कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

‘बाबै ! गीत त गाउँमै छ’

आमा मीनाकुमारी पौरखी थिइन् । भयंकर अभावमा पनि छोराहरूलाई जसोतसो सुखमै हुर्काइन् । सचेत थिइन्, छोराहरूले खुब पढून् । अझै गाउँछिन्– परदेशसम्बन्धी र ‘सुन फल्छ नि साइँलो दाइ’ जस्ता विरह गीत । बरोबर भन्छिन् सपुतलाई, ‘बाबै, गीत त गाउँमै छ ।’

काठमाडौँ — जाँदाखेरि आकाशैमा, आउँदा बाकसैमा...
परदेशीको हुँदैन भर, हे बरै फर्किने आस मात्रै
के रैछ र जिन्दगी भन्नु, हे बरै एक मुट्ठी सास मात्रै

‘बाबै ! गीत त गाउँमै छ’

गायक प्रकाश सपुतको शब्द, संगीत र निर्देशनमा बनेको गीत ‘बोलमाया’ का यी लाइनमा भयानक बेचैनी र नीलो समुद्रजत्तिकै गहिरो उदासी झल्कन्छ । दुःखहरूले घेरिएको दुनियाँ र आँसुका धाराले गीतकार विस्मित छन् र संगीतको सुरतालमै प्रश्न गरिरहेका छन्– आखिर के रैछ र जिन्दगी भन्नु ?

नेपाली समाजको पिँध–यथार्थमाथि गम्भीर विमर्शमा सामेल यी गीतकारको मस्तिष्कभित्रको दिक्दारीमा भेटिन्छ– यो साम्राज्यमाथिको डरमर्दो आक्रोश र युवाहरूको प्रतिनिधि क्रोध । त्यसो त उनी क्रोध र आक्रोशका गायक होइनन्, करुणा र प्रेमका गायक हुन् । करुणा र आशा उनको ब्रान्ड हो । आउनुस्, यी ब्रान्डेड गायकका जीवनका उकाली–ओरालीमा उनीसँगै यात्रा–थालनी गरौं । र, त्यो यात्रा–कथाबाट उनकी आमा मीनाकुमारी विक (५५) को जीवनतिर चियाइ हेरौं, जहाँ देखिन्छ उभिइरहेको विभेदको भव्य पर्खाल र पर्खालमुनि एउटा छाया– उनकी आमाको ।

•••

गीत र गायकको लामो लस्कर छ । त्यो लस्करमा चित्ताकर्षक र भिन्न उभिन्छन् सपुतका गीत । अरूभन्दा कोमल, समाजप्रति उत्तरदायी, भावुक र प्रेमिल पनि । यिनको गीत मेनुमा छन्, पक्ष–विपक्षमा धेरै विमर्श गरिएका, असाध्यै रुचाइएका ‘हिट’ नम्बर– ‘गलबन्दी’, ‘पीर’, ‘दमाइ महाराज’...। यी ‘कमलो’ गायक गाइरहन्छन्– ‘तिम्रो मयाले मलाई पीर दियो/कमलो मुटु, कमलो छाती चिरदियो,’ जसले नेपाली श्रोता र समाजलाई मज्जैसँग मन्त्रमुग्ध पारिरहेको छ । फुलबुट्टे गलबन्दी लगाएर गुलाबी कथा भनिरहेका, परदेशी–पीर बयान गरिरहेका वा काठको बाकसभित्र लासझैं सुतेर अभिनय गरिरहेका उनका गीत र दृश्यमाथिका बहसले समाज लामो समयदेखि तरंगित छ ।

