कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

जनस्तरमा कूटनीति विस्तार गर्दै विदेशी राजदूत

नेपालमा भारत, चीन र अमेरिकालगायत २५ भन्दा बढी मुलुकका दूतावास सरकारी तहमा मात्र नभई जनस्तरमा पनि आफ्नो सम्बन्ध विस्तार गर्न क्रियाशील देखिन्छन्, त्यसका लागि उनीहरूले सामाजिक सञ्जालहरूमार्फत ‘पब्लिक डिप्लोमेसी’ अर्थात् सार्वजनिक कूटनीतिलाई बढावा दिइरहेका छन्

काठमाडौँ — चीनका उपपरराष्ट्रमन्त्री सुन वेइदोङले गत असार ११ र १२ मा नेपालको दुईदिने भ्रमण गरे । उनी चीन–नेपाल कूटनीतिक परामर्शको १६ औं चरणको बैठकका लागि नेपाल आएका थिए । त्यस अवसरमा परराष्ट्र सचिव सेवा लम्सालसँग द्विपक्षीय कूटनीतिक परामर्श बैठक गरेका उपपरराष्ट्रमन्त्री वेइदोङले राष्ट्रपति रामचन्द्र पौडेल, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरे ।

जनस्तरमा कूटनीति विस्तार गर्दै विदेशी राजदूत

उक्त बैठक र भेटवार्ताको विषयमा नेपालस्थित चिनियाँ राजदूत छन सोङले असार १४ मा आफ्नो सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा नेपाली भाषामै विस्तृत रूपमा जानकारी दिएका थिए । नेपालमा यसरी चिनियाँ राजदूतले नेपाली भाषामै सार्वजनिक रूपमा भेटवार्ताको जानकारी दिएको त्यो पहिलो पटक हो ।

नेपालस्थित अमेरिकी दूतावासकी प्रवक्ता जेहरा नक्भीले केही महिनायता सामाजिक सञ्जाल फेसबुकमा हरेक महिना आफ्नो दूतावासले गरेको गतिविधिबारे जानकारी दिइरहेकी हुन्छिन् । अमेरिकी कूटनीतिज्ञ भए पनि नेपाली भाषा राम्रोसँग बुझ्न र बोल्न सक्ने नक्भीले चलाएको कार्यक्रम दूतावासको सामाजिक सञ्जालमार्फत आउने गर्छ । जसलाई प्रयोगकर्ताहरूले हेरेको र त्यसमा कमेन्ट गरेको देख्न सकिन्छ । अर्कोतर्फ नेपालस्थित अमेरिकी राजदूत डिन आर थम्पसनले दूतावासले गर्ने हरेक गतिविधिहरूबारे ट्वीटर (एक्स) ह्यान्डलबाट जानकारी दिइरहेका हुन्छन् ।

नेपालस्थित भारतीय राजदूत वा प्रवक्ताको भने ट्वीटर ह्यान्डल छैन । तर दूतावासले ‘इन्डिया इन नेपाल’ ह्यान्डल फेसबुक र ट्वीटर दुवैमा प्रयोग गर्छ । भारतीय दूतावासको सहयोग र पहलमा भएका विभिन्न क्रियाकलापका साथै द्विपक्षीय भेटवार्ता र सम्बन्धबारे त्यही ‘इन्डिया इन नेपाल’ बाट जानकारी दिने गरिएको छ । पछिल्लो समय उक्त ह्यान्डलमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरदेखि अन्य उच्च तहको भेटवार्ता र कुराकानी नेपाली भाषामा ट्वीट गर्न थालिएको छ । जुन कुरा अहिले आएर चिनियाँ दूतावासले पनि गर्न थालेको हो । हाल नेपालस्थित बेलायती राजदूत हुन् रब फेन । उनकै भाषामा भन्दा उनलाई ‘अलि अलि नेपाली बोल्न’ आउँछ । उनले नेपालका विभिन्न स्थानमा घुमेको दृश्य बेलायती दूतावासको ट्वीटर ह्यान्डल ‘यूके इन नेपाल’ मा देख्न सकिन्छ ।

माथि उल्लेख गरिएका नेपालस्थित चार विदेशी दूतावासले सामाजिक सञ्जालहरूमा गरेका पछिल्ला क्रियाकलाप हेर्दा के प्रस्ट हुन्छ भने उनीहरू नेपालमा सरकारी तहमा मात्र होइन, जनस्तरमा पनि आफ्नो सम्बन्ध विस्तार गर्न चाहन्छन् । उनीहरू सिधै नेपाली जनतासमक्ष पुग्नका लागि प्रयत्न गरिरहेका छन् । ती चार मात्र होइन, नेपालमा रहेका करिब २५ भन्दा बढी दूतावासले आ–आफ्ना गतिविधि जनस्तरसम्मको सम्बन्धलाई विस्तार गर्न ‘पब्लिक डिप्लोमेसी’ अर्थात् सार्वजनिक कूटनीतिलाई विस्तार गरिरहेका छन् ।

