कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बुझ्यौं सहर, बुझेनौं गाउँ !

हामीले पूर्व बुझ्दा पश्चिम बुझेनौं, पहाड बुझ्दा तराई । शासक बुझ्दा शोषित बुझेनौं, टोपी बुझ्दा धोती । त्यसैले हामी न कौवा न हाासको चाल भयौं । 
गाउँका स्कुलमा भवन र शिक्षक छन्, तर पढ्ने बालबच्चा छैनन् । हिउँदमा धूलो र वर्षामा हिलै भए पनि गाडीको बाटो छ, तर गाडी चढ्ने मान्छे छैनन् ।

नेपाली हामी रहौंला कहाँ नेपालै नरहे, 
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे
राष्ट्रकवि माधव घिमिरेको यो गीत हृदयभरि बोकेर मैले पूर्वी नेपालको यात्रा प्रारम्भ गरेको थिएँ । वसन्त ऋतुको त्यो अनवरत यात्राको नाम थियो– वसन्त–यात्रा । 

बुझ्यौं सहर, बुझेनौं गाउँ !

वसन्त ऋतुसँगै म बसेकै कोठाबाहिर ढुकुरले गुँड लगाउँदै थियो । आफ्नो पुर्खा र प्रकृतिले सिकाएको त्यो रीत र सृष्टिको निरन्तरताका लागि ढुकुरले अण्डा कोरल्न सुरु नगर्दै म हिँडेको थिएँ । ढुकुर र म दुई थियौं, तर समयप्रतिको उद्देश्य एउटै थियो । हामी दुवैलाई हतार थियो किनकि मैले पनि वर्षाअघि नै कार्यक्रम सकेर फर्किनुथियो, ढुकुरले पनि वर्षाअघि नै बचेरा हुर्काएर उडाइसक्नुथियो ।

त्यो वसन्त–यात्रामा राजनीतिक मात्रै होइन, समग्रमा समाज, प्रकृति, भूगोल र संस्कृतिसँग सात्क्षात्कार गर्ने उद्देश्यले वैशाख २ गते बिहानै भालेको डाकसँगै कोटेश्वरबाट हामी गाडी चढ्यौं । गाडीले भक्तपुरको टिकट काउन्टरमा लामो समय रोकेर राख्यो । धर्तीमा भर्खरै मिर्मिरे उज्यालो खस्दै थियो । मास्क र क्याप लगाएको थिएँ– मलाई भरसक सजिलै कसैले नचिनोस् भनेर । किनकि त्यो लामो यात्रामा मानिसहरू के भन्छन् ? कसरी यात्रा गर्छन् ? सुन्ने–हेर्ने इच्छा थियो । अनि मन्त्री हुनुअघिको आफ्नो जीवनको पुनःस्मरण पनि गर्नु थियो ।


