चरो
टम्म
अन्न भरिएको
धोक्रो बन्न आयौँ हामी
प.....र
साउने बाढीले मातेर पसारिएको छत्रे खोलापारि घट्टभन्दा पर
छत्रेपारि थियो
छिनभर सुतेर दिनभर खाइरहने कुम्भकर्ण
अर्को थियो, लहरे खोकीले ग्रसित एउटा बँधुवा चरो
जसको काम हुन्थ्यो— कुम्भकर्णलाई खाना खुवाइरहनु
अर्को थियो एउटा, सोली
सोच्थेँ,
जीवनमा केही हुनुछ भने
त्यो हो, सोली
जसको पेट खालि हुँदा
कुम्भकर्ण भोकै हुन्थ्यो
‘थाप्लोमा दुःख बोकेर
बर्सेनि फड्के बगाउने खोला फड्किनु साटो
उड्न पाए कसो होला ?’
पखेटा सिउन चाहिए धागोहरु
दुःखका धागोहरुमा त हामी सुखी छँदै थियौँ
तिनलाई बुन्ने दुःखको पनि दुःख थिएन
‘आहा.... ह् ह् ह् ह् हा हा हा हा
माथि...
अझै माथि....
तल नहेर है साथीहरु, माथि नपुगेसम्म
पानीले खिच्ला
ओ.... हो.... हो् हो् हो्
क्या मज्जा....’
यसरी हामी चरा भएका थियौँ
दुःख बोकेर छत्रे खोला तर्यौँ
एवंरीतले
त्रिशूली पार गर्यौँ
नारायणी, गण्डक, गंगे, पद्मा, मेघना, बंगाल खाडी
तर्दै तर्दै
हिन्द, आन्ध्र, प्रशान्त महासागर पनि कट्यौं
र, आइपुग्यौँ—
दुःख पिँधेर सुख निकाल्ने घट्टमा
बिस्तारै हामीले देख्यौँ
अरिमट्ठ दुःखका अलौटाहरु लेसाइलो सुख बन्दै थिए
बितिँदै जाँदा हामीले यो पनि देख्यौँ
दुःखले सुखका लागि बुनेका पखेटाका दुःखका धागोहरु, बिस्ता....रै सुखमा बदलिँदै थिए
‘अरे... यो त अच्छा भयो !’
तर, हामी त्यस्तो चरा थियौँ
जसलाई चिलले सिकार गर्छ
र, हामी चिलकै देशमा थियौँ
तर यो देशले, आच्या, चिलले त्यसरी सिकार गर्न छोडिसकेको छ
जसरी पहिले हुने गर्थ्यो
यहाँ त चिलले घट्ट थापेको छ
र, लम्पसार पसारिएको छ कुम्भकर्णको आसनमा
यहाँ सोलीमा भरिने मकैका दाना हरिया हुन्छन्
यहाँको कुम्भकर्ण कहिल्यै निदाउँदैन
कहिलेकाहीँ सास तान्दा र फाल्दाबीच मिल्ने फुर्सदमा सोच्छु–
हामी टम्म भरिएको धोक्रो बन्न आएका थियौँ या सोली ?
तर, हामी त चिलको देशमा आएका चरा न थियौँ,
चरै रह्यौँ
भयौँ, बँधुवा चरो
जसको काम हुन्छ
मकैका हरिया दाना सोलीबाट अलिअलि खसालिरहनु
जुन दाना कुम्भकर्णको मुखमा पुग्दा बिल बन्छन् र पेटमा पु“जी
अहिले थाहा पाएँ—
छत्रे घट्टको बँधुवा चरो किन खोकिरहन्थ्यो
जसरी अहिले हामी खोक्छौँ ।
प्रकाशित : असार १, २०८१ ११:१५