कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

प्रकृति र जनताका कवि

२०४६ सालको परिवर्तनका पक्षमा पहिलो पंक्तिमा उभिने लेखक–कलाकारमध्येका मिश्रको योगदान सम्मानयोग्य र अविस्मरणीय
नन्दु उप्रेती

नेपाली कविता साहित्यमा प्रकृतिवादी–स्वच्छन्दतावादी लेखनदेखि प्रगतिवादी लेखनसम्म स्थापित कवि हुन्– युद्धप्रसाद मिश्र । कठोर राणा शासनको समयमा काव्य साधना प्रारम्भ गरेका उनको कर्मले पञ्चायत निरंकुशताको अन्त्यसम्म निरन्तरता पाएको थियो । सुरुवाती चरणमा हिन्दु आध्यात्मिक विचारबाट प्रभावित देखिने केही रचना सिर्जना गरे पनि मिश्रको पहिचान प्रकृतिवादी–स्वच्छन्दतावादी रचनाहरूले स्थापित गरेको देखिन्छ ।

प्रकृति र जनताका कवि

नेपाली कविता साहित्यमा प्रकृतिवादी–स्वच्छन्दतावादी धारालाई स्थापित गर्ने कविको पंक्तिमा युद्धप्रसाद मिश्रको नाम महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठको झैं चम्किलो छ । प्रकृतिवादी– स्वच्छन्दतावादी धाराका काव्यमा मुखरित हुने कल्पनाशीलता, प्रकृतिको मानवीकरण, प्रकृति प्रेम, राष्ट्रिय भावना, विद्रोही विचार कवि मिश्रका कवितामा जगमगाएका पाइन्छन् । कवितालाई पाठक वा श्रोताको सम्झनामा जीवित राख्न चाहिने लयात्मकता र गीतिमयता मिश्रका कवितामा तरेली परेर रहेका छन् । उनको यो लेखन शैलीलाई वरिष्ठ समालोचक तारानाथ शर्मा र मोहनराज शर्मालगायतले मुक्तकण्ठले प्रशंसा गरेका छन् । तारानाथ शर्माले यस सन्दर्भमा मिश्रलाई महाकवि देवकोटासँग जोडेका छन् भने मोहनराज शर्माले स्वच्छन्दतावादी कलात्मक अभिव्यञ्जनाका लागि मिश्रलाई उच्चकोटिको प्रतिभा मानेका छन् । उनका कवितामा प्रकृतिवादी–स्वच्छन्दतावादी धाराको रचना शैली यसरी प्रवाहित भएको पाइन्छ :

गिरिको गहिरो अन्तर – तट छ

जल यो छलबल छलबल चल्छ

यो छलछलमा रूखको हरियो

छाया तिरिमिरी तिरिमिरी छरियो (चरखण्डीको खोंच) ।

कवि युद्धप्रसाद मिश्रको जन्म भक्तपुरको सिरुटारस्थित सोमलिङटारमा विसं १९६४ पुस २७ गते भएको हो । उनी लक्ष्मीप्रसाद देवकोटाका र सिद्धिचरण श्रेष्ठका समकालीन थिए । श्रेष्ठका त उनी अत्यन्त घनिष्ठ मित्र पनि थिए । श्रेष्ठ र मिश्र सिर्जनाका क्रममा एउटै शीर्षक राखेर भिन्न–भिन्न कविता रचना गर्थे । मिश्रका प्रकृतिवादी–स्वच्छन्दतावादी दृष्टिकोणले आलोकित कविताहरूमा चर्खण्डीको खोज, जावीको चरा, चराको बोल, पागल १, २, धोबिनी चराको संगीत, कोकिल गान, सूर्यघाट, मेघक्रीडा, चरा, वनकालीमा आदि हुन् ।

जन्मभूमिको प्राकृतिक मनोरम दृश्य, सामाजिक परिवेशको प्रभाव उनका यस समयका कवितामा प्रकट भएका पाइन्छन् । साहित्य सिर्जनाको सुरुवातीतिरै विसं १९८६ मा उनले लेखेको ‘अहिंसा प्रार्थना’ खण्डकाव्यलाई राणाविरोधी भावनायुक्त छ भनेर राणा प्रधानमन्त्री भीमशमशेरले पाण्डुलिपि अवस्थामै च्यातेर जलाइदिएका थिए । यसपछि कवि मिश्रको कलम करिब एक दशक प्रकृतिवादी–स्वच्छन्दतावादी भावधाराका रचनाका लागि समर्पित देखिन्छ । विसं १९९७ सालको सहिद काण्डले कवि मिश्रलाई विद्रोही चेतनाको उज्यालो खोज्न प्रेरित गर्छ । उनमा निरंकुशताविरोधी भावना जागृत हुन्छ ।