विलक्षण–ओजिलो शब्द चयन र नेपाली समाजको खास समस्यामाथि केन्द्रित उनका गीतका प्रेरणा हुन्, उनकी आमा । गीतमा विशेष हस्ताक्षर भएका, गहिरो अनुभूति र असिम पीडाबोधका यी गायक बडो भावुक मुद्रामा कविता–वाचन गरेझैं लीन भएर सुनाइरहेका छन्– आफ्नै आकृतिको कथा, जहाँ उनकी आमाका दुःखका निस्पट्ट रङहरू छन् । ‘अब ती दुःखका रङ कुनै पनि आमाले देख्नु नपरोस्, उज्याला रङहरू नै आमाहरूका जिन्दगी बनुन् । जीवन दुःख मात्र रैछ भन्ने आमाहरूलाई नलागोस् ।’

•••

नेपाली समाजको चित्र, हैसियत र वास्तविक आयाम जान्न ग्रामीण क्षेत्रका गरिब–दलित आमाहरूको जिन्दगीको हरफ पढ्नुपर्छ । एक आमा हुनु र दलित आमा हुनुले नेपाली समाजमा भयंकर फरक पार्छ । दलित आमाको जिन्दगीको संघर्षको रङ ‘अरू’ भन्दा नितान्त फरक हुन्छ । ‘मेरी आमा यो देशको एक असली अनुहार हो,’ आमा–कथासँगै सपुतको सम्झना संगालोमा विभेदको बिम्ब आइहाल्छ, ‘जीवनैभर विभेद भोग्नुभयो मेरी आमाले । उहाँले चरम गरिबी भोग्नुभयो, सधैं दुःखको आँसु पिउनुभयो । एकबारको जुनीमा एउटी आमाले योभन्दा बढी के भोग्नु ?’

उनकी आमाको किरिङमिरिङ जीवनग्राफमा देखिन्छ– झिनो परिवर्तन र निस्पट्ट अन्धकारमय भोगाइ । श्यामश्वेतको एउटा सन्ध्या– रङ हो, खैरो । र, प्रचलित भाष्यले भन्छ– कालो एक दुःख र अन्धकारको रङ हो । तुँवालोले डम्म आकाश ढाकेको माघको एक साँझ जेब्रा–क्रस गरिरहँदा प्रकाश सपुतले आफ्नै अन्दाजमा भनेका थिए, ‘मेरी आमाको जीवनमा न खैरो रङ भेटिन्छ, न सफा र सुखको सेतो रङ । त्यहाँ त केवल दुःखको कालो रङ छ । छ त दुःख, हैरानी र मात्रै हैरानी ।’

आमाको जीवनका ‘निषेध’ का डायरीका पाना पल्टाउँदा उनी तर्सिन्छन् । आत्माको प्रार्थनालाई शब्दमा कुँदैझैं सुस्केरा हाल्छन्, ‘उफ् कहाँबाट कहाँ आइपुगियो !’ उनको गीत ‘मेरो पनि हैन र यो देश ?’ मा एक लाइन सुस्केरा छ, गीतले भन्छ– ‘जन्माएको आमाले हो घाँस काट्दा काट्दै, बाउको जीवन यसै गयो दुःख साट्दा साट्दै, हामीलाई के नै सुख छ र ?’ मानौं सपुतले आमा–बाको जीवन गीतमा जस्ताको तस्तै उतारे, पुत्रवत् जिम्मेवारी पूरा गरे । हो, सपुतका बुबा बलबहादुर विकको जीवन ‘दुःख साट्दा साट्दै’ र आमाको ‘घाँस काट्दा काट्दै’ गयो । जीवन उकास्नकै लागि मजदुरी गर्न भारत भास्सिएका थिए बुबा । चार दाजुभाइमा जेठो हुन्– सपुत । उनी सानै छँदा बाआमा भारत पुगेका थिए । सपुतको जिन्दगीका सुरुवाती बाल्यकाल दिल्लीमा बित्यो । पछि आमा र उनी देश फर्किए, बुबा उतै रहे । प्रकाशलाई आमा भनिरहन्थिन्, ‘बुझिस् केटा, यहाँभन्दा दिल्लीको बसाइ सुन्दर थियो किनभने त्यहाँ कसैले हामीलाई छोइछिटो गर्दैनथ्यो ।’