दुई ग्लास मनतातो पानी पिएर घरबाट हिँडेको थिएँ । त्यसैले होला, पिसाबले धेरै च्याप्यो । सार्वजनिक शौचालय त्यस आसपास कतै पाइएन । भक्तपुर सहरमा सटरहरू धमाधम खुल्दै थिए । टिकट काउन्टरदेखि सबै ठाउँमा अनुरोध गरियो, तर कसैले पिसाब फेर्ने अनुमति दिएनन् । झन्झन् सारो पिसाबले च्यापेर पेट कट्कटाउँदै गयो । सहरको संस्कृतिबाट बैराग चल्यो, मर्नेबेला भइसकेपछि पनि केही सीप चलेन । मास्क र क्याप खोलेर एक जनालाई नमस्कार गरें । उसले ‘मन्त्रीज्यू पो हुनुहुँदो रहेछ’ भनेर अँगालो हाली घरभित्र लग्यो र शौचालय प्रयोग गर्न पाएँ । ढुक्क भएँ, तर खुसी हुन सकिनँ । मेरो देशको परिस्थिति, मेरो सहरको संस्कृति सम्झें किनकि पिसाब फेर्न पनि हैसियत देखाउनुपर्दो रहेछ । सम्झें फेरि दुइटा कुरा । पहिलो त्यसैले पो होला यो देशमा मन्त्रीहरू साइरन बजाएर हिँड्ने र वडाध्यक्षदेखि राष्ट्राध्यक्षसम्मलाई हैसियत देखाएर हिँड्ने भोकको इच्छा जागेको । दोस्रो सजिलै बुझ्न सकिन्छ, जनतालाई कत्ति गाह्रो होला । ‘काँक्रामाथि चक्कु झर्दा पनि काँक्रै काटिने, चक्कुमाथि काँक्रा झर्दा पनि काँक्रै काटिने’ उखान जस्तै । पानी पिउँदा पनि पिसाबले पोलेर मृगौला बिग्रिने, नपिउँदा पनि शरीरलाई पानी नपुगेर मृगौला बिग्रिने । संसद्मा हामी नेताहरू ठूलठूला विकासका कुरा गर्छौं, रकेट विज्ञानका कुरा गर्छौं, अन्तर्राष्ट्रका कुरा गर्छौं तर राष्ट्रमा शौचालय बनाउन नसकेको कुराले यात्राभरि म भने भित्रभित्रै पिलिएर दुःखी रहें ।


वसन्त ऋतुसँगै बाटैभरि ढकमक्क फुलेका फूल भेटिए, तर फूलजस्तै युवाहरू गाउँबस्तीमा भेटिएनन् । भेटिए त केबल बूढाबूढी–आमाबाहरू । युवा त मेडिकलमा फेल भएर कहिल्यै विदेश जान नपाउने गरी कतै केही सीप नलागेपछि गाउँ फर्किएका चामलमा बियाँजस्तै छिटफुट मात्र भेटिए । युवाबिनाका गाउँका दृश्यले मेरो वसन्त–यात्रालाई शिशिर यामको चिसोले जस्तै छातीभित्र चसक्क पारिरह्यो ।

गणतन्त्र र राजतन्त्रबीच तुलना गरेर हेर्दा भौतिक विकासमा गुणात्मक भिन्नता भेटिन्छ, तर युवाहरूले परिवार र देश छाडिरहेका छन् भने परिवारले धमाधम गाउँ छोडिरहेका । साँच्चै भन्दा गाउँ विघटनको चरणमा छ । गाउँमा स्वास्थ्य चौकी छ, सिटामोल जस्ता आधारभूत औषधि छैनन् । स्कुलमा भवन र शिक्षक छन्, तर पढ्ने बालबच्चा छैनन् । हिउँदमा धूलो र वर्षामा हिलै भए पनि गाडीको बाटो छ, तर गाडी चढ्ने मान्छे छैनन् । क्रमशः बिजुलीको पोल गाउँ जाँदै छ, तर गाउँका मान्छे सहर पस्ने लहर चल्दै छ । बाँदरको समस्या पनि उस्तै नै छ । यी र यस्ता सबै विषय बुझ्न अहिले चर्चामा रहेको नवीन सुब्बाद्वारा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ हेरे छर्लङ्गै हुन्छ– राई माइलाले किन र कसरी गाउँ छोड्न बाध्य भएका थिए !

लामो समयको संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्र सानो दुःखले ल्याएको होइन । सम्पूर्ण शक्ति निरंकुशताको विरुद्धमा लगाइरहँदा नेपाली समाजको सर्वाङ्गीण रूपान्तरणका निम्ति स्पष्ट नीति र चरणबद्ध कार्यक्रमहरू त्यही बेला अगाडि सार्नुपर्ने थियो । चीनमा माओले भनेका थिए, ‘जनताको कैयौं समस्या क्रान्तिको चरणमै समाधान हुन्छ, कैयौं समस्या सरकारमा गएपछि समाधान हुन्छ र दीर्घकालीन प्रकृतिको समस्याहरू समाधान गर्न केही समय गुजार्नुपर्छ ।’ तर, हामीले संघर्षकै दौरानमा जनताको समस्यालाई वर्गीकरण गरेर समाधानको बाटो खोजेनौं बरु होलसेलमा गणतन्त्र आएपछि सबै समस्याको समाधान एकैचोटि हुन्छ भन्यौं । मानिलिउँ अचुक सञ्जीवनी नै गणतन्त्र हो भन्दै आयौं ।

