कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

‘शालिग्राम दूत’ रचना

बुटवलकी रचना पन्त केही वर्षयता रुरुक्षेत्र र शालिग्रामको महत्त्वबारे बुझाउन लागिरहेकी छन् । शालिग्रामलाई भगवान् विष्णुको रूप मानेर पूजा गरिने भएकाले विभिन्न कार्यक्रम गरी देशमा धार्मिक पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ । 
सन्जु पौडेल

लुम्बिनी — पाल्पा, गुल्मी र स्याङ्जाको त्रिवेणी रुरुक्षेत्र धाम (रिडी) हुँदै बग्ने कालीगण्डकी । गण्डकीको लहरसँगै बगरमा शालिग्राम खोजिरहेकी भेटिन्छन्, बुटवलकी रचना पन्त । अधिकांश समय रुरुक्षेत्र पुगेर शालिग्राम र त्यसको महत्त्वबारे सामाजिक सञ्जालमा लेखिरहन्छिन् । शालिग्रामका माध्यमबाट रुरुक्षेत्र धामको प्रचार/प्रवर्द्धनका लागि कार्यक्रम आयोजना गर्छिन् ।

‘शालिग्राम दूत’ रचना

कहिले छलफल, बहस र पैदलयात्रासम्म । गत वैशाख ७ गते शालिग्राम र रुरुक्षेत्र धामको प्रचारका लागि रूपन्देहीको बेलहियादेखि मुक्तिसम्म पैदलयात्रा सुरु गरेपछि उनको अभियानमा पर्यटन व्यवसायी, सरकारी अधिकारी, धार्मिक अभियन्ता र सरोकारवालाले हातेमालो गरेका छन् । पर्यटन व्यवसायी रचना सहरका गोष्ठी तथा सेमिनारमा पनि आफ्नो शालिग्राम अभियान र त्यसबाट पर्यटन क्षेत्रले लिन सक्ने लाभबारे खुलेर धारणा राख्छिन् ।

एक वर्षयता रुरुक्षेत्रको प्रवर्द्धनमा जोडतोडले लागेकी रचनालाई पर्यटन क्षेत्रका सरोकारवालाले ‘शालिग्राम दूत’ भन्न थालेका छन् । उनी पनि तन र मनले कालीगण्डकीमा पाइने शालिग्रामको प्रचार गरेर पर्यटक आमन्त्रित गर्न होमिएकी छन् । लुम्बिनी प्रदेशमा विविधतापूर्ण पर्यटकीय गन्तव्य छन् । बुद्ध, वन, प्रकृति र धार्मिक धाम प्रमुख हुन् । यहाँका धाममा भारतीय पर्यटक ओइरिने गरेका छन् । तर, रुरुक्षेत्रको धार्मिक महत्त्व र कालीगण्डकीका बगरमा पाइने शालिग्रामबारे प्रचारप्रसारको अभावमा त्यहाँ स्वदेशी र विदेशी पर्यटन नपुग्ने समस्याले रचनालाई पिरोलेको छ । त्यसैले ठूलो पर्यटकीय सम्भावनाको धार्मिक क्षेत्रको प्रचारका लागि उनले कम्मर कसेको बताइन् । प्रचार मात्र होइन शालिग्राम संग्रह पनि गर्न थालेकी छन् ।

‘विश्व मानचित्रमा हेर्ने हो भने आफूहरूसँग भएको सानो वस्तु पनि चिनाएर, प्रचार गरेर पर्यटक भित्र्याउन पहल गरिरहेको देख्छौं,’ उनले भनिन्, ‘हामीकहाँ यति ठूलो सम्पदा छ, यसलाई चिनाउन कन्जुस्याइँ किन ?’ शालिग्रामलाई भगवान् विष्णुको रूप मानेर पूजा गर्ने गरिएकाले आस्थाको माध्यमबाट धार्मिक कार्यक्रम गरी पर्यटक ल्याउन सकिने उनको भनाइ छ । २०७९ सालबाट कृष्णगण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान सुरु गर्दै २४ वटा एकादशीको दिन पारेर विभिन्न पूजा र शालिग्राम अनुष्ठानको कार्यक्रम गर्ने गरी अभियान थालिएको उनले बताइन् । जसअन्तर्गत पहिलो एकादशीमा घडामा शालिग्राम राखेर पुज्ने कार्य सम्पन्न भएको छ । त्यस्तै, रूपन्देहीको देवस्थल योगीकुटी र बुटवलको दुर्गा मन्दिरमा हवन सामग्री संकलन गरिएको छ । ‘उक्त संकलित सामग्रीलाई गुल्मीको सत्यवतीमा रहेको भोलेबाबा धाममा शालिग्रामको महिमा सुनाएर बुझाउने गरिएको छ,’ उनले भनिन्, ‘आगामी कार्यक्रम तुलसीको बीउबिजन संकलन गरी सेतीवेणी वरपर तुलसी उमार्ने रहेको छ । तुलसी उत्पादनबाट स्थानीय महिलालाई तुलसीको माला बनाउने सीप विकास तालिम प्रदान गरी रोजगारी दिइने उनको भनाइ छ ।

