मुटु रोगका ६ लक्षण

फाल्गुन २०, २०८१

राजेन्द्र कोजु

6 symptoms of heart disease

काठमाडौँ — वयस्क बेला धेरैजसो व्यक्तिलाई मुटुको अवस्था थाहा हुन्न । तर, अचानक गाह्रो भयो भने छातीको बीच भागमा पीडा हुन्छ । हामीलाई उकालो उक्लिँदा स्वास फेर्न गाह्रो हुन्छ । अथवा केही व्यक्तिमा खुट्टा सुन्निने, जिउमा अत्यधिक आलस्य महसुस हुने र मुटुको धड्कन अरु बेलाभन्दा बढेको महसुस हुन सक्छ ।

कतिपयमा चक्कर लागेर ढलौंला जस्तो हुन सक्छ । छातीको पीडा, स्वास फेर्न गाह्रो हुने, खुट्टा सुन्निने, जिउ आलस्य हुने, चक्कर लाग्ने र मुटुको धड्कन तलमाथि हुने लक्षण मुटुको रोगका प्रमुख संकेतको रुपमा देखिन्छ ।

मुटुलाई जोगाउनु भनेकै सबैभन्दा पहिले मुटुको रोगबारे जानकारी प्राप्त गर्नु हो । मुटुको मुख्य रोग भनेकै हृदयाघात हो । मुटुसम्बन्धी अन्य रोग पनि छन्, तर धेरैजसो हुने भनेको हृदयाघात नै हो । रक्तसञ्चार गर्ने नलीहरू साँघुरिँदा हृदयाघात हुन्छ । यसको मुख्य कारण नलीभित्र बोसो जम्नु हो ।  

बोसो जम्न नदिने उपाय अपनायौं भने मुटुलाई स्वस्थ राख्न सक्छौं । हृदयाघात हुने मुख्य कारणमध्ये केही प्राकृतिक कारण हुन्छन् भने केही वंशाणुगत । उमेर बढ्दै जाँदा हृदयाघातको सम्भावना पनि बढ्दै जान्छ । हाम्रो केही बानी पनि यसका निम्ति जिम्मेवार हुन्छन् । जस्तो कि धुम्रपान, बढी तौल आदि । 

यदि हामीले धुम्रपान त्याग्यौं, शरीरको तौल आवश्यकताभन्दा बढ्न दिएनौं र नियमित शारीरिक व्यायाम गर्‍यौं भने मुटुरोगको जोखिमबाट बच्न सक्छौं । त्यस्तै मधुमेह (चिनी रोग) र उच्च रक्तचापलाई नियन्त्रणमा राख्न सक्यौं भने पनि मुटुरोगको जोखिमबाट परै बस्न सकिन्छ । 

चुरोट र मुटुको स्वास्थ्यबीच गहिरो सम्बन्ध छ । चुरोट सेवन गर्ने व्यक्तिमा हृदयाघात हुने सम्भावना धेरै उच्च हुन्छ । यद्यपि, सबैलाई नहुन पनि सक्छ, तर चुरोट नखाने व्यक्तिको तुलनामा खाने व्यक्तिलाई जोखिम धेरै नै हुन्छ । 

रक्सी र मुटुको स्वास्थ्यबीच पनि नजिकको सम्बन्ध छ । रक्सीको मात्रा धेरै भयो भने मुटु रोगको जोखिम बढ्छ । उच्च रक्तचाप,  मधुमेह भएका र धुम्रपान, मद्यपान गर्नेलाई हृदयाघात हुने सम्भावना धेरै हुन्छ । थोरै हिँड्दा नै धैरै स्वाँस्वाँ हुने, छाती भारी हुने वा दुख्ने जस्ता लक्षण देखिएमा हृदयाघातको सम्भावना रहन्छ ।

– धुलिखेल अस्पतालका डाक्टर कोजु मुटुरोग विशेषज्ञ हुन् ।

राजेन्द्र डा. राजेन्द्र कोजू मुटुरोग विशेषज्ञ हुन् । उनकाे हालैमात्र कथासंग्रह ‘मुटुको कथा’ सार्वजनिक भएको छ ।

Link copied successfully