सार्वजनिक कूटनीति आफूमा निहित हुन्छ र यसले स्वदेशी तथा विदेशी सार्वजनिक क्षेत्रहरूमा दबदबा बढाउने काम गर्छ । ‘लोकतान्त्रिक मूल्य र मापदण्डले सार्वजनिक कूटनीतिमा थप खुला गतिविधि र अभ्यासहरूको माग गर्दछ । देशको प्रजातान्त्रिक वातावरणमा प्रत्यक्ष संलग्नताको माध्यमबाट धेरैभन्दा धेरै विदेशी जनता भेटिने भएकाले सार्वजनिक कूटनीतिको अभ्यास अझ व्यावहारिक छ,’ नीति अनुसन्धान प्रतिष्ठानद्वारा प्रकाशित ‘नेपालको परिपेक्ष्यमा सार्वजनिक कूटनीतिको प्रभावकारी प्रयोग’ नामक अनुसन्धान दस्ताबेजमा उल्लेख छ । पूर्वराजदूत खगनाथ अधिकारी र त्रिभुवन विश्वविद्यालयअन्तर्गत पुस्तकालय र सूचना विज्ञान केन्द्रकी सहायक प्राध्यापक लीला न्याइच्याईंले गरेको अनुसन्धानका आधारमा सन् २०२२ मा दस्ताबेज तयार पारिएको हो ।

‘सार्वजनिक कूटनीतिमा प्रयोग हुने प्रमुख उपकरणहरू सूचना, शिक्षा र संस्कृति हुन् । र, यसका लक्षित श्रोताहरू आम मानिस, पत्रकार, सरकारी अधिकारीहरू, शिक्षाविद्हरू, थिंक–ट्यांकहरू, गैरसरकारी संस्थाका कार्यकर्ताहरू, व्यवसायी नेताहरू र कला समाजलगायत विदेशी जनताहरू हुन्,’ अनुसन्धानमा थप भनिएको छ । अनुसन्धानअनुसार सार्वजनिक कूटनीतिले सामान्यतः विदेशमा सरकारको राजनीतिलाई भरपर्दो र अर्थपूर्ण तरिकाले व्याख्या र वकालत गर्ने, देश, जनता, मूल्य र संस्थाका बारेमा जानकारी प्रदान गर्नु, मानिसहरू र विचारहरूको आदानप्रदानमार्फत दिगो सम्बन्ध र आपसी समझदारी निर्माण गर्नु तथा विदेशी मनोवृत्ति र यसका नीतिहरूका लागि तिनीहरूको प्रभावहरूमा गृह देशका निर्णयकर्तालाई सल्लाह दिने गर्छ ।

पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्य विदेशी मुलुकमा आफ्नो देशको पक्षमा आम जनताको धारणा परिवर्तन गराउने विषय नै सार्वजनिक कूटनीति भएको बताउँछन् । ‘सरकारी तह, निजी क्षेत्र, थिंक ट्यांकलगायतबारे आफ्नो पक्षमा धारणा बनाउने हो । यो सबै मुलुकले गर्छन् । हामीले पनि अब सार्वजनिक कूटनीतिको डिभिजन खोल्न लागेको भन्ने सुनेको छु । हामीले सार्वजनिक कूटनीतिबारे कुरा बुझे पनि त्यहीअनुसारको प्रभावकारी रूपमा काम गरेका छैनौं,’ पूर्वराजदूतसमेत रहेका आचार्यले भने, ‘उदाहरणका लागि भारतीय मिडियामा नेपालबारे हेर्नुभयो भने कस्तो धारणा आउँछ ? नेपालबारे धारणा त राम्रो छैन नि । त्यो धारणाले नेपालको पक्षमा नीति बनाउन त दिँदैन । हाम्रो छिमेकी भए पनि चीनको वकालत गर्छन् भन्ने भाष्य भारतीय मिडियाको छ । त्यो भनेको नेपालले सार्वजनिक कूटनीतिमा हाम्रो धारणा नबनाईकन यस्तो भयो ।’

