कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

त्यो गाभ होअना उल्ला

गाभ होअना उल्ला अर्थात् रोपाइँका दिन पुर्खा सम्झेर खेत पूजा गर्नुहुन्थ्यो हजुरआमा– हाम्रो बाली–फूलबारी हराभरा होस्, घरमा अन्नको बास होस्, खेतमा रोग नलागोस् है !
खेत गोड्दा–गोड्दा आमाका हात कक्रक्कै परेका हुन्थे । असाध्यै कष्टसाध्य थियो त्यो समय । 

बर्खाको समयमा बादल जामुनजस्तो कालो भई मडारिएर आउँथ्यो र झमझम बर्सिन्थ्यो । खेतका गराहरूमा पानी टम्म भरिन्थ्यो अनि बिहानै हरूवाहरू (हली) बाटोमा लस्करै अड्डो (गोरु) को पछि–पछि हलो–जुवा बोकेर लमक–लमक पाइला चालिरहेका हुन्थे । यस्तो दृश्य देख्न पाउनुले दिनलाई ऊर्जावान् बनाउँथ्यो, मन चङ्गा हुन्थ्यो ।

त्यो गाभ होअना उल्ला

झन् खेतमा हलो जोतिरहेका हरूवाहरूको ‘तत् त त...तत् तत् तत्.., नउ नउनउ..नउ नउ...हो रे...’ सुन्दा शरीर यसै बर्सिरहेको पानीको थोपा जस्तै चलायमान हुन्थ्यो । हिलोमै लुटुपुटु हुन मन लाग्थ्यो । तर, त्यसका लागि ‘गाभ’ (धान रोपाइँको पहिलो दिन) कुर्नुपर्थ्यो । त्यसपछि धान रोपाइँ नसकिएसम्म हिलोलाई आत्मीय साथी बनाइराख्नुपर्थ्यो । अन्न सप्रिन कुटो, कोदालो, हलोको गोडमेल र पानीले मात्रै कहाँ पुग्छ र ? खेतप्रति आत्मीयता हुनु जरुरी हुन्छ । आत्मीयता हुन आस्था, भरोसा र मिहिनेत हुनु जरुरी हुन्छ । र, म आत्मीयता जहिल्यै पाउने गर्थें मेरो परिवारबाट ।

सम्झना छ, एक दिन घर लिप्न खदरा (बगर) को माटो खन्न गएकी थिएँ । खदरा छेउको खेत र पानी नपाएर धाँजा फाटेको खेत देखाउँदै आमाले भन्नुभयो, ‘यहाँको १५ कट्ठा खेतमा यसपालि हामीले अधियाँ खेती गर्नेछौं । यो खेत यसपालिको बर्खामा हराभरा हुनेछ, अन्न राम्ररी फल्नेछ र खेत मालिकले हामीलाई विश्वास गरेर पछिसम्मै यो खेत अधियाँमा दिनेछ ।’

आमाले मलाई चैत अन्तिमतिर यस्तो भन्नुभएको थियो । आमाको आत्मविश्वासले मेरो मनमा कल्पनाको लहर आएको थियो– हराभरा लहलह धानको बाला झुलेको अनि म निडर भएर खेतको आलीमा हरियो घाँस काटिरहेकी थिएँ, कसैले आएर घाँस खोसेर लैजान्छ भन्ने डर थिएन । कल्पनामै घाँसले टन्न भरिएको बोरा उचाल्न खोज्दा पो कल्पनाबाट झस्किएर यथार्थमा आएछु । आमा माटोले भरिएको बोरा सकिनसकी तानिरहनुभएको थियो, साइकलमा बाँध्न । त्यसपछि हामी आमा–छोरीले दुईवटा माटोको बोरा साइकलमा झुन्ड्याएर गुडाउँदै घर पुर्‍यायौं ।

बर्खा लाग्यो । खदराको १५ कट्ठा खेतमा हाम्रो परिवारले अधियाँ खेती गर्ने भयो । आमा, बाबा, बहिनी, भाइहरू र म त्यो खेत पानीले भिजेर गलोस् अनि हलो लागोस् भन्ने समय कुर्न थाल्यौं । बर्खा सुरु भए पनि पानी बेलाबेला झुक्याउन आउँथ्यो–जान्थ्यो । खेतहरूमा भटाभट हलो चल्न थाले । बाबा एकाबिहानै गोरुलाई घाँस–पानी खुवाएर काँधमा हलो बोकेर गोरुको पछिपछि खेत जोत्न निस्कनुभयो । बिहान जोस–जाँगर साथ हलो जोत्न निस्केका बाबालाई आठ बजे खेतमा जलखे (खाजा) पुर्‍याउन गएको बेला देखें– उहाँले त दुईवटा गरोभन्दा बढी जोत्नुभएकै छैन । जोत्दा गोहला (हलो) बुरुक्क–बुरुक्क उफ्रिँदोरहेछ । माटो चिर्न बल गर्दागर्दै थाकिसक्नुभएको थियो बाबा । फेरि पर्खाइ सुरु भयो, खेतमा हलो लाग्न बर्खाको ।

