कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

बा, गुनकेसरी त फुलिरहेकै छ

 ०१४ सालमा राजा महेन्द्र पूर्वतिर जाँदा बा पनि सँगै जानुभएको थियो, करिब एक महिना पूर्वी पहाडी इलाकामा राजासँगै घुमफिर गर्नुभयो
विवश वस्ती

पूरै चाउरी परेको हातले आफूजस्तै वृद्धवययुक्त लौरो टेक्दै आईसीयूभित्र छिर्ने बेला बाको अनुहार पूरै हँसिलो–रसिलो देखिन्थ्यो । केही क्षणको आईसीयूको बसाइपछि बाहिर निस्किँदा भने आँसुले डब्डबाएका अनुहारबीच नियाल्यौं, हामीले । उहाँको अनुहार न हँसिलो, न त थियो रसिलो नै ।

बा, गुनकेसरी त फुलिरहेकै छ

निचोरिएको कागतीजस्तै पूरै रसविहीन देखिन्थ्यो । थरथर काँपिरहेको हात देखाउँदै भन्नुभयो, ‘राजन धेरै बाँच्दैन अब । पूरै घुर गनाएको छ ।’

२०७२ साल वैशाख ३०–३१ गते । ललितपुरस्थित अल्का अस्पतालमा उपचाररत मेरा माइला दाइ राजनको स्वास्थ्यस्थिति नियालेपछि बाले भन्नुभयो, ‘के गर्नु ! दैवको अघि कसैको केही लाग्दैन ।’

घुर गन्हाएका मानिस धेरै बाँच्दैन भन्थे पूर्वजहरू । केही सत्यता होला पनि । तर, घुर गनाए पनि राजन दाइ बाँच्नुभयो । बा भने न घुर गन्हाई, न कुनै गम्भीर विमारले सताई, २०७५ सालको घटस्थापनाको अघिल्लो बिहान सदाका निम्ति पञ्चत्वमा विलिन हुनुभयो ।

...

मैले एउटा इच्छा पालेको थिएँ– गुनकेसरीको फूल रोप्ने, घरमै, गमलामै । वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठले गुनकेसरी र काठमाडौंको संस्कृति एवं सभ्यतालाई जोडेर लेखेका रचनाहरू पढेका कारण मलाई गुनकेसरीले अधिक तानेको थियो । देखेकै थिइनँ, गुनकेसरी । काठमाडौंका रैथानेहरूलाई सोध्थें पनि, आदिकवि भानुभक्त आचार्यको चर्चित कविता ‘अलकापुरी कान्तिपुरी नगरी’ मा उल्लिखित त्यस फूललाई । कण्ठस्थै थियो,

‘चपला, अवलाहरू एक सुरमा

गुनकेसरीको फूल ली शिरमा

हिड्न्या सखी लीकन वरिपरि

अलकापुरी कान्तिपुरी नगरी’

आहा ! कसैका पनि पहिचानको सीमाभित्र त्यस वासनाहीन तर सौन्दर्य–शक्तिले भरिपूर्ण फूलबारे जानकारी पाउन सकिनँ । कसै–कसैले भन्थे, ‘यो अलि सम्भ्रान्त वर्गले आफ्नो बगैंचामा लगाउने फूल हो । पहिले–पहिले राणा र राजाहरूका बगैंचामा पाइन्थे । अचेल भने यो फूल त्यतिसाह्रो देखिँदैन ।’

आदिकविको प्रिय फूलप्रति यतिविघ्न अन्याय ! यति धेरै उपेक्षा–प्रदर्शन !

एकदिन भने मेरो घरमा गुनकेसरीको गुभोले प्रवेश पायो, लामो खडेरीपछि मनसुन भित्रिएजस्तै सुटुक्कसँग । गमलामा पनि हुर्किने र फुल्ने क्षमता बोकेको गुनकेसरीको गुभोलाई मैले सस्नेह गमलामा सारें । मलखाद हालें । हुर्किंदै गयो बिस्तारै । म उत्सुक थिएँ– कहिले फुल्ला यो ? कस्तो होला यसका रूपाकृति ? कस्ता होलान् यसका पङ्खुडीहरू ?

अफसोच ! जब मैले रोपेको गुनकेसरीको फूलमा गुभोहरू पलाउँदै थिएँ । फुल्ने अभ्यासमा निमग्न देखिन्थ्यो । त्यसै बेला मेरा बाले यो धर्तीलाई सदाका निम्ति ‘बाइबाई’ गर्नुभयो ।

...