अमेरिकाले पनि नेपालमा पब्लिक डिप्लोमेसी बलियोसँग प्रयोग गरिरहेको आचार्यको बुझाइ छ । ‘एकपटक राजदूतले जनतासँग कार्यक्रम गर्न खोजेका थिए । भारतसँग पनि नेपालको संस्कृति र पुरानो सम्बन्ध छ । यो सार्वजनिक कूटनीति भियना कन्भेन्सनअनुसार गर्न पाइन्छ । तर यसको सीमितता के हुन्छ भने आन्तरिक मामिलामा हस्तक्षेप नहुने गरी द्विपक्षीय सम्बन्धलाई बलियो पार्ने वातावरण बनाउने हो । विदेशीले कडासँग गर्छन् । नेपालले भने भर्खरै सुरुआत गरेको छ,’ उनले भने ।

सार्वजनिक कूटनीति शब्द पहिलो पटक सन् १८५६ जनवरी १५ मा लन्डनको ‘टाइम्स’ पत्रिकाले प्रयोग गरेको थियो । अमेरिकी राष्ट्रपति फ्रान्कलिन पियर्सको बेलायत भ्रमणका गतिविधिको आलोचना गर्दै उक्त पत्रिकाले लेखेको थियो, ‘अमेरिकाका राजनेताहरूले सम्झनुपर्छ कि यदि उनीहरूले हामीमाथि आफ्नो प्रभाव राख्न खोज्ने हो भने उनीहरूले आफ्नै जनताका लागि पनि उदाहरण खडा गर्नुपर्छ ।’ सार्वजनिक कूटनीतिको प्रयोग सुरुमा विकसित देशहरूले अभ्यासमा ल्याएका हुन् । जुन खासगरी अमेरिकाले दोस्रो विश्वयुद्धको अन्त्यपछि सार्वजनिक कूटनीति अघि बढाएको हो । कुनै समय सार्वजनिक कूटनीतिलाई प्रोपागान्डाका रूपमा पनि प्रयोग गरिन्थ्यो । तर पछि नयाँ परिवेशमा सार्वजनिक कूटनीति भन्दै अघि बढाउन थालिएको छ । साथै, सार्वजनिक कूटनीतिलाई ‘सफ्ट पावर’ का रूपमा पनि लिइन्छ । सार्वजनिक कूटनीति र सफ्ट पावरसँगसँगै अघि बढिरहेका हुन्छन्, उनीहरू एकअर्काका परिपूरक हुन् ।

नेपालको परराष्ट्र नीति–२०७७ ले पनि सार्वजनिक कूटनीतिलाई महत्त्व दिएको छ । सार्वजनिक कूटनीतिलाई परराष्ट्र नीतिअन्तर्गत राखिएको छ । ‘सार्वजनिक कूटनीतिको माध्यमबाट मुलुकको छवि र विशिष्ट पहिचानलाई सफ्ट पावरका रूपमा प्रवर्द्धन गरी अन्तर्राष्ट्रिय जगत्को समर्थन, सहयोग र सद्भाव आर्जन गर्ने,’ नीतिमा भनिएको छ, ‘सार्वजनिक कूटनीतिका सबै पक्षहरूमा सामाजिक सञ्जाललगायत सूचना प्रविधिको अधिकतम प्रयोग गरी डिजिटल डिप्लोमेसीमार्फत अन्तर्राष्ट्रिय जगत्मा यथार्थ र तथ्यपरक सूचना तथा सन्देश प्रवाह गरी नेपालप्रति सकारात्मक धारणा प्रवर्द्धन गर्ने ।’

नेपालले सार्वजनिक कूटनीतिमा सामाजिक सञ्जाललगायत सूचना प्रविधिको अधिकतम प्रयोग गरी डिजिटल डिप्लोमेसीमार्फत अघि बढ्ने उल्लेख गरिरहेका बेला नेपालस्थित विदेशी मुलुकका दूतावासले त्यही शैली अपनाइरहेका छन् । तर नेपाल भने यसमा कमजोर देखिएको छ । नेपालमा हाल दुई दर्जनभन्दा बढी विदेशी दूतावास छन् । ती दूतावासहरूले पछिल्लो समय सामाजिक सञ्जालको सक्रिय प्रयोग गर्दै सार्वजनिक कूटनीतिलाई महत्त्व दिइरहेका छन् । नेपालका दुई छिमेकी भारत र चीन तथा अमेरिका र युरोपेली संघ र बेलायत सामाजिक सञ्जालमार्फत सार्वजनिक कूटनीतिमा बढी सक्रिय देखिन्छन् । उनीहरूले सामाजिक सञ्जालमा नेपाल, नेपाली भाषा, संस्कृति, परम्परा, खाना, वेशभूषा, विभिन्न पर्यटकीय स्थल, विभिन्न भेटवार्तालगायत विषयमा केन्द्रित भएर लगातार रूपमा पोस्ट गरिरहेका हुन्छन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक कूटनीतिमा सबैभन्दा अगाडि अमेरिकी दूतावास देखिन्छ । अमेरिकी दूतावासको ट्वीटर ह्यान्डलमा ४ लाख ४९ हजार फ्लोअर छन् भने फेसबुक पेजलाई ४ लाख ३ हजारले पछ्याएका छन् । साथै, राजदूत आफैंले पनि ट्वीटर चलाउँछन्, जसका फ्लोअर २ लाख ६३ हजार छन् । अमेरिकापछि सोसल मिडियामा सबैभन्दा बढी भारतीय दूतावासको एक्स ह्यान्डल र फेसबुकमा इन्डिया इन नेपाल छन् । जसमा एक्सतर्फ ८८ हजार ८ सय र फेसबुकमा २ लाख १७ हजार फ्लोअर छन् ।

