कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

छोरासँगै संन्यासी भएकी सुमित्रादेवी 

इन्जिनियर छोरो अरुण ओशो संन्यासी भएकामा खुसी थिइनन् आमा । छोराले नेपालमा ओशो–केन्द्र खोलेको खबरले परिवारमा भूकम्प ल्याएको थियो । आमाबुबा चिन्तित थिए । तर, पछि अरुणकी आमा सुमित्रादेवी र बुबा केदारप्रसाद पनि ओशो संन्यासी भए । भौतिक शरीर रहुञ्जेल सुमित्रादेवी संन्यासी भइरहिन् ।
सुमित्रादेवी सिन्हा राजा त्रिभुवनले २०११ वैशाखमा गठन गरेको दोस्रो सल्लाहकार सभामा सदस्य मनोनीत भएकी थिइन्, १०६ सदस्यीय सभा २०१२ जेठमा भंग भयो, २०१५ मंसिर ३ गते सरकारले गठन गरेको सल्लाहकार सभामा उनी फेरि मनोनीत भएकी थिइन्
दीपक सापकोटा

काठमाडौँ — बाल्यकालमा रजनीशचन्द्र मोहन, प्राध्यापक भइसकेपछि आचार्य रजनीश र जीवनको उत्तरार्द्धमा ओशो आफ्ना चेलाहरूका नजरमा एक गुरु र ‘भगवान्’ हुन् । लोकप्रिय दार्शनिक ओशो (सन् १९३१–१९९०) गएको शताब्दीका विवादास्पद गुरु थिए । उनको उपस्थिति धेरैका लागि ‘खतरनाक’ थियो । जस्तो २१ पश्चिमी देशले ओशोलाई प्रवेश–निषेध गरेका थिए । भनिन्छ ‘धर्मान्ध’ हरूबाट उनीमाथि पटक–पटक भौतिक आक्रमण भए ।

छोरासँगै संन्यासी भएकी सुमित्रादेवी 

त्यसैले आलोचकका आँखामा उनी एक चतुर गुरु र अध्ययनशील प्रवर्तक थिए । तर, जोसुकैका नजरबाट, जुन चस्माबाट जसरी हेरे पनि उनी प्रख्यात सन्त र प्रभावशाली अध्यात्म–गुरु हुन्, जो प्रिय भएर अनुयायीका हृदयमा बसिरहेका छन् । जस्तो स्वामी आनन्द अरुणका आँखामा ओशो एक ‘नयाँ युगका स्वप्नद्रष्टा, मानवताका हिमायती र भगवान्’ हुन्, जसले पृथ्वीमा हाँसो, प्रेम, आनन्द र उत्सव ल्याए ।

ओशो–स्मृतियानमा यात्रा गरिरहेका स्वामी आनन्द अरुणका ओशो–सम्झनाहरू कहिल्यै निख्रिने छैनन् । आनन्द अरुण विद्यार्थी थिए, जतिबेला उनको ओशोसँग भेट भयो– जवलपुरको दुईकोठे घरमा । त्यतिबेला उनी प्रख्यात भइसकेका थिएनन् । आनन्द अरुण भन्छन्, ‘यसरी म ओशोका गुमनाम दिनहरूदेखि वैभव र प्रसिद्धिका दिनहरूसम्मको साक्षी हुँ ।’

आनन्द अरुणले ओशो मात्रै होइन थुप्रै स्वामीहरूको जीवन र गन्तव्य बोध गरेका छन् । गुरु र योगीहरूको समाजको अन्तर्यलाई बुझेका छन् । तिनको मनोदशा, जीवन, दर्शन, संस्कृति र संस्कार अध्ययन गरेका छन् । त्यसैले त उनले कुनै ठूल्ठूला धार्मिक ग्रन्थमाथि शास्त्रार्थ गरेर किताब लेखेनन् । बरु बुद्धपुरुष, गुरु र सन्तहरूका जिन्दगीमाथि लेखे । जस्तो आनन्द अरुणका किताब ‘सन्त दर्शन’, ‘सन्त गाथा’, ‘ओशो ः अचम्म जो मैले देखें’ ले सन्त र तिनका जीवनमाथि विमर्श गर्छ ।