मेरा बा धामी । मेरा बा झाँक्री । मेरा बा वैद्य । मेरा बा समाजसेवी । मेरा बा सरकारी सेवामा सक्रिय । अनेक परिचय छन् । मेरा बा किसान । मेरा बा नेता । मेरा बा हस्तशिल्पी । मेरा बा श्लोक–वाचक । अनेकादि परिचय छन् ।

जब मेरासामु बाका अनुहार झल्किन्छ सोच्दछु, ‘कुन परिचयले उहाँलाई सुशोभित तुल्याउँ ?’ धामी भनौं कि, झाँक्री भनौं कि, जडिबुटीहरूबारेका राम्रो ज्ञाता भनौं ? के भनौं, भनौं जस्तो हुन्छ । अनेक भूमिका निर्वाह गर्न सक्षम । सबैका नजरमा गडतिर भेकतिर फल्ने रातीगेडीझैं सुन्दर र आकर्षक । आँखामा हाले पनि कहिल्यै नबिझाउने स्वभावका हुनुहुन्थ्यो ।

घर वरपरका हरेक झार–पतिङ्गर, वन–जंगलका हरेक वनस्पति र बुट्यानहरूमा औषधीय गुण र तत्त्व देख्नुहुन्थ्यो बाले । सानैदेखि मैले बाको काँधमा बोकिएर विजयछाप–सिन्धुली माडीको यात्रा छिचोलें । करिब ३–४ घण्टाका । सिन्धुली गढी इलाका पुग्ने बेला बाले स्थानीय जडिबुटी चिनाउँदै भन्नुहुन्थ्यो, ‘यो पाखनभेद, यो गुर्जो, यो असुरो, यो निम, यो बर्रो । यसले यो रोग विशेक पार्छ, यसले यो रोग... ।’

कति औषधीय ज्ञान ! बोझो त उहाँ जहिल्यै टोकिरहनुहुन्थ्यो । खल्तीमै हुन्थ्यो सदैव । कसैलाई रगतमासी पर्दा हलेदो कुटेर ख्वाउनुहुन्थ्यो । कुनै बालबालिका बिमारी भए भने फुकफाक गरेको केही मिनेटपछि पूरै स्वस्थ । जोखाना पनि उत्तिकै राम्ररी हेर्नुहुन्थ्यो । खासगरी, काँसको थालमा आधा मुठीजति चामल राखेर यताउता, दायाँ–बायाँ सार्नुहुन्थ्यो । कुनै नामुद चिकित्सकले रोगको ‘डायग्नोसिस’ गरेझैं भन्नुहुन्थ्यो, ‘लागू लागेको छ । एउटा कुखुराको चल्ला भाकल उठाउनुपर्छ ।’

मूलतः बर्सात्को समयमा गाउँघरका अधिकांशलाई जन्ड पिलोले सताउँथ्यो । कोही कसैलाई पिलो आउँदा बाकै उपचार–पद्धति पछ्याइने गरिन्थ्यो । तात्कालिक समय न स्वास्थ्यचौकी, न कुनै चिकित्सकीय सुविधा । गाउँमा अरूलाई पिलो कहिलेकाहीँ मात्रै आउँथ्यो । एक महिला आफन्तको भने अति नै ‘संवेदनशील अङ्ग’ छेउछाउ पिलोले धावा बोल्थ्यो, हरेक वर्षजसो नै । न कुनै घिन, न कुनै लाज ! उपचार त उपचारै हो नि ! बाले लेकतिर फल्ने पाङ्ग्रा, हरियो दुवो र काँचो चामल पिसेर पिलो आएको भूभाग वरपर दलिदिनुहुन्थ्यो । पिलो त दुई दिनमै चट !

यस्तो औषधीय ज्ञान कसलाई थाहा ?

...

प्रायः घरमा मासु पाक्थ्यो । तर, भदौ र चैतमा भने मासु खाइ–नखाई नै हुन्थ्यो । स्थानीयहरूले कोशीपारि (सुनकोशी पारिका रामेछापलगायतका भूभाग) लाई भाकल उठाउँथे । नामै थियो– ‘कोशीपारे पूजा’ । कोशीपारेको भाकलस्वरूप उठाइएका स्थानीय प्रजातिका भाले–पोथीहरू रेटिन्थे, घर नजिकै अस्थायी देवस्थल बनाएर । कसैले एउटा साँप्रा ल्याइदिन्थे भने कसैले पकाइएका मासु । भदौ र चैत हाम्रा लागि रैथाने कुखुराका मासु खाने मौसमका रूपमा दर्ता हुन्थे ।

दसैं, साउने संक्रान्ति, माघे संक्रान्तिका बेला त घरमा डालोभरि मासु भित्रिन्थ्यो । सधैंजसो जमानी बस्नुहुन्थ्यो, बा । ‘जमानी भाग’ ले घरमा मासुको थुप्रो लाग्थ्यो । अँगेनोमाथिको भारभरि आलो मासु सुकाइन्थ्यो । हप्तौं दिनसम्म भान्सामा मासु पाक्थ्यो । यी त भइहाले । कहिले गोठ–पूजा, भालेको सत्यनास ! कहिले कुलोको मुहान–पूजा, भालेकै सत्यनास ! कहिले आइतबारे पूजा, कुखुरा र अण्डाको सत्यनास ! कहिले देवीस्थानमा पूजा, बोको स्वाहा ! कहिले वैशाखे पूर्णिमाको पूजा, पाठी निमिट्यान्न !

