७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१
मेड इन नेपाल

चाउचाउ चिनाउने 'रारा'

दक्षिण एसियाकै पहिलो तयारी चाउचाउ बन्यो रारा । भारतको ‘म्यागी’ ६ महिनापछि मात्र आयो । गण्डकी नुडल्सले नै ‘फेवा’ र ‘रूपा’ चाउचाउ पनि ल्यायो तर चाउचाउको स्वादमा बानी नपरेकालाई बेच्ने कसरी ? निकै सकस पर्‍यो, कम्पनीलाई ।
दीपक परियार

पोखरा — जहाँ पुग्दैन अन्न, त्यहाँ पुग्छ चाउचाउ । अरू बेला पनि यत्रतत्र सर्वत्र पाइने चाउचाउ विपद्का बेला राहतस्वरूप पुग्ने पहिलो खान्की बनेको छ । हिमालदेखि तराईसम्म, धनीको भान्सादेखि गरिबको झुपडीसम्म पाइने चाउचाउ नेपालमा चिनाएको भने ‘रारा’ ले हो । गण्डकी नुडल्सको सिन्के छाउछाउदेखि रारा चाउचाउसम्मको यात्रा कम्ता उतारचढावपूर्ण छैन । 

चाउचाउ चिनाउने 'रारा'

बेलायती सेनाबाट अवकाशप्राप्त फणीन्द्रमान श्रेष्ठ ३० को दशकमा लमजुङको पुरानकोटबाट पोखरा बसाइँ सरे । महेन्द्रपुलमा ग्रोसरी स्टोर खोले । उनी आफ्नो ग्रोसरीमा सिलिगुढीबाट आउने सिन्के छाउछाउ बेच्थे । त्यतिबेला सिक्किम, दार्जिलिङ, धरानतिर चाउमिन बनाएर खाइने चिनियाँ ‘मियान’ लाई छाउछाउ भनिन्थ्यो । उनको ग्रोसरीको आडैमा थियो– पोखराकै निर्मलपोखरीका कृष्ण आचार्यको होटल मन्दार । झन्डै ९ वर्ष पोखरा–काठमाडौं चल्ने बस सञ्चालन गरेका उनले त्यसपछि होटल व्यवसायमा लगानी गरेका थिए ।

२०३४ सालतिर नेसनल ट्रेडिङले चीनबाट आयात गरेको सिन्के ‘छाउछाउ’ बनाउने मेसिन बिक्रीको विज्ञापन गोरखापत्रमा प्रकाशित गरेको थियो । मेसिनरी सामान आयात गरी बिक्री गर्ने सरकारी स्वामित्वको उक्त कम्पनीले ५ वटा मेसिन ल्याए पनि बिक्री नहुँदा विज्ञापन नै गर्नुपरेको थियो । फणीन्द्रमान र कृष्णले १२ हजार रुपैयाँमा मेसिन खरिद गरे तर उद्योग सञ्चालनको अनुमति पाएनन् ।

औद्योगिक सेवा केन्द्रले सिन्के छाउछाउको बजार नरहेको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरेको थियो । प्रतिवेदनमा दैनिक ५० प्लेट चाउमिन पनि बिक्न गाह्रो रहेको उल्लेख थियो । आचार्यले केन्द्रका तत्कालीन महानिर्देशक अजितनारायणसिंह थापालाई उद्योग सञ्चालनको अनुमति दिन अनुरोध गरे । उनले काठमाडौंको न्युरोडमा रहेको त्यतिबेलाको चल्तीको इन्दिरा रेस्टुरेन्टमा केन्द्रका कर्मचारी लिएर निरीक्षणमा गए । एउटा रेस्टुरेन्टमा एकै दिन २० प्लेट चाउमिन बिकेको देखेपछि केन्द्रबाट अनुमति पाउने भए तर पोखरामा होइन काठमाडौंमा । राजा वीरेन्द्र पोखरा आएका बेला समस्या सुनाएपछि २०३५ सालमा पोखरामै उद्योग सञ्चालनका लागि अनुमति दिए ।

