कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

विपद्मा महिलालाई झन् आपत  

सन्जु पौडेल

लुम्बिनी — अघिल्लो शनिबार गुल्मीको रुरु गाउँपालिका–३ थोर्गा ठाँटीमा पहिरोले एक घर भत्कायो । घरमा पहिरो गएका बेला ४३ वर्षीया रुपा टमाटा आँटीबाट भूइँ तलामा झर्दै थिइन् । गर्ल्यामगुर्लुम ढलेपछि रुपा घरभित्रै पुरिइन् । आत्तिएर आफूलाई च्यापेको ढुंगो हटाउने प्रयास गरिन् ।

विपद्मा महिलालाई झन् आपत  

उनले चिच्याएको, गुहार मागेको कसैले सुनेनन् । ‘म यत्तिकै मर्छु, कसैले सुनेनन् भन्ने लाग्यो,’ उनले भनिन्, ‘वरीपरी पहिरोमात्र थियो ।’

उनले बाँच्नका लागि पहिरोभित्र संघर्ष छाडिनन् । जसोतसो एउटा ढुंगा पन्छाइन् । ढुंगा हटाएपछि बनेको प्वालबाट दाहिने हात बाहिर निकालेर चिच्च्याउन थालिन् । उनकी जेठानी दिदी र छिमेकीले हात देखे । त्यसपछि उनलाई निकाल्ने प्रयास सुरु भयो । डेढ घण्टापछि उनको उद्धार गरियो । पहिरो आएका बेला १७ वर्षीया छोरी घाँस काट्न गएकी थिइन् । १४ वर्षका छोरा तराईतिर झरेका थिए । रुपाका श्रीमान् डेढ वर्षदेखि कतारमा रोजगारी गरिरहेका छन् । ठूली छोरीको विवाह भइसक्यो । रुपाका अनुसार पुरिने बित्तिकै उनी बेहोस भइन् । केहीबेरपछि पूरै होस खुलेपछि परिवार सम्झिएर खुब रोएको उनले बताइन् । पहिरोले उनको घरका सबै सामान र चारवटा कुखुरा पुरिए ।

घर भत्किएपछि उनी अहिले छिमेकीको आश्रयमा छन् । ‘बरण्डासितको घर, भर्‍याङमुनि परेकाले बाँचेजस्तो लाग्छ,’ उनले भनिन्, ‘कोठामा परेको भए मर्ने रहेछु ।’ छातीको दाहिने भाग, कोखामा दुखाई भइरहेको उनले बताइन् । बेलाबेला झसंग हुँदा त्यहीं क्षण र घर सम्झिरहेको उनले बताइन् । ‘विपद एक्कासी आउने रहेछ,’ उनले भनिन्, ‘ज्यान लिन समय नलाग्ने रहेछ, धन्न भाग्य बलियो भएकाले बाँचे ।’

रुपन्देहीको सम्मरीमाई गाउँपालिका–५ भरौलीयाकी २३ वर्षीया हसिबुन निशा गर्भवती छिन् । सुत्केरी हुन १ महिना बाँकी छ । दानव नदी किनारमा रहेको घरमा ठूलो वर्षा हुनासाथ घरभित्रै पानी पस्छ । खोला उर्लिएर आँगनमा आउँछ । निदाएका बेला बाढी पस्यो भने कसरी ज्यान जोगाउने भन्ने पिरलो छ । जोखिममा परे कसरी बाँचुला भन्ने चिन्ता लाग्ने उनले बताइन् । ‘दुई जना साना बच्चा छन्,’ उनले भनिन्, ‘तेस्रो सन्तान कोखमा छ, पानी पर्दा रातभरि जागा बस्छु, बाढीले घरै बगाउने डरले सताउँछ ।’