...

सन्तानहरूप्रतिका स्नेह त अथाह नै । एक पटक, बर्सात्को बेला गाउँबाट सिन्धुली माडीतिर झर्दा केही पर पुगेपछि जंगलभरि च्याउ उम्रिएको देख्नुभएछ बाले । सम्भवतः त्यो कालुङ्गे च्याउ थियो । बाले करिब एक झोलाजति नै च्याउ टिप्नुभएछ र त्यो च्याउ बोकेर घरतिरै फर्किनुभयो ।

घरमा च्याउ छाडेर बा फेरि सिन्धुली माडीतिर जानुभयो । तात्कालिक समय गाउँ (विजयछाप) र सिन्धुली माडीमा दोहट थियो । दुवैतिर खेतीपाती । कहिले गाउँ र कहिले माडी धाउँदै बाको युवाकालीन जीवन बिते ।

...

बा भलुवाजोर, सिम्फुल (दुवै रामेछाप), काठमाडौं, विजयछाप, बोझे (सिन्धुली) र अन्तिम समय काठमाडौं । बाले आठ दशकीय यात्रा छिचोल्दै गर्दा जीवनमा बिताएका थलोहरू हुन् यी । धेरै समय भने विजयछापमै बिते । करिब तीन दशकसम्मै । २०५६ सालतिर दुई महिना मसँगै काठमाडौंमा बस्नुभो । डिल्लीबजारस्थित भूतबंगलामा बस्थ्यौं, त्यतिखेर । एकदिन कोठामा फर्किएपछि सुनाउनुभयो, ‘नानी, पहिले हामी काठमाडौं बस्दाखेरिको घरभेटीलाई आज मैले भेटें नि ! त्यही पुतलीसडकनिर बस्दा रहेछन् । बूढा–बूढी दुवै रहेछन् ।’

२०१८–१९ सालतिर ट्राफिक सेवामा रहँदा बा–आमा पुतलीसडकमा डेरा लिएर बस्नुभएको रहेछ । तर, काठमाडौंको बसाइ आमाका निम्ति स्वस्थदायक नभएपछि गाउँ फर्किनुभएको रहेछ । त्यस समय काठमाडौंमा जनघनत्व, घरघनत्व कति नै थियो होला र ! बाले भने साढे तीन दशकपछि घरभेटीलाई पत्ता लगाउनुभो ।

बा जनसम्पर्कमा उत्तिकै अगाडि । २०६४ सालयता वनस्थलीमा रहँदादेखि नै बा हामीसँगै बस्न थाल्नुभयो । टोल–छिमेकका नचिनेका कोही भएनन् । आफ्ना समवयी वा आफूभन्दा कम उमेरका भए पनि दुवै हात जोडेर ‘नमस्ते’ रूपी अभिवादन गर्नुहुन्थ्यो । प्रतिष्ठित व्यक्तित्व होस् वा सामान्य ज्यामी नै । सबैप्रति उत्तिकै सम्मान र आदरभाव प्रकट गर्नुहुन्थ्यो, हृदयदेखि नै । आफूभित्रका घमण्डीपन, बडप्पन र रिस–रागलाई ‘इरेजर’ले मेटाइसक्नुभएको थियो सायद ।

...

बा सदैव भनिरहनुहुन्थ्यो, ‘चौध सालमा राजा महेन्द्र पूर्वतिर जाँदा म पनि सँगै गएको थिएँ ।’ बाले राजासँगै करिब एक महिना पूर्वी पहाडी इलाकामा घुमफिर गरेको प्रसंग बारम्बार सुनाइरहनु हुन्थ्यो । त्यस समय बा नेपाली सेनामा हुनुहुँदो रहेछ । पछि भने नेपाल प्रहरीको ट्राफिक सेवामा सर्नुभएछ । पछिल्लो समय उहाँ भन्नुहुन्थ्यो, ‘म कुनै समय टफीमा थिएँ ।’

भाषागत अशुद्धिका कारण हुनुपर्छ, उहाँले भन्नुभएको ‘टफी’ शब्द मैले धेरै वर्षसम्म बुझिनँ । मलाई लाग्थ्यो, ‘टफी’ भनेको कुनै सहकारी पद होला । पछिल्लो समय बुझ्दा भने ‘टफी’ भनेको ‘ट्राफिक’ पो रहेछ । त्यस्तै, २०७० सालतिर हुनुपर्छ, एकदिन बाले भन्नुभयो, ‘बाबु ! गोविन्देलाई त आइसमा राखेको रहेछ नि !’