विसं २००४ सालको राणाविरोधी आन्दोलनमा उनी स्वयम् सहभागी हुन्छन् । २००७ सालको परिवर्तनबाट वास्तविक प्रजातन्त्र स्थापनाको कार्य सम्पन्न भएको ठान्दैनन् मिश्र । उनी पूर्ण प्रजातन्त्रको प्राप्तिप्रति लालायित थिए । यस्तो अवस्थामा २०१७ सालको घटना उनको दृष्टिकोणमाथिको झन् ठूलो प्रहार बन्यो । जागिरे जीवनमा उतारचढाव आइरहेको थियो । कहिले बर्खास्तगी, कहिले पुनर्बहाली, कहिले नजरबन्दजस्ता विभेदपूर्ण व्यवहारले उनमा विद्रोही चेत बढ्दै जानु स्वाभाविक बन्यो । उनमा भर्खरै देशमा लागू गरिएको एकदलीय पञ्चायती व्यवस्थाप्रति विद्रोही भावना झन्झन् बढ्दै गयो ।

साहित्यिक सिर्जनात्मक क्रियाशीलतामा भने कमी आयो । स्वदेशमा बसेर यो विद्रोही भावनालाई उच्चतम बिन्दुसम्म सदुपयोग गरेर जनतालाई जागृत गर्न सकिन्न, आफ्नो जीविकोपार्जन पनि हुन्न र साहित्यप्रतिको लगनशीलतालाई पनि नियमित र सशक्त बनाउन सकिन्न भन्ने निष्कर्षका साथ मिश्र स्वनिर्वासन जीवनका लागि विसं २०१८ मा भारततर्फ लाग्छन् । भारतको बनारसको बसोबास राजनीतिक र साहित्यिक व्यक्तित्वहरूसँगको नियमित उठबसका कारण कवि मिश्रका लागि उपलब्धिमूलक बन्यो । जनता र देशको सेवामा क्रियाशील गराउने वैचारिक स्पष्टता मजबुत बन्दै गयो र साहित्यिक क्षेत्रमा पनि यसको प्रभाव स्पष्ट देखिन थाल्यो । भारत निर्वासनमा बसेर मिश्रले निरंकुशताका विरुद्ध जनचेतना जगाउने साहित्य सिर्जना गरिरहे ।

कवितामार्फत आफ्नो राष्ट्रभक्ति र जनप्रेमी वैचारिक दृष्टिकोण प्रकट गरेर मिश्रले प्रजातन्त्र, लोकतन्त्र र जनपक्षीयताका लागि साहित्यिक सर्जकहरू, राजनीतिककर्मीहरू र सर्वसाधारणमा परिवर्तनको पक्षमा उभिन जागरण, उत्साह र समर्पणको भावना जागृत गराइरहे । विसं २०१८ देखि २०४० सम्मको भारत प्रवासको जीवनमा आर्जन गरेको मिश्रको राजनीतिक परिवर्तनपक्षीय दृष्टिकोण नेपालमा विद्यमान निरंकुशताको अन्त्य र लोकतन्त्रको स्थापनाका लागि परिवर्तनका पक्षपातीहरूको आवाजको आवाज बन्यो । स्वनिर्वासन त्यागेर विसं २०४० मा स्वदेश फर्किएपछि कवि मिश्र नेपाली साहित्यिक एवं सांस्कृतिक क्षेत्रका निरंकुशताविरोधी सर्जकका अघोषित अग्रजजस्तै बने । भौतिक उपस्थिति र साहित्यिक सिर्जनामार्फतको उपस्थितिले मिश्रले लोकतन्त्रका हिमायतीहरूलाई अग्रभागमा उभिएर साथ दिइरहे । उनका विद्रोही भावका क्रान्तिकारी विचार आलोकित कविताहरूले लोकतन्त्रका पक्षमा आन्दोलनमा लागेकाहरू र गणतन्त्रको अपेक्षामा संघर्षरत सबैलाई उत्साह, जोस र निष्ठाको बाटोमा अविचलित रहन प्रेरित गरिरहन्थे ।