एक दिन बादल मडारिँदै–गर्जिंदै बर्सियो, तर हाम्रो खेतले सबै पानी निलिसकेको थियो, खेतको त आँत मात्रै भिज्यो । सर्पजस्तो लहरा देखिने चिरा–चिरा परेका ठाउँमा अलिअलि पानी जम्मा भएको थियो । बाबाले फेरि हलो–कोदालो बोकेर गोरुको पछि–पछि खेत जोत्न जानुभयो, अस्तिभन्दा अलि सजिलो भएको थियो जोत्न । बाबाको निर्देशन मानिरहेका थिए, हाम्रो घरमै जन्मी–हुर्केर जवान भएका गोरुहरू । बाबा बडो मिहिनेतले खेत जोतिरहनुभएको थियो । जलखे (खाजा) पुर्‍याउन गएकी थिएँ म । मैले बाबाको थालमा सुक्खा रोटी, पोलेको लसुन, चट्नी, आलुको चोखा र दुई टुक्रा प्याज भाग लगाएर हालिदिएँ । हाम्रा हिरो दुई अड्डो (गोरु) का आँखा मायालु देखिए । ती कान र पुच्छरले आफूमाथि बसेको झिँगालाई धपाइरहेका थिए । तैपनि खेत छाडेर, दिक्क भएर ती भागेनन् ।

मलाई लाग्यो, मेरी आमाले जस्तै बाबाले पनि यो खेतलाई हराभरा देख्ने सपना र आत्मविश्वासको कुरा अड्डोलाई भनिसक्नुभएको छ । त्यसैले सायद चुपचाप बाबाको कुरा सुन्दै जता भन्यो उतै जान्थे अड्डोहरू । मैले मायाले अड्डोलाई सुमसुम्याएँ, काउकुति लाग्यो कि क्या हो, जीउ थर्रर हल्लायो र लामो सास लियो । बाबा पाँचौं खेतको गरा जोतेर छैटौं जोत्न लाग्नुभएको थियो । गरो सानो–सानो भए पनि त्यसलाई हराभरा बनाउन निकै बल र धैर्य चाहिन्छ भन्ने बाबाले बुझिसक्नुभएको थियो । अरूकै घरमा हली बसेर काम गर्दाको क्षण सम्झिँदै बाबा भन्नुहुन्थ्यो, ‘जलखेभन्दा अगाडि लगभग चार कट्ठा खेत जोत्न सक्थें । खेत पनि मलिलो, जोत्न पनि सजिलो ।’ पछि बाबा कामको खोजीमा कहिले पञ्जाब त कहिले नेपालकै विराटनगर, इनरुवा, इटहरी, दुहबी धाउन थाल्नुभयो । खासै घरको आर्थिक स्थितिमा परिवर्तन आएन । त्यसपछि खेती गर्ने सुर कस्नुभयो । र, पहिलो अधियाँ खेत हराभरा बनाउने सपनाको पछि हिँड्नुभयो ।

खेतीसँगै बाबाले हटिया–हटियामा तरकारी व्यापार पनि गर्न सुरु गर्नुभयो । त्यसबेलाको बाबाको मिहिनेतको कथाले ऊर्जा दिन्छ । खेत भन्दै थियो, मलाई यत्तिका वर्षसम्म खनजोत गरेनन्, गोडमेल गरेनन् । मलाई मलिलो बनाउन माया र धैर्य चाहिएको छ । बिस्तारै खेत जोतिन थाल्यो, माटोको डल्ला फुट्न थाल्यो । बर्खाको पानीले मात्रै भिज्ने खेतमा बाबाले नहरबाट पानी ल्याउनुभयो । पानीको बाटो बनाएर खेतका गरोहरू भर्नुभयो । पानी आएपछि खेतलाई गजारा (घाँस र माटो गल्ने समय) गरी दुई–तीन दिन माटो र पानी घुलमिल हुन छोडदिनुभयो । अनि बाबाले कोदालोमा धार लाउनुभयो र घामसँग जोरी खेल्दै तपतप चुहिइरहेको पसिना पुछ्दै आली छाँट्नुभयो, माटो आलीमा राख्दै चिटिक्क पार्नुभयो ।खेतमा घाँस गलेपछि धान रोप्ने त्यो दिन पनि आइपुग्यो ।

