कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

‘...हाम्रो मुटु सानो छ’

मुटु जाचाउन लामबद्ध अछाम, बाजुरा र बझाङका हजारौं चञ्चल नानीहरूको निश्छल हाँसोले मलाई आफ्नै बालापनका अनेक रङमा भुलाइरहेको थियो 

एकधरो लाइनमा उभिएका छन् ५/६ वर्ष उमेरका बालबालिका– स्कुलको छाप भएको टिसर्ट, कसैको टिसर्टमाथि ट्र्याकसुट । कसैले पूरै जिपर लगाएका छन्, कसैको पूरै खुलेको छ । कसैको जिपर बिग्रेको हुनाले त्यो ठाउँ पूरै सिलाइएको छ, त्यसैले टाउको छिराएर लगाउनुपर्छ ट्र्याकसुट । 

‘...हाम्रो मुटु सानो छ’

लाइनमा उभिएका ती बालबालिका थिए– सुन्दर, सुशील, सरल । निश्चल, निष्कपट ती बेलाबेला जिस्किरहन्थे । कोही नाकबाट बगेको सिँगान पुछ्न बिर्सेर स्वयंसेवकतिर हेरिरहेका थिए, कोही टोलाएर बसिरहेका । कोही डरको भंगीमा ओठ लेप्य्राएर उभिएका थिए, कोही चाहिँ बेल्ट नभएको पाइन्ट समाइरहेका । बालापनका ती अनेक रङले मलाई आफ्नै बाल्यकाल सम्झाइरहेको थियो ।

बाजुरा बडीमालिका नगरपालिका, मार्तडीको मालिका माध्यमिक विद्यालयका बालबालिकासँग थिएँ म । वरपरका अरू विद्यालयबाट पनि आएका विद्यार्थीको मुटु परीक्षण हुँदै थियो । नेपाल हृदयरोग निवारण प्रतिष्ठान र रोटरी क्लब अफ पाटनको आयोजनामा सुदूरपश्चिमका ३ जिल्लामा ५ देखि १५ वर्ष उमेरका स्कुले बालबालिकामा बाथ मुटुको रोग र जन्मजात मुटुको रोगको परीक्षण क्रममा पुगेका थियौं ।

भौगोलिक हिसाबले विकट हिमाली जिल्ला भईकन पनि मध्यपहाडी लोकमार्ग हुँदै अछामको साँफेबगरबाट पहाड चढ्दै मार्तडीसम्मै सबै यातायातका साधन पुग्छ । बाटो सानो, घुमाउरो छ । पहाड छिचोल्न कतै पहाडको टुप्पोमा पुग्नुपर्छ भने कतै नदी पार गर्न दुई पहाडबीच गल्छी नै पुग्नुपर्छ । ठुल्ठूला चुचुरे पहाडबीच ढुंगैढुंगालाई अँगालो मार्दै बगेको सफा खोलाभन्दा अलि माथिबाट गाडीमा हुँइकिँदै मार्तडी पुग्यौं । पहाडबीच समथर जमिनमा बसेको मार्तडी बजारमा छन्– सानाठूला घरहरू, बजार, होटेल, बस, ट्र्याक्टर, जिप, ठूलासाना पसल । धार्मिक पर्यटकीय गन्तव्य बडीमालिकाको प्रस्थानबिन्दु हो यो ठाउँ ।

बालबालिकाको लाइन मिलाउन र आवश्यक सहयोग गर्न स्कुलका स्वयंसेवक, स्काउट भाइबहिनी खटेका थिए । चिकित्सकहरू मुटु परीक्षणमै व्यस्त भए भने प्राविधिक मित्र एवं मुटुरोग विशेषज्ञ मुटुको भिडियो एक्स–रे गर्नमा तल्लीन । सम्पूर्णमा ४ हजार ५ सय ५७ बालबालिकाको मुटु परीक्षणसँगै शिक्षिका–शिक्षक र अरू केहीको पनि परीक्षण गर्दा करिब दिनको साढे चार बज्यो । शंकास्पदको मुटुको भिडियो एक्स–रे हुँदै थियो । मुटुको बाथरोग वा जन्मजात मुटुरोग पत्ता लागेका व्यक्तिको सोहीअनुरूप उपचार सहयोगको पनि व्यवस्था हुँदै थियो । कसैलाई औषधि मात्रै खानुपर्ने थियो भने कसैलाई काठमान्डुमा ल्याई निःशुल्क शल्यक्रिया नै गर्ने व्यवस्था हुँदै थियो । स्कुलको कार्यक्रमपश्चात् स्थानीय जनभेला गरी मुटुसम्बन्धी जनचेतना जगाउन अन्तर्क्रिया पनि सम्पन्न भयो ।