साँझ आकाशमा कालो रङको बादल हेर्दै आनन्द अरुण ओशो–सान्निध्यका उत्सवमय ती पुराना दिन सम्झिन्छन् । सँगै उनको स्मृति–लोकमा ओहोरदोहोर गर्छ– आफ्नै आमाको चित्र । नागार्जुनको हरिया पहाडबीच थपक्कै बसेको ओशो तपोवनमा आनन्द अरुण आमा–यादमा खुब न्यास्रिन्छन्, एक अबोध बालकझैं । आमा र प्रिय गुरु ओशोसँग सदाका लागि छुट्टिएपछिका दिनहरू उनलाई शिशिरका निष्ठुर दिनझैं लाग्छन् । ‘भौतिक शरीर नभए पनि उहाँहरू हरदम मसँगै, मेरो मस्तिष्क र हृदयतलमै हुनुहुन्छ,’ आफ्नो ८१ औं जन्मदिन ‘सेलिब्रेट’ गरेपछि असारको एक साँझ स्वामी आनन्द अरुण बितिगएका आफ्नै दिनहरूतिर फर्के । उनको मस्तिष्क तरंगमा सदा विराजमान छिन्– आमा सुमित्रादेवी सिन्हा (सन् १९२६–१९८४) ।


आनन्द अरुण आमा सुमित्रादेवीका अन्तिम दिनहरू सम्झेर खुब घोरिन्छन् । इन्जिनियर छोरो अरुण ओशो संन्यासी भएकामा खुसी थिइनन् सुमित्रादेवी । छोराले नेपालमा ओशो–केन्द्र खोलेको घटनाले परिवारमा भूकम्प ल्याएको थियो । उनका बुबा–आमा चिन्तित थिए । तर, पछि अरुणकी आमा सुमित्रादेवी र बुबा केदारप्रसाद सिंह पनि ओशो संन्यासी भए । भौतिक शरीर रहुञ्जेलसम्म सुमित्रादेवी संन्यासी भइन् । जीवनको उत्तरार्द्धमा सुमित्रादेवी पटक–पटकको हृदयाघात र स्तन क्यान्सरले पीडित थिइन् । उनको क्यान्सरको शल्यक्रिया भएको थियो ।

ओशो सुमित्रादेवीसँग जीवन, जगत्, सपना र गन्तव्यबारे लामो कुरा गर्थे । र, ध्यान दिएर सुमित्रादेवीको कुरा सुन्थे, उनको स्वास्थ्यमाथि चिन्ता गर्थे । एक दिन सुमित्रादेवीले अति दुःखी भएर ओशोलाई भनिन्, ‘डाक्टरहरूले अब धेरै बाँच्दैनौ भनेका छन् ।’ त्यसपछि ओशोको प्रश्न थियो, ‘सुमित्रा ! डाक्टरलाई बिर्सिदेऊ । तिम्रो बाँच्ने इच्छा भएसम्म कोही डाक्टरले समयसीमा तोक्दैमा तिमी मर्ने छैनौ । भन न तिमी कति बाँच्न चाहन्छौं ?’ त्यो प्रश्नपछि उनी केही बोलिनन्, ओशोलाई प्रश्नवाचक आँखाले हेरिमात्र रहिन्, । शान्त वातावरणको सन्नाटा चिर्दै ओशोले फेरि सोधे, ‘सुमित्रा भन, कति वर्ष बाँच्ने मन छ ?’ चुपचाप शान्त उभिइरहेकी सुमित्रादेवीका आँखाले एकटक ओशोलाई हेरिरहेका थिए, तर मुखबाट शब्द निस्किरहेको थिएन । उत्तर कुरिरहेका ओशोले निकैबेरपछि भने, ‘सुमित्रादेवी तिमीले सुन्दर संसारलाई भोग गरिरहेकी छौ । मृत्युको चिन्ता पटक्कै नगर, तिमी त्यति नै बाँच्नेछौ, जति तिमीलाई मन छ । तिमीले देह त्यसबेला त्याग्नेछौ, जब तिमीलाई मर्ने इच्छा जागृत हुनेछ ।’

