कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

जीवनकै हलाहल विष पिउने भक्त बाबा 

के साँच्चै मेरो बुबाले शरीरको कुनै अंग भोले बाबालाई आहुति दिने संकल्प गर्नुभएको थियो ? के उहााँको जिब्रो देउतालाई चढाइएको हो ?
मनमा तर्कना उठ्यो– बुबाको जिन्दगीका ठूल्ठूला घटना सोमबारै घटे । के बुबा परमधाम जाने त्यो दिन पनि सोमबार हुनेछ ?

भव्य पार्टी चलिरहेको थियो । प्रसिद्ध कलाकार रवि गिरीको छोराको बिहे–भोजको निम्ता हामी दाजुभाइ (सत्य–स्वरूप) लाई पनि थियो । त्यहाँ पुग्दा रात वयस्क भइसकेको थियो । सबै आ–आफ्नै धुनमा मस्त–व्यस्त थिए । पातलो, लामो अनि मझ्यौलो कद भएको घडीको दुई सुईहरूले बिस्तारै आफूसँगै छोटो कदको सुईलाई पनि घिसार्दै थिए ।

जीवनकै हलाहल विष पिउने भक्त बाबा 

यस्तैमा कसैले टाढाबाट एकटकसँग मलाई नै नियालिरहेझैं भान भयो । ती व्यक्ति को होलान् ? किन त्यसरी हेरेका ? अलि असहज महसुस भयो र अन्तै मुन्टो बटारें । केहीबेरमै रवि दाइ ती व्यक्तिसँगै म्याजिक सटमा इन्ट्री मारे अनि हाम्रो परिचय गराइदिए ।

‘म रमेश पोदार ! खासमा भक्तराज आचार्यज्यूको कायल हुँ, यहाँहरूको त्यति गहिरिएर नसुने तापनि केही भजनहरूमा काम गर्ने मन छ ।’ हामीले ‘हुन्छ गरूँला नि’ भनेपछि उनले फेरि अर्को आयामबाट कुरा अघि सारे । ‘तपाईंहरूको बुबासँग सम्बन्धित एउटा अत्यन्तै महत्त्वपूर्ण कुरा छ, तर म घरमै आएर बुबा अघि मात्रै त्यो कुरा भन्न चाहन्छु ।’

हामी अन्योलमा पर्‍यौं । बुबासँग सम्बन्धित त्यस्तो महत्त्वपूर्ण कुरा के रहेछ र ? जुन घरमै आएर बुबाकै अघि भन्नुपर्ने हुन्छ । दाजुभाइको अन्योलता देखेर रवि दाइले कुनातिर लगेर हामीलाई प्रस्ट पार्नु भयो, ‘यो मान्छे भयंकर त्रान्त्रिक पनि हो है ।’ त्यसपछि चुरो कुरो के चाहिँ रहेछ ? बुझौं न भन्ने उत्सुकताले हामीले उनलाई घरमै आउने अनुमति दियौं ।

केही दिनपछि नै पोदार हाम्रो घर आइपुगे । स्वरूप र मसँगै उनी पनि बुबाको कोठाभित्र छिरे । उनले सिधै बुबाको टाउकोमा हात राखे । चिन्नु न जान्नुको मान्छेले टाउकोमा एक्कासि त्यसरी हात राखेको भएर बुबाले पोदारलाई रिसाएर हेर्नु भयो । तर, पोदारले हामीसँग गरेको एउटा कुराले बुबाको त्यो रिस क्षणभरमै मत्थर भयो । कुरा यसप्रकार थियो, ‘तपाईंहरूको बुबा भोले बाबाको ठूलो भक्त हुनुहुन्छ, नपत्याए सोध्नुस् त ।’

यो सुन्नासाथ दाजुभाइले एकअर्कालाई पुलुक्क हेर्‍यौं किनभने योभन्दा अघि हामीले यस्तो कुरा सुनेका थिएनौं । बुबाले कहिल्यै त्यो विषयमा हामीसँग कुनै किसिमको कुरा गर्नुभएको थिएन । झन् त्यसमाथि म आफैं भोले बाबाको भक्त हुँ । विगत बाह्र वर्षदेखि प्रत्येक सोमबार मैले व्रतसमेत लिँदै आइरहेको छु । मेरो व्रतबारे बुबालाई थाहा थियो । लाग्यो, कम्तीमा स्वरूपलाई नभने पनि भोले बाबाको त्यो सन्दर्भ मलाई त बुबाले पक्कै भन्नुपर्ने नि !