रोपा रोप्ने पहिलो दिनलाई उराँव (कुडुख) समुदायमा ‘गाभ होअना उल्ला’ भनिन्छ । यो दिन पनि मेरी अयो (आमा) कुखुरा डाक्नुअघि नै उठ्नुभयो । बहिनी र मलाई उठाउनुभयो । अरू बेला अल्छी गरे पनि त्यो दिन दुवै जुरुक्क उठ्यौं । म आँगन र दरबजा हरियो गोबरले लिप्न थालें, बहिनी सबै कोठा र ओसरा लिप्न थालिन्– खदराबाट ल्याएको माटोले ।

आमाले हतार–हतार चुलो लिपपोत गरी भाँडावर्तन माझेर जलखै र खेतमा लैजाने प्रसाद अनि पूजाको तयारी गर्नुभयो । बाबाले गोठबाट गाई–गोरु–बाख्रा निकालेर बथानमा बाँधीवरि घाँस–कुँडो–पानी दिँदै दरबजामा हलो–कोदालो राख्नुभयो । यो सबै काम सकिँदा उज्यालोले आँगनमा प्रवेश गरिसकेको थियो । सँगै झिमझिम पानी पर्न थालिसकेको थियो । गुङ्गु (प्लास्टिकको ओढ्ने), छाता, स–सानो भाटा र एक बिटा पराल बोकेर म, बहिनी, हजुरआमा खेततिर लाग्यौं । बाबा पनि हलो बोकेर गोरुको पछि–पछि नहर पुगिसक्नुभएको थियो । आमाले मलाई ‘सुगर–मिलको पहिलो हर्न बज्नेबित्तिकै जलखे लिन घर आउनु’ भन्नुभएको थियो । पैताला भिज्ने पानीमा बीउ उखेल्न खुबै रमाइलो

भइरहेको थियो । तर, पानीमा ओथरा बनाएर बसेका कमिला–किरा–फट्याग्रा आक्रमण गर्न आउँथे, हात–खुट्टा हुँदै जीउमै चढेर जथाभावी टोक्थे सायद आफ्नो थातथलो मासिएको रिसले हो ।

सुगर मिलले पहिलो हर्न बजाएर आठ बजेको खबर दियो । बाँध (खेत) मा किसिम किसिमका जलखेका मुर्टी (पोका) हरू टाउकोमा विराजमान भएर, कुनै खेतका आलीहरू हुँदै त कुनै बाटो–बाटो साइमल या टाउकैमा आउँदै गरेको देखिन थाले । म पनि कुदेर घर गएँ, जलखेको मुर्टी ल्याउन । घरमा आमाले जलखेसँगै दिउँसोको खाना पनि पकाइसक्नुभएको थियो । मलाई जलखेको मुर्टी बाँध्न लगाएर आमाले चिउराको पोका पनि बाँध्नुभयो । छछी (माटोको भाँडो) को दहीलाई सम्हालेर बाँध्नुभयो, पाँचवटा पानको पात, केही टुक्रा सुपारी, धानको लावा, एक दर्जन केरा, आठ–दसवटा आँप, लड्डु, धुप/अगरबती, एक बोतल रक्सी र एक जग बोड्ए

(जाँड) ओसरामा राखेर बाँध्नुभयो । आमाको अनुहारमा बेग्लै चमक थियो । त्यहीबेला जन (मेलो) बोलाएका काकी, हजुरआमा, भाउजू, फुपूहरू आइपुग्नुभयो । हाम्रै आँगन भएर सिधै नहर निस्किन्थ्यो । आमाले सबैलाई एउटा–एउटा सामान दिनुभयो बोक्न । मैलेचाहिँ मगमग बास्ना आइरहेको रक्सीको बोतल र जाँडको जग बोकें । सबै हाँस्दै–जिस्किँदै खेतमा पुग्यौं । हजुरआमा र बहिनी पनि धान रोप्ने खेतमा आए । ठूलो भाइले साइकलमा धानका बियाँ (बीउ) हरू पाँच–छ खेप बोकिसकेका थिए । कान्छा भाइ हलोको पछि–पछि बाल्टिन बोकेर गंगेटा समातिरहेको थियो, खेतमा जलखे ल्याउनेबित्तिकै मुर्टी नजिक आइपुग्यो । बाबाले एउटा खेतमा चौकी लगाएर सम्म पार्नुभयो । सबै जम्मा भएपछि बाबा र आमा पूजा गर्न चोतोर (रोपाइँ) खेतमा पस्नुभयो । बाबाले खेतमा केराको पात ओछ्याउनुभयो । आमाले पूजाका लागि ल्याएका सबै सामानहरू (दही, चिउरा, केरा, लड्डु, पान, सुपारी, आँप, धानको लावा, अछेता, जाँड, रक्सी एक–एक गरेर दिँदै गर्दा बाबा पुर्खालाई सम्झिँदै–पुर्कादै पूजा गर्नुहुन्थ्यो । आमाले बाबाको पिठ्युँमा खेतको माटो छ्याप्नुभयो, बाबाले पनि आमाको देहमा हिलो छ्याप्नुभयो, त्यसपछि सबै एकआपसमा हिलो छ्यापाछ्याप गर्न थाले ।

