२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

रहस्यमय नीला आँखा

निबन्धकार जयदेव गौतमको नयाँ निबन्ध–किताब ‘ती निला आँखा’ रहस्यका पन्नाहरूले भरिएको छ । शीर्ष निबन्धमा एक नवयौवना युवतीको बखान छ । अनायसै भेटिएकी युवतीको रूपरङ्गबारे वर्णन गर्दै उनले प्रेम–चर्चा पनि गरेका छन् । 

रहस्यमय नीला आँखा

‘प्रेमको कुनै परिभाषा हुँदैन, छैन पनि । यसलाई अर्थको सिमानाभित्र बाँध्न पनि सकिँदैन । प्रेम त भावनासित जोडिएको छ । यसलाई अनुभूत गर्न सकिन्छ’ निबन्धको एक हरफ यस्तो छ, ‘प्रेममा सारा शङ्का, आवेश, द्वेष, हीनता, अविश्वास सबै कुरा हराउँछन् र बाँकी रहन्छन् केवल निःस्वार्थ समर्पण ।’

तर, किताबमा प्रेम अनुभूतिका मात्रै विषय छैनन् । यसमा महाभूकम्पको प्रसंगदेखि बिपीको व्यक्तित्वसम्म, सन्तान वियोगको पीडादेखि नाता–सम्बन्धका नालीबेली छन् । किताबमा विविधता छ । यसले पाठकलाई कहिले बंगलादेशको ढाका घुमाउँछ, कहिले मलेसियन सातेयको स्वाद चखाउँछ । कहिले पुरानो समयतिर फर्काउँछ, कहिले आधुनिक संसारको यात्रा गराउँछ । निबन्ध पारखीका लागि यो एउटा मनप्रिय कोसेली हो ।

यी निबन्ध आत्मपरक र अनुभूतिप्रधान शैलीमा लेखिएका छन् । पहिलो निबन्ध ‘सर, गुरु र गुरुजी’ को कुरा गरौं । यसमा सामान्य जस्तो लाग्ने वा आम रूपमा प्रयोग गरिने तीन सम्बोधनभित्र कति फराकिलो दूरी छ ? रोचक ढंगले खोजतलास गरिएको छ । ‘जीवन ः एक कार्पे डियम’ ले जीवनको सारभूत तथ्य केलाएको छ । वर्तमानलाई महसुस गर्नु, वर्तमानमै रमाउनु र वर्तमानमा बाँच्नु नै जीवनको खास आनन्द हो भन्ने आशय यसमा छ ।

‘मन त आखिर मनै हो’ निबन्धले मनको शल्यक्रिया गरेको छ । अर्को निबन्ध छ, ‘देउरालीका सुस्केरा’, यो सम्बन्ध र समयको जोडघटाउ हो । मान्छेको जीवनमा कसरी सम्बन्ध जोडिन्छ ? समयले त्यसलाई कति फरक पार्छ ? पुराना स्मृति जोड्दै लेखाजोखा गरिएको छ ।

‘साहित्य लेख्नेहरूको कथा’ अर्को पठनीय निबन्ध हो । यसमा प्रसिद्ध लेखकहरूको केही निजी आनीबानी र लेख्ने तरिकाबारे उल्लेख गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटा, हरिभक्त कटुवालदेखि ओ हेनरी, सेक्सपियरसम्मको आनीबानी यसमा छ ।

अहिले एआईको युग सुरु भइसक्यो । एउटा ठाउँको सन्देश प्रवाह गर्न धेरै समय कुनुपर्ने बाध्यता छैन । र, अहिले सूचना एवं सन्देश आदानप्रदानका लागि अनेक विकल्प छन् । तर, केही दशकअघिसम्म पनि चिठीपत्रको प्रचलन थियो । यो प्रचलन अहिलेका नानीबाबुलाई दन्तेकथा जस्तो लाग्न सक्छ । यस्तै पुरानो स्मृतिले भरिएको निबन्ध हो, ‘चिठी लेख्दै बनेको लेखन गोरेटो ।’

