कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

संघार बाहिर

कविको प्रश्न छ– बस्तीमै आगो झोसेपछि बस्तीभित्रैको आफ्नो घरचाहिँ जोगिएला ?

समाज दुई खण्डमा विभाजित छ । एउटा उच्च सम्भ्रान्त र अर्को भुइँ वर्ग । परम्परागत शब्दमा भन्नुपर्दा, एक वर्ग शोषक–सामन्त र दोस्रो वर्ग दमित–शोषित । जब–जब समाजमा आर्थिक समानताको चर्चा चल्छ त्यस्ता बेला यी दुवै वर्गबीच रहेको खाडलको प्रसंग आइहाल्छ ।

संघार बाहिर

धनी र गरिबबीचको भेदलाई लिएर मूलतः राजनीतिक भाषण–वक्तव्यबाजीहरू हुने गरेका छन् । बिस्तारै, आधुनिक समाजको विकासक्रमसँगै साहित्यमा पनि यो विषयले ठूलो ठाउँ पाउँदै आएको छ । यसै सिलसिलामा कवि छविरमण सिलवालले एउटा कवितासंग्रह ल्याएका छन्– ‘डोरम्याट’ । किताबमा शीर्ष कविताले दोस्रो वर्गको प्रतिविम्ब बोकेको छ–

‘... मेरो छातीमा ड्याङ... ड्याङ...

बुट बजाउँदै

मलाई फोहोरी बनाएर

भित्र छिर्नुहुन्छ सुकिलो तपाईं

त्यतिबेला लाग्छ,

म हजुरहरूकै

लात खानै जन्मेको हुँ... ’

सरल भाषामा यस्तो गहन अर्थ बोकेर लेखिएको यो एउटा प्रतीकात्मक कविता हो । र, सम्भवतः यही कविताले यो कवितासंग्रहको ओज बढाएको छ । किताबका अन्य कवितामा पनि समाजका समसामयिक विषय लेखिएका छन् ।

देख्दाखेरि मान्छेहरू शरीरको टाउकोलाई महत्त्वपूर्ण मान्छन्, तर मान्छेहरूकै बीचबाट कविहरू भने सम्पूर्ण शरीरको भार थेग्ने पाइतालाका कुरा गर्छन्, ती पाइतालाका दुःख लेख्छन् । छविरमण देशको भविष्यबारे चिन्ता गर्छन् र त्यही देशवासी हुनुको नाताले आफूलाई गन्तव्यहीन यात्रीका रूपमा बीच बाटोमै अलमलिइरहेको कुरा गर्छन् ।

स–साना कुराहरूबाटै कविहरू प्रभावित हुन्छन् । यस दृष्टिकोणले हेर्दा पारिवारिक मायामोहका वाक्यले यो पुस्तकको धेरै पृष्ठहरू ओगटेका छन् । कतै आफ्ना पिताको परिश्रमी–स्वावलम्बी हातहरूको गुनगान गाउँछन् कवि, पैंचो गरी ल्याएको पिठो खुवाएर छोराको भविष्य सेतो चामलजस्तै बनाएको त्यागको वर्णन गर्छन् । यहींनिर, कविद्वारा आमाको आफ्ना सन्तानप्रतिको समर्पण–भावलाई बडो गहिरोसँग प्रस्तुत गरिएको छ । आमालाई कविले संसारका सबैभन्दा सुन्दरताको उपमा दिएका छन्, भन्छन्– आमा सर्वाधिक प्रिय र मधुर संगीत हुन् । जब कवि छविरमणका आमाले देहत्याग गरिन्, उनी अत्यन्त भावविह्वल हुन्छन् र महसुस गर्छन्– जीवनको तार टुट्यो र श्वास फेर्ने पल–पलका झंकार छुट्यो ।

कवि दुःखित र पीडित देखिन्छन्– पुस्तकका अधिकांशतः कवितामा । स्पष्टतः तीनवटा विषय– घरपरिवार, समाज, राष्ट्रमा उनको मन केन्द्रित छ । यो कविता–किताब प्रकाशन गर्नुमा ‘गोरेटो बाटो बनाएर गाडी दौडाउँछु भन्नु मूर्खता हो । फराकिलो चौडा राजमार्ग बनाए मात्र गाडी दौडाउन सकिन्छ । नेपाली कवितामा पनि फराकिलो राजमार्गको खाँचो खड्किएको छ । म त्यो गोरेटोमा राजमार्ग बनाउने प्रयत्नको एउटा अंश मात्रै हुँ । यही प्रयत्नको सिलसिलामा पुस्ताको प्रतिनिधि कवितासंग्रह हो’ भन्ने उनको स्वीकारोक्ति छ ।

जम्मा ३० थान मझौला आकारका कविता समाविष्ट रहेको ‘डोरम्याट’ भित्र सिंहदरबारको वास्तविक चित्र छ, जुन चित्रमा कविको व्यंग्यात्मक रङ पोतिएको छ । एउटा कवितामा मान्छेको विकृतपूर्ण चरित्रलाई अत्यन्त मिठासपूर्ण तवरले अंकित गरिएको छ । बाहिरबाट शरीरलाई जतिसुकै सुन्दर पोसाकले शृंगार गरे पनि मान्छे भित्रबाट नाङ्गै रहेको जनाउ दिन्छन् कवि ।

मान्छे ढुंगालाई देउता मान्छ तर आफूजस्तै मान्छेलाई तिरस्कार गर्छ, अपमान गर्छ । पाखण्डी छ मान्छे, अहंकार–अभिमान गर्छ । एउटा कवि हुनुको हैसियतमा मान्छेको यस्तो गलत चरित्र छविरमणलाई सह्य हुँदैन । यति मात्रै होइन, अशान्ति मच्चाएर बस्तीमा आगो लगाउनेहरू देखेर उनी छटपटिन्छन् र सोच्छन्– बस्तीमै आगो झोसेपछि बस्तीभित्रैको आफ्नो घरचाहिँ जोगिएला ? त्यसैले त उनी विशुद्ध मान्छेको खोजीमा छन् ।

आफ्नो मात्रै होइन, समाजको मात्रै होइन, सम्पूर्ण देशकै परिचयलाई ऊचो राख्न सक्ने स्वाभिमानी मान्छेको खोजीमा छन् ।

राष्ट्रको परिधिभन्दा बाहिर गएर लेखिएको एउटा कविता छ । एकातिर रगतको आहाल बनिरहेको र अर्कोतिर आँसुको दह बनिरहेको दृश्यहरूबाट आहत बनेका छन् कवि । यसरी, युद्धरत मान्छेहरूप्रति आक्रोशित हुँदै कवि सोध्छन्– ‘यो पृथ्वी कसको हो महाशय ?’ तर दुःखी, गरिब, निरीह, असहायहरूलाई दपेटेर ढुक्कको निद्रा निदाइरहेछन् कतिपय मान्छेहरू । कविलाई थाहा छ, निदाएका होइनन् तिनीहरू, निदाएका बहाना गरेका मात्रै हुन् ।

समष्टिमा भन्न सकिन्छ– कवि छविरमण सिलवालकृत ‘डोरम्याट’ का यी कविताले यो पुस्ताको कविता क्षेत्रमा हस्तक्षेपकारी भूमिका खेल्न सक्नेमा कुनै समालोचकसँग स्वीकृति लिइराख्नुपर्ने आवश्यकता छैन ।

प्रकाशित : असार ८, २०८१ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×