आनन्द अरुणका अनुसार, डाक्टरहरूले हृदयाघात र क्यान्सरपीडित आमा सुमित्रादेवीलाई दिएको ‘जीवनको समयसीमा’ घर्किसकेको थियो । ‘आमा केवल उहाँभित्रको इच्छाशक्तिले बाँचिरहनुभएको थियो,’ आनन्द अरुण भन्छन् । तर, निकै गलेपछि सुमित्रादेवीलाई अस्पताल भर्ना गरियो । डाक्टरहरूले ‘क्रमशः स्वास्थ्यमा सुधार हुँदै छ, डिस्चार्ज गर्छौं’ भनेका थिए । सुमित्रादेवीको अनुहारमा बेग्लै चमक आएको थियो । ‘डिस्चार्ज’ को तयारीमा लागिरहँदा छोरा आनन्द अरुणलाई सुमित्रादेवीले भनिन्, ‘हेर त मेरो यो शरीर अब कामै नलाग्ने भयो, शरीरले न ध्यान नै गर्न सक्छ । तिम्रो गुरु ओशोलाई भनेर मलाई यो शरीरबाट मुक्त गराइदेऊ । अब बाँच्न चाहन्नँ ।’ अरुण आमासँगको त्यो अन्तिम संवादको सम्झना गर्छन्, ‘आमा म आफैं आफ्नै आमाको मृत्युका लागि कसरी प्रार्थना गरौं ? त्यति निर्दयी नबनाउनुस् न !’

आमा–छोराबीच केही समय जीवन, शरीर र अध्यात्ममाथि विमर्श चल्यो । सुमित्रादेवीले हात जोडिन्, आँखा चिम्लिन र प्रार्थना गरिन्, ‘हे ईश्वर ! यो मेरो शरीरको कुनै उपयोग छैन अब । यो शरीरमा म बस्न चाहन्नँ । कृपया, मलाई लैजानुस् र नयाँ शरीर दिनुस् !’ प्रार्थनालगत्तै सुमित्रादेवीको प्राण गयो । ‘मलाई सम्झना छ, यो सबै केही क्षणमै भयो । भर्खरै मसँग अध्यात्मका कुरा गरिरहेकी आमाले कत्ति चाँडै सबैलाई छोडेर जानुभयो,’ आनन्द अरुण त्यो दिन सम्झन्छन्, ‘सायद शरीरमा नबस्ने आमाको बुझाइ र निर्णयले नै उहाँले प्राण त्याग्नुभयो । आमाको अन्तिम बिदाइका लागि पशुपतिनाथ आर्यघाटमा भेला भएका संन्यासीहरूले उत्सवका साथ उहाँको शरीरलाई आगो प्रदान गरे ।’

सयौं संन्यासी त्यस दिन घाटमा नाचे–गाए र सुमित्रादेवीलाई बिदा गरे । ‘मान्छेहरूले अचम्म मानेर त्यो दृश्य हेरिरहेका थिए । पत्रिकाले पनि यो घटनालाई महत्त्वका साथ छापेका थिए,’ आनन्द अरुणले आफ्नो किताब ‘ओशो अचम्म जो मैले देखें’ मा आमा–प्रस्थानको त्यो दिनको वर्णन गरका छन् । ओशोले भनेको ‘जीवन उत्सव हो, मृत्यु झन् महाउत्सव’ लाई आनन्द अरुणले आत्मसात् गरेका छन् । भन्छन्, ‘ओशोले आमालाई सिकाउनुभयो कसरी मृत्युलाई उत्सवमय बनाउने !’

