२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कुगेनाम्बा बाजेको लौरो !

अचानक बाटोमा भेटिएका कुगेनाम्बा बाजेले भने– हाओ ! म त मासुको पैसा उठाउँदै हिँडेको ! तिम्रो पनि बाँकी थियो, त्यतै पो जाँदै गरेको । 

माघका दिन उसै पनि चिसा हुन्छन् । खेतका कान्लाहरू नाघेर एक टुक्रा घाम कतैबाट आँगनछेउ नआइन्जेलसम्म झनै चिसो । निद्राले अघि नै छोडिसके पनि सिरकबाट फुत्किन आँट आइसकेको छैन । बुबा कराउँदै हुनुहुन्छ, ‘अई कान्छा..! रातभर कहाँकहाँ जान्छेस्....सात बजिसक्यो उठ है..! गाईबस्तुलाई पराल तानेर दे ।

कुगेनाम्बा बाजेको लौरो !

सिरानगाउँ गएर आङदेम्बे माइलालाई बोलाएर आइजा...आज दिनभर खर काट्नुपर्छ ।...यसपालि पनि गोठ छाएन भने त बर्खामा गाईबस्तु पानीले भिजेर मर्छ ।’ बाउको आवाजमा रिस मिसिएको छ, तर मलाई उठ्ने जाँगर छैन । अन्तत...झ्यालछेउ अशोकको बोटमा जुरेलीका बच्चाहरू कराउन थालेपछि हठात् उठें ।

असार–साउनको बर्सात्ले भिजेर खाँदिएका परालका त्यान्द्राहरू तान्नै गाह्रो ! जोर हातले बल लगाएर तान्दा मुस्किलले एकमुट्ठी आउने ! जसोतसो दुई अँगालो जति तानेर हलगोरुलाई हालिदिएँ । बाख्राका माउहरू केही उघ्राइरहेका जस्ता देखिन्थे । तिनीहरूलाई दुई–चार डुम्रीका हाँगाहरू भुन्ड्याइदिएँ । हुस्सुले आधाआधी छोपिसकेको सिरानगाउँ ! टाढाबाट अलिअलि घरका छानाहरू मात्र देखिन्थे । जाडोले कठ्याङ्ग्रिएका जोडी ढुकुरहरू बाटोछेउको रूखका हाँगाहरूमा चुच्चोले पखेटा कोट्याउँदै बसिरहेका थिए । रुप्पीहरू हूल बाँधेर कतै झगडा गर्न उडिरहेजस्ता देखिन्थे । गाउँघरका सिमसारहरू सुक्दै गएपछि छिटफुट बाँकी रहेका बकुल्लाहरू बाँसझ्याङका टुप्पाहरूमा भोकले झोक्राइरहेजस्ता देखिन्थे ।

बिसाउने पुलको कुइनेटो काटिसकेपछि अचानक कुगेनाम्बा बाजेसँग भेट भयो । मेलै हठात् सोधे, ‘बाजे...यति बिहान/बिहानै परको मान्छे कता माथिबाट..?’ जाडोले निचोरिएको नाकको टुप्पा सुम्सुम्याउँदै बाजे बोले, ‘हाओ...म त मासुको पैसा उठाउँदै हिँडेको नाति...! सिरानगाउँमा अझै दुई–चार जनाले दिनु बाँकी छ । खाएपछि नर्तिनेहरूसँग नसकिने भो...! तिम्रो पनि रहेको थियो र त्यतै पो हिँडदै गरेको ।’

मैले झस्किएर सोधे, ‘हैन, कहिलेको मासुको पैसा बाजे...?’

‘हाओ...अस्ति दसैंको नि नाति...! तीन किलोको त्यत्तिकै बाँकी छ नि !’

‘हैन..देको छुइनँ र बाजे मैले...!’

‘छैन..नि नाति...! दुई–चार चोटि त घरमा पनि आइसकें..भेटिए पो ! आमाबाबुलाई कता माग्नु तिमीले खाको..?’

‘हैन..! कान र फिलाको मासु भन्यौ र आफू खाइनखाई देको भुल्यौ कि क्या हाओ...!’