आगामी कात्तिकमा रुरुक्षेमा विशाल महायज्ञ आयोजना गर्न लागिएको छ । त्यसमा देश/विदेशका गुरुलाई बोलाएर सत्संग गरिने र सामाजिक सञ्जालमार्फत यसको विश्वव्यापी प्रचार गर्ने कार्यक्रम तय भएको उनले जानकारी दिइन् । साथै आगामी चैतसम्म रुरुक्षेत्र वरिपरिका पवित्र धामको सूची बनाएर पर्यटकलाई ती स्थलमा परिक्रमा गराउने तालिकासमेत तयार पारेको पन्तले बताइन् । २०६५ सालदेखि संघसंस्थामा सक्रिय रहेकी पन्तलाई मञ्चको अघिल्लो भाग, त्यसमा पनि मर्यादा क्रम तलमाथि नभईकन आसन ग्रहण गर्नुपर्ने आशा थियो । उनी त्यसरी नै दिनचर्या बिताउँदै थिइन् । प्रदेशभरिका पर्यटन व्यवसाय गरिरहेका व्यवसायीको नेता भइसकेकाले उनलाई पर्यटक ल्याउन सक्ने उपायबारे सोच्न, बुझ्न र अपनाउनुपर्ने चुनौतीले घेरेको थियो । सोही बेला भारतको अयोध्या यात्रामा गइन् । त्यहाँ मानिसको भीडमा पाइला राख्ने ठाउँ नभएको देखिन् । अयोध्यामा नेपालकै शालिग्राम लगिएको थियो । त्यहाँ मानिस ओइरिएको देखेपछि आफ्नै देशको सम्पदा, सम्पत्ति बनाउन पछि पर्नु हुँदैन भन्ने सोच उनमा पलायो । त्यसपछि फर्केर रुरु प्रवर्द्धनको कार्यलाई पर्यटन विकाससित जोडेको उनले बताइन् ।

शालिग्रामबारे अध्ययन नगरीकन पर्यटन विकास यसले हुन्छ भनेर लाग्नु बेतुक हुन्छ भन्ने लागेपछि उनले शालिग्राममै विद्यावारिधि गरेका कुलराज चालिसेसँग यसबारे बुझिन् । त्यस्तै आरसी बरालले उनलाई पौराणिक र सामाजिक सहिष्णुताको महत्त्वबारे बताए । यो सिकाइले आफूलाई शालिग्रामबारे बुझ्न, अरूलाई बुझाउन र पर्यटन विकास गर्न उत्तम उपाय यही हो भन्ने प्रस्ट हुन सघायो । रचना झनै साहसी भइन् । उनले आफ्नो संस्थामा शालिग्राम र २४ वटा एकादशीका लागि तय भएको कार्यक्रम प्रस्ताव गरिन् । जसमा उनको संस्थाले अभियान ठीक छ भन्ने निष्कर्ष निकाल्यो र पन्त त्यसतर्फ अघि बढेकी हुन् । रचनाले आफ्नो टुर्स एण्ड ट्राभल्सको नामसमेत दर्शन शालिग्राम ट्राभल एजेन्सी राखेकी छन् ।

धार्मिक परिवारमै हुर्किएकाले उनीमा आस्था छ । ‘पर्यटन विकासको हेतुले शालिग्राम क्षेत्र खोज्ने प्रयास गरें, अहिले शालिग्राममा देवता, जीवित प्राणी, पञ्चतत्त्वको आकार पाइरहेकाले निजी जीवनमै परिवर्तन पाएकी छु,’ उनले भनिन् । गुल्मी जिल्लाको छत्रकोट–५ मा आध्यात्मिक परिवारमा जन्मिएकी उनले पूजापाठ गर्ने, व्रत बस्ने कुरा सानैदेखि सिकेकी थिइन् । ठूली भएपछि भने उनी व्यावसायिक बन्ने होडमा अघि बढिन् । किराना पसल, स्टेसनरी लगायतका व्यवसायमा आबद्ध भइन् ।

श्रीमान् शिक्षण पेसामा आबद्ध भए पनि रचनाको मन भने व्यवसायतर्फ नै थियो । आठ वर्षअघि टुर्स एण्ड ट्राभल्समा लागिन् । कोभिडका कारण केही व्यवसाय सुस्तायो । त्यहीबेला रोयल नर्सरी सञ्चालनमा ल्याइन् । रचना हाल नाटा लुम्बिनकी अध्यक्षसमेत हुन् । भारतबाट धार्मिक पर्यटक भित्र्याउन रचना नाटामार्फत शालिग्राम र रुरु क्षेत्रको प्रचारप्रसारका लागि जुटिरहेकी छन् । त्यसका लागि कात्तिकमा हुने महायज्ञमा कम्तीमा १५ हजार विदेशी पर्यटक ल्याउने उनको लक्ष्य छ ।

प्रकाशित : जेष्ठ १२, २०८१ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×