पोखराको सिमलचौरमा सानो छाप्रो बनाएर फणीन्द्रमानले गण्डकी नुडल्स इन्डस्ट्रिज खोले । प्रबन्ध निर्देशक कृष्ण आचार्य भए । कम्पनी घाटामा गयो । झन्डै ८–९ हजार रुपैयाँ घाटामा गइसकेको थियो । त्यतिबेला हङकङबाट लाहुरेहरूले तयारी चाउचाउ ल्याउँथे । फणीन्द्र आफैं सिंगापुरमा हुँदा तयारी नुडल्सको स्वादसँग परिचित थिए । कृष्णले पनि हङकङ पुग्दा तयारी नुडल्स चाखेका थिए । ‘त्यो नुडल्स टेस्ट गरेपछि यस्तो बनाउन सक्यौं भने अगाडि बढ्न सकिन्छ भन्ने लागेर हामीहरूले तयारी नुडल्स बनाउने सोच बनायौं,’ कृष्णले ती पुराना दिनहरू सम्झिए ।

तयारी नुडल्स बनाउने सोच आयो तर लगानी जुटाउन मुस्किल भयो । त्यतिबेला निर्माण व्यवसायमा संलग्न सूर्यबहादुर केसीसमक्ष नुडल्स उद्योगमा लगानीको प्रस्ताव लिएर पुगे । उनीहरूसँगै पोखराका अर्का व्यवसायी सुशील गोशली पनि मिसिए । ‘हामीले सुरु गर्ने बेलामा १ डलरको भाउ ९ रुपैयाँ जति थियो । हामीले कुराकानी गर्दा गर्दै डलरको भाउ १२ रुपैयाँ पुग्यो । १२ रुपैयाँ पुगेपछि हामी ३–४ जनाले मात्रै लगानी गर्न सक्दैनौं, अरू पनि खोज्नुपर्छ भन्ने भयो,’ आचार्यले भने, ‘त्यसपछि अरू पार्टनरहरू पनि खोज्यौं ।’ बेलायती सेनाबाट अवकाशप्राप्त पूर्णबहादुर गुरुङ निस्किए । जगतमोहन गौचन, चन्द्रमोहन गौचन पनि थपिए । लगानीकर्ता ५६ जना पुगे । सुशील गोशली भने पछि छुट्टिए ।

चाउचाउ पकाउन जति सजिलो हुन्छ, त्यति सजिलो भएन चाउचाउ उद्योग खोल्न । पोखरा औद्योगिक क्षेत्रभित्र उद्योग खोल्न जग्गा तयार थियो । ३५ लाख रुपैयाँ बराबरको मेसिन जापानबाट झिकाउनुपर्ने भयो । त्यतिबेला विदेशी मुद्रा नियन्त्रणमा थियो, सजिलै साट्न पाइँदैनथ्यो । कम्पनीले ३५ लाख रुपैयाँ बराबरको अमेरिकी डलर ऋण सहयोगका लागि उद्योग विभागसँग अनुमति माग्यो ।

धेरै लामो समयसम्म पनि कम्पनीको फाइल अगाडि बढेन । त्यसपछि विभागका महानिर्देशक जीवनलाल सत्यालसँग भेटेर आचार्यले ‘हाम्रो फाइल के भयो ?’ भनेर सोधे । सत्याल ‘तपाईंले के काम गर्न लागेको यस्तो ? सुरुमै यस्तो धन्दामा लाग्नुहुन्छ ?’ भनेर उल्टै रिसाए । आचार्यले ‘के भयो र हजुर ?’ भने । सत्यालले ‘जाबो सियो उद्योग बनाउनका लागि ३५ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा माग्ने ? के गरेको यो ?’ भनेर झोक्किए ।

