२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

अन्टार्कटिकाको अँध्यारो–उज्यालो 

भुवनसिंह विश्वकर्मा पहिलो नेपाली हुन्, जो २०४३ सालमा अन्टार्कटिका पुगे । त्यो खतरनाक र सकसपूर्ण यात्राको रोमाञ्चक सम्झना :

संसारको कान्छो महाद्वीप अन्टार्कटिका मानव र वनस्पतिविहीन छ । त्यहाँको तापक्रम माइनस ८९ दशमलव ३ डिग्री सेल्सियससम्म पुग्छ । दुई किसिमको हावा बहन्छ– बरफसहितको हावा २ किलोमिटर रफ्तार र बरफरहित हावा ३ सय किलोमिटर प्रतिघण्टा छ । 

अन्टार्कटिकाको अँध्यारो–उज्यालो 

त्यो ‘खतरनाक’ महाद्वीप अन्टार्कटिकामा ३७ वर्षअघि नै पुगेका थिए– रूपन्देही, बुटवलका भुवनसिंह विश्वकर्मा । ‘अन्टार्कटिकामा पाइला राख्ने पहिलो नेपाली को हुन् ?’ लोक सेवा आयोगले अक्सर सोधिराख्ने प्रश्न हो यो ।

पृथ्वीको एउटा कुना पश्चिम नेपालको बागलुङ, बलेवामा जन्मिएका भुवनसिंहको दक्षिणी ध्रुवीय महाद्वीप अन्टार्कटिका यात्रा कम रोमाञ्चक छैन ।

बागलुङको देहात बलेवामा ७१ वर्षअघि जन्मिए, भुवनसिंह । बुबा गोरखपुरमा सुन पसले थिए । गाउँमा चाहे जसरी पढ्न कठिन भएपछि चार दिन लामो पैदल यात्रा पछि सीमावर्ती भारतीय सहर गोरखपुर पुगे । खासमा भुवनसिंहका हजुरबा अमरसिंह सुनार अलि बढी टाठा थिए । ब्रिटिस उपनिवेशकालीन भारतका धेरै ठाउँ तिनले चहारिसकेका थिए– कहिले मेघालयको सिलोङमा डाइवरी गर्दै होस् या कहिले पाकिस्तानको लाहोरमा श्रम गर्दै ।

हजुरबाकै कारण भुवनसिंहका बुबा धनबहादुरले सुन पसल थापेका थिए, गोरखपुरमा जुन बाटो हुँदै भर्तीवालहरू आउजाउ गर्थे । गोरखपुरका सुनारेले छोरालाई मेट्रिकसम्म त्यतै पढाए । मेट्रिकपछि दायाँबायाँ सोचेनन् । सोझै फौजी बन्ने दौडमा होमिए । जतिबेला वर्ष दिन लामो हिंसात्मक आन्दोलनपछि पूर्वी पाकिस्तानबाट नयाँ देश बंगलादेश बनेको थियो, त्यही वर्ष सन् १९७२ मा उनी भारतीय गोर्खा सैनिकमा भर्ती भए । उनले अनौठो समाचार थाहा पाए, सैनिकहरू अन्टार्कटिका महाद्वीप जान पाउने ।

भारतीय सेनाले सन् १९८१ देखि ‘इन्डियन एक्सपेडिसन टु अन्टार्कटिका’ अभियान सुरु गरेको थियो । टोलीमा जल, थल र वायुसेना, सैन्य इन्जिनियर, सैन्य वैज्ञानिक, चिकित्सकलगायत २५ सहभागी थिए । अन्टार्कटिका जान चाहनेलाई विभागले आह्वान गर्थ्यो । सन् १९८४ को चौथो एक्सपेडिसनमा उनले प्रयत्न त गरे, तर सफल भएनन् । किनकि उनीसँग अन्टार्कटिका यात्राका लागि चाहिने पर्याप्त ज्ञान अभाव थियो । छनोट समितिले धेरै किसिमका प्रशिक्षणहरूको आवश्यक ठान्यो । पहिलो पटक यात्रामा सामेल हुन नपाएकोमा निराश भएनन्, बरु थप ऊर्जाका साथ अर्को यात्राको तयारीमा जुटे । विभिन्न किसिमका तालिमहरूतिर केन्द्रित हुन थाले । खासगरी हिउँमा जोगिने धेरै जुक्तिहरू उनले सिके ।