मार्तडी पुग्नुअघि डा. प्रकाशराज रेग्मीले नेतृत्व गरेको हाम्रो २० जनाको टोलीले अछामको मंगलसेनमा बालबालिकाको मुटु परीक्षण गरेको थियो । अछाम अस्पतालमा ७ सय ५० भन्दा बढी सर्वसाधारणको मुटु रोगसम्बन्धी शिविर पनि सम्पन्न गरेको थियो ।

मंगलसेनमा हाम्रो समूह दुईतिर बाँडिएको थियो । एउटा षोदशादेवी स्कुलतिर, अर्को अस्पतालतिर । स्कुलमा बालबालिकाहरू लाइनमा थिए । ती क्रमबद्ध उभिएका बालबालिका यो धर्तीकै सुन्दर मालाजस्तै लाग्थे । सबै बालबालिका अनुशासित भएर आफ्नो मुटु परीक्षणमा सामेल थिए ।

जिल्ला अस्पतालमा भेला भएका मुटु जँचाउन आउने सर्वसाधारणको चिकित्सकले परीक्षण गरे, प्राविधिकले ईसीजी, मुटुरोग विशेषज्ञले मुटुको भिडियो एक्स–रे । रगतको परीक्षण अस्पतालमै भएकाले सजिलो भएको थियो । औषधि निःशुल्क वितरण भएको थियो । शल्यचिकित्सा गर्नुपर्ने व्यक्तिहरूलाई आवश्यक बन्दोबस्त हुँदैथियो ।

जिल्ला अस्पतालमा एमडीजीपी लगायत चिकित्सकले अनुकरणीय सेवा दिएको पायौं । पुराना भौतिक पूर्वाधार एवं चिकित्सकीय सामान भए पनि उपयुक्त सीप र ज्ञानको आधारमा उल्लेखनीय सेवा उपलब्ध थियो । शल्यचिकित्सा गरी बच्चा पाउन सम्भव रहेछ त्यहाँ । सलाम– यी पहाडी जिल्लामा कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मी साथीहरूप्रति । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्थानीय पोलिटेक्निकल स्कुलका भाइबहिनीहरूले मनग्गे सहयोग गरे ।

मंगलसेनमा द्वन्द्वकालका प्रत्यक्षदर्शीसँगको भलाकुसारी समूह सदस्यका लागि अविष्मरणीय इतिहास रह्यो । तत्कालीन द्वन्द्वकालमा रेडियोबाट मात्र थाहा पाएका खबर प्रत्यक्ष व्यक्तिको मुखारबिन्दुबाट सुन्दा साथीहरू दुःखी भए ।

भोलिपल्ट तल झर्दै बयालपाटा अस्पताल पुग्यौं । चिकित्सक एवं स्वास्थ्यकर्मी साथीहरूसँग बाथ मुटुरोगसम्बन्धी छलफल कार्यक्रम सफल भयो । साँफेबगरमै दुइटा स्कुलमा बालबालिकाहरूको मुटु परीक्षण गरेर सोही दिन मार्तडी हिँडेका थियौं ।

मार्तडीको कार्य सम्पादनपछि सबैको उत्साह थियो– खप्तड चढ्ने । मार्तडीबाट काँडा हुँदै खप्तड चढ्ने भएकाले बिहान सखारै तयार भए सबै । सबैजना गाडीमा काँडा हुँइकियौं– खाल्डाखुल्डी बाटोमा ज्यानलाई दायाँबायाँ मज्जाले हल्लाउँदै, थोरैथोरै धूलो खाँदै भिन्नाभिन्नै गाडीमा भिन्दाभिन्दै रमाइलो– गीतमा, गफमा, शान्त भएर दृश्यस्वाद लिँदै ।

काँडामा गहँ‘ुको रोटी, निगुरो र दही खाएर बाटो लाग्यौं । केही समयको उकालो पछि जंगल सुरु भयो । जंगलको एक तमासको उकालो गोरेटो भनुँ कि घोडेटो, कुनै ठाउँमा ढुंगाको भर्‍याङ, कुनै ठाउँमा बोट–बुट्यान समाएर उक्लिनुपर्ने । सानो पाटन, लेकको भैंसीगोठ हुँदै अन्तिम जंगल उक्लेपछि सुन्दर पाटन सुरु भयो । तर, उकालो