मैले नै सोधें, ‘यो साँचो हो र बुबा ?’ उहाँले पहिले पोदारलाई हेर्नुभयो अनि मलाई हेरेर बिस्तारै टाउको हल्लाउँदै मौन स्वीकृति दिनुभयो । पोदारले झट्का लाग्ने अर्को कुरा अघि सारे । ‘धेरै वर्षअघि तपाईंहरूको बुबाले सफल गायक बन्छु भन्दै भौंतारिएर हिँड्दा, कतै केही पार नलागेपछि मनमनै एउटा भयानक कदम चाल्नुभएको थियो । आफ्नो इच्छा पूरा भएमा भोले बाबालाई शरीरको कुनै एउटा अंग चढाउने कसम खानुभएको थियो । त्यसैको फलस्वरूप उहाँले आफ्नो जिब्रो भोले बाबालाई चढाउनुभएको हो ।’

एक्कासि उनको कुराले कोठामा निःशब्दता छायो । पोदारको भनाइ बिलकुलै सामान्य थिएन । उनले ठूलो आँधीबेहरीयुक्त कुरा भनेका थिए । त्यही भएर माहोल पनि आँधीबेहरीपछिको सन्नाटा जस्तै भयो । यहाँ के भइरहेको छ ? किन र के कारणका लागि भइरहेको छ ? जीवनमै नसुनिएका अजीव–अजीव किस्साहरू सुन्नु परिरहेको छ । यस्ता सोच हामी दाजुभाइकै दिमागमा बेपत्तासँग मडारिन थाले ।

हामी दुवै रनभुल्लमा पर्‍यौं । पोदारलाई हामीले अनौठोसँग हेर्‍यौं, सँगसँगै बुबालाई पनि । एकैछिनमा त्यो निःशब्दता बुबातर्फ तेर्सिएको स्वरूपको प्रश्नले चिर्‍यो, ‘यो कुरा पनि सत्य हो त बुबा ?’ यस पटक भने बुबाले आफूलाई याद नरहेको बताउनुभयो, तर पोदार भने यसलाई पुष्टि गर्नमै बढी केन्द्रित थिए ।

पोदारले आफ्नो मोटरसाइकल स्टार्ट गरे । स्वरूपलाई बुबासँगै भित्र छाडेर बाहिर निस्कें । मलाई हेर्दै पोदारले भने, ‘अघि मैले भनेका कुरा चाहे विश्वास गर्नुस् या नगर्नुस्, तर याद राख्नुस् ! एक दिन तपाईंले आफ्नो बुबामा भोले बाबाको रूप अवश्य देख्नुहुनेछ ।’ यत्ति भनेर पोदार रफ्तारमा हुँइकिए ।

म एकछिन ट्वाल्ल परेर पोदारको मोटरसाइकलले उडाएको धूवाँ हेर्दै बसें । त्यो धूवाँसँगै पोदारले मनभित्र सल्काएर गएको अचम्मको आगोको अर्को धूवाँ उड्न थाल्यो । के साँच्चै बुबा पोदारले भनेअनुरूप नै भोले बाबाको भक्त हुनुहुन्थ्यो होला ? उहाँले आफ्नो शरीरको कुनै अंग आहुति दिने संकल्प गर्नुभएको थियो होला ? संकल्प पूरा भएपछि भोले बाबालाई उहाँको जिब्रो चढाइएको होला र ? यी र यस्तै प्रश्नहरूले झन् त्यो धूवाँलाई अझ बाक्लो मुस्लोमा परिणत गर्दै थियो ।

कैयौं अजम्बरी अनि भक्ति–भावले चुर्लुम्मै डुबेका कालजयी आध्यात्मिक भजनहरू गाएको हिसाबमै उहाँ ठूलै आस्तिक हो भन्ने त हामीले बुझिसकेका थियौं, तर यो ढंगको भोले बाबाको भक्त पनि हुनुहुँदो रहेछ भन्ने ज्ञात आज बल्ल कसैले गराएर गएको थियो । जुन न हामीलाई थाहा थियो, न बुबाले थाहा नै दिनुभएको थियो । यदि पोदार घरमा नआइदिएको भए यो रहस्य गर्भमै रहने रहेछ ।