हसिबुनको घरमा उनीसँगै जेठानी, सासुआमा र जेठाजु, बालबालिका पनि बस्छन् । ८ वर्ष भयो विवाह भएको । श्रीमान् विदेश गएका छन् । विवाह भएदेखि हरेक वर्ष वर्षायाममा यस्तै चिन्ताले सताउने गरेको छ । यसपटक गर्भवती भएकाले झन् आपत परेको उनले सुनाइन् । ‘ठूलो वर्षा भएका बेला चारपटक सडकतिर दौडिसकेँ,’ उनले थपिन्, ‘अझै झरीको समय बाँकी छ, मलाई एकदमै चिन्ता लागेको छ ।’

उनको परिवारलाई बाढीले तीन पटक विस्थापित गरिसक्यो । चौथोपटक त्यस्तै नियती भोग्नु नपरोस् भनेर कामना गरिरहेको उनले बताइन् । हसिबुनकी सासुआमाले बाढीले खेदेरै अहिले घर भएको ठाउँमा ल्याइपुर्‍याएको बताउँछिन् । उनका अनुसार पहिलो घर दानव पारि भभई गाउँमा थियो । त्यहाँ बाढीले घर भत्काएपछि भभईको नयाँ ठाउँमा अर्को घर बनाए । त्यहाँ पनि बाढीले बस्न दिएन । घर बगायो । त्यसपछि भरौलियामा आएर घर बनाएको ७५ वर्षीया समीउन निशाले बताइन् ।

अहिले दानवले कटान गरिरहेको छ । उनको घर छेउमै आइपुगेको छ । अहिले घर भरौलियामा छ । खेतीबारी भभईमा छ । कटान गरेर घर र केही कठ्ठामात्र बचेको उनले बताइन् । ‘मैले ४ छोरा, २ छोरी जन्माएँ, बाढीले सजिलो गरी हुर्काउन दिएन साह्रै आपत पर्‍यो,’ उनले भनिन्, ‘केटाकेटी सानै हुँदा श्रीमान्‌लाई बाढीले बगायो । मैले मजदुरी गरेर केटाकेटी हुर्काए ।’

विभिन्न समयमा आएका बाढीका कारण तीन पटक घर सार्नु परेको उनले बताइन् । ‘अब विपद परे जाने ठाउँ छैन,’ उनले भनिन्, ‘साना बालबच्चा लिएर छिमेकीको सहयोगमा नदी तरेर भागेर धेरैपटक बाँचे, श्रीमान् गुमाएँ, अहिले बुहारी, नातिनातिना जोगाउन समस्या परिरहेको छ ।’ कतिबेला ठूलो भेल आउँछ पत्तो नहुने उनको भनाइ छ । विगतदेखि भोग्दै आएको समस्याबाट छुटकारा नमिलेको उनले बताइन् । ‘नदीले जमिन नै कटान गरेपछि ड्याम बनाइदिएर जोगाउने जिम्मा कसको होला ?,’ उनले भनिन्, ‘हाम्रो लागि न सरकार न नेता न कोही ।’ उनलाई पानी देख्यो कि रिस उठ्छ । श्रीमान् गुमाएको पीडा र बालबच्चा सानै छँदा विपदका बेला भोगेको कष्टले झस्काइरहने उनले बताइन् । वर्षायाममा आफ्नो घरको अन्न बगाउने, डिँयाबाच्छा डुबाउने गरेको सम्झँदै उनले अहिले पानी आउँदा केही अन्न बोरामा राखेर सडकतिरका छिमेकीकहाँ राख्न दौडिहाल्ने गरेको उनले सुनाइन् । कान्छी बुहारी हसिबुनलाई अरुको घरमा सुत्केरी गराउनुपर्ने अवस्था आएमा साह्रै गाह्रो हुने उनको भनाइ छ । ‘आफ्नो घरजस्तो सबै कुरा सहज हुँदैन,’ उनले भनिन्, हाम्रो घर जोखिममा छ, के हुन्छ थाहा छैन, बुहारीको हेरचाह गर्न अर्की बुहारी खटिएकी छ, ख्याल गरिरहेका छौं ।’