नेपालका राजनीतिक पार्टीहरूको आह्वानमा २०४६ फागुन ७ गतेदेखि पञ्चायती व्यवस्थाविरोधी घोषित आन्दोलन सुरु भएको थियो । राजनीतिक पार्टीका नेता, कार्यकर्ता र सर्वसाधारण जनता कहिले सडकमा त कहिले सभाहलमा आक्रोश व्यक्त गरिरहेका थिए । साहित्यकार र कलाकारहरू आफ्ना कलम, कुची र बाजागाजा एवं स्वरहरूमार्फत निरंकुशताविरोधी अभियानमा सहभागी भइरहेका थिए । पत्रकारहरू आन्दोलनका पक्षमा समाचार सम्प्रेषण गरिरहेका थिए । आन्दोलन कहिले चर्को हुँदै आगो भएर दन्कन्थ्यो भने कहिले शिथिल हुँदै धूवाँ मात्र निस्किरहेझैं देखिन्थ्यो । साहित्यकार, कलाकारहरू आन्दोलनको शिथिलता तोड्न अठोटका साथ एकताबद्ध भएर सडकमा उत्रिए । त्यो दिन थियो २०४६ चैत ३ । युद्धप्रसाद मिश्र, पारिजात, डायमन्डशमशेर राणा, मोहन कोइराला, शक्ति लम्साल, गंगाप्रसाद उप्रेती, ध्रुवचन्द्र गौतम, विष्णुविभु घिमिरे, सुरेश किरण, मल्ल के सुन्दर, स्नेह सायमी, आनन्ददेव भट्ट, रामेश, रायन, वासुदेव अधिकारी, शारदा शर्मा, शार्दूल भट्टराई, हरिगोविन्द लुइँटेल, सत्यमोहन जोशी, वासुशशी, दुर्गालाल श्रेष्ठ आदि धेरै स्रष्टा मुखमा कालोपट्टी बाँधेर सडकमा ओर्लिएका थिए । अघिल्लो पंक्तिमा रहेका ८३ वर्षीय ज्येष्ठकवि युद्धप्रसाद मिश्रलगायत अधिकांश लेखक कलाकारलाई त्रिचन्द्र कलेजबाट प्रहरीले गिरफ्तार गर्‍यो । कोही त्यहाँ पुग्न ढिला भएका कारण, कोही कार्यक्रमको स्थल परिवर्तनको जानकारी ढिला प्राप्त गरेका कारण र कोही ट्रकमा नअटेका कारण मात्र धरपकडबाट बचेका थिए । सम्पूर्ण लेखक कलाकारको अघोषित नेताका रूपमा रहेका वृद्ध मिश्रले गिरफ्तारीका समयमा हात उठाएर दिएको आवाज ‘हाम्रो आन्दोलन– जारी छ, परिवर्तन अवश्यम्भावी छ’ को भावलाई उपस्थित जनसमुदायले ताली बजाएर अनुमोदन गरेको थियो ।

मिश्रद्वारा रचित, वरिष्ठ गायक एवं संगीतकार रामेशद्वारा संगीतबद्ध यो गीतलाई आन्दोलनकारीले आफ्नो आन्दोलन गान बनाए । २०४६ सालको परिवर्तनका पक्षमा पहिलो पंक्तिमा उभिने लेखक कलाकारमध्येका मिश्रको योगदान अत्यन्तै सम्मानयोग्य र अविस्मरणीय बन्न पुग्यो । यो समयसम्म आइपुग्दा मिश्र प्रगतिशील एवं प्रगतिवादी कवि नायकका रूपमा स्थापित भइसकेका थिए । खासगरी भारत प्रवासको समय र नेपाल फर्केपछिका रचनाले उनको यो धारलाई प्रतिनिधित्व गरेका छन् ।

युद्धप्रसाद मिश्रले बालबालिकाका लागि पनि कविता लेखे । वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरले बालकोसेलीमा प्रकाशन गर्न मागेपछि मिश्रले बाल कविता लेख्ने गरेको कुरा मानन्धर बताउने गर्थे । मिश्रका बालकविता कृति मानन्धरले नै बालकोसेलीमार्फत प्रकाशित गरेका थिए ।

सुरुवाती चरणमा हिन्दुधर्म चेतनामा आधारित कविता लेखनबाट काव्य साधनामा प्रवेश गरेका युद्धप्रसाद मिश्र दोस्रो चरणमा नेपाली साहित्यमा प्रकृतिवादी–स्वच्छन्दतावादी कविता सिर्जनाका एक उच्चकोटिका सर्जक बने । तेस्रो एवं उनको काव्य साधनाको महत्त्वपूर्ण चरणमा उनी प्रगतिवादी स्रष्टाका रूपमा प्रज्वलित भए । उनका रचनाहरू प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि आवाज बने । परिवर्तनका लागि उनका रचनाहरूले शंखघोष गरे । जनजागरणका लागि उनका कविता चेतनाको ज्योति बने । उनले बालबालिकाका लागि लेखेका कविता बालचेतनामा सकारात्मक सोचको विकास गराउने र मनोरञ्जन प्रदान गर्ने किसिमका छन् । कवि युद्धप्रसाद मिश्रको लेखनको अर्को पाटो कथा लेखनी पनि हो । उनले थोरै भए पनि सुन्दर र रोचक कथा लेखेका छन् । उनका कथाहरू ‘अमरकथा’ कथासंग्रहमा संकलित छन् । मिश्रका कविता, खण्डकाव्य, बालकविता र कथा गरेर १५ वटा साहित्यिक कृति प्रकाशित छन् ।

राणा शासनकालको उत्तरार्द्धदेखि एकदलीय पञ्चायती व्यवस्थाको अन्त्यसम्म काव्य साधनारत कवि युद्धप्रसाद मिश्रको निधन २०४७ फागुन ६ गते काठमाडौंमा ८४ वर्षको उमेरमा भयो । नेपाली कविता साहित्यमा प्रकृतिवादी–स्वच्छन्दतावादी धारलाई स्थापित गर्न महत्त्वपूर्ण योगदान गर्ने र प्रजातन्त्र, लोकतन्त्र एवं गणतन्त्रको प्राप्तिका लागि प्रगतिशील एवं प्रगतिवादी कविताको छाल उठाउने कवि युद्धप्रसाद मिश्रप्रति उनको ३४ औं स्मृति दिवसका अवसरमा हार्दिक सम्मान एवं श्रद्धासुमन ।

(उप्रेती युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका महासचिव हुन् ।)


प्रकाशित : फाल्गुन ५, २०८० १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×