कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अशून्यम् महायात्रा

सूक्ष्म अवस्थाको स्थिरता शून्य र निरपेक्ष तत्त्व हो, जसबाट संसारको सुरुवात हुन्छ

वेदिक–अध्यात्म सम्मिश्रित विशिष्ट शैलीको संवादले परिपूर्ण नेपाली उपन्यास हो– ‘अशून्यम्’ । अत्यन्त जटिल, तर कल्पनाशील यो किताब गहनतम् शास्त्रीय विमर्शको उपज हो । 

अशून्यम् महायात्रा

अशून्य शून्य हुँदै अनेक हुने एक प्रक्रियाको वर्णन हो– किताब, ०–१ को गणितीय प्रयोगले भरिएको । किताब भन्छ– सूक्ष्म अवस्थाको स्थिरता, जो शून्य र निरपेक्ष तत्त्व हो र त्यसबाट संसार र समयको सुरुवात हुन्छ । र, ० बाट १ भएपछि नै सृष्टि भयो यसमा समय जोडियो । किताबको ‘कल्पनाको संरचना’ खण्ड रहस्यपूर्ण छ । जस्तो, ‘शून्यमै कल्पना उठ्दा एक बन्यो अनि एक नै फेरि अरू कल्पना उठ्दा अनेक बन्यो’ जस्ता वाक्यले एकछिन घोरिन बाध्य बनाउँछ । किताबले पाठकलाई कल्पना र ज्ञानको गहिराइमा पुर्‍याउन संवादको सहारा लिएको छ ।

किताबमा डायरीमार्फत सिधै कुरा नभनी ज्ञानको खोजीमा बनारस पुगेका पाँच जना साधकलाई माध्यम बनाई कृशकाय एक योगीको मुखबाट विशिष्ट शैलीमा विषयवस्तु भनिन्छ । चार दशकसम्म कुनै बसोबास नभएको आफ्नो पुरानो घरमा रातो बर्सादी ओडेका बाबु–छोरी अपराह्नको वर्षासँगै त्यस घरमा ओत लाग्न पुगेबाट सुरु हुन्छ उपन्यास । उनीहरू पुरानो खिया लागेको ताल्चा खोलेर घरभित्र पस्छन् । सबैभन्दा पहिले उनीहरूको दृष्टि अँध्यारो कुनामा राखिएको काठको फलेकको सन्दुसमा केन्द्रित हुन्छ । त्यसै भित्र एउटा पुरानो डायरी फेला पर्छ । छोरीले बाबुको आज्ञामा पढ्ने अनुमति माग्छिन् । उनले डायरी पल्टाएर पढ्न थालेपछि कथावस्तु प्रारम्भ हुन्छ ।

बनारस ः १९५७ फेब्रुअरी (२०१३ माघ २६) । एउटा चिसो बिहानी, उत्तरी हावाको झोक्काले बेला–बेला ढोकामा झुन्ड्याइएको गेरु रङका सफा धोतीहरू भित्र र बाहिर गरिरहेका । भित्र एक कुनामा गोलाकार काठको पिर्को माथि पद्मासनमा बसेका एक पातला साधुले आँखा खोले र बोले ः ‘हे कर्तव्यनिष्ठ साधकहरू हो । अब तिमीहरूको शुभ दिन आएको संकेत मिलेको छ । भोलिको सातादेखि हिमालयतिरको यात्रा तय गर ।’ हेर्दा सामान्य वेदीमा आसीन सम्मानित साधक हुँदा हुन सायद, गुरु गोरखनाथ बोले, ‘मेरो आशीर्वाद सदा तिमीहरूको साथ रहनेछ, साधना मार्गमा लागिरहनु ।’

लेखक भन्छन्– यी पाँच जना साधक त्यहाँबाट धेरै पर नेपालको पाशुपत क्षेत्रबाट, साधना मार्गमा लाग्ने उद्देश्यका साथ बनारसको उक्त कुटीमा आएका थिए । त्यतिखेर योगीले निर्देश गरेअनुसार भोलिपल्टै हिमालयतर्फ प्रस्थान गर्ने कार्यक्रम बन्यो । त्यसपछि साधकहरू त्यसै बिहानीमा बनारसका घाटहरूतर्फ निस्कन्छन्, अस्सीघाट पुग्छन्, जहाँ मानिसको भीड भइरहन्छ ।