‘मे मृत्यु सिखाता हुँ’ लेख्ने ओशोले भनेकै छन्, ‘मृत्यु एक मित्र हो । मृत्यु जीवनको परमोत्कर्ष हो । जीवन मृत्युतर्फको तीर्थयात्रा हो । जीवन र मृत्युबीच कुनै दूरी छैन...।’ आनन्द अरुणलाई त्यसैले लाग्छ, ओशोकै मार्गनिर्देशमा आफ्नी आमाले मृत्युलाई मित्र मानिन् अनि संसारकै बडो सहज, शान्त, सुन्दर र भव्य इच्छा–मृत्यु रोजिन् । भन्छन्, ‘हाँस्दाहाँस्दै त्यसरी मर्नु आध्यात्मिक व्यक्तिलाई मात्रै लेखिएको हुन्छ । मेरो मृत्यु पनि त्यस्तै सुन्दर भइदिए कति आनन्द हुन्थ्यो ।’


सुमित्रादेवी सिन्हा राजा त्रिभुवनले २०११ वैशाखमा गठन गरेको दोसो सल्लाहकार सभाको सदस्य मनोनीत भएकी थिइन् । १०६ सदस्यीय सभा २०१२ जेठमा भंग भयो । २०१५ मंसिर ३ गते सरकारले गठन गरेको सल्लाहकार सभामा सुमित्रादेवी सिन्हा फेरि मनोनीत भएकी थिइन् । ‘अलमल्याउने सल्लाहकार सभा’ लेखमा पुराना पत्रकार भैरव रिसालले लेखेका छन्, ‘सल्लाहकार सभाको ढाँचाकाँचा सबै संसद्कै जस्तो थियो । त्रिभुवन र महेन्द्रले आफ्नो राज्यकालमा बनाएको सल्लाहकार सभाले संसद्कै जस्तो अभ्यास गरे पनि त्यसलाई राजनीतिक उद्देश्य पूरा गर्ने रूपमा उपयोग गरिएको थियो ।’ त्यतिबेलै सुमित्रादेवीले सोभियत संघ भ्रमण पनि गरेकी थिइन् ।

अरुणका बुबाको बीपीसँग सत्संग थियो । ‘प्रजातन्त्र आएपछि मलाई के बनाउनुहुन्छ ?’ केदारप्रसादले ख्यालठट्टामै सोधेको प्रश्नमा बीपीले भनेका थिए, ‘तपाईंलाई गभर्नर बनाउँछु ।’ जनकपुरको लोहना गाउँमा आनन्द अरुणको घर थियो– राजनीतिज्ञ, व्यापारी, लेखकहरू भेट्ने अड्डा । प्रजातन्त्रपछि बीपीले अरुणका बुबा केदारप्रसादलाई गभर्नर होइन, बडाहाकिम बनाए । बालापनमै बुबाको पछिपछि लागेर अरुण पुगे– कपिलवस्तु, स्याङ्जा, डडेलधुरा, गोरखा, बागलुङलगायत जिल्ला । उच्च प्रशासनिक पदहरूमा बसेर काम गरेका केदारप्रसाद त्यो समय ती दुर्गम पहाडहरूमा घोडामा यात्रा गर्थे । शिक्षित थिए, मन्त्रालयहरूमा नियुक्ति पाए । उनी सधैं थिए, शक्तिशाली नेतादेखि राजा महेन्द्रसम्मको समीपमा ।

०१७ सालको ‘कु’ पछि धेरैको पद खोसिँदा पनि केदारप्रसादको बडाहाकिम पद जोगियो । त्यो ‘कु’ पछि पनि कांग्रेसकी नेतृ सुमित्रादेवीलाई पक्राउ गरिएन, बरु निगरानीमा राखियो । घरको जमघटमै आनन्द अरुणले कांग्रेस नेता कृष्णप्रसाद भट्टराईलाई देखे–भेटेका थिए, सुमित्रादेवी सल्लाहकार सभामा चुनिएकै बेला । किसुनजी थिए– भोजनको पारखी । उनलाई दहीबडा, चाट मसला असाध्यै मिठो लाग्थ्यो । सुमित्रादेवी स्वादिष्ट भोजन–पाककलामा सिद्धहस्त थिइन् । यसरी भोजन ग्रहण गर्न आनन्द अरुणको घरमा मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, सुशील कोइराला, महेन्द्रनारायण निधि, रामनारायण मिश्र, भद्रकाली मिश्र बरोबर पुगिरहन्थे । ‘मेरी आमाले मिठो खाना पकाएर नेताहरूलाई भोजन गराएकै कारण उहाँ सभामा मनोनीत हुनुभयो कि भन्ने लाग्छ,’ आनन्द अरुण भन्छन् ।