अचानक मेरो माथा नराम्रोसँग घुम्यो । मस्तिष्कभित्र अनेकौं प्रश्न जेलिएर माकुराको जालो जस्तै बन्यो– भोले बाबा र बुबाबीचको कनेक्सन के रहेछ त ? भक्तराज कुन हदसम्मको भक्त हुनुहुँदो रहेछ ? त्यो राज पत्ता लगाउन मन लाग्यो र यो विषयको गहिराइभित्र जाने उत्कट इच्छा पैदा भयो ।

त्यसैले यसको खोजी गर्ने सुरुवात मैले लेखिरहेको बुबाको आत्मकथाबाट गरें । मलाई लाग्यो, कहीं न कहीं त्यो चुरो कुरोको बिन्दु अवश्य नै भेटिनेछ । किताबमा लेखिएका एक–एक शब्द बारिकीसँग पढ्दै गएपछि मैले दुईवटा घटनामा एउटा आश्चर्यको संयोग फेला पारें । पहिलो थियो, २०४६ सालमा बौद्धको आक्रमणको दिन र दोस्रो थियो, २०५० सालमा नयाँदिल्लीको एम्स अस्पतालमा जिब्रोको शल्यक्रिया भएको दिन । यी दुवै दिनहरूमा एउटा समानता थिए । त्यो थियो सोमबार, जसलाई भोले बाबाको दिनका रूपमा मानिन्छ । टाउको फुटेको दिन अनि जिब्रो काटिएको दिन पनि सोमबारै रहेछ ।

भनेपछि, बुबाले भोले बाबालाई आफ्नो एउटा अंग समर्पण गरेको दिन मान्दा पनि सोमबार नै पर्न गएछ । त्यसपछि अकस्मात् मेरो पापी मनमा एउटा खतरनाक कुरा उब्जियो । बुबाको जिन्दगीका यति ठूला नराम्रा घटनाहरू सोमबार नै भएकाले बुबा परमधाम जाने दिन पनि कतै सोमबार नै त पर्दैन ?

२०८० साल कात्तिकको लगभग पहिलो दिनदेखि नै बुबा टाउको दुख्यो–दुख्यो भनेर मात्र कराउन थाल्नुभयो । बुबालाई अचानक यो के भएको होला ? हामीले चिसोको सुरुवातले पनि यस्तो भएको हुन सक्ने ठान्यौं ।

तर, त्यो दुखाइ बढ्न थाल्यो । दसैंको टीकाको दिन कात्तिक ७ गते मात्रै हामी परिवारलाई थाहा भयो– असोज अन्तिम या कात्तिक सुरुको कुनै दिन बुबा आफ्नो कोठामा लड्नुभएछ, तर हामी कसैलाई पनि बताउनु भएन । अहिले यसो विचार गरिहेर्दा त्यो नराम्रो घटना पनि सोमबार नै भएको हुन सक्छ । त्यसको असर सिधै टाउकोमा पर्न गयो । पूरै रगत जमेर उहाँ हामीलाई पनि नचिन्ने अवस्थामा पुग्नुभयो । हाम्रो भाइ, फ्यामिली डाक्टर प्रतीक पौडेलको निर्देशनमा अन्नपूर्ण अस्पतालमा डाक्टर बसन्त पन्त र मानिक लामालाई देखाउन लगियो ।

सिटी स्क्यानमा टाउकाको धेरै ठाउँमा रगत जमेको देखियो । डाक्टरले ‘अहिले नै आईसीयूमा राखेर अपरेसन गर्नुपर्छ’ भने । तीस वर्षदेखि बुबाको शरीरमा दूधबाहेक कुनै निउट्रेसन थिएन । त्यो पनि उहाँलाई आफ्नै किसिमको विशेष भाँडोमा दिनुपर्थ्यो । र, हाम्रो परिवारबाहेक बुबालाई कसैले खुवाउन सक्थेन । फेरि ८२ वर्षको मान्छेलाई इनेस्थेसिया दिएर अप्रेसन गर्न लागेपछि सायद उहाँ फर्किने हो कि होइन ? यस्तो पनि लाग्यो ।

त्यसैले हामीले डाक्टरलाई सोध्यौं– त्योबाहेक अरू केही उपाय छैन ? औषधिले रगत सुकाउन मिल्दैन र ? डा. बसन्तले घर जाने अनुमति त दिए, तर दुइटा सर्तहरूमा । भने, ‘पहिलो तपाईंहरू बुबालाई आफ्नो रिस्कमा लैजाँदै हुनुहुन्छ र दोस्रो उहाँको चौबिस घण्टाको स्वास्थ्य विवरण मैले पाउनुपर्छ, त्यसका लागि तपाईंहरूले एक जना नर्स घरमै राख्नुपर्ने हुन्छ ।’