‘लु...माफ पाउ है...मैले त भुसुक्कै भुलेछु । अहिले त बोकेको छुइनँ...भोलितिर आफैं ल्याइदिन्छु है बाजे...! मलाई एकाएक लाज र ग्लानि भो । अरू केही नभनी ‘लु है बाजे’ भनेर सरासर बाटो लागें ।

थोरै माथि पुगेपछि हुस्सुमा अल्झिँदै आएको बाजेको मधुरो आवाज सुनियो, ‘चार–चार महिना भइसक्यो । यो नाति पनि खाएपछि तिर्न नजान्ने चालको मान्छे रैछ..हैट..! यस्तो मान्छे मास्टर अरे..!’


अगाडि सिकुवा निकालेको सानो चिटिक्क परेको फुसको घर थियो, आङ्देम्बे माइलाको । पछाडि घरसँगै जोडिएको एक हलगोरु बाध्न मिल्ने गोठ ! घरमुन्तिर झन्डै सँगसँगै जोडिएको सुँगुर र कुखुरा खोर ! पन्ध्र–बीस वर्षजति भयो होला आङ्देम्बे माइला पहाडबाट बसाइँ सरी आएको । उमेरले साठी टेकिसकेका, तर महागफाडी । हाक्पारे/पालम गाउन उत्तिकै सिपालु । म पुग्दा च्याब्रुङका लागि खमारीको मुडा खोप्दै बसिरहेका थिए ।

‘लु बस है कान्छा..! बिहानबिहानै तिमी किन आयौ, मैले थाहा पाइसकें । तिम्रो बाबुले खर काटिदिनु भनेको हप्ता दिन भइसक्यो..म भ्याए पो ! फेरि तिम्रो काकी पनि पहाड गको छ । नानीहरू सबै स्कुले । धन्न हिजोदेखि जाडोको छुट्टी भएछ र सबै घरमै छन् र यसो वरपर कामधन्दा भ्याउँदै छु...नत्र सुँगुरलाई चारो खोज । बाख्रालाई घाँस काट । बहर गोरुहरू चराउन जा । एक्लै कहाँ भ्याउनु भतिज...! बिहेतिर बोलाउँछन् । अर्काको मात्र मागेर कति बजाउनु भनेर यसो फुर्सदमा बनाउँदै गरेको यो च्याब्रुङ । पैले एउटा राम्रो बनाको थिए नि...! कुगेनाम्बाले नलगी नसक्ने भयो र दिई पठाएँ । पैसा चैं अलिअलि गरेर डेढ वर्षमा मात्र दियो । उसको मासुको पैसा चैं र्‍याखर्‍याख्ती पारेर हैरान । आज त झन् बिहानै ओछ्यानमै आइपुगेको थियो । अझै दुई–चार दिन दिन्न । म पनि कडा छु नि । ल...है भतिज अझै चार–पाँच दिन भ्याउँदिनँ । बाबुलाई त्यै भनिदिनु ।’ एकोहोरो आङ्देम्बे माइलाको कुरा सुनेर म केही नभनी बाटो लागें ।


भोलिपल्ट मासुको पैसा तिर्न जान फेरि भुसुक्कै बिर्सिएछु । तीन दिनपछि सम्झेर बिहानै निस्कें, कुगेनाम्बा बाजेको घरतिर ।

खनिउखोल्सा काटेर अलिकति उत्तरपूर्व लागेपछि बिष्टगाउँको पुच्छरमा कुगेनाम्बा बाजेको घर छ । म पुग्दा बोजु घरमुन्तिरको सानो कटेरोमा सुँगुर–चारोका लागि मानेका पातहरू काट्दै हुनुहुन्थ्यो ।

मलाई देखेर सोध्नुभयो, ‘अनि बिहानै कता नाति ?’

‘यहींसम्म बाजेलाई भेट्न आको...हुनुहुन्न क्या हो ? मासुको पैसा बुझाउनु थियो र नि..।’

खोसेलामा बेरेको सुर्ती सल्काउँदै बोल्नु भो बोजु, ‘ए...लु पैसा चैं बाजेलाई नै दिनु है...।’ ‘हाम्रो त आफ्नो–आफ्नो हिसाब हुन्छ है नाति..। बाजे राति तीन बजेतिरै माथि डल्लु माइलाको तिर लागेको छ.।’

कौतूहल लाग्यो र सोधें, ‘फेरि किन राति नै बोजु ?’