घरको पहिलो सन्तान हुन्– आनन्द अरुण ।

उनकी एक बहिनी छिन्– किरण, जो शिक्षिकाबाट अवकाश हुन् । बुबा जागिरमा, आमा राजनीतिमा भएपछि अरुण र उनकी बहिनीलाई मामाघर लगियो पढ्न । उनको बाल्यकालको अधिकांश अंश मामाघरमा बित्यो– भारतको बिहार राज्यको

मुजफ्फरपुर । त्यहाँ सुरुमै ७ कक्षा भर्ना भए उनी । त्यहीं हजुरबा–हजुरआमाको काखमै उनले बालापनका स्वर्णिम दिन बिताए ।

हजुरबा जमिनदार थिए, बन्दुक बोकेर हिँड्थे बडिगार्डसहित– राजनीतिक व्यक्ति थिए । उनी भारतको स्वतन्त्रता आन्दोलनमा पनि सहभागी थिए ।

अरुणलाई सम्झना छ, महात्मा गान्धीले एउटा खास्टो उपहार दिएका थिए हजुरबालाई, त्यो उनले जतनले राखेका थिए दराजमा पट्याएर । हजुरबा गान्धी, सुवासचन्द्र बोस र भारतीय स्वतन्त्रता सेनानीका कहानी सुनाउँथे आनन्द अरुणलाई । चार धाम पुगेर फर्केका हजुरबाले नातिलाई भनेका थिए– तिमी पनि ठूलो भएपछि चार धाम जानू, गुरुहरूसँग सत्संग गर्नु ! असाध्यै माया गर्ने मावली हजुरआमाले सुनाउने सन्त–महात्मा, देवी, देवता, भूतप्रेतका रहस्यमयी र तिलस्मी कथा–संसारमा रमाए उनी । हजुरआमा कथा यसरी सुनाउँथिन्– ‘एकादेशमा एक प्रतापी राजा थिए । उनी पराक्रमी पनि उस्तै थिए...।’

त्यो ब्ल्याक एन्ड ह्वाइट मुजफ्फरपुर, हजुरआमाले सुत्ने बेला सुनाएका कथाहरू, अन्धकार रात, हजुरआमाको आवाजको सम्झना अझै कलिलो भएर बसेको छ आनन्द अरुणको स्मृतिमा । उनलाई तिनै कथाले कल्पना–लोकमा विचरण गराउँथे । लोलाएका आँखा फेरि कथा सुन्न जागै रहन्थे । ती कथाले उनको स्वैरकल्पनामा केही दृश्य जन्मिन्थे, मर्थे । ‘मलाई बाल्यकालमा माया गर्ने हजुरबा–हजुरआमाले नै हो । बालापनमा आमाको न्यानो उति पाइनँ, मेरो हरइच्छा पूरा गराएर पढाउनुभयो हजुरबा–हजुरआमाले । त्यसबेला पढ्न नपाएको भए मेरो जिन्दगी त्यत्तिकै सडकमा हल्लिएर बित्थ्यो सायद,’ आनन्द भन्छन् ।

आनन्द अरुणका अनुसार, उनलाई बाल्यकालदेखि नै योग, ध्यान, अध्यात्ममा रुचि थियो । सानै छँदा उनी धर्मका किताब पढ्थे– विवेकानन्द, योगानन्द, महर्षी, रामकृष्ण परमहंशहरूको । गाउँतिर आएका जोगिहरूको पछिपछि हिँड्थे । उनकी आमालाई डर थियो– यो जोगी हुने भयो ।

