अहा, रसबरी कस्तो मीठो ! कति रसिलो ! अझै त्यो स्वाद गा’ छैन ।’ जिब्रो एक्लै बोल्दै थियो । हड्डी नै नभएको ज्यानलाई कहिले तालुमा चिप्काउँदै, कहिले गालामा नचाउँदै, दाँतको कुनाकाप्चा चहार्दै खुसी भइरहेको थियो जिब्रो । ‘अझ त्यो मासुको झोलसँगको भात त ! जत्ति खाए ’नि नपुग्ने ।’ मासुको स्वाद सम्झँदै ओठ फेरि एक पटक चाट्यो जिब्रोले । ‘त्यो मोरो पेटले ठाउँ छैन भन्यो र पो ! नत्र त अर्को एक थाल खान्थें नि !’
२०५३ सालको एक शनिबार । धुलिखेल अस्पताल । बिहानै भर्ना भएका बिरामीहरू हेरेर म गैसकेको थिएँ । दिउँसो एक बजेतिर बोलाउन आइपुगे, इमर्जेन्सीका लागि । भर्खरै सुरु भएको अस्पताल, बहिरंग, वार्ड, इमर्जेन्सी सबैतिर हेर्नुपर्थ्यो । इमर्जेन्सीबाहिर बच्चा रोएको आवाज आइराखेको थियो ।