‘हैन नातिलाई थाहा छैन कि...! हिजो बेलुकी त्यहीं मुन्तिर ओखती कान्छीकोमा बस्ने केटाले डल्लु माइलाको बुढी भगाएछ नि । माइला मातेर तमासतमास छ अरे, सम्झाउनु गको छ बाजे...।’ ‘त्यो फटाहासँग धेरै दिन त के टिक्थ्यो ? एक–दुई दिनमा आफैं फर्किआउँछ । गाठे माइलाले अर्को बुढी पाउने हैन...फेरि राख्दा भैगो नि । ल ..है बोजु भन्दै म बाटो लागें ।’

साँच्चै दुई–चार दिनपछि आफैं फर्किआयो गाठेनी माइली । सहर्ष स्वीकार गर्‍यो माइलाले पनि । अहिले दुवै जना खुसी छन् । तर, सन्तान नहुनुको पीडा छ दुवैलाई ।


बर्सेनि महाशिवरात्रीका अवसरमा तीनदिने भव्य मेला लाग्ने गर्छ गाउँमा । मेलाको अन्तिम रात भएभरको पैसा जम्मै डाइसमा हारेर एक्लै धुमधुम्ती चुरोट तान्दै खेतको आलीमा उभिरहेको थिएँ । मान्छेहरूको भीडभाडसँग कुनै वास्ता थिएन मलाई । कतै चिनेको दोकानमा गएर बाँकी भए पनि केही खानु पर्ला सोचिरहेको थिएँ । अचानक पछाडिबाट पिठिउँमा कसैले लट्ठीले घोच्यो । यसो फर्किएर हेरेको त कुगेनाम्बा बाजे रहेछन् । झसंगै भएँ । एकाएक तिर्न बाँकी मासुको पैसा सम्झना आयो । तर पनि बाजे–नाति गफियौं एकछिन र दुवैजना लाग्यौ शीतलीचोकतिर ।

सदाबहार मेरो बाँकी चल्ने ठाउँ शीतलीचोक । जाँड खाँदै हाक्पारे गाउने बूढापाकाहरूको दुई–तीन हूलबाहेक मेलाभन्दा निकै शान्त । अँध्यारोमा यसो आवाज सुनेको त आँगनको पल्लो कुनातिर आङ्देम्बे माइला पनि रन्थनिएर लेघ्रो तान्दै गाउँदै रै’छन् । छेउमा गएर बाजेले उनलाई पनि मलाईझैं लौरोले घोचे, तर मातेको तालमा होला वास्ता गरेन उसले । मलाई चैं लट्ठीको घोचाइले मासुको पैसा कहिले दिने हाओ..? भनेझैं लाग्यो । दुवै जना लिचीको बोटमुन्तिर बस्यौं ।

‘लु...एकएक बटुका जााड खाउँ है’ भने, तर मानेनन् बाजे । सिकुटी र भुजा मात्रै खाने जिकिर गरे । मैले सोधें, ‘किन छोड्नुभयो बाजे जाँड खान ? पैलापैला घ्याम्पा रित्तिने गरी खानुहुन्थ्यो त !’ बाजेको जवाफ, ‘खानु त खान्थें, तर अब त बूढो भइयो अनि मभन्दा पनि खाने र निहुँ खोज्ने देखेर छोडें नाति ।’

फेरि सोधें, ‘हैन को हो त्यस्तो मान्छे.?’ ‘को हुनु र त्यो डम्बरे नि । काठमाडौंदेखि अस्ति दसैंमा घर आ’को थियो । त्यत्रो पढेको मान्छे अरे, के साह्रो जाँडरक्सी खा’को । झन् पढेलेखेको मान्छेले अरूलाई सम्झाएर हिँड्नुपर्ने । मसँग उल्टै निहुँ खाजेर हैरान । मातेपछि गुहु रै’छ त्यो । हैन पढेलेखेको मान्छेहरू पनि के साह्रो बिग्रिएको हाओ यो देशमा । अनपढभन्दा झन् पढेलेखेकोसँग डराएर हिँड्नुपर्ने ।’

एक बटुका तानेपछि फेरि सोधें, ‘हैन बाजे जाँड त छोड्नु भो अनि चुरोट चैं ?’