आनन्द अरुण कस्ता थिए भने जोसुकै जोगी भेटे पनि दीक्षा लिइहाल्थे, शिष्य बनिहाल्थे । ‘अध्यात्मको खोजमा मैले धेरै साधक र गुरुलाई भेटें । भारतका नाम चलेका धेरै गुरुसँग दीक्षा लिए । तर, मेरो त्यो अध्यात्म–तिर्खा तृप्त भएन,’ उनी भन्छन् । सुमित्रादेवी चाहन्थिन्– छोरो राजनीतिमा आओस् वा डाक्टर, इन्जिनियर बनोस् । छोराले रोजेको अध्यात्मको बाटोमा उनी खुसी थिइनन् । आनन्द अरुणका अनुसार, आमा–बाको खुसीकै लागि उनले विज्ञान र इन्जिनियरिङ पढे । हुँदाछँदाको जागिर छोडेर संसार त्यागी संन्यासी भएको खबरले घरमा ठूलो तनाव भित्रिएको थियो । उनको संन्यासी वस्त्र, दाह्री गाउँलेहरूका लागि रमाइला किस्सा–कथा बनेका थिए । ‘ती दिन आमाको मुहारमा बादल छाएको थियो, उहाँको दुःखले मलाई पनि दुखाएको थियो,’ आनन्द भन्छन् ।

आनन्द अरुणको स्कुल र आईएस्सीसम्मको पढाइ मुजफ्फरपुरमै भयो । त्यसपछि उनी त्रिचन्द्र क्याम्पसमा बीएस्सी भर्ना भए । त्रिचन्द्रमा बीएस्सी नसक्दै सरकारी छात्रवृत्तिमा इन्जिनियरिङ स्नातक तह (बीई) पढ्न पटना गए । र, पटना युनिभर्सिटीमा सिभिल इन्जिनियरिङ पढ्दै गर्दा उनको भेट भयो ओशोसँग । पटनाको सिन्हा लाइब्रेरीमा थिए– दर्शनशास्त्र र ज्योतिषका किताब । आनन्द अरुण नियमित जान्थे त्यहाँ । एक दिन पुस्तकालयको सूचना पाटीमा ‘आचार्य रजनीशको प्रवचन हुने’ लेखिएको थियो । त्यसअघि नाम पनि नसुनेका उनले १९६९ मार्च २९ मा रजनीशलाई सुने । ‘त्यो सौभाग्यशाली सन्ध्या’ संस्मरणमा आनन्द अरुणले लेखेका छन्, ‘लुंगी लगाएका, सेतो च्यादरले शरीर बेरेका, लामो चम्किलो दाह्री र कपाल, सम्मोहक आँखा भएका एक तेजस्वी युवा साधु मञ्चमा उपस्थित भए । मलाई उनी कुनै ऋषि लोकबाट अवतरित चिरपरिचित देवपुरुष जस्ता लागे । र, आचार्यको मधुर स्वर गुन्जियो– मेरे प्रिय आत्मन ।’ त्यो दिनपछि आनन्द अरुणलाई लाग्यो– मैले अहिलेसम्म खोजिरहेको गुरु यिनै हुन् ।


बालापनको एउटा रहस्यमय घटनाको स्मृतिले अझै झस्काउँछ आनन्द अरुणलाई । त्यो स्मृति–कथा उनलाई उनकी आमाले सुनाएकी थिइन् । आनन्द अरुण जन्मेको छैटीमा गाउँमै कुनै पूजा आयोजना गरिएको थियो । प्रभातको कलिलो सूर्यको किरण ताप्दै खटियामा सुताइएको थियो उनलाई । उनको शिरमा गोमन सर्प आएर बस्यो । गाउँले, अभिभावकहरू डराए, हल्लाखल्ला भयो । गाउँलेहरूको राय थियो– सर्पलाई मार्नु हुँदैन । त्यसपछि सर्प त्यहाँबाट हिँड्यो । त्यो गोमन सर्प पहिले पनि आएको थियो भन्ने हल्ला थियो । उनी एक महिनाको हुँदासम्म त्यो घटना ३/४ पटक भएछ । र, आनन्दका काकाहरूले सर्प मारेछन् ।

