कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

बोराभित्रको जिउँदो मान्छे

बोरा’ का पात्र विशेष प्रवृत्तिका प्रतिनिधि हुन् । तिनै पात्रले किताबलाई सामाजिक बनाएको छ । 

पुस्तान्तरको एउटा स्वाभाविक परिणति मत र मूल्यहरूको घर्षण हो । त्यसमा आर्थिक, सामाजिक र सांस्कृतिक भिन्नता पनि थपियो भने घर्षण अझै भयावह हुन सक्छ । यस घर्षणमा सबैभन्दा ठूलो चोट सहने भने अबला र अशक्तले हो— केटाकेटीले, वृद्धवृद्धाले, विकलाङ्गहरूले । यो घर्षण अझ चुलियो भने फूलजस्ता मानिएका नानीहरू र देवतातुल्य मानिएका बाआमाहरू पनि उपेक्षाका पात्र बन्छन् ।

बोराभित्रको जिउँदो मान्छे

सामान्य लोकमान्यताको विरुद्धजस्तो लागे पनि यो हामीले बाँचेको द्वन्द्वात्मक समयको एउटा कुरूप यथार्थ हो ।

हामीलाई यस निचोडतिर डोर्‍याउँछ पत्रकार तथा आख्यानकार अखण्ड भण्डारीको भर्खरै प्रकाशित उपन्यास ‘बोरा’ ले । ‘बोरा’ भित्र केही समानान्तर र अन्तरसम्बन्धित कथा छन् । पहिलो कथा हो रश्मिको, जसले चाबहिलको पुलमुनि बोराभित्र बाँधेर फालिएकी वृद्धा यमुनालाई फेला पार्छिन् र सामान्य उपचारपछि पशुपति वृद्धाश्रममा लगेर राखिदिन्छिन् । यमुनाप्रतिको रश्मिको अनुरागका दुई कारण देखिन्छन् । पहिलो, यो एउटा सामान्य मानवता र सेवाभावको अभिव्यक्ति हो । दोस्रो, जँड्याहा बाबुको उपेक्षामा परेकी र आमाको कलिलो उमेरमै निधन भएका कारण मातृवात्सल्यबाट वञ्चित भएकी रश्मि यमुनामा आफ्नै आमाको रूप देख्छिन् । तर, युमना भेटेको भोलिपल्टै उच्च अध्ययनका लागि अमेरिका उड्नुपर्ने हुनाले उनी यमुनालाई वृद्धाश्रममा राखिदिन बाध्य हुन्छिन् । यस कुराको जानकारी पत्रकार अखण्ड भण्डारीलाई गराउँछिन् र आफूले यमुनालाई फेला परेको बोरा पनि सुम्पिन्छिन् ।

अब कथाको सम्पूर्ण भार अखण्ड भण्डारीको काँधमा छ । समाख्यता भण्डारी आफैं पात्रको रूपमा उभिनुले कथालाई प्रयोगशील अवश्य बनाएको छ ।

यमुनाको कथाको कार्यपीठिका मोटामोटी रूपमा झापा हो । झापाको सुरुङ्गामा धान व्यापारीका रूपमा नाम कमाएका कमलीकान्त शर्मा अर्ज्यालसँग पण्डित मुरलीधर पाध्याकी कान्छी छोरी जमुनाको बिहे भएको छ । जमुनाकी छोरी यमुना । घरमा जमुनामाथिको चरम हिंसा र शोषण, तत्कालीन ग्रामीण नेपालको पुरुषवादी चिन्तन र सामन्तवादी दृष्टिकोणलाई सतहमा ल्याउन सफल देखिन्छ । जमुना मूल्याहा छोरी पाइस् भनेर दिइएको अतिशय यन्त्रणाका कारण कलिली छोरीसँग घर छोड्नु, बाटोमा पर्ने दुधे बजारछेउ प्रेम राई र ठूलीमायाले उद्धार गर्नु र केही दिनमा माइत पुर्‍याइदिनु, केही दिनमै बाढीमा परेर जमुनाको मृत्यु हुनु र यमुना टुहुरी हुनु, कालान्तरमा यमुनाका हजुरबा–हजुरआमा पनि परलोक हुनु शृङ्खलाबद्ध आउने दुर्भाग्यका विविध कडी हुन् ।

थोरै अस्वाभाविक लागे पनि हजुरबा–हजुरआमा गुमाएपछि यमुना आफ्नो अधिकार माग्न भन्दै उनै कमलीकान्तकहाँ पुग्छे । तर, उसमाथि लागेको ‘मूल्याहा’ को आरोप यथावत् छ । उसको मूल नक्षत्रको जन्मकै कारण कमलीकान्तको अवनति भएको आरोप यथावत् छ ।