‘हाओ ! चुरोट चैं कति कोसिस गर्दा पनि सकिनँ नाति । उहिले बाह्र–तेह्र वर्षको उमेरमा मावली चोकमाबु बस्दा लालीखर्क गोठाला जान्थ्यौं । साथी हब्बुले भन्ने बूढोबूढो नेवार थियो । भदौको सिमसिमे झरी लाग्दा खसेलामा बेरेको हाङपाङे सुर्ती तान्न लगाउँथ्यो । मान्दिनथें । जाडो काट्छ भन्दै जबरजस्ती तान्न लगाउँथ्यो । बिस्तारै बानी बस्यो नाति ! पचास वर्ष भएछ अहिलेसम्म पनि खाँदैछु । बिस्तारी देखाजाएगा ।’

लगभग सत्तरी वर्षमा पनि उस्तै हट्टाकट्टा, बेलैमा साउअक्षर चिनेका, गाउँघरमा लेखापढी–अमिन जम्मै काम बाजेकै । हिसाबकिताबमा प्रस्ट, लिम्बुवानको होलटाइमर कार्यकर्ता । तर, आजकल पार्टी टुक्राटुक्रा हुँदा मन खिन्न छ बाजेको । एकपल्ट उनको कुराले निकै घत लागेको छ, ‘हाओ नाति ! लिम्बुवान त पहिला लिम्बूहरूसँग पो माग्नुपर्ने जस्तो देखियो है । अहिले यसो नेतृत्व पङ्क्तिबाटै आन्दोलनको भ्रष्टीकरण हेर्छु । झन्डै हो कि जस्तो लाग्छ ।’ राति निकै अबेरसम्म गफियौं– बाजे नाति । छुट्टिने बेला ‘मासुको पैसा चैं चाँडै है’ भन्दै लट्ठीले एकपल्ट पिठिउँमा घोचिराखेर घरतिर लागे बाजे । म पनि अप्ठ्यारो मान्दै ‘हुन्छ नि बाजे’ भन्दै लागें मेलातिर ।

गायक शम्भु राईको गीत उसैगरी घन्किइरहेकै थियो । धान नाच्ने, जुवारी खेल्नेहरू छुट्टै एकतमास स्वरमा स्वर मिलाइरहेका थिए । झुप्राझुप्री, दोकानहरूमा खुट्टा टेक्नेसम्म ठाउँ थिएन । एकछिन वरपर चहारेर लगभग रातको १२ बजेको हुँदो हो, म पनि लागें घरतिर । गहिरो निद्राले च्यापेर होला, ओछ्यानमा पल्टनेबित्तिकै भुसुक्कै निदाएछु ।

त्यो रात निकै डरलाग्दो सपना देखें । रेबिज लागेर मलाई फलामे बार लगाइएको अँध्यारो कोठामा थुनिएको थियो । सयौं मानिस मलाई मार्न तरबार र भाला बोकेर उभिइरहेका थिए । म राल–सिँगान भएर चिच्याइरहेको थिएँ । ‘एकपल्ट छोरीको अनुहार हेर्न देऊ मलाई’ भन्दै जोडजोडले जीवनको याचना मागिरहेको थिएँ । रुँदा–कराउँदा आँसु र आवाज सुकिसकेको थियो । त्यहीबेला झसंगै बिउझिएँ । पसिनाले शरीर निथ्रुक्क भिजेको थियो । बत्ती बालें । छ महिना पुग्दै गरेकी छोरी आमासँग मस्त निदाइरहेकी थिइन् । एकपल्ट उसको निधार छामें र फेरि निदाउन खोजे, तर सकिनँ । अबेरसम्म मुटु ढुकढुक भइरह्यो ।