गोविन्द काकालाई ‘आइस’ मा राख्नुको अर्थ खोज्दै जाँदा मैले अनुमान लगाएँ, ‘उहाँ बित्नुभएछ र ‘आइस’ मा राखिएको होला ! किनभने मानिस मरेपछि शव नसडोस् भनेर आइसमा राख्ने गरिन्छ ।’ म मनमनै दुखित भएँ, ‘ज्या है..., गोविन्द काका पनि बित्नु भएछ ।’ तर, बाले त ‘आईसीयू’ लाई ‘आइस’ भन्नुभएको रहेछ । त्यसपछि म ढुक्क भएँ, ‘गोविन्द काका बित्नुभएको रहेनछ ।’

...

बाको भौतिक अस्तित्व सकिएपछि चिनोस्वरूप दुइटा चिज रहे मसँग । ती हुन्– रेडियो र घडी । रेडियो र मेरा बा पर्यायवाचीजस्तै हुन् । मलाई स्मरण भएसम्म बाले रेडियोसँगको आत्मीयता कहिल्यै मेट्नु भएन । सुत्दा पनि रेडियो, उठ्दा पनि रेडियो । मेलापातमा जाँदा पनि रेडियो । दोहट गर्दा पनि काँधमै रेडियो । हरेक क्षण रेडियो । तात्कालिक समय रेडियो बजाउन लाइसेन्स लिनुपर्थ्यो । जिल्ला पञ्चायतले स्वीकृति दिएपछि मात्र घरमा रेडियो राख्ने अनुमति मिल्थ्यो । नभए गैरकानुनी । एउटा लाइसेन्स बनाउनुभएको थियो बाले । रेडियोका निम्ति सिलाइएको खोलभित्र त्यही लाइसेन्स बोकेर विजयछाप–सिन्धुली माडी ओहोरदोहोर गर्नुहुन्थ्यो ।

बाको दिनचर्याको प्रारम्भ बिहान पौने पाँच बजेदेखि नै हुन्थ्यो । पाँच बज्न पाँच मिनेटअघि रेडियो नेपालले अलिक ठूलो स्वरमा ‘स्याँ’ गर्न थालेपछि बाले रेडियोको बटम खोलिहाल्नु हुन्थ्यो । त्यसपछि बज्थ्यो– पहिलो धुन । बिहानीको भजन, समाचार, गीत, नाटक सबै सुन्नुहुन्थ्यो । तर, दिनमा दुई पटक भने रेडियोले विश्राम पाउँथ्यो । एउटा अंग्रेजी समाचार आउँदा र अर्को शास्त्रीय धुन बज्दा । सायद, अंग्रेजी भाषाप्रति आफ्नो पहुँच नहुँदा र शास्त्रीय धुन एकोहोरो रूपमा बज्दा ती दुवै प्रसारणले बालाई कहिल्यै खुसी तुल्याउन सकेन ।

२०७५ साल असोज २४ गतेको बिहानयता मकहाँ रेडियो बजेको छैन, जसको अघिल्लो दिन बाले अन्तिम पटक रेडियो खोल्नुभएको थियो, बिहान सबेरै । पाँच नबज्दै । अचेल पनि हरेक दिन बिहानको पाँच बजिरहेकै हुन्छ । तर, बाको रेडियो भने बज्दैन अचेल । दराजमाथि मूकदर्शक बनेर टोलाइरहेको अवस्थाबीच छ ।

...

बा बित्नु भो, पाँच वर्षअघि । ठ्याक्कै गुनकेसरीको गुभो पलाउने बेला । मलाई लाग्थ्यो, ‘बाले यति चाँडै हामीलाई कहाँ बाइबाई गर्नु हुन्छ होला र ! बाँच्नु होला, अझै केही वर्ष । शताब्दीसम्मै ।’

बित्नु भो तर... ।

बा बितेपछि पनि गुनकेसरीहरू फुलिरहेकै छन् । हरेक वर्षको भदौतिर गुभो पलाइरहेकै हुन्छ । जब म गुनकेसरीका फूलहरू नियाल्छु, ती फूलहरूमा म मेरा बाका प्रतिबिम्बहरू देख्छु ।

कुनै पहाडी खोलाको पानीझैं कञ्चन, निर्मल । लाग्छ, ‘मान्छेका जिन्दगी पनि यिनै फूलहरूभन्दा फरक छैनन्, नितान्त । कुनै समय मज्जाले फुल्छन्, बिस्तारै ओइलाउँदै जान्छ र अन्ततः सुकेर आफ्ना जीवनका अन्तिम पाइला गन्छन् ।’

प्रकाशित : चैत्र २४, २०८० १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×