गणतन्त्र स्थापना भएको १७ वर्ष बितिसक्दा पनि दुःखका साथ भन्नुपर्छ योजनाबद्ध विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा सही नीति निर्माण गर्न सकिएको छैन । त्यसैले उत्पादन बेगरको पूर्वाधारले रोजगार सिर्जना गर्न सकेन । बेरोजगारको कारखाना बन्यो मुलुक । जनशक्ति बेच्ने हटिया जस्तै भयो हाम्रो देश । अन्तर्राष्ट्रिय विमानस्थल आज आँसु र हाँसोको दोभान जस्तै बनेको छ । जाँदा रुँदै पठाउने र आउँदा हाँस्दै बोलाउने ।

एउटा उदाहरण

नेपाललाई दक्षिण एसियाकै पहिलो खुल्ला दिशामुक्त देशको रूपमा घोषणा गरेको सरकारी तथ्याङ्क पनि पुरानै भइसक्यो । २०७३ साल मंसिर महिनाको कुरा हो । भोजपुरको एउटा गाउँमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रममा पूर्वसांसदको नाताले मलाई पनि निम्तो गरिएको थियो । लामो बाटो हिँडेर हामी त्यहाँ पुग्दा कार्यक्रमको तयारी धुमधामले चलिरहेको थियो । एउटा घरको शौचालयमा म शौच गर्न पसें, तर शौचालय पानीको साटो विभिन्न वस्तु प्रयोग गरेर टेक्नै र देख्नै नसक्ने गरी भरिएको थियो । घरको पेटीमा बूढीआमा कपाल कोर्दै बसिराख्नुभएको थियो । मैले आमालाई सोधें, आमा आज चर्पी उद्घाटन गर्ने दिन उद्घाटन नगरी नै चर्पी त भरिएछ ! चर्पीमा त पानी पो हाल्नुपर्छ होइन, आमा ? जवाफमा आमाले भन्नुभो, ‘नानी (पूर्वी पहाडी भेगमा छोरालाई पनि नानी भन्ने प्रचलन छ) टाढा छ पानी । जानु एक घण्टा, लाइन लाग्नु कति घण्टा हो कति घण्टा, उकालो बाटो आउनु डेढ घण्टा, म बूढीले दिन बिताएर ल्याएको पानी । चौकामा राखुँ कि चर्पीमा राखुँ नानी ।’ आमाको कुरा ठीक हो । यदि नीति वैज्ञानिक भइदिएको थियो भने एक घर एक शौचालयभन्दा अगाडि एक घर एक धाराको व्यवस्था हुनुपर्थ्यो । मैले धेरै बाठो भएर सोधेको प्रश्नमा आमाको जवाफले म खुत्रुक्कै भएँ । म शब्दविहीन भएँ । मैले राजनीतिक जीवनमा जानेको ठूलाठूला सिद्धान्त र दर्शनका कुरा बूढीआमाले एक्कै छाक बनाइदिनुभयो । त्यो आवश्यकता र प्राथमिकताका आधारमा यथार्थपरक नीति नबन्दाको परिणाम हो । त्यस्तै, अर्को उदाहरण ०७२ को भूकम्पपछि सरकारले राज्यको चार खर्ब २६ अर्ब ४९ करोडभन्दा बढी खर्च गरेर आठ लाख ४५ हजारभन्दा बढी प्रतिलाभग्राहीलाई तीन लाख रुपैयाँ दिएर लम्बाइ १२ फिट र चौडाइ १० फिटको दुई कोठे निजी आवासको पुनर्निर्माण गर्ने कार्यक्रम अघि सार्‍यो । तर, ती घरहरूमा यतिबेला मान्छे बस्दैनन् । कुखुरा, बाख्रा राख्ने गरिएको छ । त्यही वसन्त–यात्रामा एक जना बालाई सोधें, ‘ए बा यो घरमा किन कुखुरा र बाख्रा राख्नुभएको ? बाले भन्नुभयो, ‘नानी, छोरा विदेश गए पनि बुहारी छिन् । हामी सासू–ससुरा छौं । एउटी अपाङ्ग छोरी छ । कहिलेकाहीं पाहुना आउँछन्, कोठाहरू साह्रै साँघुरो छ । कहाँ पकाउने, कहाँ खाने, कहाँ सुत्ने । हामीलाई त यो घर कामै लागेन । त्यसैले पुरानै घरमा बस्छौं, नानी ।’ हुन पनि हो नेपाली समाजमा सामूहिक परिवार छ । सरकारका तर्फबाट तीन लाख रुपैयाँ दिएपछि भूकम्पको मापदण्डभित्र रहेर सम्बन्धित परिवारले नै बाँकी लाग्ने खर्च गरेर परिवारको आवश्यकता अनुसार घर बनाउन दिएको भए कति राम्रो हुनेथियो । तर, हाम्रो नीतिले तोकेको लम्बाइ १२ र चौडाइ १० फिटभन्दा एकै इन्च पनि घटाउन र बढाउन नमिल्ने जडसूत्रवादी नीतिले राज्यको समय, सम्पत्ति र शक्ति मात्रै नष्ट गरेको अनुभूति हुन्छ ।

