ (यो ताजा स्नातकको तलब हो) । ६ महिना अमेरिकामा काम गरेर नेपाल फर्कने निर्णय गरें, देशका लागि सेवा गर्ने निर्णय । नेपालमा सन्तोषजनक रूपमा अघि बढ्न नसकेपछि पीएचडीका लागि अमेरिका जाने निर्णय गरेको छु । अब म फर्कन्छु/फर्किन्न निश्चित छैन । म अब ५०–६० हजार मासिक तलबमा नेपालमा काम गर्दिनँ, तर निश्चित छ अमेरिकामा वार्षिक १ लाख यूएस डलर तलब पाउँछु ।’

यी बुझाइले कामको सम्मान दामले गर्न नसक्नु नै मूल समस्या हो भन्ने देखाउँछ । उद्यमीलाई गाह्रो बनाएर, व्यापारीलाई गाली गरेर, पुँजीलाई नकारात्मक व्याख्या गरेर युवा देशमा बस्दैनन् भन्ने देखिन्छ ।

३. बेकामे शिक्षा

प्लस–टुसम्म पढेका विद्यार्थीसँग सोध्दा उनीहरूलाई ‘आफूले केही जानेको छु, सिकेको छु’ भन्ने लागेकै पाउँदिनँ म । अनि, त्यसपछिको पढाइ, संकायहरू, परीक्षा प्रणाली पनि निकै निराशाजनक छ । आज एक जना विद्यार्थी १२ कक्षापछि कहीं जागिर गर्छु वा आफ्नै केही उद्यम गर्छु भनेर उत्साहित हुन सक्दैन । हाम्रो सर्भेमा पनि ४८ प्रतिशतले ‘युवाहरू विदेश जानुको प्रमुख कारण राम्रो शिक्षाको खोजी हो’ भनेका छन् । १२ कक्षा पास गरेपछि एउटा लाइसेन्सको फारम भर्न नसक्ने सीपले हामीलाई कहाँ पुर्‍याउँछ ? पीएचडी गरेर पनि डीभी भर्न साइभर नै धाउने शिक्षाले हामीलाई कहाँ पुर्‍याउँछ ? हाम्रा विश्वविद्यालयहरूको शिक्षाको स्तर र प्रक्रियाका कारण पनि धेरै विद्यार्थी निराश छन् । नतिजा कुरिरहेका विद्यार्थीलाई परीक्षा सकिएको एक वर्षपछि ‘कापी हरायो, आउँदो हप्ता परीक्षा दिन आउनुहोस्’ भनेर विश्वविद्यालयबाट एकाएक मेसेज आएपछि शिक्षाकै निम्ति विद्यार्थी नेपाल बस्न सक्दैनन् । दिनको ३–४ घण्टा पढेर, आफ्नो काम पनि गरेर, धेरै प्रेसर नलिईकन अन्तर्राष्ट्रिय डिग्री समयमै पाइन्छ भने किन नेपालमा पढ्ने ? नेपालको स्नातक र स्नातकोत्तर पढाइले विद्यार्थीलाई आकर्षण गर्न सकेको छैन । अनि, विषयहरू छान्ने विकल्प पनि यहाँ कम छन् । त्यसैले विद्यार्थीहरू उत्साहित छैनन् ।

४. विदेश जाने स्वाभाविक ट्रेन्ड

के शिक्षा र आर्थिक अवस्था मात्रै युवा विदेशिनुको प्रमुख कारण हो त ? त्यसोभए नेपालमै उत्कृष्ट शिक्षा लिएका र धनी मानिस पनि किन विदेश जाँदै छन् ? त्यसैले, यी दुई कारण मात्रै प्रमुख होइनन् । अहिले विदेश जानु ट्रेन्ड बनेको छ, स्वाभाविक प्रक्रिया बनेको छ । अब विदेश थप अवसरको खोजीको यात्रा पनि हो । अहिले इन्डिया र चाइनाकै धनी मानिस पनि आफ्नो देश छोड्नेको सूचीमा एक नम्बरमा पर्छन् । नेपालकै पनि धनी र शक्तिशाली मानिस देश छाड्दै छन् । यसले के देखाउँछ भने शिक्षा र आर्थिक अवस्था विदेसिनुको महत्त्वपूर्ण कारण त हो, तर सबै कारण होइन । अहिले यी धनी मानिस, जो देश छाड्दै छन्, कहाँ जाँदै छन् त ? तिनीहरू दुबई, सिंगापुर, अस्ट्रेलियालाई नयाँ गन्तव्य बनाइरहेका छन् । अनि अर्को महत्त्वपूर्ण कुरा, अहिले व्यापारको जमाना हो । विभिन्न व्यक्तिहरू त्यस्तो देश जाँदै छन्, जहाँ व्यापार गर्न सजिलो होस्, ट्याक्सको सुविधा होस्, लगानीको सुरक्षा होस् । मानिसले सहजता खोजिरहेका छन्, सहुलियत खोजिरहेका छन् ।