हजुरबुवाले छोरालाई भिन्न गराएपछि सपुतका बुबा बलबहादुरको भागमा पर्‍यो, गोठ । गोठमा एकातिर गोबर र परालमाथि गाई बस्थ्यो, छेउमै थियो– हरदम बलिरहने तातो चुल्हो । (हुन त ख्यातनामा कवि बालकृष्ण समले एक दलितको चुल्होमाथि महाकाव्य लेखेका छन्– ‘चिसो चुल्हो’, जसले क्षेत्रीय परिवारकी गौरीलाई प्रेम गर्ने, कपडा सिलाएर जीविका चलाउने सन्तेको कथा भन्छ ।) ‘तातो चुल्हो’ छेउ मध्यरातसम्मै आमा–छोरा गुनगुन–गुनगुन गरिरहेका ती दृश्य अहिले पनि सपुतको मस्तिकमा ताजै छन् । भाइहरू सानै, बुबा परदेश ! सायद त्यसैले सपुतलाई सानैदेखि जिम्मेवारीबोध भयो । ‘आमा र मबीच व्यावहारिक सम्बन्ध स्थापित भयो । घरको सेकेन्डम्यानजस्तो थिएँ,’ सपुत भन्छन् ।

प्रकाशकी आमा र तमाम ग्रामीण दलित आमाहरूले जीवनमा जे भोगे, त्यो नेपाली समाजकै फरक चित्र हो, जुन अरू आमाहरूसँग समानान्तर रूपले जाँदैन । एकै परिवेशमा भए पनि उनकी आमा त्यो विन्दुमा थिइन्, जहाँ अरू आमा र उनको जिन्दगी छुटिन्थ्यो, जसरी छुट्टिन्छ पानी र तेल। आमाको जीवन धेरै वक्ररेखाहरू मिलेर बनेको एउटा योग थियो ।

सपुतकी आमा थिइन्– लाहुरेको सन्तान, बा थिए– हवलदार, बागलुङ बिहुँका । उनकी आमाको कलिलैमा बिहे भयो । सपुतलाई सधैं लाग्छ– आमाको जिन्दगीको ग्राफ हेर्दा उनले कहिल्यै सुख पाइनन् । बिहे भएर बागलुङकै अर्को कुनो धम्जा, काँठेखोला पुगेपछि झन् दुःख थपियो । मीनाकुमारीका ससुरा वर्णव्यवस्थाले दिएको काम आरन चलाउँथे र पैसा नलिइकनै गाउँभरिका हँसिया, खुकुरी अर्चाप्थे । भोकै आरन चलाएबापत वर्षमा एक पटक बाली उठाउन गाउँ डुल्ने कामचाहिँ उनले बुहारीलाई सुम्पे । लाहुरेकी छोरी उनलाई गाउँलेका घरघर चहार्न सकस भयो । बाली उठाउँदाको अपमान र त्यसले दिएको आँसुले उनी फतक्कै गलिन् । सपुतका बुबा भिन्न भए पनि आरन चलाएनन्, बरु श्रम गर्न मुगलान पसे । त्यसपछि आमाले बाली उठाउनु परेन ।

सपुतलाई लाग्छ– उनकी आमा आत्मनिर्भर थिइन् । धेरै समय बुबा दिल्ली बसे, घरपरिवार आमा एक्लैले सम्हालिन् । बच्चाहरू हुर्काउनु, घाँसदाउरा गर्नु, मेलापात जानु इत्यादि उनका ग्रामीण कर्म थिए । प्रकाशले आमाको जीवनका धेरै उतारचढाव र उनले भोगेका विभेद देखेका छन् । भन्छन्, ‘विभेदहरू अहिले पो घटना बन्छन् र बाहिर आउँछन् । तर, हाम्रा आमाहरूले भोगको विभेद स्वाभाविक थियो, उबेला ती घटना थिएनन् ।’ आमाले पँधेरामा गैरदलितसँगै पानी भर्न कहिल्यै पाइनन् । समाजका अघोषित नियमसँग अभ्यस्त थिइन् । हजुरबुबा गाउँका नामी भजन गायक थिए, भजनमा सर्लक्कै रामायण वाचन गर्थे । सपुतको सम्झनामा ती भजन साँझ ओहोरदोहोर गर्छन्, ‘मैले रामसीताको कहानी पढेको छैन, तर हजुरबाले श्लोकमा पढेकाले सबै कथा याद छ । भजनमै सुनें– राधाकृष्णको कहानी, महाभारतमा कृष्णले दिएको गीतोपदेश ।’