हाम्रो ठूलो मामाका जेठा छोरा शेक्सपियर पाण्डेको जावलाखेलमा लाइफ लाइन हेल्थ होम केयर छ । उनैको पहलमा एक जना नर्स डा. बसन्तले भनेबमोजिम हाम्रो घरमै बसेर चौबिसै घण्टा खटिने भइन् । डाक्टरको औषधि र नर्स एन्जिला नेपालको हेरचाहले बुबा बिस्तारै तंग्रिँदै जानुभयो । अब मान्छे चिन्न र दोहोरो कुराकानी पनि गर्न थाल्नुभयो ।

टाउकामा जमेको रगत त सुक्यो, तर त्यहाँ परेको चोटको असर अर्कै ठाउँमा देखियो । एउटा भोकल कर्ड प्यारालाइज्ड भएछ, जसले गर्दा बुबालाई दूध निल्नसमेत साह्रै कठिन भयो । बुबाको खान्की स्वात्तै घट्यो । तीन माना दूध आउने घरमा अब मात्रै एक माना आउन थाल्यो । अड्चालीस किलोको शरीर घटेर एकचालीस किलोमा झर्‍यो ।

घाँटीको कारण निल्दा सर्केर उत्पात खोकी लाग्ने अनि खानै नसक्नेबाहेक अरू खासै समस्या थिएन । त्यसैले हाम्रो परिवारले नै हेरचाह गर्न सक्ने अवस्था आएपछि लगभग तीन महिना बसेर एन्जिला हामीसँग बिदा भइन् । तर, केही दिनमै हाम्रो परिवारमा एउटा ठूलो बज्रपात पर्‍यो । सामान्य स्थितिमा आइसक्नुभएको बुबाले हामी सबैलाई झुक्याएर यो लोकबाट बिदा लिनुभयो ।

त्यो दिन कामविशेषले म घरमा थिइनँ । अचानक अक्सिजन लेभल पैंतीसमा झरेपछि स्वरूपले एन्जिलालाई फोन गरेछ । उनले केही इन्स्ट्रक्सन दिएपछि स्वरूपले त्यहीअनुरूप काम गरेछ, तर भावीको लेखालाई कसैले मेट्न सक्दैन । जे हुनु थियो, त्यो आखिर भएरै छाड्यो । २०८० फागुन १४ गते दिउँसो करिब साढे चार बजे बुबा ब्रह्मलीन हुनुभयो । मैले पहिले सोचेअनुरूप नै बुबाले परमधामको महायात्रा गर्ने दिन पनि सोमबार नै पर्न गएछ ।

भीमार्जुन आचार्य हामीलाई निकै माया र प्रेरणा दिने अत्यन्तै समादरणीय अभिभावक हुनुहुन्छ । उहाँको पिताजीको परमधाम बासपछि हामी दाइलाई कोरा बसेको ठाउँमा भेट्न गएका थियौं । त्यो एउटा मन्दिरको प्रांगण थियो । त्यहाँ प्रवेश गरिसकेपछि मलाई कता–कता मनले ‘पछि हामी यतै पो आउनुपर्छ कि !’ भनेको थियो । नभन्दै त्यो भनाइले सत्यता पायो । बुबाको तेह्र दिनको कोरा बस्न भीमार्जुन दाइले त्यही मन्दिरकै हाता मिलाइदिनुभयो । पछि थाहा भयो, त्यो पनि भोले बाबाकै मन्दिर रहेछ– रुद्रेश्वर महादेवको शिव मन्दिर ।

हामी कोरामा थियौं । एन्जिला समवेदना व्यक्त गर्न आइन् । त्यत्तिका दिनसम्म एकै परिवार भएर बसेकी अनि बुबालाई आफ्नै बुबा ठानेर हरतरहले स्याहारसुसार गरेकी एन्जिला निकै रोइन् । केहीबेरमा हामीले अनुभव गरेको बुबासँग भोले बाबाको सम्बन्ध पनि उनलाई सुनायौं । त्यसपछि उनले आफ्नो अनुभव सुनाइन्, जुन सुनेर बुबा र भोले बाबाबीचको साइनोमा हामी अझ नजिक पुग्यौं ।