कट्नासाथको नाट्यश्वर मन्दिरमा एकछिन बस्न लागेका मात्रै थियौं बेतोडको हावा र पानीले सबैलाई गिजोल्यो । थकान, हुरी, पानी, चिसो सबैले लत्पतिएको ज्यान पुग्यो खप्तड बाबा होटेल एन्ड शान्ति लजमा बास बस्न । मुढा बालेर पकाउँदै गरेको चिया र तातोपानी सबैका लागि अमृतसरह भयो । बलेको मुढा सहितको अगेना वरिपरि बसेर सबैले पालैपालो आ–आफ्नो कपडा सुकाए ।

बाहिर चकमन्न रात थियो । पानीहुरी रोकिएपछि चम्किला तारा देखिन थाले । बिजुली, गाडी, रेडियो, मान्छेको हल्ला सबैखालको ध्वनि एवं प्रकाशको प्रदूषणबाट धेरै टाढा एकदम शान्त गाउँ । चन्द्रमा नभए पनि ताराकै उज्यालो ठीक जस्तो । प्रकृतिको काखमा एक भिन्न अनुभूतिको अनुभव भयो ।

भोलिपल्ट सुन्दर खप्तडको पाटन देखेपछि सायदै कसैले अघिल्लो दिनको दुःख सम्झे । टाढाटाढा सम्म हरिया चौर, बीचमा बगेका सानो खोल्सा, सेता घाँसे फूल, थुम्कोतिरको सल्लाका रूख ! भिजेका चौर घाम लाग्दै गएपछि सुक्दै गए, भैंसी–राँगा चर्दै थिए ।

हेर्ने पर्ने स्थान हो– खप्तड बाबाको आश्रम र बाबाको स्नान गर्ने पोखरी । बाबाको, प्रकृतिको, पर्यटनको कुराकानी गर्दै ध्यान गर्‍यौं– शीतलता, माधुर्यता, सौन्दर्यताको भरपूर आनन्दमा । सोही दिनको गन्तव्य बझाङ । खप्तड त बाजुरा–बझाङ बीचको पर्यटकीय यात्रा न हो– देशदर्शन । यो यात्रा थियो मुटु परीक्षण यात्रा बीचको समयको ।

दारुगाउँ ओर्लिन अर्को रमणीय पाटन हुँदै अगाडि लम्कियौं । बाटोमा बझाङबाट शैक्षिक भ्रमणमा आएका स्कुलका भाइबहिनीसँग कुराकानी गर्दै ओह्रालो झर्‍यौं । उकालो हिँड्दा साँप्रालाई दुःख, ओरालो हिँड्दा घुँडालाई । हामी उकाली–ओराली दैनिक नहिँड्नेका लागि गाह्रोसाह्रो गर्दागर्दै दारुगाउँमा उज्यालो अघि नै पुग्यौं । खाना खाएर लम्कियौं चैनपुर, बझाङतिर । जिपमा एक घण्टा धुलेबाटो दौडिएपछि सेती नदीको पुल पार गरेर तमेल पुगी चैनपुरतिर लागियो ।

चैनपुर सेती नदी किनारमा अवस्थित ऐतिहासिक ठाउँ हो, जयपृथ्वी बहादुरको दरबार । नदी किनार भएकाले होला केही न्यानो थियो । भोलिपल्ट बालमन्दिर र नेपालकै चौथो पुरानो स्कुल सत्यवादी माध्यमिक विद्यालय, भोपुरमा मुटु परीक्षण सुरु गर्‍यौं । सबै टोली खटिए उत्तिकै जोस र रफ्तारमा । र, दिनभरिमा ४ हजार ८ सय ९७ बालबालिकाको मुटु परीक्षण गर्‍यौं । अति आवश्यक वयस्कको मुटुको भिडियो एक्स–रे पनि भयो ।

भोलि बिहान बसमा १२ घण्टाको यात्राबाट धनगढी पुग्यौं । त्यहाँबाट काठमान्डु फिर्‍यौं । यो यात्राले देशाटन गरायो, दूरदराजका हजारौं बालबालिकाको निश्चल मुस्कानसँग पनि परिचित गरायो । असलमा सन्तुष्टिजनक सेवाप्रदायक यात्रा गरायो ।

प्रकाशित : असार ८, २०८१ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×