हजुरबाहरू कहिल्यै नसुनिएका लोकगीत गाउँथे, आमाहरू रेकर्ड भइसकेका भाका ! घाँसदाउरा गर्दा उनको गीतले रनवन घन्किन्थ्यो । गाउँदा गैरदलितसँगै, तर खाँदा छुट्टै । गाउँ हिउँदमा कतै टाढा वनभोज जान्थ्यो, जहाँ आमा खाना पकाउन पाउँदिनथिन् । वनको भोजमा पनि अलग्लै बसेर खानुपर्थ्यो । आमाले मानौं विभेद मान्नैपर्थ्यो । भीरमा सँगै घाँस काट्न जाने, अर्मपर्म–मेलापात गर्ने ब्राह्मण–दामलीको घरमा आमा कहिल्यै पस्न पाइनन् । एउटा स्पष्ट चित्र निर्माण भएको थियो, ब्राह्मणको घरमा दलित नपस्ने, दलितभित्र पनि अर्को तह थियो । भन्छन्, ‘त्यो तहतहमा हामी बाँच्यौं र हाम्री आमाहरू पनि त्यही तहमा बाँचे । यार ! एउटा कुनै घटनाको कुरा नगरौं, सिंगो जीवन नै आमाले विभेद र अपमानमा बाँच्नुभयो । त्यहाँ विभेदको पर्खाल सधैं थियो, त्यो पर्खालले व्यावहारिक पर्खाल नाघ्न सक्दैनथ्यो ।’

उनकी आमालाई धारामा अलग पारियो, मन्दिरमा अलग ! सपुतका अनुसार, ती ‘घटना’ थिएनन् विभेदका शृंखला थिए र आमाका लागि त्यो स्वाभाविक घटनाक्रम ! आमा सबेरै उठ्थिन्, गाउँलेभन्दा पहिल्यै पानी भर्न धारा पुग्थिन् । त्यो पनि गैरदलितले थाहा पाएर प्रश्न गरे– हामीभन्दा पहिले किन पानी भरेको ? अनि उर्दी जारी गरे– हामीले भरेपछि मात्रै गाग्रो भर्नु ! त्यसपछि मीनाकुमारीको पानी भर्ने पालो सबैभन्दा पुछारमा आउँथ्यो ।

अरूको सिकोमा मीनाकुमारीले रक्सी पार्न थालिन्, तर गाउँलेलाई उनको हातको रक्सी पनि चलेन । उनले एक गैरदलित साथीमार्फत त्यो रक्सी बेचिन् । तर, साथीले पनि रक्सी घरभित्र हुलिनन्, पिँढीमै बेचिन् ‘मैले नै पारेको’ भन्दै । ‘म त्यस्तो द्वैध मानसिकता भएको समाजमा जन्मिएँ, जहाँ हाम्रो गरिबीप्रति माया पनि थियो, तर दलन पनि हुर्केकै थियो ।’ जस्तो सपुतकी छिमेकी सुबेदारनी बजैले कहिल्यै उनका बुबा बलबहादुरले छोएको खाइनन्, तर उनी मुगलान पस्दा नाकको ढुंग्री फुकालेर दिइन्, ‘ल गरि’खा’ भन्दै । ‘त्यो द्वैध अभ्यासमै मेरा बाआमाको जीवन बित्यो’, एकान्तमा रेटिएको सारंगीको उच्छवासझैं सपुत बोल्छन् ।