वसन्त–यात्राको दौरानमा समाजशास्त्रमा एम.ए. गरेका एक जना जागरुक दलित भाइसँग भेट भयो । कुराकानीको सिलसिलामा भाइले मलाई भने, ‘दाइ मलाई गाउँ जानै मन लाग्दैन ।’ मैले सोधें, ‘किन भाइ ?’ उनले भने, ‘मलाई गाउँमा दलित भन्छन्, दोस्रो दर्जाको व्यवहार गर्छन्, मेरो हातको पानी नचलाइए जस्तै मबाट आर्जित ज्ञान पनि चलाउन कोही तयार छैनन् ।’ कुराकानीको अर्को प्रसंगमा फेरि उनले भने, ‘समाचारमा देशको सिमाना मिचियो भन्छन्, तर त्यसले मलाई कति पनि छुँदैन ।’ मैले सोधें, ‘किन भाइ ?’ उनले भने, ‘व्यवस्था बदल्ने संघर्षहरूमा जानीनजानी मेरा पितापुर्खाहरू लागे । व्यवस्था बदलियो, तर हाम्रो अवस्था उही रह्यो । पटक–पटक देशमा चुनाव आयो । त्यो चुनाव गाउँटोल हुँदै हाम्रो घरमा पनि आयो । भोट पनि दिएऔं अनि जितायौं । हामीले जिताएको नेताले सरकार चलाए, तर दुर्भाग्य ! हाम्रो हातको पानी चलाएनन् । प्रेममा दलित मारिन्छन्, भगवान्को अगाडि दलित पिटिन्छन् । हामी जस्तो अनागरिक जीवन जिउनेका लागि यो देश रहँदा पनि के ? नरहँदा पनि के ? हामीले देश जोगाइराख्नुपर्ने, हामीले शासक बनाइराख्नुपर्ने, के–का लागि ?’ भाषा सरल र सिधा थियो, तर अर्थ गम्भीर र पहाड जस्तै गह्रँगो । मेरो वसन्त यात्रामा यही विषय तोप बनेर पड्कियो । म आफैं ध्वस्त भएँ, छाती छिया–छिया भयो ।