कमलीकान्तका घरबाट उस्तै प्रताडना सहेर बसेकी उनकी कान्छी श्रीमती मीना र भर्खरै आएकी यमुना एक रात भागेर भद्रपुरपारि देउनिया नदीको किनारमा पुग्छन् र झारपातको घर बनाएर बस्छन् । वनमा दाउरा खोजेर बेच्छन् र गुजारा चलाउँछन् । यसैबीच, मीनाले यमुनालाई भद्रपुरको एउटा स्कुलमा भर्ना पनि गरिदिन्छे, कक्षा ७ मा । स्कुलमा यमुनाको भेट धनकुटा घर भए पनि भद्रपुरमै मामामाइजूका घर बसेर पढ्ने रुद्रसँग हुन्छ । समयसँगै प्रेम हुन्छ र मामामाइजूकै पहलमा बिहे पछि हुन्छ । बिहेपछि ऊ धनकुटा जान्छे । यता आमा मीनाको चोला उड्छ ।

धनकुटामा एक भावुकतापूर्ण सहवासमा रुद्रले गाउँकै चनौटीलाई गर्भवती बनाउँछ र समाजको करकापमा कान्छी श्रीमती बनाएर भित्र्याउँछ । त्यसपछि यमुनाका दुर्भाग्यका दिन सुरु हुन्छन् । केही दिन त सासूआमाको अपार माया पाउँछे, तर उनी बितेपछि उनको जीवन नर्कतुल्य हुन्छ । यसैबीच छोरो जन्मिन्छ, तर अभावै अभावमा हुर्किन्छ । केही समयपछि रुद्रले गाउँको घरजग्गा बेच्छ र यमुनासहित दमक सर्छ । तर, ऊ रुद्रको घरमा बस्दिन । आमालाई भेट्न सिधै देउनिया पुग्छे, तर आमा पहिल्यै मरिसकेको खबर आउँछ । बाध्य भएर दमक फर्किन्छे र रुद्र बसेको छेउछाउ एउटा पाटीमा कतै बस्छे ।

केही समयपछि रुद्र मरेको खबर आउँछ, तर ऊ किरिया गर्दिन । छोरालाई किरिया गराउन खोज्छ समाज, त्यो पनि मान्दिन । यस क्रियाले यमुनालाई ज्यादै बलशाली र क्रान्तिकारी पात्रका रूपमा चित्रित गरेको छ । त्यसै दिन ऊ मन्दिर जान्छे । तर ‘पोइको किरिया नगर्ने’ भनेर समाजले उसलाई मन्दिरमा बस्न दिँदैन । बरु चारपाटा मुडेर बेइज्जत गर्छ । पाटी भत्काइदिन्छ र भाँडाकुँडा, लुगाफाटा सबै फाल्दिन्छ । संयोगले भर्खरै बेलायतमा कानुन पढेर आएको वकिल ‘भगवान’ ले थाहा पाउँछ र कानुनी लडाइँ लड्छ । पुलिसलाई घूस खुवाउने र यमुनामाथि ज्यादती गर्ने सबै गाउँले जेल पुग्छन् । यमुना र छोरो असल भने भगवानकै घरमा, बुवा हरिविनोद र आमा हरिकलाको छत्राछायमा बस्छन् । हरिविनोदले असललाई पढाएर डाक्टर बनाउँछन् । र भन्छन्, ‘अब कतै काम गर् । आमालाई लैजा । सुख–शान्तिले पाल् ।’

केही समयपछि असलले काठमाडौंका एक धनाढ्य रैथानेकी छोरी, आफैंसँग स्वास्थ्य विज्ञान पढेर डाक्टर भएकी निर्जलालाई बिहे गर्छ । तर, निर्जला पहिलो दिनदेखि नै आमा यमुनालाई देखिसहन्न । असललाई सर्त राख्छे— यो बूढीलाई घरबाट निकाल् । यसै द्वन्द्वका बीच, तीर्थाटन भन्दै काठमाडौं पुर्‍याएर बेहोस हुने औषधि खुवाएर असलले यमुनालाई बोरामा कोचेर धोबीखोलाको डिलमा फालेको हो । पछि, पश्चात्तापले आक्रान्त भएको असलले आमालाई खोज्छ पनि, तर भेट्दैन । त्यसैले, उनी मरिसकेको आकलन गर्दै किरिया पनि गर्छ र वर्षभरिलाई सेता कपडा लगाउन थाल्छ । ऊ सपरिवार विराटनगरको निर्सल अस्पताल फर्कन्छ ।

रश्मिले दिएको सूचना पहिल्याउँदै लेखक भण्डारी पशुपति वृद्धाश्रम पुग्छन् । भेट्छन् यमुनालाई, र सुरु हुन्छ अनेकौं संवादको सिलसिला । एउटा पुस्तकै तयार पार्छन् । फोटो पनि खिच्छन् ।