अनिँदो आँखा लिएर बिहानै उठें । राति देखेको सपनाका दृश्य उस्तैगरी झुन्डिरहेका थिए, आँखामा । पूजापाठका लागि दियो–कलश माझिरहेकी आमालाई सपनाको बेलिबिस्तार सुनाएँ । ‘साह्रै नराम्रो सपना देखिछेस् है..लु मंगेना गर है तेरो...मासु खानुमा मरी जान्छेस् नि..माङले दण्ड दिन्छ तँलाई ।’ देउता, भगवान् आदिमा त्यति विश्वास नराख्ने मान्छे, तर आमाको मुखबाट ‘मासु’ शब्द सुन्नेबित्तिक्कै झसङ्गै भएँ । वा मासुको पैसा नतिरेर पो कि ! अनेक शंका, डर, त्रासले मन बेचैन बनायो । जसरी पनि आज मासुको पैसा तिर्नुपर्‍यो भनेर पर्सको कुनामा भरअभरमा लुकाइराखेको दुई हजार रुपैयाँ झिकेर लागें, कुगेनाम्बा बाजेको घरतिर ।

मनभरि कुरा खेलाउँदा खेलाउँदै कतिखेर खन्युङ खोल्साको बाँसको फड्के पनि काटिसकेछु । नेवार माइला मामाको बाँसघारी आइपुगेपछि पो झसंग भएँ । त्यहीबेला एक्कासि एउटा कालो कुकुर बाँसझ्याङबाट फुत्त निस्क्यो र ख्वाप्प मेरो फिलामा टोक्यो । सातोपुत्लो उड्यो मेरो । जोडले चिच्याउन खोजें तर सकिनँ । हातखुट्टा लगलग कामिरहेका थिए । वरपर आँखा घुमाएँ, कोही पनि देखिनँ । रिसले छेउको ढुङ्गा टिप्दा कुकुर निकै पर पुगिसकेको थियो ।

राति रेबिज लागेको सपना देख्नु, बिहान कुकुरले टोक्नु ! कस्तो पीडादायी संयोग । साँच्चै नै रेबिज लागेको कुकुर हो भने त...! सम्झँदै आङ सिरिङ्ग भएर आयो । टोकेको ठाउँ हेरें, जिन्स पेन्टले गर्दा दाँत त्यति राम्रो गाडिन पाएन रै’छ । तर पनि अलिअलि रगत बग्न सुरु गरिसकेको थियो । अतालिँदै घरतिर कुदें । हत्तपत्त बाइक हाँकेर हस्पिटल गएँ ।

साँझतिर कुकुरको आधिकारिक मालिक पत्ता लगाउन निस्कें । वरपर सोधपुछ गरें, कुकुर माइला मामाको नै हो भन्ने पत्ता लागेपछि सरासर लागें उतैतिर ।

भान्साघर छेउ लिचीको बोटमा साङ्लोले बाँधिएको थियो कुकुर । कचेट टिपेर टाउको फुट्ने गरी हानौं कि जस्तो लाग्यो, तर रिस निकै मरिसकेको थियो । मामालाई कुकुरले टोकेको घटना सुनाएँ । ‘डराउनु पर्दैन । कुकुर राम्रै हो, नियमित भ्याक्सिन पनि लगाइराखेको । बिहानबिहान एकछिन छोडिदिने बानी गरेको, काम बिगारी गएछ आज । तर, शंका लाग्छ भने रेबिजको भ्याक्सिन लगाउनु, म पैसा दिउँला भान्जा ।’ मामाको यति कुरा सुनेपछि मन हलुङ्गो भयो । भ्याक्सिन लगाउने निर्णय गरें ।

मामाको घरबाट फर्कंदा शीतलीचोकमा मानिसहरूको जमघट सुरु भइसकेको थियो । त्यहीं भेटें कुगेनाम्बा बाजेलाई । सेवारो साटासाट पछि मासुको पैसा दिएँ ।

‘सब कुरा भुल्नु, तर अरूको खाको र लाको चैं कहिल्यै नभुल्नु है नाति । उहीबेला तिरेको भए न कुकुरले टोक्थ्यो न भ्याक्सिनै लगाउनुपर्थ्यो । अनि तिमीहरूलाई दशा नलागेर कसलाई लाग्छ ?’ ‘त्यो आङ्देम्बे माइलालाई पनि टोक्नुपर्ने’ भन्दै पैसा बाजेले आस्कोटको भित्री गोजीमा लुकाए र लौरोले मेरो पिठिउँमा घोचिराखेर प्रसन्न मुद्रामा घरतिर लागे ।

प्रकाशित : असार १, २०८१ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x