भएको के रहेछ भने उद्योग विभागको पत्रमा ‘नुडल्स’ हुनुपर्नेमा ‘निडल्स’ उल्लेख भएछ । सानो सियो उद्योगका लागि ठूलो धनराशिको विदेशी मुद्रा माग गर्ने र अपचलन गर्ने आशंकामा विशेष प्रहरीले उद्योग विभागबाट कम्पनीको सबै फाइल अनुसन्धानका लागि लगेको रहेछ । ‘हाम्रो त सियो उद्योग होइन, नुडल्स उद्योग हो भनेर बुझाउनुपर्‍यो,’ आचार्यले सम्झिए, ‘एउटा चाउचाउको प्याकेट देखाएर नुडल्स भनेको यो हो भन्नुपर्‍यो ।’ चाउचाउका बारेमा व्याख्या गरेपछि उद्योग विभागबाट सहजीकरण भएको उनले सुनाए । अन्ततः ४–५ वर्षको रस्साकसीपछि नेपाल औद्योगिक विकास निगमले ३५ लाख रुपैयाँ ऋण पत्यायो ।

जापानबाट ३५ लाख रुपैयाँमा मेसिन आयो । यहाँ १ लाख ५० हजार, ५० हजार, २५ हजार र १० हजार रुपैयाँसम्म सेयरबापत संकलन गर्दा १५ लाख रुपैयाँ पुग्यो । ५० लाख रुपैयाँको लागतमा गण्डकी नुडल्स प्रालि स्थापना भएर २०३९ माघ २३ बाट रारा चाउचाउको उत्पादन सुरु भयो ।

छाउछाउबाट चाउचाउ

गण्डकी नुडल्स प्रालिको अध्यक्ष फणीन्द्रमान थिए, उनले उद्योग हेर्थे । आचार्य प्रबन्ध निर्देशक भएर काठमाडौं बसे । सूर्यबहादुर केसी वित्त निर्देशकका रूपमा रहे । नेपालभित्रका विभिन्न तालतलैया, हिमालको नामबाट चाउचाउको नाम जुराउने क्रममा उच्चारणमा सजिलो हुने र जिब्रोमा झुन्डिने ठानेर सबै लगानीकर्ताको सल्लाहमा ‘रारा’ नामकरण गरेको आचार्यलाई सम्झना छ । ‘नेपाली जिब्रोले छाउछाउभन्दा चाउचाउ उच्चारण गर्न सजिलो हुने देखेर यो उत्पादनको नाम नै रारा चाउचाउ भनेर लेखियो,’ आचार्यले भने ।

जापानको ओताके नुडल्स मेसिन म्यानुफ्याक्चरिङ कम्पनीले तीन–चारथरी स्वादका चाउचाउ उत्पादनको रेसिपी गण्डकी नुडल्सलाई पठाएको थियो । त्यसमध्ये सेतो रंगको कम चोपिलो स्वादको रारा उत्पादन कम्पनीले थाल्यो । त्यतिबेला प्रतिप्याकेट ३ रुपैयाँ ५० पैसा तोकिएको थियो । सुरुआती समयमा उद्योगले वर्षभरिमा ८३ हजार प्याकेट चाउचाउ उत्पादन गर्थ्यो ।

पोखराबाट रारा उत्पादन हुँदा भारतको ‘म्यागी’ आइसकेकै थिएन । दक्षिण एसियाकै पहिलो तयारी चाउचाउ उद्योग गण्डकी नुडल्स भयो । म्यागी ६ महिनापछि आयो । रारासँगै ‘फेवा’ र ‘रूपा’ नामका अरू चाउचाउ पनि त्यही कम्पनीले उत्पादन गर्‍यो । चाउचाउ उत्पादन भयो तर बेच्ने कसरी ? नेपालको बजारमा बानी नपरिसकेको चाउचाउ बेच्न कम्पनीलाई निकै सकस भयो । घाटामै जाने निश्चित भइसकेको अवस्थामा एउटा उपाय फुर्‍यो– चोकचोकमा चाउचाउ पकाएर सित्तैमा खुवाउने । धेरैले रुचाए पनि । त्यसपछि विभिन्न उपहार योजना ल्याइयो ।