अर्को कुरा, अहिलेको मानिसले स्वतन्त्रता खोजिरहेको छ । मानिस त्यस्तो ठाउँमा सर्न चाहन्छ, जहाँ ऊ स्वतन्त्र रहन सक्छ । एक १९ वर्षे युवाको बुझाइ छ, ‘म विदेश गएर रमाउन सक्छु । कमाउँछु, खान्छु, जिउँछु, घुम्छु ।’

धेरै युवालाई बाँधिएर नेपाल बस्न मन छैन । मेरो एक जना भाइ क्यानडा गएको डेढ वर्ष भयो । उसले त्यहाँ चिल्लो गाडी किनेर फेसबुकमा राखेको छ । ५,९०० डलरको त्यो गाडी उसले महिनाको एक हजार डलरको किस्ताबन्दीमा लिएको रहेछ । खासमा गाडीले नै धेरैलाई उद्वेलित गर्दै छ । के एउटा युवाले नेपालमा यसरी गाडी लोनमा लिएर चढ्न सक्ने वातावरण बनेको छ त ? यस्ता विषयले पनि युवा विदेशिने ट्रेन्ड बन्दै छ ।

५. सामाजिक–राजनीतिक अस्थिरता

ओखलढुंगाका कक्षा १२ पढ्ने १८ वर्षे एक युवालाई ‘तपाईं विदेश किन जान चाहनुहुन्छ ?’ भनी सोध्दा उनी भन्छन्, ‘किनभने, नेपालमा ठूला मानिसहरू र ठूला मानिसहरूसँग सम्बन्ध भएकाहरूले मात्र अवसर पाउँछन् ।’ स्याङ्जाका अर्का एक १६ वर्षे युवा विदेश जान चाहन्छन् किनकि उनी चित्रकार बन्न चाहन्छन्, तर नेपालमा उनी त्यो असम्भव देख्दै छन् । ‘तपाईंलाई केले विदेश जान प्रभावित गर्‍यो ?’ भन्ने प्रश्नमा उनी लेख्छन्, ‘म त्यहाँ स्वतन्त्रता, अर्कालाई मूल्यांकन गर्ने समाज, धेरै अवसर पाउँछु ।’

धेरै युवा नेपालको व्यक्तिगत जीवनलाई खोजतलास गर्ने स्वभावदेखि वाक्क भएको पायौं । उनीहरूले जुन स्वतन्त्रता खोजिरहेका छन्, त्यसमा हाम्रो समाजको चरित्र बाधक बन्दै छ । ‘बिहे कहिले गर्ने ?’ देखि ‘हल्लिएर हिँड्यो, बिग्रियो’ जस्ता प्रश्न र टिप्पणीले उनीहरूलाई विदेश धकेल्दै छ ।

कुनै पनि देशको राजनीतिक अवस्था निकै महत्त्वपूर्ण हुन्छ । २०७५ सालमा नेकपाको सरकार बन्दै गर्दा धेरै युवा नेपाल फर्किएका थिए । विदेश जाने संख्या पनि तुलनात्मक रूपमा घटेको थियो । त्यस्तै निर्वाचनका बेला ‘सेतोपाटी’ अनलाइनले गरेको एउटा सर्भेमा एक युवाले ‘यदि बालेन नजिते आफू विदेश जाने’ बताएका थिए ।

सबै कुरा गरेपछि हामी एक ठाउँ आएर रोकिनुपर्छ, त्यो हो राजनीति । राजनीतिले ‘युवा देश छोड्ने कि देशै फर्किने ?’ भन्ने विषयमा ठूलो प्रभाव पार्छ । आज त्यही अस्थिर, पपुलिज्ममा टिकेको, निराशाजनक राजनीतिका कारण धेरै युवाले देश छाड्दै छन् ।