•••

कुनै समय दोहोरी ब्याटल ‘आयो तेरो सर, बाटो खाली गर्’ गाउने सपुतले हालै नयाँ गीत गाएका छन्– ‘मुटु कटक्कै’ । गीत भन्छ, ‘नलाऊ माया कसैले गहिरो, जाँदोरैछ मुटुमा पहिरो/छोड्यौ चटक्कै/तिम्रै झल्कोले मुटु कटक्कै ।’

अहिले त उनका बाआमा काठमान्डुमै छन्, सपुतसँगै । तर, आमा गाउँमै छँदा र आमाको झल्कोले मुटु कटक्कै खाँदा, सामान्य कपाल दुख्दा उनी बरोबर धम्जा पुगिइरहन्थे । भन्छन्, ‘आमासँग गहिरो लगाव हुनाले र गीतका कथा खोज्न पनि गाउँ पुगिरहन्थें ।’ गाउँको स्मृति–तालमा मग्न छन् सपुत । त्यो स्मृतिमा नृत्यरत छन्, मुटु कटक्कै खाने केही कथा पनि । जस्तो सरकारले कुनै योजनामार्फत स्कुलमा खाजा वितरण गर्थ्यो । दलित विद्यार्थीलाई छुट्टै लाइनमा उभ्याएर खाजा दिइन्थ्यो । सानै छँदा त्यो दृश्यले भत्किएका उनले घर फिरेपछि आमालाई सोधेका थिए, ‘आमा हामी किन छुट्टै ?’ आमाले भनेकी थिइन्, ‘किनभने हामी दलित हौं ।’ त्यसबेला उनले थाहा पाए– हामी अलग पारिएका छौं । मुटु काँपिरहेको जाडोमा अँगेनावरिपरि बसेर आमाले सुनाएको, आमाले पनि अरूहरूबाटै सुनेको बेसरमका झाडीतिर बास बस्ने भूतप्रेतका रहस्य–कथा, राजकुमारका तिलस्मी कथाले सपुतलाई कल्पनाशील बन्न सिकायो । अँगेनाको भर्भराउँदो आगो ताप्दै आमाले गाएका गीतैको प्रभाव हो सायद, उनलाई लाग्छ, ‘मैले गीतमार्फत जति कथा भनेको छु, आमा–हजुरआमाले भोगको, सुनाएको कथा हो ।’

जस्तो सपुत गीतमा परदेशीका व्यथा र सुस्केरा गाउँछन् । भन्छन्, ‘आधाउधी ती कथा मेरै घरको हो । बाबा परदेश हुँदा आमा कस्तो महसुस गर्नुहुन्थ्यो ? बाबालाई कसरी सम्झनुहुन्थ्यो ? उहाँको जीवन कति तनावमय थियो ? कति निरस थियो ? बाबाको फोन आउने दिन आमा कसरी औंला भाँच्दै गनिरहनुहुन्थ्यो ? र, फोन आएको कत्ति दिनसम्म पनि उहाँको अनुहार खुसीले प्रफुल्लित हुन्थ्यो ? मैले गीतमा भन्ने कथा तिनै न हुन् ।’

बुबा ४/५ वर्षमा एक पटक घर आउँथे । त्यो समय अहिलेझैं थिएन । गाउँमा टेलिफोन थिएन, टाढाको अर्को कुनै गाउँमा थियो– सीडीएमए । फोनको सूचना कसैले ल्याउँथ्यो र त्यस दिन आमाको आँखामा उनी जुन चमक देख्थे, त्यो उज्यालोको सम्झना अझै आउँछ । उनी आमालाई दुई तरिकाले हेर्छन्– महिला र आम नेपाली महिला । गाउँमा आमा समूह थियो । समूहका आमाहरू साँझ भेला भएर गीत गाउँथे । त्यसबाट उठेको पैसा केही खानपिन र रमाइलोमा खर्च हुन्थ्यो, केही कोषमा राखिन्थ्यो । काँधमा रेडियो घन्काउँदै कोही लाहुरे फिर्दा वा कसैको छोरा जन्मिँदा समूहका आमाहरू गीत गाएर उत्सव मनाउँथे ।

