२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

‘अध्येताको अथाह खजाना कुमारी’ 

नेपालभाषामा लेखिएको मल्ल के. सुन्दरको उपन्यास ‘कुमारी’ प्रकाशित छ :

‘कुमारी’ नामले नै भन्छ– यो संस्कृति हो । ‘कुमारी’ संस्कृतिलाई आख्यानमा कसरी लेख्नुभयो ? 

प्रथमतः ‘कुमारी’ संस्कृति मात्र होइन, यो नेपालमण्डलभित्रका रैथाने समुदायहरूमा लामो समयदेखि विद्यमान सामाजिक मूल्य र मान्यताको मूर्त रूप हो, जीवन पद्धतिको एक महत्त्वपूर्ण पक्ष । संस्कृति मात्र भन्दा रीति, परम्परा र विधि व्यवहारमा सीमित हुन्छ होला । अनि त्यस्तोमा त्यति विघ्न उदात्तता क्षितिज र गहकिला आयाम पनि नहोलान् । तर, आस्थागत दृष्टिकोणबाट ‘कुमारी’ का पछाडि गहन जीवन दर्शन, सामाजिक प्रवृत्ति र मानवीय आदर्शको विषय छ । तसर्थ, कुमारी लेखक–अध्येयताका लागि अथाह खजाना हो । 

‘अध्येताको अथाह खजाना कुमारी’ 

तपाईं संस्कृतिविद् पनि हुनुहुन्छ । शोध वा निबन्ध–प्रबन्ध नलेखी पाठकलाई के बताउन कुमारी–कथा लेख्नुभयो ?

कुमारी जस्तो विषद् विषयमा धेरै कुरा लेख्न सकिन्छ । स्वदेशी, विदेशी लेखकले पनि उल्लेख्य कुमारीका सन्दर्भमा पुस्तक लेकिसकेका छन् । आख्यानको झैं पात्रलाई जीवन्त प्रस्तुत गर्न सक्ने सुविधा अन्य विधामा छैन । त्यसमा पनि पात्रका अन्तरकुन्तरसम्म पसेर तिनका भावना, चाहना, कुण्ठा, आक्रोश, आवेगसहितका अन्तर्मनलाई छ्याङ्ग पार्ने छुट प्रबन्धमा हुन्न । ‘कुमारी’ पात्रलाई त हामी चिन्छौ, तर आजसम्म उनीभित्रको अन्तरद्वन्द्व, जिजीविषिका, आत्मसम्मान, अस्तित्वबोधका भाव बुझ्ने अवसर हामीले पाएका थिएनौं । उपन्यासको मूल पात्रको हैसियतले ‘कुमारी’ लाई आख्यानात्मक पस्किँदा ती यावत् पक्ष उजागर गर्न सकियो । हिजोको ‘कुमारी’ आज उपन्यासका पृष्ठमा आइपुग्दा हाम्रै समाजको जीवन्त, सहासी योद्धा, त्याग र बलिदानको आदर्शमयी चरित्र अनि राष्ट्र तथा देशबासीका रक्षार्थ संघर्षमयी भूमिका निर्वाह गर्ने नेपाल आमाकी वीर सन्तानका रूपमा परिचय बनाउन सफल भएकी छन् ।

नेवाः समुदाय संस्कृतिमा धनी छ । कुमारीबाहेक नेवाः समुदायको कुन–कुन संस्कृतिमाथि आख्यान लेख्न सकिन्छ ?

सांस्कृतिक विविधता र बहुलताका कारण नेवाः समुदायमा केन्द्रित भएर साहित्य सिर्जना गर्न सक्ने सम्भावना प्रचुर छ । नेवार समाजका लोकाख्यान, लोकगीत अनि जात्रा, पर्व आदिलाई छनोट गर्न सकिन्छ । प्राचीन नेपालमण्डलभित्रका परम्परा, रीति र व्यवहार पनि मौलिक छन् । भनिन्छ, उपत्यकाका प्रत्येक टोल, बस्ती र चोकका आ–आफ्नै कथा छन् । यहाँका एउटा इँटा, ढुंगाका सम्बन्धमा पनि कुनै न कुनै कथन हुन्छन्, केवल खोजनीति हुनुपर्छ । नेपालभाषाका कतिपय लेखकहरूले यी विषयहरूमा थुप्रै पुस्तक र लेखहरू लेख्नु भएका छन् ।

धुस्वां सायमिको नेपालभाषाको पहिलो उपन्यासपछि तपाईंसम्म आइपुग्दा नेपालभाषा–उपन्यास कहाँ छ ?

हो, धुस्वां सायमि नेपालभाषाका अग्रणी उपन्यासकार हुनुहुन्छ । थुप्रै उपन्यास हामीलाई दिएर जानुभएको छ । उहाँका ‘गंकी’, ‘मिसा’, ‘पासा’ उपन्यास बहुचर्चित छन् । आज थुप्रै नयाँ सर्जक देखा परिसकेका छन् । सामाजिक जीवन, प्रेम, गरिबी, अभाव जस्ता आर्थिक समस्यामा केन्द्रित विषयवस्तु आदि धुस्वांले उपन्यास लेखनमा स्थापित एउटा प्रमुख प्रवृत्ति थियो । नेपालभाषाका अन्य उपन्यासकारले पनि विषयगत रूपमा यिनै प्रवृत्तिलाई अनुसरण गरे, यद्यपि भाषा र शैली पक्ष पृथक् रह्यो । इमान्दारीपूर्वक भन्नुपर्दा उपन्यास लेखनमा विषयगत र शैलीगत प्रवृत्तिका दृष्टिकोणबाट नेपालभाषाका उपन्यासकारले अझै प्रयत्न गर्नु आवश्यक छ ।

नेवाः पाठकबीच तपाईंको पछिल्लो उपन्यास चर्चित भयो । नेपालभाषा नबुझ्ने आम पाठकले नेपालभाषाका अरू उपन्यास कसरी पढ्ने ? नेपालभाषा साहित्यको अनुवाद प्रचलन कस्तो छ ?

‘शंखधर’ र ‘विमुक्ति’ नेपालीमा अनूदित मेरा उपन्यास हुन्, जुन पाठकसामु छँदै छ । अर्को उपन्यास ‘सेप्टेम्बर १७’ डा. ज्योतिप्रभा तुलाधरबाट अंग्रेजीबाट अनुवाद भइसकेको छ, प्रकाशकको खोजीमा छु । ‘कुमारी’ को नेपाली संस्करणका लागि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र उपकुलपति विमल निभाः दुवैले सहमति जनाएका छन् । आशा छ, निकट भविष्यमै गैरनेपालभाषाभाषीले ‘कुमारी’ पढ्न पाउनुहुनेछ ।

नेपालभाषाका कृति थोरबहुत नेपाली–अंग्रेजीमा अनूदित भएका छन्, स्रोत र प्रकाशनको समस्या छ ।

प्रकाशित : असार १, २०८१ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x