डराउनुपर्ने मुख्य विषय

अहिले हामी ‘युवाले देश छाडे’ भनेर हाउगुजी गरिरहेका छौं । सुरुमा त हामीले यसलाई ठूलो हाउगुजीको रूपमा लिनु हुँदैन । अहिले यो सामान्य घटना बनिसकेको छ । मानिस उड्न चाहन्छ, थप स्वतन्त्र, थप अनुभव र थप पैसा कमाउन चाहन्छ, त्यसका लागि उसले अवसर खोज्नु सामान्य हो । समस्या युवा विदेश गए भन्ने होइन, समस्या चाहिँ हामीले विदेशबाट फर्केका नेपालीलाई नेपालमा रोक्न नसक्नु हो ।

मेरा एक साथी न्युजिल्यान्डबाट बिदामा नेपाल आएका थिए । ३ वर्षपछि तिनलाई सोधें, ‘अघिल्लो चोटि र यसपालिमा के फरक पाउनुभयो ?’ उनले गम्भीर हुँदै भने, ‘अघिल्लो चोटि आउँदा धेरैको प्रश्न, नेपाल सधैंका लागि कहिले फर्कने भन्ने हुन्थ्यो । यसपालि मलाई यो प्रश्न कसैले सोधेन, तिमीले पनि सोधेनौ ।’

मुख्य हामीले गर्नुपर्ने काम चाहिँ यहाँ हो । माथि विश्लेषण गरिएका समस्यामा त काम गर्नुपर्छ नै तर त्योसँगै नेपाल फर्केका युवालाई नेपालमै कसरी टिकाउने भन्ने विषयमा भने हामी धेरै घोत्लिनुपर्छ । धेरै युवाहरू नेपाल फर्केर पनि केही गर्ने अवसर प्राप्त नभएपछि फेरि विदेश जान बाध्य बनिरहेका छन् । राज्यले उनीहरूले सिकेको सीप र कामलाई ध्यान दिएर उक्त क्षेत्रहरूमा लगानी गर्न, सहज वातावरण बनाउन गुरुयोजना बनाउन जरुरी छ ।

अन्त्यमा

मैले अर्का एक साथीलाई सोधें, ‘युवालाई नेपालमै रोक्न के गर्नुपर्ला ?’ उनले मुस्कुराएर एकै वाक्यमा जवाफ दिए, ‘आफ्नो बिल तिर्न पनि दुई घण्टा लाइन बस्नुपर्ने प्रणाली हटाउने ।’

अस्ति अर्का एक अभिन्न मित्र भन्दै थिए, ‘अब त नेपालमा बस्नुभन्दा विदेश जानु सहज छ । लाइसेन्स लिनुपरे वा राष्ट्रिय परिचयपत्र बनाउनुपरे महिनौं–वर्षौं लाग्छ, तर विदेश जान पासपोर्ट वा एनओसी झन्झट बिनै पाइन्छ । कतै राज्यको नीति नै त्यही त होइन ?’

राज्यको नीति नै त्यस्तो हो वा होइन, त्यो त थाहा भएन । तर, यस्ता–यस्ता विषयले युवामा ठूलै प्रभाव पारिरहेको छ ।

म हरेक चोटि युवाहरूसँग संवाद गर्दा ‘विदेश किन जाने ?’ भन्ने प्रश्न गर्छु । उनीहरू मलाई सिधै प्रतिप्रश्न गर्छन्, ‘विदेश किन नजाने ?’ उनीहरूसँग ‘विदेश किन जाने ?’ प्रश्नको दमदार तर्क छ र छ देश बस्नुका पीडा पनि । तर, मसँग ‘विदेश किन नजाने ?’ भन्ने प्रश्नको ठोस उत्तर र आशा जगाउने तर्क छैन ।

यो आलेखको सुरुकै प्रसंग (भायोलिनवादक जोसुआ बेल) मा फर्कौं । आज एक कलाकार युवा बाटोमा होइन, ‘थियटर’ मा पर्फर्म गर्न चाहन्छ । ऊ आफ्नो कला, खुबीको मूल्य ‘हैसियतअनुसार होस्’ भन्ने चाहनामा आशाको पखेटा हाल्दै भविष्य खोजीमा विदेशमा भौंतारिँदै छ । हामीले यी चाहनालाई सम्बोधन गर्न अब ढिला गर्नु हुँदैन ।

प्रकाशित : असार १, २०८१ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x