यसरी आकाशमा कालो बादल मडारिएर आएको बादलमुनि हामी रोपाइँको पहिलो दिनको उत्सव मनाइरहेका थियौं । खेतको प्रसाद उठाउन कमिला, चराचुरुंगी, गँगेटा र पानी सर्प देखापर्थे, त्यो देख्दा साह्रै खुसी लाग्थ्यो । मनमा विश्वास, आशा जाग्थ्यो । हजुरआमा भन्ने गर्नुहुन्थ्यो– बाध (खेत) मा बस्ने जनावर, चराचुरुंगीले प्रसाद खाएपछि अन्नबालीको रेखदेख गर्छन् र अन्न पनि सप्रिन्छ ।

हजुरआमाले पुर्खार् सम्झिँदै जाँड चढाउँदै भन्नुभयो, ‘हाम्रो बाली–फूलबारी हराभरा होस्, अन्नको घरमा बास होस्, रोपाइँमा रोग नलागोस् । हे अयो बोहे निम्हा रेखदेख ती एम्हा मेहनतनु नेखा नजरहु अम्के लग्गा चिअके ।’ पूजापछि सबैले जाँड–रक्सी र प्रसाद खाएर गीत गाउँदै धान रोपाइँ गर्न थाले । कुनै–कुनै

गरोमा राम्रै हिलो भयो, कुनै गरोमा दुवो घाँस गल्न नपाएर धान रोप्न दुःख दियो । कुनै–कुनै खेतको माटो यति चिप्लो, खोल्सातिर ढल्केको थियो कि सबै पानी बगाएर खदराको खोल्सामा पुर्‍याइदिने, ती आफूचाहिँ सुक्खा भई बस्ने । त्यस्तो गरोमा धान रोप्न बूढी औंलाले कम्ता दुःख पाएन । माटो कोट्याउँदै, धान रोप्दै, जरा पुर्दै सुक्खा गरोहरूमा पनि लगभग तीन–चार दिनमा रोपाइँ सक्यौं ।

रोपाइँको दुई दिन पछि भारी वर्षा भयो । खदरा, टेङ्ग्रा खोलामा बाढी आयो । रोपाइँ गरेका सबै खेतका गरो भरिए । पानी खोलादेखि नहरसम्मै टम्म भरिएको थियो । पानी कुन दिशातिर बग्दै छ भन्ने पत्तो लाग्दैनथ्यो । मुसलधारे पानी लगातार तीन दिन पर्‍यो । नहर छेउको खोल्सा खाल्डोहरूमा माछा मार्नेको लस्कर हुन्थ्यो, छाता ओडेर पनि माछा मारिरहेका थिए मान्छेहरू । किसिम किसिमका माछा पर्थ्यो जालमा । बिहान, साँझको तरकारी माछा नै हुन्थ्यो । बाढी बढेको बढ्यै भयो । आमा–बाबाको अनुहारमा चिन्ता बास बस्न थालिसकेको थियो ।

आमा ओसरामा बसेर गुन्द्री बुनिरहनुभएको थियो । बेलाबेला आँगनमा निरन्तर परिरहेको पानी हेर्दै एकोहोरो टोलाएर बस्नुहुन्थ्यो । के भयो ? सोध्दा झस्किनुहुन्थ्यो र भन्नुहुन्थ्यो– यसरी एक–दुई दिन अझ पानी पर्‍यो भने बाढीले सबै रोपाइँ गल्छ, मर्छ । आकाशमा हेर्दै मनमनै प्रार्थना गर्नुहुन्थ्यो र आँखा चिम्लेर हात जोड्नु हुन्थ्यो ।