उनीजस्तै, छिमेककी १७ वर्षीया राबीया खातुनलाई पनि पानी पर्नेबित्तिकै बेग्लै डरको अनुभूति हुन्छ । बुवाआमासँग घरदेखि पारि खोला तरेर खेतीबारीमा जानुपर्ने उनलाई बाढी आएमा कसरी जोगिने, बगाइहाल्छ कि भन्ने चिन्ता लाग्छ । ‘काम नगरी भएन, बुवाआमाले हिँड भन्नुहुन्छ,’ उनले भनिन्, ‘मलाई पनि बाढीले बगाउने डर लाग्छ, पानी ठूलो पर्दा पनि डुंगामा जाने हो, खेती गर्नुपर्छ, समस्या छ ।’ पढाई छोडेकी उनलाई घरका अभिभावकले काम अह्राएपछि गर्नुपर्छ । वर्षायाममा महिनावारी हुँदा धोएका कपडा नसुक्ने, सुकिलो लगाउन नपाउने समस्याले हैरान बनाउने उनले बताइन् । ‘मलाई मासिकीमा समस्यै समस्या हुन्छ,’ उनले भनिन्, ‘प्याड किनेर लाइरहन सकिन्न, कपडा सुक्दैनन्, कतिपटक चिसै लुगा राखछु, यसले घाउ पनि बनाउँछ ।’ आफू स्वस्थ रहनका लागि पनि वर्षा नलागे हुन्थ्यो भन्ने लाग्ने उनले बताइन् ।

विपदमा महिलालाई आइपर्न सक्ने समस्याको अनुमान स्वरुप संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (यूएनएफपीए)ले सहनेतृत्व भूमिका निर्वाह गर्दै लुम्बिनी प्रदेशमा मर्यादा किट वितरण गर्ने गरेको छ । किटमा अत्यावश्यक १८ वटा सामग्री राखिएको सामाजिक विकास मन्त्रालयकी वरिष्ठ उपसचिव शारदा बस्यालले बताइन् । उनका अनुसार महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत संरक्षण विषयगत क्षेत्र निर्धारित छ । जसले कुनै पनि विपदमा गर्भवती, सुत्केरी, एकल महिला, अपांगता भएका व्यक्ति, बालबालिका, यौनिक तथा लैंगिक अल्पसंख्यक, एचआईभी संक्रमितलगायतलाई हुने शोषण, हिंसा, भेदभावजन्य व्यवहारबाट रोकथाम गर्न र मर्यादापूर्ण जीवनयापन गर्न सहज बनाउने उनले बताइन् । उनका अनुसार पालिकास्तरमा पनि उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा संरक्षण क्लस्टर बनाउनुपर्ने भए पनि नबनेकाले विपदमा परेका महिला वा बालबालिका सुविधाबाट बन्चित भएका छन् ।

हालैमात्र यूएनएफपीए र मन्त्रालयका कर्मचारी बीचको बैठकले विपदमा परेकालाई काउन्सिलिङको आवश्यकता पर्ने भएकाले काउन्सेलरसमेत राख्नुपर्ने छलफल गरेको उनले बताइन् । यूएनएफपीए लुम्बिनी प्रदेश कार्यालय प्रमुख राम थापाले विपद्का बेला महिला र किशोरीमाथि हुनसक्ने हिंसालाई मध्यनजर गर्दै उनीहरुलाई कसरी सुरक्षित रहने, समूहमा बस्दा कस्ता कुरामा छलफल गर्ने, आफ्नो सुरक्षाका लागि कस्ता उपाय अपनाउने र समस्या आइपरेमा कुन फोन नम्बरमा सहायता माग्ने भन्ने बारे पनि चेतनामूलक कार्यक्रम गरी जानकारी गराउने गरेको बताए ।

प्रकाशित : असार ३०, २०८१ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×