आमाले दिएको सूचना पहिल्याउँदै उनी डाक्टर असललाई भेट्न विराटनगरको निर्सल अस्पताल पुग्छन् । आमाको बरखी बारेको भन्दै सेतै लुगामा रहेका डाक्टरलाई उनकी आमा जिउँदै रहेको बताउँछन्, र फोटो पनि देखाउँछन् । कथाले यहाँनिर नयाँ मोड लिन्छ । फर्केपछि उनी असलको छोरो निर्जललाई भेट्न चितवन मेडिकल कलेज पुग्छन् र सबै कथा सुनाउँछन् । उनी र निर्जल मिलेर एउटा गोप्य योजना बनाउँछन्— निर्जलको आगामी जन्मदिन पशुपति वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई खाना खुवाएर मनाउने । योजना सुनेर निर्जलका बाआमा पनि ज्यादै खुसी हुन्छन् र निर्धारित मितिमा काठमाडौं पुग्छन् । समारोहमा निर्जलले आफ्ना बाआमाले हजुरआमालाई बोरामा हालेर फ्याँकेको कुरा सार्वजनिक गरिदिन्छ र आफू जीवनपर्यन्त त्यस्ता अत्याचारविरुद्ध लड्ने प्रतिबद्धता गरिदिन्छ । साथै, उसले त्यो पुरानो बोरा प्याक गरिएको एउटा उपहार बाआमालाई दिन्छ र भन्छ, ‘यहाँभित्र त्यही बोरा छ, जसमा तपाईंहरूले आफ्नी आमा अर्थात् मेरी हजुरआमा यमुना शर्मालाई बाँधेर गोपीकृष्ण पुलमुनि धोबीखोलाको डिलमा फाल्नुभएको थियो । कृपया यो जतनले राख्नुहोला । तपाईंहरू ६८ वर्ष पुग्दा मलाई पनि यो काममा आउनेछ ।’

कथा यही हो । लेखनमा करुण रस, रौद्र रस र बीभत्स रसको भरपूर प्रयोग छ । पूर्वेली भाषा यस कृतिको अलङ्कार हो । कमजोर अडान भएका जोइटिङ्ग्रे युवा र धनी बाउआमाको पुलपुल्याइमा परेर बिग्रेका युवतीको मारमा कसरी यमुनाजस्ता ज्येष्ठ नागरिक किचिन्छन् भन्ने दर्शाउन यो किताब सफल छ । किताबले राणाकालीन नेपालको समान्तवाद तथा प्रजातन्त्रमा प्रवेश गरिसकेको नेपालमा विद्यमान घुसखोरी, सामाजिक कुरीति, अन्धविश्वास र भेदभावलाई पनि राम्रैसँग उधिनेको छ । पात्रहरू व्यक्तिजस्ता लागे पनि विशेष प्रवृत्तिका प्रतिनिधि हुन् । त्यसले यस किताबलाई सामाजिक बनाइदिएको छ । धेरै ठाउँ संवेग उत्कर्षमा छ, पढ्दापढ्दै पाठकका आँखा रसाउँछन् ।

किताबमा टिप्पणी गर्ने थुप्रै ठाउँ छन् । प्रथमतः यसले सासू–बुहारी कलहको पुरानो स्टेरियोटाइपलाई ब्युँताएको छ । दोस्रो, कथाको अन्त्यमा निर्जलले बाआमालाई बोरा उपहार दिएर पछि ‘मलाई पनि काम लाग्न सक्छ’ भन्दिँदा थोत्रे डोकोको लोककथाको झल्को आउँछ, जसले यस्तो गम्भीर आख्यानको पटाक्षेप फितलो र बासी भइदिन पुग्छ । तेस्रो, भण्डारीका असल पात्र ज्यादै असल, र खराब पात्र ज्यादै खराब छन् । यसले उपन्यासलाई यथार्थभन्दा टाढा भगाएको छ ।

अप्ठ्यारोको चरम अवस्थामा पुग्दा, सोच्दै नसोचको कोणबाट फ्याट्ट देवदूतजस्ता उद्धारकर्ता प्रकटित हुन्छन् र हदैसम्मको सहयोग गर्छन् । आख्यानमा यस्ता अप्रत्याशित सहयोगीको प्रकटीकरणलाई ‘ड्युस–एक्स–मसिना’ भनिन्छ, र यो आख्यानीकरणको एक कमजोर कडी हो ।

कथाको अधिकांश भाग नपढेकी र ज्यादै दुःख पाएकी गाउँले वृद्धा यमुनाले भनेकी हुन्, तर भण्डारीले प्रयोग गरेको भाषा ज्यादै परिष्कृत छ र यमुनाले बोलेको हो भन्दा सुहाउने खालको छैन । उपन्यासमा संयोगहरूको भीड ज्यादै बाक्लो छ, जुन यथार्थवादी लेखनमा त्यति विश्वसनीय मानिँदैन ।

प्रकाशित : असार १, २०८१ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x