एन्जिला हाम्रो घरमा आउनु पहिले हाइकिङ गइछन् । मुल्डे भ्यु पोइन्टबाट माछापुच्छ्रे हिमाल हेर्दा भगवान् भोले बाबाले कैलाशमा ध्यान गरिरहेजस्तै रूप देखेकी रहिछिन् । फर्केर आउनासाथ उनलाई अत्यन्तै मनपर्ने महान् साधक भक्तराज आचार्यको हेरचाहमा खटिनुपर्ने भएपछि भोले बाबालाई धन्यवाद व्यक्त गर्न पशुपतिनाथको मन्दिर दर्शन गर्न गइछन् । वास्तवमा उनी पनि मजस्तै भोले बाबाको भक्त थिइन् र प्रत्येक सोमबार व्रत बस्थिन् । त्यो दिन मन्दिरको चारै द्वार खुल्ला रहेछ । त्यसकारण दर्शन पनि राम्रोसँग भएछ । हाम्रो घरमा आएपछि एन्जिलाले तनमन लगाएर बुबाको खुब सेवा गरिन् । त्यसैले उनीसँग बुबा प्रसन्न हुनुहुन्थ्यो । बुबा निकै तंग्रिएपछि एन्जिला हाम्रो घरबाट बिदा हुने भइन् । त्यो क्रममा हामी सबै परिवारसँग अनुमति मागेर अन्तिममा बुबासँग माग्न गइछिन् ।

छोरीजस्तै रात–बिहान नभनी खट्दै, आफूलाई बचाउने मान्छे यसरी जान लागेको देखेर बुबाले माया दर्शाउँदै भन्नुभएछ, ‘अहिले नै किन जानुपर्‍यो र ? केही दिन अझै बस न ।’ एन्जिलाले परिवारको महत्त्वपूर्ण कामले जानैपर्ने बाध्यात्मक परिस्थिति सुनाएपछि बुबाको मन खल्लो भएछ अनि कता–कता चित्त दुखाउनुभएछ । आफ्नो मन पनि अमिलो बनाउँदै हाम्रो घरबाट निस्केकी एन्जिला फेरि पशुपतिनाथको मन्दिर दर्शन गर्न पुगिछन् तर अफसोच ! त्यस दिन भने चारै द्वार बन्द रहेछन् । उनले सोचिछन्, ‘म पहिले आउँदा निकै खुसी थिएँ । त्यसैले चारै ढोका मेरा लागि खुल्ला थिए । फलस्वरूप बुबालाई पनि खुसी बनाउन सकें, तर आज म दुःखी छु । सायद बुबा पनि दुःखी भएकै कारणले हो, आज मेरा लागि सबै ढोका बन्द भएको हुनुपर्छ ।’

एन्जिला दोस्रो हाइकिङमा जाँदै हुन्छिन् । अचानक उनको मोबाइलको घन्टी बज्छ, स्क्रिनमा स्वरूपको नाम देखिन्छ । स्वरूपले ‘बुबालाई गाह्रो भयो, के गर्ने होला ?’ भनेर राय माग्छ । उनले ‘यसो गर्नू, उसो गर्नू’ भन्दै केही सल्लाह दिन्छिन् ।

तर, उनलाई किन–किन सबै कुराहरू हातबाट छुटिरहेको जस्तै भान भएछ । फेरि एकैछिनमा स्वरूपलाई फोन गरिछन् । फोन नउठेपछि चाहिँ अब मेरो मोबाइलको स्क्रिनमा एन्जिलाको नाम देखियो । मैले ‘बुबालाई मुक्ति मिल्यो’ भनें ।

यो सुन्नासाथ एन्जिलाको मन भारी भएछ । आँखाबाट आँसु खसाल्दै छेउमै भएको सानो ढुंगालाई देउता बनाएर बुबाको दिव्य आत्माको चीरशान्तिको कामना गर्दै ‘वैकुण्ठमा बास होस्’ भनेर प्रार्थना गरिछन् । अनि धूप बाल्न लाग्दा छेउमै एउटा मन्दिर देखिछन् । कोरचन डाँडाको छेउमै रहेको त्यो मन्दिर पनि शिव–पार्वतीकै रहेछ ।