पाँचौं एक्सपेडिसनका लागि कोसिस गर्दा सन् १९८६–८७ को टोलीमा छानिए । पहिलो यात्रामा अन्टार्कटिका पुग्दा पानी जहाजका क्याप्टेनले जब सिँढी झारे, तब उनले पहिलो पटक हिउँ–जमिनमा पाइला राखे । अनि सेताम्ये हिउँमा नेपालको रातो–कालो माटो मिसिइदिए । हिउँकै ढिस्कोमा राष्ट्रिय झन्डा गाडेपछि तप्प आँसु चुहाए ।

भुवनसिंहका अनुसार, अन्टार्कटिकाको लामो यात्रा गोवाबाट सुरु हुन्छ । मौसम अनुकूल हुँदा २२ दिनमा र प्रतिकूल भए बढीमा २४ दिनभित्र हिउँको महादेशमा पुगिन्छ । दिनरात समुद्रमा हिँड्नु पर्छ । हिन्द, प्रशान्त, आन्ध्र, आर्कटिक जस्ता संसारका खतरनाक महासागरहरूको ज्यादै सकसपूर्ण यात्रा तय गर्नुपर्ने हुन्छ ।


‘दर्जनौं ठाउँका ठुल्ठूला समुद्री छालहरू पार गर्दै अन्टार्कटिका पुगिन्छ,’ उनी यात्राको बेलिविस्तार सुनाउँछन्, ‘अग्ला हिमाल जत्रा त समुद्री छालहरू नै आइलाग्छन् ।’ अन्टार्कटिका जाने यात्री कम्तीमा पनि २ वर्षको खाना व्यवस्थापन गरेर जानुपर्ने हुन्छ । भुवनसिंहको टोलीले पनि त्यसै गरेको थियो । यात्राका लागि विशेष खाना बनाइन्छ, विशेष तरिकाले प्याकेज गरिन्छ । उनको टोलीले बोकेको थियो– तरकारी, खिर, हलुवा, परोडा, भात, दाल, अचारलगायत ।

सुत्ने बिछ्यौनासहितको घर भने भारतमै बनाएर लगिएको थियो । ६ फिट अग्लो घरमा सुत्नुपर्ने बाध्यता थियो । किनकि बेलाबखत कठोर हावा चल्थ्यो, कहिले हिउँसहित त कहिले हिउँरहित । ‘हिउँसहितको भन्दा हिउँ रहितको हावा धारिलो खुकुरीझैं लाग्थ्यो,’ उनले अनुभव साटे, ‘कहिलेकाहीं त ज्यानै जालाझैं हुने ।’

६ महिना उज्यालो हुने यो महाद्वीपमा निद्रा भने त्यति नलाग्ने उनको अनुभव छ । अन्टार्कटिकालाई मार्चको अन्तिम सातातिर छाड्नैपर्ने हुन्छ । नत्र हिउँ जम्न सुरु हुन्छ । कथम् जमेको हिउँमा पानी जहाज फस्यो भने त्यसबाट मुक्ति पाउन ज्यादै कठिन हुन्छ । ‘जमेको समुद्रबाट मुक्ति पाउन एक वर्ष कुर्नुपर्ने हुन्छ,’ उनी थप्छन्, ‘त्यहाँ फसेपछि उम्किनै गाह्रो छ । ज्यानै जान पनि सक्छ ।’ पहिलो यात्राबाट फर्किएलगत्तै सैन्य विभागले उनलाई सुवेदारमा बढुवा गर्‍यो । इच्छाएको ठाउँमा पोस्टिङ गरिदियो । उनीसँगै अन्टार्कटिका पुगेर फर्किएका उत्तर प्रदेशका केही फौजीलाई त्यहाँको प्रान्तीय सरकारले घर र नगदसहित सम्मान गर्ने घोषणा गर्‍यो । त्यो सूचीमा भुवनसिंहको नाम पनि समावेश थियो । ‘गल्तीले मेरो नाम पनि सम्मानित व्यक्तिको सूचीमा समावेश थियो,’ उनले भने, ‘ठेगाना नेपाल भन्ने थाहा पाएपछि सच्याउने काम भयो ।’

भुवनसिंह अन्टार्कटिका पुगेको खबर ढिलै भए पनि भुसको आगोझैं गाउँतिर सल्कियो । उनका एक जना छिमेकीले तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य ओमकारप्रसाद गौचनलाई त्यो खबर सुनाए । भुवनसिंह बिदामा गाउँ आएका बेला गौचनले सोधे, ‘तिमी अन्टार्कटिका पुगेको प्रमाण के छ ? देखाऊ त ?’