हामीले सधैं भन्दै आयौं, राष्ट्रियता खतरामा परेको छ । राष्ट्रियता खतरामा परेको होइन, हामी आफैंले राष्ट्रियतालाई खतरामा पारेका हौं कि भन्ने गहिरो महसुस भएको छ । एक प्रसंगमा हिट्लरले भनेका थिए, ‘जब सरकार र आफ्नो कुर्सी माथि अप्ठ्यारो परिस्थिति आइलाग्छ तब राष्ट्रियता खतरामा छ भनेर जनतालाई आतंकित बनाउन सकियो भने कुर्सी जोगिन्छ ।’ हामी पनि कतै आफ्नो कुर्सीको निरन्तरताका लागि राष्ट्रियताको औजारलाई प्रयोग त गरिरहेका छैनौं ? देशको सिमाना जनताको राष्ट्रिय एकताबाट मात्रै जोगाउन सम्भव हुन्छ । जनता नै राष्ट्रप्रति दुःखी र असन्तुष्टि हुन्छन् भने राष्ट्रिय एकताको सूत्रमा बाँध्न सकिएन भने त्यो सिमानाको रक्षा हुँदैन । समाजमा रहेको सबैखाले रूप र स्वरूपको उत्पीडन यथाशक्य अन्त्य गरिनुपर्छ । संविधानप्रदत्त मौलिक अधिकार र सामाजिक न्यायको प्रभावकारी कार्यान्वयनका लागि व्यवहारमै लागू गरिनुपर्छ ।

हामीसँग ब्रह्माण्ड बुझेको अहंकार छ, तर देश बुझ्न सकिरहेका छैनौं । केन्द्र बुझ्दा स्थानीय बुझेनौं, स्थानीय बुझ्दा केन्द्र । विकास बुझ्दा विनाश बुझेनौं, सहर बुझ्दा गाउँ । पूर्व बुझ्दा पश्चिम बुझेनौं, पहाड बुझ्दा तराई । शासक बुझ्दा शोषित बुझेनौं, टोपी बुझ्दा धोती । त्यसैले, हामी न कौवा, न हाँसको चाल भयौं ।

समाजवाद ल्याउने कि समाजवादमा पुग्ने ? संविधानले मार्गनिर्देश गरेको बाटोमै हामी अल्मलियौं । हामीले अधिकांश समय समाजवाद ल्याउने भन्यौं । तर, हामीलाई थाहा भएन हामीले ल्याउने समाजवाद कस्तो हुने ? र, कहाँबाट ल्याउने ? कहिले चीनको जस्तो भन्यौं, कहिले रसियाको जस्तो, अनि कहिले ल्याटिन अमेरिका जस्तो भन्यौं । समाजवाद पनि हामीले वस्तु आयात गर्ने जस्तो ठान्यौं । जो हुँदै नहुने कुरामा हामी लाग्यौं ।

त्यसैले अब ‘समाजवाद ल्याउने होइन समाजवादमा पुग्ने’ पदावली प्रयोग गर्नुपर्ने देखिन्छ । समाजवाद आयात गर्ने वस्तु होइन । अहिलेको नेपाली समाजवाद नेपाली समाजमै भएको समाजवादी अभ्यास, संस्कृति, इतिहास र दर्शनहरूका आधारमा निर्माण हुने निष्कर्षसहित वसन्त–यात्रा टुंग्याएँ ।

तर, करिब पाँच दशकअघि रामेश र मञ्जुलद्वारा सिर्जना गरिएको लोकप्रिय गीत कवि माधवप्रसाद घिमिरेको गीतमाथि थपेर वसन्त–यात्राबाट फर्किएँ– गाई त बाँध्यो, ढुङ्ग्रोमा मोही छैन, मोही छैन गरिबको चमेली बोल्दिने कोही छैन ।

प्रकाशित : असार ८, २०८१ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×