केही दिनपछि किरियापुत्री बसेको ठाउँमा मित्र सुरजसिंह ठकुरी आइपुगे । बुबाबारे कुरा हुँदा भोले बाबाको प्रसंग आई नै हाल्यो । उनले पनि गजबको कुरा झिके । हामी नयाँ घर बनाएर सानो खोकना सरेको साढे चौध महिना भएको थियो । त्यो नयाँ ठाउँलाई ‘सङ्गीत नगरी’ भनेर बुबाले नै नामकरण गरिदिनुभएको थियो । महालक्ष्मीस्थानस्थित हाम्रो पुरानो घर थियो, जसलाई बुबाले बनाउनुभएको थियो । पचास सालमा जिब्रोको अप्रेसनपछि बुबालाई एक दिन पनि हस्पिटल लैजानु परेको थिएन । सङ्गीत नगरीबाटै धेरै पटक हस्पिटल लैजानु परेर अन्तमा बुबाले यो संसार त्यागेको सुनेपछि सुरजले सोधे, ‘तिमीहरूको घरछेउ कुनै नागको मन्दिर छ ?’ वास्तवमै हाम्रो घरछेउमा पाँच टाउको भएको नागको बासस्थान छ भन्ने त्यहाँका पुराना बासिन्दाहरू सुनाउँथे । सुरजले भने, ‘पुरानो घरमा रहँदासम्म बुबालाई केही नहुनुको मुख्य कारण नै त्यही नाग देवता हुन् । जबकि त्यो घरमा त्यस्तो ठूलाठूला दुर्घटनाहरू भएर पनि उनी सकुशल नै रहे, तर नयाँ घरमा सामान्य बिरामीले उहाँलाई लिएर गयो । भोले बाबालाई नागले रक्षा गरेजस्तै बुबालाई पनि त्यही नागले रक्षा गरिरहेका थिए ।’

त्यसपछि सुरजले अर्को कुरा पनि सोधे, ‘शिव लिङ्गलाई के चढाउनुपर्छ ?’ हामीले उत्तर दियौं, ‘दूध’ । उनले भने, ‘तिमीहरूले तीस वर्ष बुबालाई दूध नै त चढायौ ।’ हुन पनि बुबाको जिब्रोको शल्यक्रियापछि उहाँलाई हामीले खाटमा सुताएर दिनको तीन पटक दूध नै खुवाउनुपर्थ्यो । किरियापुत्री भवनमा हामीलाई बिहानको हाई र बेलुकीको बाई भन्न दिनहुँ सुप्रसिद्ध वरिष्ठ गीतकार विश्वबल्लभ आउनुहुन्थ्यो । तेह्र दिनसम्मै उहाँले हामीलाई साथ दिनुभयो । छुट्टिँदासमेत हामी अँगालो हालेर रुँदै छुट्टियौं । पछि यसो विचारगरी हेर्दा त त्यहाँ पनि भोले बाबाकै कनेक्सन बन्न गएको रहेछ । उहाँको खास नाम विश्वनाथ भट्टराई, विश्वनाथ भनेको पनि भोले बाबाकै नाम हो ।

हिन्दु धर्मअनुसार, मान्छेको मृत्यु भएपछि एघार दिनसम्म ऊ प्रेत नै रहन्छ । बाह्रौं दिनमा सपिण्डी श्राद्ध गरिसकेपछि मात्रै पितृको पंक्तिमा जान्छ । बुबाको पितृ हुने दिन २०८० सालको फागुन २५ गते महाशिवरात्री पर्न गयो । त्यस्तै अर्को वर्षको वार्षिकी पनि २०८१, फागुन १४ गते महाशिवरात्रीमा नै परेछ ।

आखिर बुबाको भोले बाबासँगको यो कस्तो संयोग अनि सम्बन्ध हो ? अचानक मलाई रमेश पोदार याद आयो अनि उनले भनेको एउटा विशेष कुरा, ‘एक दिन तपाईंले बुबामा भोले बाबाको रूप अवश्य देख्नुहुनेछ ।’ वास्तवमै त्यो दिन आज आएजस्तै महसुस भयो । बुबामा भोले बाबाको रूप देखेको अनुभूत गरें ।

भोले बाबाले समुद्र मन्थनपछि निस्केको हलाहल विष सेवन गरी आफूलाई नीलकण्ठ बनाएजस्तै, आफूले प्राप्त गरेको त्यो कठिनभन्दा कठिन जीवनकै हलाहल विष पिएर पलपल मर्दै पैंतीस वर्षसम्म नील–शरीरजस्तै बनेर बाँच्ने भक्तराज आचार्य भोले बाबाकै रूप भक्त बाबा नभएर आखिर के हुन् ? यो गहन प्रश्नले आजीवन पछ्याइरहने भयो ।

प्रकाशित : असार ८, २०८१ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×