उनको स्मृतिमा आमा मीनाकुमारी सधैं पौरखी थिइन्, खुब काम गर्थिन् । घरमा भयंकर अभाव थियो, तर छोराहरूलाई जसोतसो सुखमै हुर्काइन् । सचेत थिइन्, सोच्थिन्, ‘छोराहरूले खुब पढून्’, मिजासिलो थिइन्/छिन् । अझै गाउँछिन्– परदेशसम्बन्धी र ‘सुन फल्छ नि साइँलो दाइ’ जस्ता विरह गीत । बरोबर भन्छिन् सपुतलाई, ‘बाबै, गीत त गाउँमै छ ।’

एसएलसीपछि १६ वर्षको छँदा उनले गाउँ छाडे । त्यो यस्तो समय थियो, जुनबेला पढ्नेले पनि गाउँ छाड्नुपर्थ्यो पढ्नका लागि, नपढ्नेले पनि गाउँ छाड्नुपर्थ्यो रोजगारीका लागि । र, उनले पढ्न गाउँ छाडे । गाउँ छाडेपछिको फोन–संवादमा आमासँग भाइको कुरा गर्थे, बुबाले पठाएको पैसा के गर्ने ? सल्लाह दिन्थे । ‘ममाथि आमाको भरोसा थियो,’ उनी भन्छन् । निकै पछि गाउँ फर्किंदा आमा–छोरा खानापछि अँगेनाको तातोअघि बसेर रातको छिप्पिँदो प्रहरमा लामालामा कुरा गरिरहन्थें । भन्छन्, ‘आज आमासँगै छु, तर कम संवाद हुन्छ । विषय अभाव भयो कि वा समय अभाव ? थाहा छैन ।’

सपुतले उनकी आमाको जीवनचक्र हेरेर नेपाली समाज बुझे । र, उनको बुझाइ छ– हाम्रा कला, धर्मग्रन्थ, दर्शन र धर्म बुझ्न गाउँका मानिसलाई बुझ्नुपर्छ, साहित्य र लोकसंगीत गाउँमै जीवित छ । जस्तो कहिल्यै कसैले सुन्दै नसुनेका कथा हाल्छन् गाउँका मानिस । सपुतले आमाको सकल दुःखपीडा देखेका छन् । माइँलो–साइँलो भाइ जन्मिँदाको प्रसव पीडामा भुइँ कोतर्दै लडिबुडी गरिरहेकी आमा देखेका छन् । बुबा घरमा नहुँदाको निराशा देखेका छन् । सपुत सोच्छन्– स्वतन्त्रै छाडिदिएर आमाले समाज बुझ्ने मौका दिइन् । मीनाकुमारी अझै सपुतलाई भनिरहन्छिन्, तलाईं खुल्ला छोडिदिएको थिएँ र त यतिसम्म भइस् ।’ आमा धरधरी रोएको एक रातको सम्झनाले घोरिन्छन् सपुत । खाममा केही पैसा थियो । एउटा भारु नोट उनले चोरेका थिए । त्यो थाहा पाएपछि आमाले खुब गाली गरिन् र पिटिन् पनि । अनि अँध्यारो रातमा रुँदै भनेकी थिइन्, ‘किन सताउँछस् यसरी ?’ अहिले सपुत सोच्छन्, ‘मैले त्यसो नगर्नुपर्थ्यो ।’