नेपालमा यसअघिकी चिनियाँ राजदूत होउ यान्छीले एक्स ह्यान्डल खोलेकी थिइन् । अहिले राजदूत छन सोङले चलाउने उक्त ह्यान्डललाई ७३ हजार २ सयले पछ्याइरहेका छन् । साथै, चिनियाँ दूतावासको प्रवक्ताको नाममा पनि एक्स ह्यान्डल छ । अर्को सबैभन्दा बढी पछ्याइएको एक्स ह्यान्डल हो, बेलायती दूतावासको । जसका फ्लोअर ४३ हजार छन् । साथै, राजदूत रब फेनको पनि आफ्नै एक्स ह्यान्डल छ । युरोपेली संघ पनि एक्समा सक्रिय छ । यसमा १९ हजार ९ सय फ्लोअर छन् । साथै, राजदूतले आफ्नै छुट्टै एक्स चलाउँछन् ।

पूर्वराजदूत तथा प्राध्यापक विजयकान्त कर्ण बढ्दो भूराजनीतिक प्रतिस्पर्धाका कारण ठूला र अर्थतन्त्र बलियो भएका मुलुकहरूले सार्वजनिक कूटनीतिमा बढी लगानी गर्न थालेको बताउँछन् । उनी भन्छन्, ‘नेपालमा पछिल्लो पटक चीनले भ्रमण आदानप्रदान राजनीतिक दल र अन्य संघसंस्थासँग सहकार्य र सरकारी तहमा अन्य विभिन्न सहकार्य गर्दै आइरहेको छ । त्यसको मतलब चीनले नेपालमा आफ्नो सार्वजनिक कूटनीतिको दायरा फराकिलो पारेको छ । अमेरिका र भारतको ध्यान भने चीनले बढाएको सार्वजनिक कूटनीतिसामु आफ्ना क्रियाकलाप कम हुन नदिनु रहेको छ ।’ सन् २०१३ मा सी चिनफिङ चीनको राष्ट्रपति बनेपछि सार्वजनिक कूटनीतिमा बढी लगानी गर्न थालेको र त्यसको असर नेपालमा पनि परेको कर्ण बताउँछन् ।

सन् १९९८ मा सार्वजनिक कूटनीतिबारे पीएच स्टिमले भनेका थिए, ‘अहिले सार्वजनिक कूटनीतिलाई कूटनीतिको तेस्रो आयाम पनि भनिन्छ । पहिलो द्विपक्षीय कूटनीति र दोस्रो बहुपक्षीय कूटनीति हो । सार्वजनिक कूटनीति भनेको विदेशी जनतालाई बुझ्ने, जानकारी दिने र प्रभावमा पार्नु हो ।’ पछिल्ला वर्षहरूमा भने सार्वजनिक कूटनीति व्यापक, लोकप्रिय र कतिपय देशका लागि प्रभावकारी कूटनीतिक उपकरण पनि बनेको देखिन्छ । विकसित र ठूला मुलुकहरूले सार्वजनिक कूटनीतिलाई राजनीतिक उद्देश्यका लागि एक उपकरणका रूपमा प्रयोग गरे पनि नेपाल जस्ता अल्पविकसित मुलुकहरूले त्यसलाई पूर्ण रूपमा प्रयोग गर्न भने सकेका छैनन् । नेपालका हाल ३३ मुलुकमा दूतावास र तीन संयुक्त राष्ट्रसंघीय नियोग छन् । साथै, ७ महावाणिज्य दूतावास पनि छन् । तर यी नियोगहरूले सार्वजनिक कूटनीतिलाई अघि बढाउन निकै चुनौतीपूर्ण देखिन्छ । किनकि सार्वजनिक कूटनीतिलाई प्रभावकारी बनाउनका लागि आर्थिक पक्ष बलियो हुनुका साथै पर्याप्त मानव संसाधन आवश्यक छ । जुन नेपालका लागि तत्काल सम्भव देखिँदैन ।

प्रकाशित : श्रावण ५, २०८१ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×