आमाले ऊबेला सुक्खा खेत देखाउँदै भनेको कुरा सम्झिएँ । त्यसबेला कल्पनामै सही हराभरा खेत देखेकी थिएँ मैले । मैले फेरि कल्पनामै त्यही पटपटी चिरा परेको फुटेको खेतमा उभिएको महसुस गरें । बारीमा, बाधमा बेंग (भ्यागुता) हरू एकअर्काको आवाज सुनेर झन्–झन् जोडले कराइरहेका थिए । भ्यागुताको आवाज, वर्षाको धुन र बादल गर्जेको अवाजले केही साँझ बितेर गए । पानी दर्किन छोडेर सिमसिम परिरहेको थियो ।

खेतमा बाढीले ल्याएको लेदोले रोपाइँलाई पुर्न लागेजस्तो देखिन्थ्यो । तर, ठाउँठाउँमा रोपाको टुप्पोर मुट्ठा देखिएका थिए । त्यो देखेर आमाको मनमा आशा पलाएको थियो । केही खेतका रोपाइँ पानीले गलिसकेका थिए । ती ठाउँमा फेरी रोपाइँ गर्नुपर्‍यो । समयसँगै खेतमा धान मुस्कुराउन थाले । हराभरा भएसँगै धेरै किसिमका घाँस उम्रियो । दुबो घाँस बढी मात्रामा उम्रेर आयो । धत्, खेत गोडमेल गर्न फेरि अर्को युद्ध लड्नुपर्‍यो घाँससँग । एउटा कोला (गरो) बाट चार–पाँच बोझा (बोरा) घाँस निस्किन्थ्यो । घाँस देखेर गाई, गोरु, बाख्रा खुबै रमाए ।

धानबाट घाँस उखेल्दाको समय सम्झिँदा पनि आङ सिरिङ्ग हुन्छ । ओहो, आमाको हातमा साडीका टुक्रा हरेक औंलामा बेरिएका थिए । बिहान धान गोड्न गयो, सुगर मिलको दोस्रो हर्न सुनिनेबित्तिकै घाँसको भारी बोकेर घरतिर सोझियो, हतारहतार नुहायो, खाना खायो, लुगा लगायो, किताब बोकेर आधा घण्टा पाइला लम्काएर स्कुल पुग्यो । चार बजे स्कुल छुट्टी भएपछि फेरि पाइला लम्काउँदै घर आयो । हतारहतार लुगा खोल्यो । दिदीबहिनीमा कामको बाँडफाँट हुन्थ्यो, घरमा को बस्ने ? को खेत गोड्न जाने ?

खेतमा कहिलेकाहीं बाबा–आमा देखिन्थ्यो । कहिले आमा एक्लै धान गोडिरहेको देखिन्थ्यो । आमाको तरुवा (पैंताला) माटोले खाएर भुर्जीभुर्जी बनाइसकेको थियो । त्यसमाथि खुट्टाका औंलाहरू च्वाट्ट चक्कुले काटेजस्तो घाँसले काटेको थियो । त्यो घाउको दुखाइले झनै दुःख दिन्थ्यो । तर, आमाले उम्रेको घाँस निकाल्न झन्झट मान्नुभएन । भोक–प्यास बिर्सेर रोपाइँ गोडमेल गर्नुहुन्थ्यो । जलखे लिएर खेत पुग्दा टम्म भरिएको नाक र रुघा लागेको आमाको रसिलो अनुहार देख्दा मन कटक्क खान्थ्यो । कति दिन त स्कुल छोडेरै दिनभरि रोपाइँ गोडमेल गरें । आमा भन्नुहुन्थ्यो, ‘स्कुल जाऊ । बरु चाडै आउने गर, एउटा गरो भए पनि गोड्न साथ देऊ ।’

स्कुलमा हुँदा पनि कल्पना–संसारमा म देख्थें– आमाले एक्लै खेत गोडिरहेको । त्यसैले स्कुल छुट्टी हुनासाथ सरासर घर र घरबाट खेत पुग्थें । जलखे खाँदा आमाको हात कक्रक्क परेको हुन्थ्यो । चटनी या तरकारीको मसला छुँदा पनि ती हात पोल्थ्यो । खाजा खान पनि कष्ट । जसोतसो खायो, फेरि खेत गोड्न थाल्यो । साँझ खेतबाट ल्याएको घाँस गाईगोरु–बाख्राले खाएको देख्दा यसै आमाको अनुहारमा खुसी छल्किन्थ्यो ।

प्रकाशित : असार ८, २०८१ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×