कहिलेकाहीं आमालाई अनौठो लाग्छ रे, आफ्नै जिन्दगी देखेर । सुस्केरा हाल्छिन् रे बेलाबेला, ‘कहाँबाट कहाँ आइपुगिएछ !’ सपुतको जीवनको पहिलो प्रतियोगी गीत नै आमाबारे थियो, त्यसैले प्रथम पुरस्कार प्राप्त गरेका थिए । उनका गीतबारे सचेत छिन्, मीनाकुमारी । बेलाबेला सुझाव–सल्लाह दिन्छिन् । जब ‘गलबन्दी’ को भाका र ‘पीर’ को एक दृश्यमाथि भयंकर विवाद भयो, आमा असाध्यै तर्सेकी, डराएकी थिइन् । ‘छोरालाई थुन्नेभए, मार्नेभए, कुट्नेभए’ सोचेर निकै रात अनिँदै रहिन् । त्यसबेला सपुतलाई भनेकी थिइन्, ‘के खाले पेसा रोजिस् नि बाबै तैंले ?’

सपुतसँग संवादको अघिल्लो दिन मात्रै आमा अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । सहरको तापमान तलतिर झरिरहेको यो ज्यानमारा ठन्डीमा सपुत पनि रुघा–ज्वरो–खोकीले थलिएका थिए । ज्वरोका अत्यासलाग्दा विरक्तिका दिनमा पनि मीनाकुमारीको मस्तिष्क–आयतनमा टाँगिएकै थिए– छोरा सपुत । आफैं ओछ्यान परेकी उनी बेलाबेला सोधिरहन्थिन्– भन् त बाबै ! कस्तो छ तँलाई ? ‘जति नै ‘ठीक छु ममी’ भने पनि आमालाई सन्तानको चिन्ताले नछोड्नेरहेछ । सधैं सन्तानको पीर हुनेरैछ,’ सपुत भन्छन् ।

सपुतको विचारमा उनको मात्रै होइन, सबै आमाहरूको नितान्त निजी दुःख छन् । ‘आमाले जुन भावनाका रङ बाँचेकी हुन्छिन्, उतारचढाव भोगेकी हुन्छिन्, त्यो अरू कसैले बाँचेको हुँदैन,’ सपुत भावुक सुनिए, ‘आमा हामीले ग्रहण गर्ने संवेदनाहरूको एउटा ‘प्याकेज’ हो– संवेदना, माया, पीडाको उच्चतम् तहमा बाँचेकी ।’ संवेदनाहरूकै परिभाषा हुन्– आमा । आमाका विभिन्न आयाम छन्, जसरी प्रेमको असीमित आयाम र परिभाषा छ । जसरी संसारका ठुल्ठूला ग्रन्थमा लेखेर मात्रै प्रेममाथि न्याय गर्न सकिँदैन, आमा पनि त्यस्तो बृहत्, रहस्यमय, संवेदनाको फेहरिस्त हो, जसलाई केवल एकै आयामबाट हेर्न सकिँदैन । ‘आमालाई मानसिक, सामाजिक पक्षबाट मात्रै हेर्न मिल्दैन,’ सपुत भन्छन्, ‘आमा बुझ्न कसैको कविता, गीत वा आख्यान मात्रै पर्याप्त छैन । लेखेर लेख्न नसकिने, बुझेर बुझ्न नसकिने सम्बन्ध हो आमा ।’

मीनाकुमारीको संसार नेपाली महिलाको असली चित्र हो । त्यहाँ देखिन्छ– गरिब, दलित महिलाको फुस्रो चित्र, पुरुषवादी समाजले थोपरेको जिम्मेवारी, जातीय र वर्गीय विभेदको रङ । सपुत सोच्छन्, संसारका सारा दुःख आमाहरूकै पोल्टामा रहेछ । ‘कुनै दिन मसँग कथाहरू सकिए भने म आमाको काखमा बसेर उहाँकै जिन्दगीको कथा सुन्नेछु,’ सपुतको आत्मविश्वास छ, ‘उहाँको जीवनभित्र पसेर म सयौं कथा निकाल्न सक्छु । किनभने तमाम कथा मेरी आमाले भोगिसक्नुभएको छ ।’

तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

प्रकाशित : माघ २३, २०८० ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×