उनका हजुरबाले बनारसबाट कुनै ज्योतिष बोलाएर सोधे, ‘बच्चाको टाउकोमा किन बार–बार सर्प आएर बस्छ ?’ ज्योतिषले भनेछन्, ‘यसको टाउकोमा सर्प आउनुको कारण कि यो ठूलो जोगी हुन्छ कि धनाढ्य अथवा चक्रवर्ती राजा जस्तो हुन्छ, तर सर्प नमार्नुपर्थ्यो, गल्ती भयो । ज–जसले मारे, उनीहरू जबसम्म जीवित रहन्छन्, तबसम्म पुर्खाको दोष आउँछ र यो बालकले हत्तपत्त जीवनको बाटो भेट्दैन ।’ उनको चिनामै लेखिदिएका थिए बनारसका ज्योतिषले– यो कुनै मठको महन्त हुन्छ । त्यो चिना पढेर हजुरबा खुसी भए, आमा असाध्यै दुःखी ।

उनी आमालाई भनिरहन्थे, ‘त्यो दिन सर्प नमारेको भए सुरुमै मेरा गुरु भेटिन्थे, सर्प मारेकाले मैले ढिलो गुरु पाएँ, सर्प मार्न सामेलहरूको देहान्तपछि मात्रै । सर्प मारेकै भएर जवानीको दिनमा मैले निकै आर्थिक विपन्नताबाट गुज्रिनुपर्‍यो ।’ आनन्द अरुणलाई लाग्छ, जो आध्यात्मिक हुँदैन ऊ सुखी र खुसी हुन सक्दैन । त्यसैले उनको विचारमा आमा जिन्दगीको मध्यान्तरसम्म सुखी र खुसी थिइनन्, उत्तरार्धमा ओशोमार्गी भएपछि मात्रै उनी खुसी भइन् र उनको जिन्दगी सुखले बित्यो ।

नेपालमा ओशोका प्रकाशन बेच्दा, प्रचार गर्दा जेल परेका छन् आनन्द अरुण । पटना, पुना र अनेक आश्रमको प्रवासमा उनले बेहद दुःख पाएका छन् । जस्तो भोकै बसेका छन्, भाँडा माझेका छन्, घडी हराएका छन् । तर, आजकल उनलाई ती दिनको माया लागेर आउँछ । भन्छन्, ‘त्यो समय नभोगेको भए अहिले यहाँसम्म कसरी आइपुग्थें !’ आमालाई हृदयाघात हुँदा आनन्द अरुण ओशोसँग संन्यास लिन माउन्ट अबुको ओशो शिविर जाँदै थिए । संन्यास लिने छोराको निर्णयले उनका बुबा खुब निराश भए । क्रोधित बुबाले सोधे, ‘तिमी किन यति क्रूर छौ ? आमालाई हृदयाघात भएको छ । यस्तो स्थितिमा संन्यासको धम्कीले मलाई किन दुःख दिन खोजेको ?’

तर, ओशोको पत्र पछ्याएर उनी संन्यास लिन चाहन्थे । पत्रमा लेखिएको थियो– असंख्य सम्भावनाहरूले तिमीलाई प्रतीक्षा गरिरहेका छन् । एकातिर ओशोप्रति मोह, अर्कोतिर आमा–बा गुमाउने डर !

अस्पतालको बेडमा अचेत लडिरहेकी आमा छोडेर जान पनि सकस भएको थियो । तनावैबीच संन्यास लिन हिँडेका उनीमाथि अनेक परिस्थिति निर्माण भए र माउन्ट अबु पुग्न सकेनन् । अस्पताल फिर्दा उनकी आमा होसमा आइसकेकी थिइन् । त्यसबेलाको सुमित्रादेवीको दिव्य मुहारको याद आउँछ आनन्द अरुणलाई । भन्छन्, ‘संसारमा आमाको मुहारको खुसीले प्रदान गर्ने अर्को दिव्य खुसी र सन्तुष्टि छैन ।’

प्रकाशित : असार ११, २०८१ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×