उनीहरूले मणिकर्णिका घाट र हरिश्चन्द्र घाटतर्फ नजर लगाए । भएमध्येका पुराना घाटहरू, जहाँ शव जलाउने पालो कुरेर बसेका मान्छेहरूका लामालामा ताँतीहरू छन् । यी घाटहरूमा पछिल्ला पाँच हजार वर्षदेखि शवमाथि आगो बलेको बल्यै छ । साधकहरू घाटमा पुगेपछिको अनुभूतिले मानव जीवनको उत्पत्ति र समाप्तिको महायात्राको निरन्तरताको झलक दिलाउँछ ।

ती साधक बनारसमा भेटिएका कृशकाय योगीकै सांकेतिक वचनलाई शिरोपर गर्दै भोलिपल्ट बिहानै हिमालयतर्फको यात्रामा लाग्छन् । उनीहरूको लक्ष्य कुनै एक सन्त योगी, जसले अर्को वर्षदेखि सदाका लागि नबोल्ने मौनव्रत साधना गर्ने संकल्प गरेका हुन्छन्, उनैको पास जाने हुन्छ । ‘अशून्यतम्’ मा एक प्रसंगमा लेखिएको पंक्तिमा– मृत्यु, बुढापाई र रोगविरुद्ध उठेको कल्पनाको कारण सिद्धार्थ गौतमले बुद्धत्व हासिल गरे भन्ने सन्दर्भ स्मरण हुन्छ ।

हिमालयतर्फ लागेका ती पाँच साधकहरू थिए– अघोर, सद्योजात, वामदेव, तत्पुरुष र इशान । अघोर एक सफल व्यापारी, सद्योजात एक प्रतिष्ठित संस्थाका व्यवस्थापक, वामदेव परोपकार र सम्मानजनक कार्यमा लागेका, तत्पुरुष अनुसन्धान तथा शिक्षामा लागेका र इशान एक सामान्य तर कर्तव्यनिष्ठ सरकारी कर्मचारी हुन् । ती साधक आइपुगेको स्थान यस्तो थियो– हिमालय तर्फबाट आएकी माहेन्द्री गंगा बगेकी दक्षिणतर्फको दृश्यावली र अनन्त पर्वतीय शृंखला र दक्षिणपूर्व फर्केको एक ग्राम्य बस्ती ।

किताबमा एक योगीले प्रस्तुत गरेको रेखा चित्रमा सबैभन्दा तल ‘स्थिरता’ रहेको छ, जसमा ‘शून्य+अशून्य’ को अवस्था संकेत गरिएको छ । सन्तु नारायण योगीले प्रस्तुत गरेको रेखाचित्र विश्लेषणबाटै ‘अशून्यम्’ को मूल विषयवस्तु प्रारम्भ हुन्छ । यो उपन्यासको भाग–१ ‘कल्पनाशक्ति सिद्धान्त’ बाट आरम्भ हुन्छ, जसभित्र ‘कल्पनाको संरचना’, ‘कल्पनाको आकार’, ‘समय’ र ‘शून्य–एक’ (०–१) जस्ता गहन खण्ड छन् । भाग–२ लाई ‘जीवन’ प्रकटीकरण’ भनिएको छ । यसमा ‘कल्पना र जीवनको क्रम विकास’, ‘कल्पना, जीवन र ब्रह्मयात्रा’, ‘जीवन र जगत्’ जस्ता उपखण्डमा विभक्त गरी अनेक प्रकारले ‘अशून्यम्’ को कल्पना पुष्टि गर्न खोजिएको छ । किताब प्रत्येक खण्ड–उपखण्डमा पूर्ण लाग्छ ।

लेखक काशिनाथ न्यौपाने वेद, पुराण, अध्यात्म दर्शनका अध्येता हुन्, जो वेदव्यासबारे सटीक तथ्यहरू खोजी र संकलनमा निरन्तर सक्रिय भए ।

प्रकाशित : असार ८, २०८१ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×