उनले विभिन्न तस्बिर देखाए । त्यो देखेपछि गौचनले ‘गोरखापत्र’ सम्म सन्देश पुर्‍याएछन् । अन्टार्कटिका यात्रा पुष्टि भएको फोटोहरू प्राप्त गरेपछि ‘गोरखापत्र’ ले २०४४ सालमा पहिलो पृष्ठमै ‘अन्टार्कटिकामा पाइला टेक्ने पहिलो नेपाली’ शीर्षकमा समाचार प्रकाशित गरेको भुवनसिंह सुनाउँछन् । त्यो समाचारले तत्कालीन राजा वीरेन्द्रको पनि ध्यान खिच्यो । उनले संवाद सचिवालयमार्फत भुवनसिंहको खोजी गरे । र, उनको यात्राबारे विस्तृत जानकारी प्राप्त गरेपछि वीरेन्द्रले बल्ल ‘दर्शन भेट’ दिने निधो गरे ।


राजाको दर्शन भेटबारे उनले सामान्य सुइँको पाएपछि १० दिन लगाएर राजषी भाषा सिकेका थिए– आइबक्स्यो, खाइबक्स्यो आदि ।

‘दर्शन भेट’ को दिन ठूलो पटाङ्गिनीमा अन्य राजपरिवारका सदस्यसाथ वीरेन्द्र उनलाई कुरेर बसिरहेका थिए । फौजी शैलीमा जीउ तन्काउँदै, खुट्टा पड्काउँदै पुगेर सलाम ठोके ।

वीरेन्द्रले ‘बस, बस’ भने । उनी बस्न मानेनन्, बरु दुवै खुट्टा बटारेर फौजी पारामा उभिइरहे । करिब १० मिनेटको संवादमा वीरेन्द्रले उनलाई अन्टार्कटिकाबारे सोधे । उनले बेलिविस्तार लगाए । अन्तिममा राजाले भनेछन्, ‘तिमीले देशको नाम उच्च बनाएका छौ, इज्जत बढाएका छौ । के चाहन्छौ भुवनसिंह ?’

राजाको प्रश्न सुनेपछि भुवनसिंहले भनेछन्, ‘सरकारको आशीर्वाद भए पुग्छ, सरकार ।’ वीरेन्द्रले अन्त्यमा भनेछन्, ‘भुवनसिंह तिमीलाई दरबारको ढोका सधैं खुला नै रहनेछ ।’

दर्शन भेटको करिब ५ वर्षपछि २०४९ मा राजा वीरेन्द्रले ‘गोर्खा दक्षिण बाहु दोस्रो’ मानपदवीबाट उनलाई विभूषित गरेका थिए ।

दोस्रो पटक सन् १९९२ मा अन्टार्कटिका पुगेका उनी १६ महिना बसेर फर्किएका थिए । ‘त्यो बेला चाहिँ उज्यालो–अँध्यारो दुवै समयको अनुभव गरेर फर्किएँ,’ उनले सुनाए, ‘चिसो महादेशमा चुक घोप्टे जस्तो अँध्यारो रात पनि देखियो ।’

दोस्रो पटकको साहसिक यात्राबाट फिरेपछि उनको दायाँ खुट्टामा समस्या भयो । माइग्रेन पनि भयो । अवकाश पाउन २ वर्ष जति बाँकी अगावै सन् २००० मा उनी फौजी जीवनबाट मुक्त भए । त्यसयता रूपन्देहीको बुटवल–११ को घरमा ‘रिटायर्ड लाइफ’ व्यतित गरिरहेका छन् । पेन्सनबाट प्राप्त हुने केही रकमले परिवारको गुजारा चलेको छ । बुटवलमा उनको सम्मानमा स्थानीय सरकारले ‘भुवनसिंह मार्ग’ निर्माण गरिदिएको छ । हेटौंडामा पनि ‘भुवनसिंह पथ’ छ । ‘मान्छे मरेपछि स्मृतिमा बाटोघाटो, सालिक प्रतिष्ठान बनाउने चलन छ,’ अन्त्यमा हाँस्दै थपे, ‘मैले चाहिँ जिउँदै हुँदा सबै थोक देखें ।’

प्रकाशित : असार १, २०८१ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x