‘हामीलाई चाउचाउ कसरी खाने भनेर सिकाउन पनि समस्या भयो । त्यसपछि हामीले ठाउँठाउँमा चाउचाउ पकाएर खुवाउने, मेला लाग्दा पकाएर खुवाउने गर्‍यौं । काठमाडौंमा थापाथलीस्थित राष्ट्र बैंकअगाडि ‘नुडल्स पार्लर’ भनेर पसल खोलेर पकाएर खुवाउन नै थाल्यौं,’ आचार्यले सुनाए । उनका अनुसार जागिर नपाएको ‘ग्य्राजुयट’हरूको एउटा समूह थियो । १०–१२ जनाको समूहलाई कम्पनीले ‘मोटिभेट’ गर्‍यो । ५० प्रतिशत भाडा बेहोर्‍यो । चाउचाउ सस्तोमा दियो । उनीहरूले चलाए । त्यहाँ एउटा सेन्टरजस्तो बन्यो । स्नातक पास गरेका तर बेरोजगार भएकाले चलाएको भनेर पनि प्रचार भयो । ‘त्यो बेलामा पढेको भन्नेबित्तिकै ठूलै मान्छे भन्ने थियो । पढेकाले पसल खोल्ने भन्ने कुरा थिएन,’ उनले भने, ‘त्यसले गर्दा काठमाडौंको एउटा सेन्टर पोइन्टजस्तो भयो कुनै बेला त्यो पसल । त्यसरी हामीले चाउचाउको प्रवर्द्धन गर्‍यौं ।’

भारतको म्यागी चाउचाउले रारालाई धराशायी नै बनाउने हिसाबले आक्रामक मार्केटिङ गर्‍यो । सामान बेचेर पैसा देऊ भन्ने, उधारो दिने, पसल सजाउने विभिन्न सामान दिनेजस्ता काम गर्‍यो । तर, नेपाली ग्राहकले म्यागीभन्दा रारा चाउचाउलाई नै मन पराए । त्यतिबेला पार्टीहरू प्रतिबन्धित थिए । पार्टीका नेता, कार्यकर्ताले पनि स्वदेशी उत्पादनलाई सहयोग गरे । स्वदेशी उत्पादनलाई धराशायी बनाउन सरकारले विदेशी उत्पादनलाई प्रोत्साहन दिएको भनेर उनीहरूले विरोध गरे । म्यागीले आफ्नो खर्च गरेर मार्केटिङ गरेको थियो तर भूमिगत भएका पार्टीका नेताले राष्ट्रियतासँग जोडेर रारा चाउचाउको प्रमोसन गर्न सघाए ।

रारासँग प्रतिस्पर्धामा आउन नसक्ने भएपछि म्यागीले ‘जोइन्ट भेन्चर’ मै काम गर्ने प्रस्ताव गर्‍यो । कम्पनीमा छलफल पनि भयो । तर, उसले रारा ब्रान्डलाई निरन्तरता नदिने प्रस्ताव गरेको थियो, त्यो प्रस्ताव गण्डकी नुडल्सले मानेन । रारा आएको दुई वर्षपछि एसियन थाई फुड्सको वाईवाई आयो । वाईवाईसँग पनि ‘जोइन्ट भेन्चर’मा जाने सम्बन्धमा प्रारम्भिक चरणमा छलफल भएको थियो । पछि विनोद चौधरीले वाईवाई सम्हाले ।

काठमाडौं र पोखरापछि पूर्वको धरानमा पनि बढी चाउचाउ खाने चलन थियो । बिस्तारै देशैभर चाउचाउ फैलिँदो थियो । चाउचाउको बिक्री बढाउने उपायको खोजी भयो । फिल्म हलमा चलाउने गरी भिडियो विज्ञापन बनाउने सल्लाह भयो । नेपालमा विज्ञापन बनाउने एजेन्सी नपाएपछि कलकत्ता पुगेको र त्यहाँ पनि भनेजस्तो नभएपछि मुम्बई गएको आचार्यले सुनाए । नेपाली चलचित्र माइतीघर सुटिङ गरिएको स्टुडियोमा भिडियोसहितको विज्ञापन तयार भयो : ‘आर ए आर ए रारा, मीठो भन्छन् सारा ।’