सन्तान वियोगको अनुभूति सँगालिएको अर्को प्रसंग छ, ‘बेड नम्बर पाँच’ । लाउँला–खाउँला उमेरका सन्तानलाई चटक्कै गुमाउनुपर्दाको क्षण कति पीडादायी हुन्छ ? यसले पाठकलाई एक हृदयविदारक घटनाको साक्षी राख्छ ।

‘फरक दर्पणमा बी.पी. कोइराला’ शीर्षकमा बिपीको वृत्तान्त नयाँ ढंगले उठाइएको छ । धर्म, भगवान्, ईश्वर, आस्था खासमा के हुन् ? यो अन्त्यहीन बहसको विषय बनेको छ । ब्रह्माण्डको रहस्य, ईश्वरको रचना, आस्था, विश्वास, अन्धविश्वासबारे यहाँ मन्थन गरिएको छ ।

२०७२ सालको महाभूकम्प सम्भवतः अहिलको पुस्ताले झेलेको ठूलो त्रासदी र वियोग थियो । यस्ता घटना दुःखदायी त हो, तर जीवन भोगाइका दुर्लभ क्षण पनि हो । किनभने सबै पुस्ताले धर्ती नै कोक्रो जसरी हल्लिएको अनुभव गर्न पाउँदैन । यही प्रसंगलाई गौतमले विस्तारमा लेखेका छन्, ‘एक बारको जुनिमा महाभूकम्पको अनुभव ।’ त्यसो त यो एउटा दस्ताबेज पनि हो, भावी पुस्ताका लागि । आफ्ना पुर्खाहरूले त्यो त्रासदीलाई कसरी भोगे, त्यो कष्टलाई कसरी पार लगाए, कसरी आफूलाई सम्हाले ? यस्ता प्रश्नलाई यो लेखनीले सधैं सुरक्षित राख्नेछ ।

‘एक धूमिल स्मृति’ निबन्धमा चटकेको प्रसंग उल्लेख छ । अर्को निबन्ध उनको ढाका यात्रासम्बन्धी छ । खेल पत्रकारका रूपमा ढाका पुगेको बखत त्यहाँ देखेका, भोगेका कुरालाई लेखकले स्मरण गरेका छन् ।

२०७२, जेठ ३० गते करेन्ट लागेर ललितकृष्ण श्रेष्ठको निधन भयो । उनी अखिल नेपाल फुटबल संघका कार्यवाहक अध्यक्ष थिए । उनै श्रेष्ठको निधनको अप्रत्याशित खबरपछि आफ्नो मनमा कस्ता छाल आए ? गौतमले अनुभूति र स्मरण सुनाएका छन् । लक्ष्मण श्रेष्ठ, जसले नेपाली खेलकुदका लागि जीवन अर्पण गरेका थिए, उनको निधनबारे पनि अर्को छुटै प्रसंग छ । ‘असमयमा अस्ताएको एउटा खेलकुद भविष्य’ शीर्षकको निबन्धमा लक्ष्मण श्रेष्ठको व्यक्तित्वमाथि चर्चा छ ।

‘भाषा, साहित्य र साहित्यकार’ शीर्षकको निबन्धमा गौतमले साहित्यको चिरफार गरेका छन् । रोचक ढंगले लेखिएको यो एक गहन र मनन–मन्थन गर्नुपर्ने निबन्ध हो ।

अन्त्यमा उनले कोरोनाकालको कथा जोडेका छन् । कोरोना महामारीले कसरी विश्वलाई थर्कमान मात्रै बनाएन, सचेत पनि गरायो ? यस निबन्धले विस्तारमा भन्छ । मिठो र छरितो भाषाशैलीसहित उपस्थित ‘ती निला आँखा’ निबन्ध–संग्रह वास्तवमै संग्रह गर्न लायक छ ।

प्रकाशित : असार १, २०८१ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x