२०४२ देखि रेडियोबाट जब विज्ञापन बज्यो, दुवै चिज मानिसको जिब्रोमा बस्यो– चाउचाउको स्वाद र विज्ञापनका हरफ । त्यतिबेलाको राजकीय प्रज्ञा प्रतिष्ठानले बृहत् शब्दकोश तयार पार्दै थियो । पछि रारा चाउचाउ राखेर विज्ञापन बज्न सुरु गरेपछि ‘चाउचाउ भन्ने शब्दको प्रयोग कसरी गर्नुभएको हो ? त्यो शब्दका बारेमा जानकारी दिई सहयोग गर्नुहोला’ भनेर प्रतिष्ठानले पत्र पठाएको थियो । त्यसपछि नै नेपाली बृहत् शब्दकोशमा चाउचाउ शब्द स्थापित भएको र २०३९ अघिका शब्दकोशमा कतै उल्लेख नभएको आचार्यको दाबी छ ।

काठमाडौंको भृकुटीमण्डपमा औद्योगिक मेलामा रारा चाउचाउको स्टल थियो । उक्त स्टलमा राजा वीरेन्द्र पुगे । उनले समस्या के छ भनेर सोध्दा आचार्यले सरकारले अन्तःशुल्क लगाइदिएको गुनासो पोखे । उक्त भेटपछि चाउचाउमा लाग्ने अन्तःशुल्कमा ५० प्रतिशत छुट भयो । पछि पोखरा आएर राजा वीरेन्द्रले गण्डकी नुडल्स प्रालिको उद्योगसमेत अवलोकन गरे । चाउचाउको उत्पादनले नेपालीको खाने बानीमै परिवर्तन गरेको आचार्य सुनाउँछन् । रारा आएपछि नै चामलका परिकार बढी खाने बानीमा थोरै परिवर्तन गरी गहुँको परिकार खाने चलन बसालेको उनको अनुभव छ ।

केसी ग्रुपले धानिरहेको विरासत

२०४५ मै संस्थापकमध्येका फणीन्द्रमान श्रेष्ठ उद्योगबाट छुट्टिए । उनले साबुन उद्योग, ग्यास उद्योग लगायत अन्यत्र लगानी गरे । केही समय अर्को ब्रान्ड फेमी चाउचाउको उत्पादन सुरु गरे पनि धेरै समय टिकेन । राजावादी विचारधाराका सूर्यबहादुर केसी र वामपन्थी विचारधाराका कृष्ण आचार्य सहमतिमै छुट्टिए । २०५१ देखि निष्क्रिय रहेका आचार्य २०५७ मा औपचारिक रूपमा उद्योगबाट बिदा लिए । केसीले क्षमता बढाएर एभरेस्ट नुडल्स प्रालि हुँदै हाल हिमश्री फुड्स प्रालिका नामबाट उद्योगलाई निरन्तरता दिए । यद्यपि, संस्थापकमध्येका फणीन्द्रमान श्रेष्ठको दुई वर्षअघि र केसीको तीन वर्षअघि निधन भइसकेको छ । राप्रपाबाट पोखराको प्रधानपञ्च भएका केसी कांग्रेसबाट समानुपातिक सांसदसमेत भएका थिए ।

हाल हिमश्री फुड्स सूर्यबहादुरका छोरा प्रकाश केसीले सम्हालेका छन् । स्थापनाकालका ६ जना सेयर सदस्य अझै छन् । चाउचाउको मूल्य २० रुपैयाँ प्रतिप्याकेट पुगेको छ । वार्षिक १४ लाख कार्टुन चाउचाउ उत्पादन हुन्छ । पहिलाजस्तो चाउचाउको व्यापार अहिले नभए पनि ब्रान्डलाई बचाएर राख्न पाएकामा उनी खुसी छन् । ‘अहिले चाउचाउका उपभोक्ता नै स्वदेशमा छैनन् । त्यसैको मार बिक्रीमा पनि परेको छ,’ उनी भन्छन्, ‘देशभित्रै उद्यम गरेर युवा बस्ने वातावरण सरकारले बनाइदिने हो भने सबै उद्योगधन्दा फस्टाउँछन् ।’

प्रकाशित : माघ २८, २०८० १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महासमिति बैठकमा नागरिकका मुद्दा छाडी सत्ताबारे मात्रै बहस गर्ने कांग्रेसी नेताबारे तपाईंको के टिप्पणी छ ?